+
+

विद्यार्थीका नाममा विद्रुप प्रतिशोध कतिञ्जेल ?

विद्यार्थी संगठनहरु विद्यार्थीका समस्या, सरोकार र वैचारिक बहसका लागि होइन, विश्वविद्यालय र क्याम्पसमा फरक दलका पदाधिकारी हुँदा मात्रै आन्दोलनमा ओर्लने गर्छन् । विभिन्न घटना, जसले संगठनहरुका कारण शिक्षालयहरु तहसनहस भइरहेको देखाउँछन् ।

नुनुता राई नुनुता राई
२०८० जेठ ३२ गते २१:३८
एकीकृत समाजवादीको विद्यार्थी संगठनले त्रिवि उपकुलपतिको कार्यालयमा गरेको तोडफोड ।

३१ जेठ, काठमाडौं । आठ वर्षअघि त्रिभुवन विश्वविद्यालय छाड्दै गर्दा प्राध्यापक चैतन्य मिश्रले दिक्क हुँदै भनेका थिए, ‘दलहरूले विश्वविद्यालयमा सेना खडा गरेका छन् ।’

मिश्रले संकेत गरेको सेना राष्ट्रको अन्तिम शक्तिका रूपमा रहेको ‘नेपाली सेना’ वा अर्को कुनै सैन्य बल थिएन, बरु विद्यार्थी संगठन अनि प्राध्यापक र कर्मचारीका नाममा खुलेका अनेक दलगत भ्रातृ संस्थाहरू थिए ।

त्रिभुवन विश्वविद्यालयलाई सुधार्ने हो भने दलहरूले एउटा शक्तिशाली निर्णय लिनुपर्ने उनको भनाइ थियो । त्यो निर्णय हो– दलगत रूपमा हुने गतिविधि विश्वविद्यालयमा निस्तेज गर्नुपर्ने अनि वैचारिक प्राज्ञिक छलफल र बहसमा जीवन्तता ।

यी आठ वर्षहरूमा उनी थप निराश छन् । विश्वविद्यालयको कुरा निस्कँदा उनी क्षुब्ध अभिव्यक्तिहरू दिने गर्छन् । दलहरू सच्चिएनन् । विद्यार्थी, प्राध्यापक, कर्मचारीका नाममा खडा भएका दलीय फौज झन् कस्दै लगे । छिटपुट एमफिल पढाउनेबाहेक मिश्र लगायत धेरै प्राध्यापकको आवद्धता अहिले विश्वविद्यालयसँग छैन । सञ्जीव उप्रेतीलगायतका प्राज्ञहरू बीचैमा यहाँबाट बाहिरिए ।

यो रोग साम्य हुनुको साटो उल्टै सरुवा रोगमा परिणत भएको छ । अर्थात् त्रिविको रोग पूर्वाञ्चल विश्वविद्यालय र अरु शिक्षालयमा सर्दै गएको छ । दुई दिनअघि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि नेविसंघ कार्यकर्ता बताउने समूहले कालोमोसो दलेर दुर्व्यवहार गर्‍यो ।

प्राध्यापकहरु दलको विद्यार्थी संगठन कार्यकर्ताको नाममा मरणासन्न कुटिइरहेका छन् । हुलहुज्जत घट्दो होइन, बढ्दो छ । यस्ता हर्कत गर्ने बाहुबलीहरूलाई कडा कानुनी कारबाही होइन, उल्टै तालुकदार नेताहरूको स्याबासी र संरक्षण प्राप्त छ ।

त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा भन्छन्– ‘दलहरूको संरक्षण हुन्थेन भने यस्ता घटना हुँदैनथे । यस्ता घटना गराउनेलाई फौजदारी अभियोग लगाउनुपर्छ ।’

हुन पनि विद्यार्थी संगठनहरूले क्याम्पसमा आफ्नो दल निकट पदाधिकारीप्रति सदासय देखाउने, फरक दलका पदाधिकारी भए आन्दोलन, महिनौं ताला लगाउने, दुर्व्यवहार गर्ने, उस्तै परे कुटपिटमा समेत उत्रने घटना बढेका बढ्यै छन् । प्राध्यापक र कर्मचारीको नाममा हुने गरेका गतिविधिभन्दा हिंसात्मक, अभद्र गतिविधि विद्यार्थीका नाममा भइराख्दा पनि तिनीहरुउपर ठोस कारबाही चल्न सकेको छैन ।

कांग्रेसको कोटाबाट नियुक्त भएका पदाधिकारीप्रति नेविसंघले सदाशय देखाउने, काम गर्ने वातावरण बनाउन सहजीकरण गर्ने गर्छन् । एमालेको कोटाबाट नियुक्त भएकाहरूसँग अनेरास्ववियुको सदासय देखिन्छ ।

