+
+
एक बेलायती पिताको दर्दनाक कथा :

छोरीलाई न्याय दिलाउन ३५ वर्षसम्म अधुरो संघर्ष

एजेन्सी एजेन्सी
२०८० जेठ ३२ गते ९:४०

आफ्नो सपनामा बाँचिरहेकी एक युवती घरभन्दा टाढा सफलताको नयाँ आयाम बुनिरहेकी थिइन् । त्यहीबेला उनीमाथि एउटा यस्तो घटना भयो कि त्यसले उनको परिवार मात्र होइन पूरै दुनियाँमा नै सन्नाटा छाइदियो ।

घटनाबारे सुन्ने जो कोही हैरान भए । ती युवतीमाथि बलात्कार गरियो अनि उनको हत्या गरियो र शवलाई टुक्राटुक्रा पारेर आगोमा जलाइयो ।

यो कथा २८ वर्षीया जूली वार्डको हो । उनी पेसाले एक वन्यजन्तु फोटोग्राफर थिइन् ।

जिन्दगीको आफ्नो सपना पूरा गर्नका लागि उनी अफ्रीकी देश केन्या गएकी थिइन् । उनको परिवार बेलायतमा थियो ।

उनीमाथि त्यस्तो क्रूर अपराध हुँदा पनि परिवारलाई भने गुमराहमै राखिएको थियो । कहिले छोरीलाई जनावरले खाएको बताइयो त कहिले चट्यांग लागेर उनको मृत्यु भएको भनियो । तर जूलीका पितालाई त्यस्तो बनाबटी कुरामा शंका लागिरहेको थियो । उनले आफ्नो पूरै जीवन आफ्नी छोरी जूलीलाई न्याय दिलाउनका लागि खर्चिए ।

उनी विगत ३५ वर्षदेखि त्यही न्यायको लडाइँमा थिए । तर, अहिलेसम्म पनि हत्यारा कानूनको कठघरामा आउन सकेन ।

अन्ततः न्यायको पर्खाइमै जूलीका पिता जोन वार्डको मृत्यु भयो । उनी आफ्नी छोरीको हत्यारालाई सजायँ दिन नपाउँदै संसार छाडेर गए । उनको मृत्युको २ हप्ताअघि नै उनकी पत्नीले पनि संसार छाडेकी थिइन् ।

न्यायको अनवरत लडाइँ

यद्यपि जूलीलाई न्याय दिलाउन नपाउँदै उनका बुवा जोनको निधन भयो । तर न्यायको लडाइँलाई जोनका छोराले जारी राखे र बहिनीलाई न्याय दिलाइ छाड्ने प्रण गरेका छन् ।

मृतक छोरीको न्यायका लागि बुवा जोनले ३५ वर्षसम्म गरेको संघर्ष निकै कहालीलाग्दो छ । उनको एकमात्र माग छोरीलाई न्याय थियो । तर उनको न्यायको मार्गमा उनकै देशकै सरकार तथा सुरक्षा एजेन्सीले असहयोग गरे ।

छोरीलाई न्याय दिलाउनकै लागि उनी विश्वका २०० भन्दा बढी देशमा पुगे र ३० करोड रुपैयाँभन्दा धेरै रकम खर्च गरे ।

सन् १९८८ मा केन्याको मसाइमारा राष्ट्रिय निकुञ्जमा जूलीको हत्या भएको थियो । हत्या भएकी छोरीको न्यायका लागि उनी १०० पटकभन्दा बढी त केन्या पुगे र सबुत प्रमाण जुटाए ।

विभिन्न प्रमाणहरुले हत्यामा शंकाको सुइ केन्याको तत्कालीन राष्ट्रपति डेनियल मोइका छोरातर्फ घुमाएको थियो । आफ्नी छोरीको हत्यामा राष्ट्रपतिकै छोराको संलग्नता देखिएको हुनाले त्यसलाई लुकाउनका लागि बेलायत सरकारले केन्या सरकारलाई सहयोग गरेको आरोप जोनले लगाएका थिए ।

