+
+

वैदेशिक रोजगारीमा रहेकालाई आईएमई लाइफको प्रिमियम मूल्यमा आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८० असार १ गते १२:२३

१ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न स्वीकृति पाएको आईएमई लाइफ इन्स्योरेन्सले शुक्रबारदेखि आईपीओ बिक्री खुला गरेको छ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा भएको व्यवस्था अनुसार कम्पनीले पहिलो चरणमा वैदेशिक राजगारीमा रहेका नेपालीलाई सार्वजनिक निष्कासन हुने सेयरको १० प्रतिशत सेयर बिक्री खुला गरेको हो ।

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिसेयर २३६ रुपैयाँ ९१ पैसामा आईपीओ निष्कासन गर्ने स्वीकृति पाएको थियो । इन्स्योरेन्सले जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने अंकित मूल्य १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको हो । जसको १० प्रतिशतले हुने १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्कासन खुला गरेको कम्पनीले प्रकाशित गरेको आह्वान पत्रमा उल्लेख छ । कम्पनीको सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले १५ असारसम्म आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सेयर निष्कासन गरी बाँडफाँट गरेपछि कम्पनीले २० असारदेखि सर्वसाधारणको लागि सेयर निष्कासन खुला गर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले कम्पनीको आईपीओमा न्यूनतम १० देखिअधिकतम १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले वैदेशिक रोजगारीमा रहका नेपालीलाई छुट्याएको सेयर पुर्ण बिक्री नभएमा २० असारदेखि सर्वसाधारण्लाई निष्कासन हुने सेयरमा थप गरेर निष्कासन हुन्छ । यस्तै कम्पनीले सामूहिक लगानी कोषहरुका लागि ६ लाख कित्ता र कर्मचारीका लागि ६ लाख कित्ता सेयर छुट्याएको छ । यसरी छुट्याएको सेयर पनि बिक्री नभएका सर्वसाधारणको सेयरमा नै थप गरेर निष्कासन हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषलाई निष्कासन गरेको सेयर पूर्ण बिक्री भएमा २० असारदेखि बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणको लागि निष्कासन हुनेछ ।

इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । इन्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले इन्स्योरेन्सको जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?