+
+
मुख्यसचिवमा फिक्सिङ :

लाभको पद लिएर राजीनामा, जस्केलाबाट नयाँ नियुक्ति

राजनीतिक नेतृत्वलाई खुसी राख्न सकेको कारणले नै सचिवका रूपमा सिंहदरबार पस्ने ढोका समेत बन्द हुनै लाग्दा अर्याल ‘झ्याल’बाट मुख्यसचिवको कार्यकक्षमा प्रवेश गर्न सफल भएका हुन् ।

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०८० जेठ ३२ गते २०:२९
निवर्तमान मुख्यसचिव शंकरदास वैरागी (दाँया) र नवनियुक्त मुख्यसचिव वैकुण्ठ अर्याल ।

३२ जेठ, काठमाडौं । तीन दिनपछि अवकाश पाउन लागेका सचिव वैकुण्ठ अर्याल मुख्यसचिव नियुक्त भएका छन् । निवर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई कार्यकाल बाँकी छँदै राजीनामा गराएर अर्याललाई मुख्यसचिव बनाइएको हो ।

साढे ३ महिना अगावै मुख्यसचिव पद छाडेका वैरागीलाई भने सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको छ । उनको कार्यकाल आगामी १५ असोजसम्म थियो । वैरागी अब मन्त्री सरहको सुविधा पाउने गरी सुरक्षा सल्लाहकार नियुक्त भए भने अर्यालले ३ वर्ष देशको प्रशासनिक नेतृत्व सम्हाल्नेछन् ।

मुख्यसचिव अर्यालको सार्वजनिक धेरै छवी विवादास्पद नभए पनि नियुक्ति प्रक्रिया भने विवादमुक्त छैन । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा बिकल पौडेलको पुनर्नियुक्तिका लागि तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सघाएका उनले टेलिकमभित्र बिकलकै समूहका सुनिल पौडेललाई भित्र्याउन मुख्य भूमिका खेलेका थिए ।

उनको नियुक्तिले मुख्यसचिव बन्ने लाइनमा रहेकाहरू क्रूद्ध छन् । वैरागी स्वाभाविक रूपमा विदा भएको भए युवा तथा खेलकुद मन्त्रालयका सचिव रहेका सूर्यप्रसाद गौतम मुख्यसचिव बन्ने सम्भावना थियो । उनीसँगै देवकुमारी गुरागाइँ, दिनेशकुमार घिमिरे पनि मुख्यसचिव बन्ने सम्भावित दाबेदार थिए ।

तर वैरागी र अर्यालसँगै सरकारको नेतृत्वमा बसेकाहरूको मिलेमतोमा ‘फिक्सिङ’ भएपछि मुख्यसचिव बन्ने लाइनमा रहेका सचिवहरू आहत भएका छन् । दल र सरकारले चाहेको व्यक्तिलाई ल्याउन मुख्यसचिवको पदावधि नसकिंदै राजीनामा गराउनु अब नौलो नभएको भन्दै एक सचिव भन्छन्, ‘राजनीतिक साँठगाँठ बलियो नभएकाहरूले मुख्यसचिव बन्ने कुरा अब सपना मात्रै हुनेभयो ।’

आफूलाई कुनै पदमा व्यवस्थापन गरेर अर्याललाई मुख्यसचिव बनाउन प्रचण्डलाई मनाउने काम वैरागीबाटै भएको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ ।

पूर्वसचिव पूर्ण कडरिया प्रधानमन्त्रीले आफू सफल हुन वरिष्ठतम सचिवमध्येबाट मुख्यसचिव नियुक्त गर्न पाउने बताउँछन् । तर नियत सही देखिनुपर्ने उनले बताए ।

असल व्यक्तिलाई मुख्यसचिव बनाए पनि स्थापित विधि, प्रक्रिया र प्रणालीको पालना महत्वपूर्ण हुने भन्दै उनले भने, ‘पर्दा पछाडि खेल खेलेर प्रणाली बलियो हुँदैन । कसैले आफ्नो अभीष्ट पूरा गर्ने नियत राखेर काम गरे स्थापित प्रणालीले काम गर्दैन ।’

कहाँबाट भत्किन थाल्यो पद्धति ?

पूर्व सचिवहरूको भनाइमा अढाइ दशकअघिसम्म मुख्यसचिव नियुक्ति प्रक्रिया नियमित जस्तै थियो । बहालवाला मुख्यसचिवको कार्यकाल सकिने बेलामा जो वरिष्ठ सचिव हुन्थे, उही मुख्यसचिव बन्थे । आफ्नो कार्यकाल पूरा गरेर बिदा हुन्थे ।

२०५६ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारको पालामा मुख्यसचिवमा आफ्नो मान्छे खोज्ने गलत अभ्यास सुरु भयो । २९ साउन २०५६ मा तत्कालीन बलरामसिंह मल्लले चार महिना पदावधि बाँकी छँदै राजीनामा दिए । कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले तीर्थमान शाक्यलाई मुख्यसचिव बनायो भने राजीनामा दिएका बलरामसिंहलाई जर्मनीका लागि नेपाली राजदूत बनाएर पठायो ।

