+
+

जागिर लगाइदिने आश्वासनमा किशोरीमाथि पटकपटक बलात्कार, ३ जना पक्राउ

गर्भवती भएपछि खुल्यो अपराध

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते २१:३४

३ असार, काठमाडौं । संखुवासभाकी एक जना १५ वर्षीय किशोरीलाई जागिर लगाइदिने प्रलोभन दिएर काठमाडौंमा ३ जना व्यक्तिले बलात्कार गरेको भेटिएको छ ।

१५ माघ २०७९ मा संखुवासभास्थित घरबाट भागेर आएकी किशोरी काठमाडौंमा जसको शरण लिएर बसिन्, त्यहीँ पटकपटक बलात्कृत भएकी हुन् ।

बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले रसुवाका ३७ वर्षीय रामचन्द्र तामाङ, ३६ वर्षीय मिङ्गमा तामाङ र संखुवासभाका २६ वर्षीय अजय लिम्बुलाई पक्राउ गरेको छ । लिम्बु नेपाल प्रहरीका कर्मचारी हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पीडित किशोरी संखुवासभास्थित घरबाट भागेर सुरुमा ललितपुरको सातदोबाटोस्थित एक जना आफन्त कहाँ बसेकी थिइन् ।

‘३÷४ दिन त्यहाँ बसेपछि बानेश्वरस्थित गाउँकै चिनजानको दाइ अजय लिम्बुको डेरा कोठामा बसेकी थिएँ, त्यहीँ मेरो आशिष राईसँग चिनजान भएको थियो’, पीडितले भनेकी छन्, ‘उहाँ लिम्बुको कोठामा आइरहने हुँदा चिनजान भएको थियो । त्यसपछि उहाँले मेरो कोठामा अरु कोही बस्दैन, त्यहाँ बस्नु, काम पनि खोजिदिन्छु भनेपछि गएको थिएँ ।’

उनका अनुसार राईको कोठामा अजय लिम्बु पनि बेलाबेला गइराख्थे । तारकेश्वर नगरपालिका–५ मा रहेको कोठामा सुतिरहेका बेला ४ फागुनमा मध्यराति १२ बजेतिर लिम्बु अचानक कोठामा आएको पीडितको भनाइ छ ।

‘राति अचानक म भएको कोठामा आएर ढोका बन्द गरेर तिमीलाई राम्रो ठाउँमा काम खोजिदिएको भन्दै प्रलोभनमा पारेर जबरजस्तीकरणी गर्नुभयो’, उनले भनेकी छन्, ‘मैले प्रतिकार गर्दा डर, त्रास देखाउनुभयो ।’

कसैलाई भने जे पनि गर्ने भन्दै धम्की भएपछि आफू चुपचाप त्यहीँ बसेको उनले बताएकी छन् ।

‘राईकै कोठामा बसेको अवस्थामा १० फागुनमा आशिषले पनि आएर म तिमीलाई धेरै माया गर्छु, राम्रो काम समेत लगाइदिन्छु भनेर जबरजस्तीकरणी गर्नुभयो’, पीडितले भनेकी छन् ।

त्यतिबेला उनको नजिकै डेरा गरी बस्ने मिरा तामाङसँग चिनजान भयो । उनले ‘काठमाडौंमा तिम्रो कोही रहेनछ’ भन्दै आफ्नो घरमा काम गर्दै बस्न अफर गरिन् ।

‘पछि राम्रो ठाउँमा काम खोजिदिन्छु भनेपछि मैले पनि हुन्छ भनेको थिएँ, चैत महिनापछि उहाँको कोठामा बस्दै आएको थिएँ’, पीडित थप्छिन्, ‘सुरुमा उहाँ एक्लै हुनुहुन्थ्यो, पछि गाउँबाट भिनाजु पनि आउनु भएको थियो ।’

२४ चैत २०७९ मा मिङ्गमा ३÷४ जना साथीहरुसँग कोठामा आएका थिए । त्यसबेला दिदी, भिनाजु र साथीहरुले बसेर मदिरा सेवन गरेको उनले बताइन् ।

‘त्यतिबेला भेनाका ३ जना साथीहरु घर फर्किएका थिए, उनीहरुमध्ये एक जना रामचन्द्र तामाङ मिङ्गमा तामाङको कोठामा नै बस्नु भएको थियो’, पीडितले भनेकी छन्, ‘त्यसपछि आज तिमी रामचन्द्रसँग एउटै कोठामा सुत हामी हाम्रो कोठामा नै सुत्छौं भन्दा मैले इन्कार गरेको थिएँ । तर, उहाँले फेरि रामचन्द्रसँग एउटै कोठामा सुत, त्यस्तो केही हुँदैन भन्नुभएको थियो ।’

तर, मध्यराति ढोकामा चुकुल लगाएर आफूलाई तामाङले बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो । ‘तामाङले मलाई विभिन्न डर, धम्की दिएर बलात्कार गरे, त्यतिबेला ममाथि गलत काम गरिसकेपछि म भागेर बाहिर समेत गएको थिएँ’, उनी भन्छिन् ।

किशोरी अहिले गर्भवती भएको दुई महिना नाघेको प्रहरीको भनाइ छ । गर्भ बसेपछि विभिन्न व्यक्ति हुँदै परिवारसम्म पुगेर यो घटना बाहिर आएको हो । पीडितले बच्चा कसेको हो भन्ने आफूलाई थाहा नभएको बताएकी छन् । प्रहरीले डीएनए जाँचका लागि नमूना समेत लिएको छ ।

पीडित किशोरीका दाइले काठमाडौं आएर प्रहरी वृत्त, बालाजुमा किटानी जाहेरी दिएका थिए ।

सोही जाहेरीको आधारमा प्रहरीले अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पठाएको थियो । प्रतिवेदनका आधारमा जिल्ला अदालत, काठमाडौंमा सरकारी वकिलले मुद्दा दायर गरेको थियो ।

त्यसक्रममा अदालतले आइतबार तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?