+
+

बुटवलको नीति कार्यक्रम : मेगा सिटीको आधार तयार गरिने, जितगढीमा युद्ध संग्रहालय निर्माण गरिने

टोपराज शर्मा टोपराज शर्मा
२०८० असार ७ गते १६:५०

७ असार,बुटवल। बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बिहीबार नगरसभाको तेह्रौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रममा बुटवल र आसपासका नगर तथा गाउँपालिकाहरुलाई जोडेर मेगा सिटीका रुपमा विकास गर्न आधार तयार गरिने उल्लेख छ।

यस्तै तिनाउ नदीमा आरती  केन्द्र स्थापना गरी तिनाउ नदीको सभ्यतालाई प्रवद्र्धन गर्ने, नेपाली फौजले अंग्रेज फौजलाई पराजित गरेको जितगढी किल्लामा युद्ध संग्रहालय निर्माण गर्ने उल्लेख छ ।

यस्तै बुटवलमा लगानी सम्मेलन गर्ने, दिउँसोमा चल्ने ठेलालाई रात्रीकालीन घुम्ती रेष्टुरेन्टमा रुपान्तरण गर्ने,एक वडा एक पहिचान, एक विद्यालय एक स्वास्थ्यकर्मी, एक घर तीन रुख कार्यक्रम कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै सडकका खाल्डाखुल्डी पुर्न नगरप्रमुख पुर्वाधार एम्बुलेन्स कार्यक्रम सञ्चालन गरिने, चर्को घर बहालका कारण व्यवसायी विस्थापित हुनबाट रोक्न घरधनी,व्यवसायिक संघसंस्था र सरोकारवालासंग छलफल गरी समयानुकुल वैज्ञानिक भाडा दर तय गर्न पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

जितगढी किल्ला,रामापिथेकस पार्क,मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबारलाई नगरको गौरव सम्पदाको रुपमा विकास गरिने,बुटवल औद्योगिक क्षेत्रभित्र रहेका करिब ७० वटा उद्योगलाई नगरमा अनिवार्य दर्ता गराई करको दायरामा ल्याई एकीकृत सम्पत्ति कर र बहाल कर असुली गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलता नीति अवलम्बन गरी सुशासन कायम गरिने,समयमा कर तिर्ने करदातालाई सम्मान गर्ने नीति लिइने उल्लेख छ।

नीति तथा कार्यक्रममा बुटवलमा कवाड व्यवस्थित क्षेत्र निर्धारण गरी सबै कवाड व्यवसायलाई करको दायरामा ल्याउने नीति लिइने, बेरोजगारी न्यून गर्ने, स्वरोजगारिता वृद्धि गर्ने, सीप सिकाउने र उद्यम विकास गर्न गृहणी महिलालाई उत्पादनसँग जोड्ने गरी सीप विकास कार्यक्रम सञ्चालन गर्ने नीति लिएको नगर प्रमुख पाण्डेले बताए।

यस्तै बुटवलमा मुख्य कार्यालय स्थापना गरी सूचना प्रविधि क्षेत्रमा काम गर्न चाहने स्टार्टअप कम्पनीहरुलाई सहुलियत प्रदान गरी प्रोत्साहन गरिने उल्लेख छ। एकल महिला,लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्ति ई रिकसा र टेम्पोको सवारी धनी भई स्वयं चालक भएकालाई नवीकरणमा २५ प्रतिशत  र स्वरोजगार महिला चालकलाई नवीकरणमा १५ प्रतिशत  छुट दिने नीति लिइने उल्लेख छ।

आधारभूत स्वास्थ्य सेवा निःशुल्क बनाउन स्वास्थ्य संस्थाको स्तरोन्नति, सबै वडामा स्वास्थ्य संस्था स्थापना तथा स्वास्थ्य सेवा प्रवाह गर्दै सुविधा सम्पन्न १५ बेडको २ वटा नगर अस्पताल सञ्चालन, बुटवल टेक्निकल इन्स्टिच्युटमा स्नातक तहको इन्जिनियरिङ विषय अध्यापन गराउने, आम्दा अस्पताललाई ३ सय बेडमा स्तरोन्नति गर्ने,जेष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर बाआमासंग नगर प्रमुख कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

नीति तथा कार्यक्रममा जेष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गरी बा आमासंग नगर प्रमुख कार्यक्रम,नगर प्रमुख उपप्रमुख घरदैलो स्वास्थ्य कार्यक्रम,नगरभित्रका सामुदायिक विद्यालयलाई हिलो र धुलोमुक्त बनाउन ग्राउण्ड इन्टरलक तथा दुबो लगाएर हरियालीयुक्त बनाइने उल्लेख छ। संस्थागत विद्यालयले लिने शुल्कलाई निश्चित मापदण्डका आधारमा निर्धारण गरी न्यायोचित बनाइने, बुटवलको उपयुक्त स्थानमा ई लाइब्रेरी स्थापना गर्ने, पार्किङ व्यवस्थापनका लागि वडा नं. १देखि ११ सम्मको खाली जग्गालाई जग्गाधनीसंग सम्न्वय गरी पार्किङ क्षेत्र बनाइने उल्लेख छ।

खानेपानी समस्या दीर्घकालीन समाधानका लागि झुम्सा खानेपानी आयोजना छिटो पूरा गर्न पहल गर्ने, किसानलाई उत्पादनका आधारमा अनुदान दिने, पत्रकारिता अनुसन्धान केन्द्र तथा सञ्चारग्राम स्थापनाको पहल, मिडिया हाउस सञ्चालनका लागि सहयोग, नदीजन्य पदार्थको अनावश्यक उत्खनन र दोहन रोकी श्रोत वृद्धि गर्न नगरले आफै उत्खनन गरेर भण्डारण गर्ने र आवश्यकता अनुसार बिक्री वितरण गर्ने नीति नगरले लिने भएको छ।

यस्तै, बुटवलमा लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन गर्ने, पूर्वमेयर र उपविजेतासँग भेटघाट कार्यक्रम गर्ने, तिलोत्तमा गोल्डकप नियमित गर्ने नीतिमा राखिएको छ।

नीति तथा कार्यक्रममा बुटवलमा चल्ने ई रिम्सा र टेम्पोमा बुटवलको ऐतिहासिकता र पहिचान झल्किने प्रचार सामग्रीसहित एउटै रंगको बनाइने उल्लेख छ।

यस्तै बुटवललाई ग्रीन एण्ड क्लिन सिटीमा रुपान्तरण गर्ने,पुरानो बुटवललाई पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय शहरको क्षेत्रका रुपमा विकास गर्ने, बुटवल १५ मा २ अर्ब लागतको अत्याधुनिक थोक कृषि बजार स्थापना गर्ने, बुटवल ७ मा हरियालीयुक्त प्रादेशिक बसपार्क निर्माण,कृषि विकासमा के पाइन्छ होइन, के चाहिन्छ नीति अवलम्बन गरिने उल्लेख छ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?