+
+

तरकारी खेतीबाट मनग्य आम्दानी गर्छन् शिक्षक धनवीर

रासस रासस
२०८० असार २ गते १५:०५

२ असार, बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउँद पेसाले शिक्षक हुन् । स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा पढाउने उनका दिनहरु विद्यालयमा पढाउने र बारीमा तरकारीको हेरचाह गरेर बित्ने गरेको छ ।

तीन वर्षदेखि व्यवसायिक तरकारी खेती गर्दै आएका उनी गाउँमा ‘नमूना कृषक’का रुपमा चिनिएका छन् । तरकारी खेतीबाटै उनले वर्षमा चार लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । साउँदलाई तरकारी खेतीका लागि शिवनाथ गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजन र प्राविधिक सहयोग गरेको छ।  उनको पोलिहाउसभित्र लटरम्म फलेका गोलभेँडा र बन्दाले धेरको मन लोभ्याएको छ ।

साउँदले गोलभेँडा, बन्दा, बोडी, अदुवा, बेसारलगायत खेती पनि गर्दै आएका छन् । पाँच रोपनी क्षेत्रफलमा १३ पोलिहाउस निर्माण गरी तरकारी गरिएको उनले बताए । ‘गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजनका साथै प्राविधिक सहयोग गर्दै आएको छ । यसले गर्दा सहज भएको छ’ उनले भने ।

तरकारी खेतीबाट पाँच जनाको परिवारको जीविकोपार्जन भइरहेको साउँदको भनाइ छ । ‘शिक्षकको तलबबाट मात्रै घरपरिवार पाल्न असहज हुन थालेपछि तरकारी खेती गर्न थालेको हुँ । अहिले छोरालाई स्नातक पढाउन काठमाडौं पठाएको छु’, उनले भने । तरकारी खेतीबाट मनग्य आम्दानी भएको देखेपछि आफूले पनि तरकारी खेती सुरु गरेको उनको भनाइ छ ।

‘गाउँका अन्य किसानले तरकारी खेतीबाट मनग्य आम्दानी गरेकाले मलाई पनि तरकारी खेतीमा लाग्न मन लाग्यो । आर्थिक अवस्था कमजोर भएकाले तलबले सबै आवश्यकता पूरा हुन नसकेपछि तरकारी खेती थाले । अहिले राम्रै भएको छ’ उनले भने । सिँचाइ सुविधा पर्याप्त नहुँदा, बजार अभाव, यातायात सेवा सहज नहुँदा बजारीकरणमा केही समस्या हुने गरेको साउँदले बताए ।

सिँचाइ सुविधा, बजार र यातायातको सहज सुविधा भए तरकारी खेती गर्न अझै सहज हुने साउँदले बताए । ‘सिँचाइ सुविधा नहुँदा खानेपानीले तरकारी सिँचाइ गर्नुपर्ने बाध्यता छ, खानेपानी रातिको समयमा सङ्कलन गर्न ट्याङ्की छैन’ उनले भने ।

बारीसम्म सडक विस्तार नभएकाले डोकोमा बोकेर सुल्लेखान उत्पादन भउका तरकारी पुर्‍याउनुपर्ने बाध्यता रहेको साउँदको भनाइ छ । कहिलेकाहीँ उत्पादित तरकारीले बजार नपाउँदा समस्या हुने गरेको साउँदले बताए । ‘मेहनत गरेर उत्पादन गरेको तरकारीले बजार नपाउँदा सस्तोमै बेच्नुपर्दछ । स्थानीय बजारमा खपत हुँदैन’ उनले भने ।

शिवनाथमा उत्पादन भएको तरकारी स्थानीय बजारका साथै जिल्लाको मेलौली, पाटन, सदरमुकाम र जिल्लाबाहिर डडेल्धुरा, कैलाली र कञ्चनपुरसम्म पुग्ने गरेको छ । अन्य समयमा तरकारी निर्यात गर्न सुल्लेखानबाट सहज हुने गरेको भए पनि बर्सातको समयमा उक्त क्षेत्रमा सडक अवरुद्ध हुँदा निकै सास्ती हुने गरेको साउँदले जानकारी दिए ।

तरकारी खेती आबद्ध किसानलाई व्यवसायिक खेतीका लागि आवश्यक सहयोग गरिँदै आएको शिवनाथ गाउँपालिका कृषि शाखा प्रमुख, कृषि अधिकृत ज्योति नायकले बताए । ‘यस वर्ष पालिकाभित्रका दुई सय ६५ किसानलाई ८० प्रतिशन अनुदानमा बीउबिजन, बाली संरक्षणका दुई सय ९९ लाई निःशुल्क विषादी दिएका छौँ”, उहाँले भन्नुभयो, “९० प्रतिशत अनुदानका लागि ८८ कृषकको पोलिहाउसका लागि निवेदन सङ्कलन भएको छ ।’

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर व्यावसायिक किसानलाई अनुदान सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । ‘कृषि क्षेत्र हाम्रो पहिलो प्राथमिकता हो । व्यावसायिक किसानलाई व्यवसायिक कृषिमा आबद्ध गराउने उद्देश्यले सहयोग गर्दै आएका छौं’ उनले भने ।

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि कृषकका लागि ‘एकघर एक पोलिहाउस’, कृषि उपज ढुवानीका लागि ‘कृषि एम्बुलेन्स’ सञ्चालनको तयारी भएको अध्यक्ष साउँदले जानकारी दिए । गाउँपालिकाभित्र सिँचाइ सुविधा नभएको स्थानमा सिँचाइ, सडक नभएका ठाउँमा सडक सुविधा क्रमशः विस्तार गरिँदै लगिने उनको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?