+
+

के हो रूसले युक्रेन युद्धमा प्रयोग गरिरहेको ‘कम्ब्याट डल्फिन’ ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार ९ गते ८:१७
Photo Credit : Illustrated | iStock

९ असार, काठमाडौं । रूसमाथि आफ्नो नियन्त्रणमा रहेको क्रिमियाली प्रायद्वीपमा लडाकू डल्फिनलाई प्रशिक्षण दिइरहेको आरोप लागेको छ । शुक्रबार बेलायती सेनाका जासुसहरूले युक्रेनी सेनाको सामना गर्न रुसले लडाकू डल्फिनलाई प्रशिक्षण दिइरहेको दाबी गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

गत वर्षदेखि सेवस्तोपोलमा रहेको ‘ब्ल्याक सी’ क्षेत्रको मुख्य आधारको सुरक्षामा रुसी नौसेनाले ठूलो लगानी गरेको बेलायती गुप्तचर सेवाको दाबीसँगै लडाकु डल्फिनबारे चर्चा सुरु भएको छ ।

के हो ‘कम्ब्याट डल्फिन’ ?

समुद्री स्तनधारी जीवन डल्फिन पृथ्वीमा रहेका केही धेरै बुद्धिमान जीवमध्येमा पर्छ । यसले मानिससँग मित्रवत सम्बन्ध कायम गर्न सक्छ ।

शरीरको बनावटका कारण डल्फिन सुपर फास्ट पौडीबाज हुन्छन् । संसारको सबैजसो जलमण्डलमा डल्फिन बसोबास गर्छन् । यिनीहरू तुलनात्मक रूपमा पानीको माथिल्लो तहमा बसे पनि हजारौं फिटमुनिको गहिराइसम्म डुबुल्की मार्न सक्छन् । डल्फिन मांसाहारी प्राणी हो र खाना छिटो पचाउनु यिनको विशेषता हो ।

विश्वका विभिन्न देशले सैन्य प्रयोजनका लागि जनावरहरूको प्रयोग गर्ने अभ्यास नयाँ होइन । यसक्रममा कुकुरदेखि समुद्री प्राणी डल्फिनसम्मको प्रयोग गर्दै आइएको छ ।

युद्धमा जनावरको प्रयोग काम, यातायात र लडाइँ तीनै प्रयोजनका लागि हुँदै आएको छ । हात्ती, घोडा, खच्चर, गधा, ऊँटलाई ढुवानी र आवतजावत गर्ने साधनको रूपमा प्रयोग हुँदै आएको छ । मुसादेखि सुंगुर हुँदै डल्फिन र समुद्री घोडाहरूलाई पनि युद्धका लागि प्रयोग गर्ने अभ्यास छ ।

खासगरी अमेरिका र तत्कालीन सोभियत युनियनले युद्धका लागि समुद्री डल्फिनलाई तालिम दिने र प्रयोग गर्ने गर्दै आएका छन् । सोभियत संघको बेलामा युक्रेनले पनि डल्फिनलाई सैन्य तालिम दिने गरेको द गार्डियनले खबर लेखेको छ ।

सोभियत सङ्घ र संयुक्त राज्य अमेरिका दुवैले शीतयुद्धको समयमा डल्फिनको प्रयोग गरेका थिए, जसले उनीहरूलाई पनडुब्बी, खानी र बन्दरगाह र जहाजको नजिक शंकास्पद वस्तु वा व्यक्तिहरू पत्ता लगाउन प्रशिक्षण दिएका थिए ।

सोभियत सङ्घका एक अवकाशप्राप्त कर्णेलले एएफपीसँग कुरा गर्दै मस्कोले डल्फिनलाई शत्रुका जहाजमा विस्फोटक पदार्थ राख्न तालिम समेत दिएको बताएका छन् । सोभियत र सोभियत पछिको युगमा सैन्य डल्फिन प्रशिक्षण देखेका भिक्टर बारानेट्सले भने, ‘उनीहरूलाई ब्ल्याक सीमा परित्यक्त पनडुब्बी र डुबेका अन्य जहाजहरू कसरी पत्ता लगाउने भन्ने सिप थाहा थियो ।’

अमेरिकी सेनाले सन् १९५९ देखि नै डल्फिनलाई तालिम दिंदै आएको छ । उसले पानीभित्र हुनसक्ने हमलाको पहिचान गर्न र त्यसलाई असफल बनाउन तालिमप्राप्त डल्फिनको प्रयोग गर्दै आएको छ ।

एएफपीका अनुसार अमेरिकी नौसेनाले सन् २००३ मा न्यूयोर्क र वासिङ्टनमा भएको ९/११ को आक्रमणपछि ‘अपरेशन एन्ड्योरिङ फ्रिडम’लाई समर्थन गर्न बहराइनमा तैनाथ समुद्री सिलहरू प्रयोग गरेको थियो ।