ती पदाधिकारीका नकारात्मक कामप्रतिसमेत उनीहरु कि त मौन, कि त बचाउमा ओर्लन पछि पर्दैनन् । त्यस्तै अवस्था छ, माओवादीको कोटाबाट नियुक्त भएका पदाधिकारीहरूसँग अखिल क्रान्तिकारीको । एउटै पार्टीको पदाधिकारी र विद्यार्थी संगठन भए पनि गुट फरक हुँदा आपसमा द्वन्द्व हुने गरेको छ ।

पदाधिकारी भन्दा फरक दलका अथवा फरक गुटका विद्यार्थी संगठनले मात्रै विश्वविद्यालयको बेथितीविरुद्ध आवाज उठाउने गरेका छन् । त्यसमा पनि अझ सत्तामा भएको पार्टीका विद्यार्थी संगठनहरू यस्ता क्रियाकलापमा बढी सक्रिय हुने गरेका छन् । सामान्य रूपमा हेर्दा उनीहरूले राजनीतिक असन्तुष्टिलाई लिएर प्रतिशोध साध्ने गरेको देखिन्छ । पछिल्लो एक वर्ष मात्रै हेर्ने हो भने पनि विद्यार्थी संगठनहरूले यस्ता धेरै घटना घटाएका छन् जुन केही उदाहरणको रूपमा यहाँ प्रस्तुत गरिएको छ ।

त्रिविको उपकुलपति कार्यालयमा गत वर्ष तालाबन्दी गर्दै नेविसंघका कार्यकर्ता ।

जहाँ नेविसंघ जोडियो

गत २९ गते पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई नेपाल विद्यार्थी संघका कार्यकर्ताले कालोमोसो दले । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगबाट कर्मचारी नियुक्ति गर्न मनोमानी गरेको, माग सम्बोधन गर्न चासो नदेखाएकोजस्ता आरोप नेविसंघले अध्यक्ष दाहालमाथि लगाएको छ । आयोगका अध्यक्ष दाहाल एमालेको कोटाबाट अध्यक्षमा नियुक्त भएका हुन् ।

२० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा समाजशास्त्रका उप–प्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेको आरोपमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावल लगायत विरुद्ध जिल्ला अदालत काठमाडौंमा ज्यान मार्ने उद्योगको मुद्दा छ ।

भक्तपुर बहुमुखी क्याम्पसमा कांग्रेस निकट सुदर्शना शाक्य निमित्त क्याम्पस प्रमुख हुँदाहुँदै एमाले निकट कविता लुइँटेल क्याम्पस प्रमुख नियुक्त भएपछि नेविसंघका कार्यकर्ताहरूले २२ जेठमा नयाँ चिफको कुर्सी, नेमप्लेट लगेर नजिकैको रूखमा झुन्ड्याइदिए ।

उनीहरूले क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन र लेखा शाखामा ताला लगाएका छन् । प्राध्यापकहरूले हाजिर गर्ने दुई वटा ‘थम्ब एटेन्डेन्स’ उनीहरूले गायब बनाए । क्याम्पस प्रमुखले वार्ताको लागि बोलाउँदा पनि वार्तामा बस्न मानेका छैनन् ।

गत वर्ष त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा तालाबन्दीको विरोधमा प्रदर्शन गर्दै अनेरास्ववियु ।

जहाँ एमालेको अखिल जोडियो

राजधानीको अमृत क्याम्पसका पदाधिकारी माओवादी निकट छन्, तर विद्यार्थी संगठन भने एमाले निकट अनेरास्ववियुको बर्चस्व बलियो छ । यी दुई दलप्रति बफादार पदाधिकारी र विद्यार्थी संगठनबीच द्वन्द्व क्याम्पसमा धेरै वर्ष चल्यो ।

गत वर्ष अस्कल क्याम्पसका अनेरास्ववियु नेतृत्वमाथि विभिन्न आरोप र उजुरी परेको थियो । क्याम्पस प्रमुख लोकबहादुर बराललाई शौचालयमा थुन्नेदेखि बीएस्सी सीएसआईटीको भर्ना प्रक्रियामा कीर्ते गरेकोसम्म आरोप तथा उजुरी परेको थियो ।

अनेरास्ववियुका पूर्व इकाइ अध्यक्ष कमलराज जोशी र तत्कालीन इकाई अध्यक्ष रुद्रहरि पोखरेलविरुद्ध क्याम्पस प्रशासनले नै सीएसआईटीको भर्ना प्रक्रियामा कीर्ते गरेको आरोपमा प्रहरीमा किटानी जाहेरी दिएको थियो । सोही जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि २०७९ असारमा पक्राउ परेका पोखरेल २४ दिनपछि छुटेका थिए ।

