+
+

मनले जिते जित, मनले हारे हार

अञ्जली राना अञ्जली राना
२०८० असार ५ गते १४:१६

समय अनि परिस्थिति पक्कै एउटै हँुदैन । जीवनमा हरेक किसिमका परिवर्तन र अवस्था देखिन्छन् । अवस्था र समयलाई मध्यनजर गरी म त्यो दिन अस्पताल पुगेकी थिएँ । जानुपर्ने अर्काे भवनमा भएकाले म सरासर त्यहाँ पुगें र खाली बेञ्चमा थचक्क बसें । म यहाँ किन आएको मलाई नै थाहा छैन । मेरो आफ्नो मान्छे पनि यो भवनमा छैन भन्ने थाहा छ । तर पनि मनले त्यही बेञ्चमाथि लिएर बसालिदिन्छ । बिस्तारै मेरा नजरहरु यताउता हेरिरहेका थिए । अचानक एउटा वार्डमा टक्क अडियो । त्यहाँ लेखिएको थियो ‘मनोरोग परामर्श’ ।

मनोरोग पक्कै भयानक अवस्था पनि होइन । यसप्रतिको दृष्टिकोण भने हाम्रो समाजमा एकदमै खतरानाक भन्ने छ । साँच्चिकै मनोरोग पागलपन हो त ? मलाई नजिकै बसेको देखेर होला, हिंडिरहेका मानिसहरू मतिर नजर लगाइरहेका छन् । हुन त उनीहरु के सोच्छन्, त्यो मैले किन सोच्नुपर्‍यो ? तर मलाई कताकता यहाँ आउने मानिसप्रति चासो बढ्यो । यहाँ आउने मानिसहरुप्रति आममानिसको नजरिया कस्तो होला ? मैले त्यो वार्डमा बसिरहेका सबै बिरामीलाई नियालेर हेरें ।

केही उमेर ढल्केका व्यक्ति थिए । केही साना बालबालिका पनि थिए । एक्कासि मेरो नजर मलाई मेरै उमेरको जस्तो देखिने व्यक्तिकोमा गएर अडियो । त्यसैले पनि होला एकटक मैले उसैलाई हेरिरहें । ऊ बेडमा पल्टिरहेको थियो । अनेकौं छटपटीका धर्साहरु उसको अनुहारमा छर्लङ्ग देखिन्थे । ऊ छट्पटी लुकाउने भरसक कोसिस गरिरहेको थियो । सायद केही आशाका किरणहरु उसको जिन्दगीमा पनि होलान् । झट्ट हेर्दा ऊ आºनो सुन्दर भविष्यका लागि सपना देख्ने उमेरको जो थियो ।

आज म आफैंसँग दृढ संकल्प गर्छु, सपना भएका मान्छेहरुका सपना अधूरा हुनुभन्दा अगाडि नै उनीहरुको सपना पूरा गर्न जीवनभरि प्रयत्न गरिरहनेछु । उनीहरुको सपनाका लागि लडिरहनेछु । उनीहरुलाई सहयोग गरिहनेछु ।

म यहाँ आएर बसेको केही समय भइसकेको छ तर मेरो मनले उठ्न मान्दै मानेको छैन । एकपटक यताउति हेरे अनि फेरि उहीतिर हेरिरहन मन लाग्यो । उसले केही बोलेको जस्तो लाग्यो । सानो आवाजमा उसको कुरा सुनिरहेकी थिएँ । ऊ केही गुनासो गरिरहेको थियो, ‘हरेक युवाले विदेशिनुको मुख्य कारण आर्थिक संकट हो । जसले गर्दा हजारौं युवाहरु विदेशिनु परेको छ ।’ यो उसको जीवनको कहानी रहेछ । ऊ भनिरहेको छ, ‘मैले मेरै देशमा केही गर्ने अवसर किन छैन ? मजस्ता युवाहरु कहिलेसम्म विदेशिनु पर्ने ? मेरो कुरा कोही किन बुझ्दैनन् ? हामी नेपाली कहिले आत्मनिर्भर हुने ? कहिलेसम्म विदेशीको शरण पर्ने ? उसको छटपटी र विद्रोही भाव एकै पटक प्रवाहित भइरहेको थियो । ऊ जोसँग यी कुराहरु भनिरहेको छ, उनी उसको कोही नजिकको मान्छे हुनुपर्छ । उनले उसको कुरालाई समर्थन गरेको भावमा अघिदेखि टाउको हल्लाइरहेका छन् । ऊ लगातार बोलिसकेपछि एकपटक के सम्झने कोसिस गरे झैं रोकिएको छ । अब ऊ के बोल्छ भनेर म यता सुन्नलाई तयार भएर बसेकी छु । तर ऊ बोल्छ सोचेको बोलेन अहँ बोल्दै बोलेन । ऊ युवा हो, बिरामी थियो भने पनि एकपटक फेरि कोसिस गरेर बोल्नुपर्ने हो नाइँ ऊ फेरि बोल्दै बोलेन । मैले ऊ युवा हो भन्ने नै पछि सम्झें ।