जुलीका दाइले दिए मृत्युको जानकारी

जोनका छोरा तथा जूलीका दाजु बबले यही सोमबार आफ्ना पिताको मृत्यु भएको जानकारी गराएका छन् । गतहप्ता आफ्नी आमाको पनि मृत्यु भएको उनको भनाइ छ । अब आफू र आफ्नो एक भाइ टिमले बहिनीको न्यायको लागि लडाइँ जारी राख्ने उनले बताएका छन् ।

जोनको बिहेको ६५औं वर्षगाँठ भएको थियो । त्यहीँ समयमा उनी र उनकी पत्नीको २ हप्ताको अन्तरालमा निधन भयो । उनीहरुको जन्म पनि २ हप्ता अघिपछि भएको थियो । परिवारजनहरु यही महिना जोन र उनकी पत्नीको ९०औं जन्मोत्सव मनाउने तयारीमा थिए तर दुवै जनाले संसार छाडे ।

बबले भनेका छन्- ३५ वर्षदेखि जोन नेतृत्वको पूरै परिवार केन्याको सरकार, बेलायत सरकार, स्कटल्याण्ड यार्ड तथा एम आई ६ (बेलायती सुरक्षा एजेन्सी) सँग लडिरहेको छ । जोनलाई थाहा थियो कि जूलीको हत्या भएको हो ।

चारजना नातिनातिनाका हजुरबा जोन वार्ड अवकासप्राप्त होटेलियर थिए । छोरीको हत्याको यथार्थ पत्ता लगाउनका लागि उनी बेलायतबाट केन्या, अमेरिका, डेनमार्क, बेल्जियम, फ्रान्स, युगान्डा तथा तान्जानियालगायतका देशमा पुगे । उनले केन्याली अदालतमा मुद्दा समेत हाले र फरेन्सिक विज्ञानलाई धेरैभन्दा धेरै जानकारी समेत प्रदान गरे ।

जूली वार्ड एक प्रकाशन संस्थाको जागिर छाडेर ६ महिनाको घुमफिरका लागि केन्या गएकी थिएन् । त्यहाँ उनी मसाइमारा निकुञ्जमा जनावरको तस्वीर खिच्नका लागि पुगेकी थिइन् । त्यसैक्रममा सन् १९८८ को सेप्टेम्बरमा उनी बेपत्ता भइन् ।

छोरी बेपत्ता भएको खबर थाहा पाएको केही घण्टामै जोन जहाजबाट सिधै केन्या पुगे र आफैंले छोरीको बारेमा खोजतलास सुरु गरे । त्यतिबेला उनी पहिलोपटक केन्या पुगेका थिए ।

जुन ठाउँमा जुली अन्तिम पटक देखिएकी थिइन् सोही इलाकाको खोजतलासका लागि उनले पाँचवटा हवाइजहाजलाई पैसा दिए । त्यहाँ उनले जूलीको कार देखे । जूलीको शव त्यसको १० माइल टाढा भेटियो । तर शव पूरै थिएन बंगरा र खुट्टाको तल्लो भाग मात्र फेला पर्‍यो ।

वास्तवमा जूलीको शव जलेको थियो र त्यति भागमात्र बँचेको थियो । झाडीको निकै गहिराइमा त्यो फेला परेको थियो । उनले घटनास्थलमा धेरै वर्षसम्म आफैंले अनुसन्धान गरे र त्यसक्रममा घटनास्थल नजिकै दिसापिसाब गर्ने ठाउँ पत्ता लगाए । त्यहीँ ठाउँको नजिक जूली बसेकी रहेछिन् । जोनले त्यहाँबाट डिएनएको नमूना लिए र आफूसँग सुरक्षित राखे ।