२०७६ भदौमा अमेरिकी जासुसी संस्था सीआईएले सार्वजनिक गरेको प्रतिवेदनमा शीत युद्धकालमा अमेरिकी परेवा, काग र डल्फिनले जासुसका रूपमा काम गरेको उल्लेख गरेको छ । परेवाले तस्वीर खिचेर, कागले जासुसी यन्त्र खसालेर र डल्फिनले पानीमुनिको जासुसी गतिविधि पत्ता लगाएर सहयोग गर्ने गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

मानिसले गर्न गाह्रो हुने काम जनावरको प्रयोगले सजिलै गर्न सकिन्छ । तालिम प्राप्त डल्फिनले पानीमुनिका जासुसी गतिविधि र विकिरण पत्ता लगाउन सक्छ ।

युक्रेन युद्ध सुरु भएपछि रूसले ब्ल्याक सीको नौसेना सैन्य आधारमा तालिमप्राप्त मिलिटरी डल्फिन तैनाथ गरेको छ । रुसले पानीमुनिको नौसैनिक जहाजमाथि आक्रमण रोक्न डल्फिनको प्रयोग गरेको हो ।

अघिल्लो वर्ष वैशाखमा यूएस नेभल इन्स्टिच्युटले गरेको स्याटेलाइट तस्वीरको जाँचमा गत वर्ष फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण सुरु गर्दा नै दुई डल्फिनलाई सैन्य अखडामा लगिएको पाइएको उल्लेख गरेको थियो । रूसले यी डल्फिनहरूको प्रयोग समुद्रमुनि रहेका सामान खोज्न र दुश्मनका गोताखोरहरू पत्ता लगाउन प्रयोग गर्दै आएको छ ।

सैन्य तालिम प्राप्त यी डल्फिनलाई रुसी नौसेना बेसको प्रवेश बिन्दुको निगरानीका लागि प्रयोग गरिएको छ । यहाँबाट रसिया छिर्ने जहाज, पनडुब्बी वा युद्ध पोतलाई रोक्न डल्फिनको प्रयोगलाई रुसले उच्च प्राथमिकतामा राख्दै आएको छ ।

युक्रेन युद्धमा पानी भित्र दुस्मनको आवाज र दुरीलाई मापन गर्न क्षमता राख्ने डल्फिनलाई रुसले चलाखीपूर्वक प्रयोग गरिरहेको छ । डल्फिनको चाललाई संकेतमा परिणत गर्न सक्ने प्रविधिको विकास गरेको रुसले यसबाट दुस्मन सेनाबारे सूचना संकलन गर्दछन् ।

त्यसो त, अमेरिका र रुससँगै युक्रेनले पनि डल्फिनलाई युद्धमा प्रयोग गर्दै आएको छ । सोभियत संघ विघटनपछि डल्फिनलाई सैन्य कामसँग जोडिएको ठूलो परियोजना युक्रेनको पक्षमा परेको थियो ।

बेलायसी जासुसको दाबी
‘रुसले बन्दरगाहको प्रवेशद्वारमा कम्तीमा चार तहको तारबार लगाएको छ । हालैका हप्ताहरूमा, प्रशिक्षित समुद्री स्तनधारीहरूको बढ्दो सङ्ख्याले यी प्रतिरक्षाहरूमा पनि वृद्धि भएको देखिन्छ’ एएफीका अनुसार बेलायती जासुसी संस्थाले शुक्रबार जारी विज्ञप्तिमा भनेको छ, ‘चित्रहरूले बन्दरगाहमा तैरिरहेका स्तनपायीहरूको सङ्ख्या लगभग दोब्बर भएको देखाउँछ जसमा बोतल–नाक भएको डल्फिनहरू हुन सक्छन् ।’

ती जनावरहरू शत्रुका गोताखोरहरूको सामना गर्ने उद्देश्यले बनाइएको हुनसक्ने उसले उल्लेख गरेको छ ।

रुसले आर्कटिक जलक्षेत्रमा विभिन्न अभियानका लागि बेलुगा ह्वेल र सीलको प्रयोग गर्दै आएको छ । गत महिना स्वीडेनको तटमा देखा परेको हार्नेस लगाएको ह्वेल माछा सन् २०१९ मा नर्वेमा पनि भेटिएको थियो ।

सन् २०१६ मा रूसको रक्षा मन्त्रालयले सोभियत कालको सैन्य कार्यका लागि अत्यधिक बुद्धिमान सिटासियनको प्रयोगलाई पुनर्जीवित गर्ने प्रयासको एक भागको रूपमा पाँच वटा डल्फिन किन्ने प्रयास गरेको थियो ।

-एएफपी लगायत एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?