+
+

नवीकरण गर्ने भन्दा नयाँ राहदानी लिने बढी

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १९:२०

६ असार, काठमाडौं । नेपालमा नवीकरण गर्ने भन्दा नयाँ राहदानी लिनेहरुको संख्या बढी रहेको पाइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार गत जेठ महिनामा एक लाख ४२ हजार जनाले राहदानी लिएका थिए । त्यसमध्ये ६३ प्रतिशत नयाँ राहदानी लिनेहरु हुन् भने बाँकीले नवीकरण गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलका अनुसार एकै महिनामा एक लाख ४२ हजारले राहदानी लिएको हालसम्मकै उच्च हो । उनका अनुसार गत वैशाखमा एक लाख २५ हजारले र गत चैत महिनामा एक लाख ४१ हजारले राहदानी लिएका थिए । यसमा नवीकरण गर्ने र नयाँ राहदानी लिने दुवैको संख्या समावेश छ ।

प्रत्येक १० वर्षमा राहदानी नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । राहदानी बनाउनेको संख्या अनुमान भन्दा बढी र नवीकरण गर्नेको संख्या कम भएको मन्त्रालयको भनाइ छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बुधबार राहदानीका विषयमा पराराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवसँग छलफल गरेको थियो । छलफलका क्रममा सचिव पौडेलले नवीकरण गर्नेहरुको तुलनामा नयाँ राहदानी लिनेहरुको संख्या बढी रहेको बताएका हुन् । तर, यसको कारण के हो सचिव पौडेलले स्पष्ट खुलाएनन् ।

बैठकमा परराष्ट्रमन्त्री साउदले सरकारले राहदानी अभाव हुन नदिने बताए । विद्युतीय राहदानी खरिदका लागि प्रथमपटक बोलपत्र आह्वान गर्दा ५० लाखको संख्यामा खरिद गर्ने प्रस्ताव गरिएको भए पनि पछि मन्त्रिपरिषदबाटै निर्णय गरेर २० लाख मात्रै खरिद गरिँदा अहिले समस्या भएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर राहदानी खरिद गर्न समय लाग्ने भएकाले महँगो शुल्क तिरेर भएपनि पुरानै ठेक्काको भेरियसनमा राहदानी खरिद गर्नुपर्ने बाध्यता रहेको मन्त्री साउदले बताए ।

६६ पृष्ठको राहदानी चार लाख प्रति छापिएकोमा पाँच हजार मात्रै प्रयोग भएको र बाँकी मौज्जाद रहेकाले त्यसलाई समेत साधारण सरह वितरण गर्न थालिएको उनले जानकारी दिए । त्यसले अबको चार महिना धान्ने सरकारको अनुमान रहेको उनले बताए ।

राहदानी विभागका महानिर्देशक सुरेन्द्र यादवले गृह मन्त्रालयले ५६ वटा जिल्लामा १७ जना जनशक्ति थप गरेको उल्लेख गर्दै जिल्लाबाट समेत राहदानी लिन सहज भएको बताए । उनका अनुसार हाल औसतमा दैनिक साढे ६ हजारसम्म राहदानी छपाइ भइराखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?