+
+

संसदीय समिति सभापति चयनमा दलहरुले बेवास्ता गरे : सभामुख

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १४:५२

७ असार, काठमाडौं। सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापतिहरु चयन नहुँदा संसदीय कामकारबाही प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् ।

समिति सभापति चयनका लागि आफूले गरेको आग्रहलाई राजनीतिक दलहरुले बेवास्ता गर्दा समस्या भएको पनि उनको गुनासो छ।

‘समिति सभापति चयन गर्न राजनीतिक पार्टीहरुले निर्णय दिनुपर्ने हुन्छ । यसो नभएका कारण समस्या भएको हो। सभापतिहरु चयन नभएका कारण संसदीय समितिका कामकारबाही प्रभावकारी हुनमा कठिनाइ छन्’, बिहीबार अनलाइनखबरकर्मीसँगको भेटमा सभामुख घिमिरेले भने। आफूले राजनीतिक दलहरुलाई पटक पटक सभापति चयनका लागि आग्रह गरेको पनि उनले स्मरण गरे।

गत जेठ १५ गते बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख घिमिरेले औपचारिक रुपमै दलहरुलाई समिति सभापति चयनका लागि ७ दिनको समय दिएको बताएका थिए। तर, असार दोस्रो साता बितिसक्दा समेत समिति सभापति चयन हुन नसकेको भनी प्रश्न उठेको छ ।

आफूले दलहरुलाई सबै समितिको एकै पटक सम्भव नभए सम्भव हुने हदसम्म समितिको सभापति चयन गर्ने विकल्प समेत अगाडि सारेको सभामुख घिमिरेले सुनाए। सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दलले लिने अभ्यास भएकाले त्यसमा समिति सभापति चयन गर्न समस्या नहुने सभामुख घिमिरेको भनाइ छ।

यसका अलावा ठूला तीन दलको शीर्ष तहमा प्रमुख प्रतिपक्षी दलले कुन कुन समितिको सभापति लिने भन्ने विषयमा सहमति भइरहेको जानकारी पाएको भन्दै सभामुख घिमिरेले प्रमुख प्रतिपक्षीले पाउने भनिएको समितिका सभापति भएपनि चयन गर्न प्रस्ताव गरेको बताए ।

‘प्रमुख प्रतिपक्षीले पाउने भनिएको समिति सभापतिका लागि खासै समस्या हुँदैन भने गरौं भनेको हो’ घिमिरेले भने । संसदीय समितिको सभापति समयमै चयन हुन नसक्नुको प्रमुख कारण सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा समिति सभापतिको विषयमा गम्भीर ढंगले छलफल नहुनु रहेको सभामुख घिमिरेको बुझाइ छ ।

‘खासगरी गठबन्धनमा रहेका दलहरुका बीचमा खुलेर छलफल हुन सकेको छैन भन्ने सुन्नमा आएको छ । यसकारण पनि समिति सभापति चयनमा ढिलाइ भइरहेको हो’, घिमिरेले अनलाइनखबरसित भने ।

प्रतिनिधिसभाले गत वैशाख १५ गते १० वटा संसदीय समिति गठन गरेको थियो । सभापति निर्वाचित नभएका कारण संसदीय समितिका बैठकहरु जेष्ठ सदस्यको अध्यक्षमा बसिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?