त्यसपछिका केही वर्षहरूमा यस्ता गतिविधि भएनन् । तर वरिष्ठता मिचेर मुख्यसचिव बनाउने क्रम झांगियो । ५ असोज २०५९ मा शेरबहादुर देउवा सरकारले वरिष्ठता मिचेर विमल कोइरालालाई मुख्यसचिव बनायो । वरिष्ठता मिचेकै कारण कोइरालाभन्दा वरिष्ठ रहेका श्रीकान्त रेग्मी र शम्भु खनालले राजीनामा दिए ।

२०६६ मा माधवकुमार नेपाल नेतृत्वको सरकारले पनि वरिष्ठता मिचेर माधव घिमिरेलाई मुख्य सचिव बनायो । २२ साउन २०६६ मा घिमिरेलाई मुख्यसचिव बनाएपछि वरिष्ठ सचिवद्वय जनकराज जोशी र उमेश मैनालीले पद छाडे ।

बाबुराम भट्टराई नेतृत्वको सरकारले आठौं वरीयताका सचिव लीलामणि पौडेललाई मुख्यसचिव नियुक्त गर्‍यो । २२ साउन २०६९ मा पौडेल मुख्यसचिव भएपछि चार जना वरिष्ठ सचिवले राजीनामा दिए । राजीनामा दिनेमा शंकर कोइराला, वृन्दा हाडा, श्यामप्रसाद मैनाली र अवनिन्द्रकुमार श्रेष्ठ थिए । एउटै ब्याचका श्रीधर गौतम र जयमुकुन्द खनाललाई उछिन्दै सोमलाल सुवेदी २० साउन २०७२ मा मुख्यसचिव बन्दासम्म वरिष्ठता मिच्ने मात्रै काम भइरह्यो । यो बेलासम्म नियुक्तिका क्रममा वरिष्ठता मिचे पनि मुख्यसचिवले कार्यकाल पूरा गर्थे ।

सोमलाल सुवेदी

त्यसैले वरिष्ठता मिचेर गरेको मुख्यसचिव नियुक्तिमा धेरै प्रश्न उठेन । तर सुवेदी कार्यकाल बाँकी छँदै एशियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशक हुन जान चाहेपछि भने मुख्यसचिव पदमा थप चलखेल सुरु भयो । राजनीतिज्ञहरूले आफ्नो अनुकूल पात्र खोज्ने र उनलाई मुख्यसचिव बनाउन बहालवालालाई अर्को पद दिएर राजीनामा गराउने अझ विकृत अभ्यास सुरु भयो ।

सुवेदीले कार्यकाल बाँकी छँदै २० फागुन २०७३ मा एडीबीको वैकल्पिक कार्यकारी निर्देशक हुन जाने गरी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‍बाट निर्णय गराएका थिए । ६ महिनापछि मात्रै एडीबीको केन्द्रीय कार्यालय फिलिपिन्सको मनिला जाने भन्दै उनले मुख्यसचिव पदबाट राजीनामा दिएनन् ।

सुवेदी मनिला जाने पक्का भएपछि स्वाभाविक प्रक्रिया छलेर कसलाई मुख्यसचिव बनाउने भन्ने खेल सुरु भयो ।

सुवेदीले आफू मन्त्रिपरिषद्‍बाट निर्णय गराएकै बेलामा राजीनामा दिएको भए धनबहादुर तामाङ मुख्यसचिव बन्ने थिए । तर सुवेदी राजीनामा नदिई मनिला गए । रोचक के भयो भने जुन दिन सुवेदी केदारबहादुर अधिकारीलाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिएर २८ असारमा मनिला हिंडे, त्यसैदिन मुख्यसचिवको दावेदार रहेका तामाङले अवकाश पाए । भोलिपल्ट सरकारले वरिष्ठताका आधारमा भन्दै राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिव बनायो ।

एक पूर्वसचिवका अनुसार लोकदर्शन रेग्मीलाई ल्याउने योजना अनुसार नै उमेर हदका कारण ६ कात्तिक २०७४ मा अवकाश पाउने पक्का भइसकेका क्षेत्रीलाई मुख्यसचिव बनाइएको थियो । रेग्मीको नियुक्तिले पनि त्यसलाई पुष्टि गर्छ ।

२ कात्तिक २०७४ सम्म मुख्यसचिवबारे निर्णय गरेको भए शान्तराज सुवेदी र शान्तबहादुर श्रेष्ठमध्ये एक मुख्यसचिव बन्थे । तर सुवेदी र श्रेष्ठले अवकाश नपाएसम्म सरकारले नयाँ मुख्यसचिव नियुक्ति प्रक्रिया अगाडि बढाएन । २ कात्तिक २०७४ मा दुवैले अवकाश पाए, अनि ६ कात्तिक २०७४ मा क्षेत्रीको कार्यकाल सकिएकै दिन शेरबहादुर देउवा नेतृत्वको सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गर्‍यो । रेग्मी मुख्यसचिव बन्दा वरिष्ठ सचिव पनि थिएनन् । वरिष्ठताका आधारमा ङइन्द्रप्रसाद उपाध्याय पहिलो नम्बर र शंकरप्रसाद अधिकारी दोस्रो नम्बरमा थिए । तर प्रधानमन्त्री दाहिना भएपछि रेग्मी वरिष्ठता मिचेर मुख्यसचिव बने ।

पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी ।

चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने । सरकार, खासगरी प्रधानमन्त्री ओलीले रेग्मीमाथि पूर्ण विश्वास गरेनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री हुँदा जसरी उनलाई मुख्यसचिव बनाएका थिए, ओलीले पनि त्यसरी नै अर्को व्यक्ति ल्याउन चाहे । परराष्ट्र सचिव शंकरदास वैरागी ओलीको रोजाइमा परेपछि रेग्मीलाई बिदा गर्ने प्रयास भयो । कार्यकाल सकिने बेला रेग्मी पनि सहमत भए ।

बेलायतका लागि राजदूत बनाउने शर्तमा उनले कार्यकाल (३ कात्तिक २०७७) सकिनुअघि १५ असोज २०७७ मा राजीनामा दिए । तत्कालीन प्रधानमन्त्री ओलीले रोजेका वैरागी नयाँ मुख्यसचिव भए । रेग्मी सेवा अवधि पूरा गरेर अवकाशमा गएको भए वरिष्ठताको आधारमा केदारबहादुर अधिकारी मुख्यसचिव बन्थे । केही महिनापछि अधिकारीले उमेरहदका कारण अवकाश पाउँदा चन्द्रप्रसाद घिमिरे मुख्यसचिव बन्ने लाइनमा हुन्थे ।

तर रेग्मीलाई राजदूत बनाएर परराष्ट्र सचिवबाट अवकाश हुन ७ दिन मात्रै बाँकी रहेका वैरागीलाई सरकारले मुख्यसचिव बनायो । झण्डै तीन वर्ष प्रशासनिक नेतृत्व सम्हालेका वैरागी, रेग्मीलाई राजीनामा गराएर जसरी झ्यालबाट प्रधानमन्त्री कार्यालय छिरेका थिए, त्यसरी नै सुरक्षा सल्लाहकार पद लिएर आफ्ना घनिष्ठ सचिव वैकुण्ठ अर्याललाई मुख्यसचिव बन्न सघाएका छन् ।

अर्याल प्रधानमन्त्री प्रचण्डभन्दा सत्ता साझेदार नेपाली कांग्रेसका सभापति देउवाले रोजेका मुख्यसचिव हुन् । देउवाले वैरागीलाई राजीनामा गराएर अर्याललाई मुख्यसचिव बनाउने प्रयास चार/पाँच महिना अघिदेखि गरिरहेका थिए । प्रधानमन्त्री प्रचण्डले भरोसा गरेनन् । बरु सञ्चार सचिवबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जगेडामा राखिदिए । सञ्चारमा हुँदा अर्यालले आफूलाई नटेरेको र देउवाकै इशारामा काम गरेको प्रचण्डको बुझाइ थियो ।

स्रोतका अनुसार मन्त्रिपरिषद् कार्यालय पुगेपछि प्रधानमन्त्री प्रचण्ड र सचिव अर्यालको सहकार्य भयो । मुख्यसचिव वैरागीले त्यसमा पनि भूमिका खेले ।

आफूलाई कुनै पदमा व्यवस्थापन गरेर अर्याललाई मुख्यसचिव बनाउन प्रचण्डलाई मनाउने काम वैरागीबाटै भएको प्रधानमन्त्री कार्यालय स्रोत बताउँछ ।

एक पूर्वसचिवका अनुसार राजनीतिक नेतृत्वलाई खुसी राख्न सकेको कारणले नै सचिवका रूपमा सिंहदरबार पस्ने ढोका समेत बन्द हुनै लाग्दा अर्याल ‘झ्याल’बाट मुख्यसचिवको कार्यकक्षमा प्रवेश गर्न सफल भएका हुन् ।

पूर्वसचिव उमेश मैनाली पछिल्ला वर्षहरूमा ‘प्रि–प्लान’ गरेरै मुख्यसचिवको राजीनामा आउने र नयाँ नियुक्ति गर्ने क्रम चुलिएको देख्छन् । ‘मुख्यसचिव प्रधानमन्त्रीले विश्वास गरेको व्यक्ति हुनुपर्छ, अनुभवी सचिवलाई सरकारले पनि विश्वास गर्नुपर्छ’ लोकसेवा आयोगका पूर्वअध्यक्ष समेत रहेका मैनाली भन्छन्, ‘स्थापित अभ्यास, विधि, प्रक्रिया र पद्धति मिचेर हुने नियुक्तिलाई सही हो भन्न सकिन्न ।’

मुख्यसचिव अर्याल काबिल र योग्य भएको भन्दै उनले अगाडि भने, ‘जस्तो राम्रो व्यक्ति पनि स्थापित परम्परा र नियमभित्र रहेर ल्याउनुपर्छ । नवनियुक्त मुख्यसचिव जति राम्रो र असल भए पनि उहाँलाई ल्याइएको विधिमाथि त प्रश्न उठ्छ नै ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?