मलाई ऊ युवा हो भन्ने कुराले असजिलो बनाएको छ । जुन युवा जमातलाई हामी परिवर्तनका संवाहक भनिरहेका छौं । उनीहरुको अवस्था के छ ? कहाँ छन् उनीहरु अहिले ? के त्यो परिवर्तनको संवाहकभित्र पर्ने एकजना युवा यो पनि होइन ? म पनि होइन ? मेरो अवस्था के छ ? म के गरिहेकी छु ? यो परिवर्तनको संवाहक हस्पिटलको वेडमा के गरिरहेको छ ?

फेरि एकपटक उसलाई नै हेरें । यो मान्छे हस्पिटलको बेडमा छ । तर मलाई सोचमग्न बनायो । प्रश्न गर्न बाध्य पाार्‍यो । ऊ यो अवस्थामा हुँदा पनि समृद्ध देशको परिकल्पना गर्न सक्छ भने मसँग त स्वस्थ शरीर र सिर्जनील मस्तिष्क छ । मैले चाहें भने के गर्न सक्दिन र ?

यत्तिकै सोचमग्न भएकी थिएँ । कसैको आवाज आयो, हजुरको कोही हुनुहुन्छ यहाँ ? म झस्किएँ र नाइँ भने अनि ऊ सरासर त्यही वार्डमा गयो । मेरो ध्यान भंग भयो । तर पनि मलाई यहाँबाट उठ्न कत्ति मन छैन । कहीं जान मन लागेको छैन ।

जसलाई मैले हेरिरहेकी छु । ऊ अरु को हो र ? ऐनामा देखिने म र छायामा देखिने तपाईं त हुनुहुन्छ नि । पछिल्लो समय मानसिक विचलन यति तीव्र गति बढेको देखेर म हतास भएकी छु । हरेक दिन संगत गर्ने साथी र दैनिक संवाद गर्ने अपरिचित मानिसहरुलाई नियाल्छु । अधिकांशमा यो छटपटी किन छ ? यो बेचैनी कहाँबाट आयो ? उनीहरु केही मिनेट मात्र आºनो साथीसँग कुरा गर्ने समय किन निकाल्न सक्दैनन् ? मुहारलाई उज्यालो बनाउने मुस्कानको ज्योति कहाँ गायब भयो ? संवादमा बोली मात्र किन रहन्छन्, के उनीहरु सुन्न सक्दैनन् ? सुन्ने कला सिक्नको लागि सबैभन्दा राम्रो माध्यम हो भन्ने उनीहरुलाई थाहा छैन र ? भर्खर टिनएज पार गर्न बित्तिकै बुढो मानिस जसरी किन काँपिरहेका छन् हातहरु ? युवावस्थामा नै कसरी कमजोर हुँदैछ शरीर ? मस्तिष्क जस्तो उर्वर भूमिमा किन लाग्दैछ खडेरी ?

उल्लेखित प्रश्नहरुको कारणले म मनोपरामर्श केन्द्र बाहिरको बेञ्चमा मनोवाद गरिरहेकी छु । एकोहोरो एकाग्र भएर म यति सोचमग्न कसरी भएँ ? के मानसिक रोगका बारेमा सोच्दा मात्र यति ध्यानमग्न भइन्छ ? के मानसिक रोगीलाई देख्दा यति सकसपूर्ण अवस्था सिर्जना हुन्छ ? मनमा के हुन्छ त्यस्तो जसले मस्तिष्कमा हलचल ल्याइदिन्छ ? तरंग पैदा गरिदिन्छ ?

आज म आफैंसँग दृढ संकल्प गर्छु, सपना भएका मान्छेहरुका सपना अधूरा हुनुभन्दा अगाडि नै उनीहरुको सपना पूरा गर्न जीवनभरि प्रयत्न गरिरहनेछु । उनीहरुको सपनाका लागि लडिरहनेछु । उनीहरुलाई सहयोग गरिहनेछु । जीवन अमूल्य छ, यो सफलता र असफलताको मानकभन्दा पर बाँच्नका लागि मात्र पनि हो भन्ने महसुस गराउन लागिपर्नेछु । के तपाईं पनि कसैको सपना पूरा गर्नमा सहयोग गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने आºनो सपना पूरा गर्नुस् । मनले जिते जित, मनले हारे हार । यो थियो मनोसंवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?