गत वर्ष २२ जेठमा उपप्राध्यापक दिवाकर पाण्डे क्याम्पसभित्रै कुटिए । अनेरास्ववियुका नेतामाथिको यही मुद्दा फिर्ता गर्न दबाब दिंदा नमानेका कारण तत्कालीन अनेरास्ववियु इकाइ कमिटीका सहसचिव पंकज पाण्डेले कुटपिट गरेको आरोप छ ।

गत चैत ५ गते तोकिएको स्ववियु निर्वाचन क्याम्पस प्रमुखले नै पटक–पटक सार्दै अखिल क्रान्तिकारीका उम्मेदवार जित्ने अवस्था बनेपछि मात्रै वैशाख ३ मा चुनाव गराएको अनेरास्ववियुले आरोप लगाउँदै आएको छ । अनेरास्ववियुको गढ मानिने अस्कलमा नेविसंघ र नेपाल प्रजातान्त्रिक विद्यार्थी संगठनको समर्थनमा अखिल क्रान्तिकारीका उम्मेदवार प्रेम जैसी जम्मा ९ मतले स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए ।

जहाँ क्रान्तिकारी जोडियो

गत वर्ष विप्लव निकट अखिल क्रान्तिकारीले जनक शिक्षा सामग्रीका प्रबन्ध निर्देशक अनिलकुमार झालाई कालोमोसो दल्यो । विद्यालयमा पाठ्यपुस्तकको चरम कृत्रिम अभाव गराएको भन्दै निर्देशक झालाई कालो मोसो दलेका थिए ।

प्रबन्ध निर्देशक झालाई देशैभरि सरकारी विद्यालयको पाठ्यपुस्तकको चरम कृत्रिम अभाव गराएको र जनक शिक्षा सामग्री केन्द्रमा लामो समयदेखि चरम भ्रष्टाचार गरेको आरोप लगाउँदै अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले उनकै कार्यकक्षमा कालोमोसो दलेको थियो ।

साथै झाले कागज खरिदमा चरम अनियमितता गरेको र निजी दलाल शैक्षिक संस्थासँग मिलेर जनक शिक्षा सामग्री डुबाउने खेलमा लागेको भन्दै अखिल क्रान्तिकारीले कालोमोसो दलेको थियो । झा एमाले निकट हुन् ।

चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विभिन्न माग राखेर माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ताला लगाएको एक महिना भएको छ ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय लगायत निकायमा विद्यार्थीले लगाएको ताला नखुल्दै माओवादी निकटकै नेपाल राष्ट्रिय कर्मचारी संगठनको अगुवाइमा जेठ १२ गतेदेखि विश्वविद्यालयमा अर्को ताला थप भएको छ ।

कृषि संकायका डीन महिला कर्मचारीलाई अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि निलम्बनमा परेका थिए । त्यसपछि रिक्त रहेको डीन पदमा कांग्रेस निकट प्रा.डा. अर्जुनकुमार श्रेष्ठ डीन नियुक्त भए । त्यसपश्चात् माओवादी निकट प्राध्यापकहरु रुष्ट भएका हुन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मी माओवादी कोटाबाट नै नियुक्त भएका हुन् । विश्वविद्यालयका तीन विभाग तीन दलको भागबन्डामा रहेको छ । वन विभागमा माओवादी, भेटरिनरी तथा फिसेरी एमालेको भागमा छ । माओवादी निकट प्राध्यापकहरूले कृषि विभागमा पनि दाबी गरिरहेका थिए । तर भागबन्डाको कारण कांग्रेसलाई दिइएपछि उनीहरू आन्दोलित भएको जानकारहरू बताउँछन् ।

उच्छृंखलताको पराकाष्ठा

उच्छृंखलता बढ्दैजाँदा कारबाही शून्यप्रायः हुँदा सरोकारवाला नै अब संगठनको विकल्पसमेत खोज्न तयार हुनुपर्ने मत राख्न थालेका छन् । विद्यार्थी संगठनका यस्ता गतिविधिका कारण विद्यार्थी संगठन नै खारेज हुनुपर्ने आवाज चर्किंदै गइरहेको छ । विद्यार्थी संगठनको औचित्यमाथि प्रश्न उठिरहेको छ । तर विद्यार्थी संगठन अहिलेको अवस्थामा पुग्नमा विद्यार्थीलाई मात्रै हेरेर नपुग्ने त्रिविका सहप्राध्यापक रेशम थापा बताउँछन् ।