राष्ट्रपतिका छोरामाथि आरोप

त्यतिबेलासम्म जुटाएका प्रमाणको आधारमा जोन के कुरामा विश्वस्त भए भने उनकी छोरीको बलात्कार पछि हत्या तत्कालीन राष्ट्रपतिका छोरा जोनाथन मोइले गरेका हुन् । उनले नै आफ्ना जँड्याहा साथीहरुलाई जूलीको शव गायब पार्न अह्राएको ठम्याइ जोनको थियो । एकजना जिवाणु विज्ञले पनि जूलीको हत्या नै भएको बताएका छन् ।

तर केन्याको अर्को एक रिपोर्टमा चाहिं जूलीमाथि जंगली जनावरले आक्रमण गरेको पनि दाबी गरिएको छ । त्यस्तै जूलीमाथि चट्यांग पर्दा उनको मृत्यु भएको दाबी पनि कतिले गरे ।

आफ्नी छोरीको हत्याको घटना छोप्नका लागि बेलायत सरकार तथा त्यहाँको सुरक्षा निकाय एमआई ६ ले केन्याली अधिकारीहरुलाई सहयोग गरेको आरोप जोनको थियो ।

सन् २००८ मा उनले सूचनाको हकसम्बन्धी कानूनको प्रयोग गरेर सन् २००४ सम्मको रिपोर्ट हात पारे जुन बेलायतको लिंकनशायर पुलिसका लागि तयार गरिएको थियो । त्यो विदेश मन्त्रालय, ब्रिटिस उच्चायोग तथा स्कटल्याण्ड यार्डका लागि निकै आलोचनात्मक थियो ।

किन लडे यति लामो लडाइँ ?

लगातार ३५ वर्षसम्म न्यायको लागि कठोर संघर्ष गर्नु सजिलो काम होइन । सन् २००८ मा जोनलाई सोधिएको थियो कि आखिर कुन कुराले उनलाई संघर्ष जारी राख्नका लागि प्रेरित गरिरहेको छ ? त्यसको जवाफमा उनले भनेका थिए- कतिपयले भने कि मैले सबै चिज छाडिदिनुपर्छ । तर यो वास्तवमा के हो भन्ने उनीहरुलाई थाहै थिएन । मेरी छोरीको हत्या भयो, उसलाई मारियो, जलाइयो र सिंहको अगाडि फ्याँकियो । म रोकिन्थें पनि । तर छोरीको हत्यारा अहिले पनि उन्मुक्त रुपमा आफ्नो जीवन जिइरहेको छ भन्ने कुराले मलाई लडाइँ जारी राख्न प्रेरित गर्‍यो ।

न्यायको ३५ वर्षे असफल लडाइँका क्रममा उनले आफ्नो अन्य दैनिकीहरु पनि जारी राखे । उनले व्यवसाय सञ्चालन गरेका थिए त्यसैले त्यसलाई पनि समय दिनुपर्थ्यो । हरेक महिना उनको ढोकामा केही न केही आएको हुन्थ्यो, चाहे कुनै चिठी होस् वा तस्वीर अथवा अरु नै सबूत जसले जूलीको हत्यारालाई जवाफदेही ठहराउनेका लागि उनलाई अझै एक कदम अगाडि बढाउन सहयोग गर्दथ्यो ।

जूली हत्याकाण्डको उक्त घटनामाथि सन् २०१० मा एक नयाँ अनुसन्धान सुरु भयो । यसमा लण्डनका जासूसी संयन्त्रका प्रतिनिधिहरुले समेत सम्भावित सबूत तथा डिएनएको जाँचमा स्थानीय पुलिसलाई सहयोग गरेका छन् । अबचाहिँ जूलीका शरीरका अंग फेला परेको स्थान आसपासबाट बरामद भएका चिजहरुबाट डिएनएको अत्याधुनिक परीक्षणमार्फत् घटना र अपराधीको बारेमा पत्ता लाग्नसक्ने अपेक्षा गरिएको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?