+
+

वित्तीय संघीयताको मार्गचित्र बनाउन विश्व बैंकको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १९:५४

३२ जेठ, काठमाडौं । विश्व बैंकले नेपालको वित्तीय संघीयताको मार्गचित्र बनाउन सुझाव दिएको छ । नेपालको वित्तीय संघीयता सुदृढीकरणका लागि सुधारका कार्यलाई निरन्तरता दिनु पर्ने र सुधारको मार्गदर्शन तथा अनुगमनका लागि वित्तीय संघीयताको मार्गचित्र तयार गर्नुपर्ने विश्व बैंकको सुझाव छ । बिहीबार नेपाल वित्तीय संघीयता प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यस्तो सुझाव दिएको हो ।

नेपालले वित्तीय संघीयताको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको भएपनि प्रदेश र स्थानीय तहमा नियामकीय संरचना, संस्थागत व्यवस्था, जनशक्ति क्षमता र सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन थप काम गर्न आवश्यक रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले नेपालमा वित्तीय संघीयताका उपलब्धिहरूमा सुधार ल्याउन गर्नुपर्ने क्रियाकलाप, तिनीहरूको अनुक्रम, समयसीमा, र कार्यान्वयनका लागि जिम्मेवार निकायहरू सम्बन्धी स्पष्ट विवरण सहितको वित्तीय संघीयता मार्गचित्र तयार गर्नुपर्ने आवश्यकतामाथि जोड दिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले जानकारी दिए ।

आर्थिक वर्ष २०७७/७८ मा प्रदेश तथा स्थानीय सरकारहरूले संघीय रकमको झण्डै ३६.७ प्रतिशत रकम अन्तरसरकारी वित्त हस्तान्तरण मार्फत प्राप्त गरेका थिए । उक्त रकम प्रदेश तथा स्थानीय सरकारहरूको कुल आम्दानीको ६४.८ प्रतिशत हुन्छ । पछिल्ला पाँच वर्षमा स्थानीय सरकारहरूलाई गएको अनुदानमध्ये सबैभन्दा बढी र तुलनात्मक रूपमा उच्च वृद्धि सशर्त अनुदानको रहेको छ । प्रतिवेदन अनुसार, ठूलो मात्रामा छुट्याइएको सशर्त अनुदान निर्धारित कामका लागि मात्र खर्च गर्न पाइने भएकाले प्रदेश तथा स्थानीय सरकारको खर्च गर्ने क्षमता वृद्धि भएसँगै क्रमशः सशर्त अनुदान हिस्सा घटाउँदै समपूरक लगायत अन्य अनुदानको हिस्सा बढाउँदै जान आवश्यक देखिएको छ ।

अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले प्रतिवेदनले नेपालको वित्तीय संघीयतामा भएका प्रगतिको विस्तृत समीक्षा गरेको बताएको छ । संघीय सरकारद्वारा विगतमा सञ्चालित आयोजना पछिल्लो चरणमा प्रदेश तथा स्थानीय सरकारहरूमा हस्तान्तरण भई कार्यान्वयन भइरहेको उनले जानकारी दिए । अहिले स्थानीय सरकार मातहत कार्यरत शिक्षक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत प्राविधिक कर्मचारीको तलब भत्ता हाल सशर्त अनुदान मार्फत भुक्तानी हुने अल्पकालीन व्यवस्थाले सुरुका वर्षहरूमा सशर्त अनुदानको हिस्सा केही बढी देखिएको उनको भनाइ छ । यसमा क्रमशः सुधार आउने उनले बताए ।

‘नेपाल वित्तीय संघीयता अध्ययन’ (नेपाल फिस्कल फेडरलिज्म अपडेट) प्रतिवेदनले नेपालमा वित्तीय संघीयता सुदृढीकरणका लागि विगत ५ वर्षमा गरिएका सुधारका पहलबारे उल्लेख गरेको छ । जसमा वित्तीय संघीयताका उपलब्धिको अभिवृद्धिमा मद्दत गर्न आवश्यक पर्ने मुख्य सुधारका कामको पहिचान गरेको छ । प्रतिवेदनले यस क्षेत्रमा भएका सुधारको मार्गदर्शन तथा अनुगमनका लागि वित्तीय संघीयताको मार्गचित्र तयार गर्न, अन्तरसरकारी वित्त हस्तान्तरण प्रणालीलाई अझ बढी सुदृढ बनाउन र प्रदेश तथा स्थानीय तहमा सार्वजनिक वित्तीय व्यवस्थापन कार्यसम्पादन सम्बन्धी एकीकृत डाटावेस स्थापना गर्न सुझाव दिएको छ । साथै, यसले तीनै तहका सरकारमा रहेका समवर्ती र साझा अधिकारहरूका बारेमा स्पष्टताका लागि कानुनी व्यवस्थामा संशोधन एवं परिमार्जन गर्न, सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी कार्यसम्पादनका लागि प्रदेश तथा स्थानीय सरकारका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न, र बजेटको थप विश्वसनीयता र प्रदेश तथा स्थानीय सरकारहरूको सेवा प्रवाहमा सुधार ल्याउन यस सम्बन्धी प्रणालीहरूलाई सबल तुल्याउन समेत सुझाव दिएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले वित्तीय संघीयता प्रदेश र स्थानीय सरकारहरूका लागि दिगो सेवा प्रवाहको एउटा महत्वपूर्ण आधार रहेको बताए । यसका निम्ति संघीयताको मर्म अनुरूप प्रदेश तथा स्थानीय तहमा पर्याप्त वित्तीय स्रोत र खर्च गर्ने निर्णय क्षमता हुनु आवश्यक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?