जहाँ–जहाँ विद्यार्थी संगठनहरू उच्छृङ्खल देखिन्छन् त्यसको स्रोत चाहिं त्यही संगठनको विभाजन देखिने उनको बुझाइ छ । ‘मैले भन्न खोजेको एउटै विद्यार्थी संगठनभित्र दुई, तीन अथवा चार गुट, उपगुट छन्’, उनी भन्छन्, ‘त्यहीभित्रका एउटा गुट चाहिं प्रगतिशील, क्रान्तिकारी अथवा एक्सन ओरियन्टेड देखिनको लागि गलत काम गर्न पुग्दा रहेछन् ।’

पूर्वाञ्चल विश्वविद्यालय त्रिवि सेवा आयोगका अध्यक्ष फरक पार्टीबाट आएको भए पनि उनीमाथि दुव्र्यवहार हुनु नेविसंघभित्रको गुट, उपगुट कारक मान्छन् उनी । सेवा

त्रिविका अर्का एक प्राध्यापक विद्यार्थी संगठनहरू आफ्नो मुद्दा भन्दा पनि पार्टीप्रति, नेतृत्वप्रति बफादार हुन खोज्दा अहिलेको स्थिति सिर्जना भइरहेको बताउँछन् ।

उनी भन्छन्, ‘अहिलेका विद्यार्थी आफ्नो क्षमताले भन्दा पनि पार्टी र नेतृत्वप्रति अन्धभक्त भएर उनीहरूलाई खुशी पार्न उच्छृङ्खल हुँदै गइरहेका छन् । फरक पार्टीको पदाधिकारीलाई दुव्र्यवहार गर्नु आन्दोलन भन्ने बुझेका छन् नेतृत्वले त्यस्तैलाई स्याबासी दिएपछि यस्तै हो ।’

फरक पार्टीको पदाधिकारी र आफ्नै पार्टीभित्रको अर्को गुटलाई देखाइदिने हिसाबले हिंडिरहेको र यसलाई रोक्नको साटो स्याबासी दिने माउ पार्टीको कारण नेविसंघ पछिल्लो समय थप आलोचित हुँदै गइरहेको उनको बुझाइ छ । उनको भनाइ अनुसार एमाले र माओवादीभित्र गुट उपगुट भए पनि विद्यार्थी संगठनहरूबीच देखाइदिन्छु भन्ने तहको बेमेल नहुँदा फरक दलको पदाधिकारीसँग मात्रै द्वन्द्व गरेको देखिने बताउँछन् ।

चितवनको कृषि तथा वन विश्वविद्यालयमा ताला लाग्नु गुट, उपगुट नै कारण रहेको एक प्राध्यापक बताउँछन् । किनभने विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मी माओवादी कोटाबाट उपकुलपति बनेका हुन् भने अहिले ताला लगाउने माओवादी निकट विद्यार्थी संगठन र प्राध्यापक संगठन रहेका छन् ।

ती प्राध्यापक भन्छन्, ‘कुल बजेटको करिब ८० प्रतिशत बजेट जाने विभाग माओवादीले छोड्न चाहेको थिएन । आफ्नै पार्टीको कुलपति, उपकुलपति भएकोले उनीहरू आफैंले खान चाहेका थिए तर सायद कांग्रेसलाई नचिढ्याउन यसो गरे आफ्नै पार्टीकाहरू चिढिए ।’ उनको भनाइ अनुसार यदि कांग्रेसले कृषि विभाग नपाएको भए नेविसंघले आन्दोलन गर्ने थियो ।

त्रिवि राजनीतिशास्त्र केन्द्रीय विभागकी पूर्व विभाग प्रमुख प्रा.डा.मीना वैद्य देशको अस्थिर राजनीतिक वातावरण, कानुनको प्रभावकारी कार्यान्वयन गर्न नसक्दा अभद्र मानसिकता बढ्दै गएको र त्यसैको प्रभाव विद्यार्थी संगठनहरूमा देखिएको बताउँछिन् ।

उनी भन्छिन्, ‘विद्यार्थी संगठन भनेको विद्यार्थीको हकहितको लागि आवाज उठाउनको लागि गठन भएको तर त्यसमा केन्द्रित नभएर गैरजिम्मेवारपूर्वक काम भइरहेको छ । विद्यार्थी संगठन भनेको युवाहरूको संगठन हो उनीहरू संयमित, अनुशासित हुनुपर्छ ।’

देशमा राजनीतिक अस्थिरता, असुरक्षा बढ्दै गइरहेको बेला विद्यार्थी संगठनहरू अझ तार्किक, सिर्जनशील हुँदै जानुपर्ने र युवाहरूको समस्या र चुनौती राज्यले सम्बोधन गर्नुपर्ने बताउँछिन् ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?