+
+
पुस्तकांश :

राजदूतको निरन्तर प्रयासमा वीरेन्द्र*लाई पढ्न इटन पठाइयो

दार्जीलिङको सेन्ट जोसेफ स्कुलबाट विद्यालयको पढाइ पूरा गरेका युवराज वीरेन्द्रलाई उच्च शिक्षाका लागि इटन पढ्न पठाइएको थियो । यो पढाइपछि हार्भर्ड र टोकियोमा पनि केही समय रही भावी राजालाई उच्च शिक्षा हासिल गर्ने व्यवस्था मिलाइयो ।

डा. मदनकुमार भट्टराई डा. मदनकुमार भट्टराई
२०८० असार ११ गते १३:३४

सायद बेलायतको अनुभव र परराष्ट्र सचिव पदसमेत सम्हालेका आधारमा कूटनीति नै उनका लागि उत्कृष्ट स्थान ठानी प्रा. रामप्रसाद मानन्धरलाई छिट्टै लन्डनका लागि राजदूत नियुक्त गरियो ।

राजदूतावासको इतिहासमा त्यो पहिलो गैरराणा वा सर्वसाधारणको नियुक्ति थियो । काठमाडौंबाट पटनासम्म विमान, पटनाबाट मुम्बईसम्म पाँच दिन लगाएर रेलको यात्रा गरी १६ दिनमा पिओ लाइनर चुसान जहाजबाट २७ फेब्रुअरी, १९५६ का दिन उनी आफ्नो परिवार र सहयोगीसँगै कूटनीतिक ओहदा सम्हाल्न टिलबरी डक्स आइपुगेका थिए ।

श्रीमती, ६ छोरी र २ छोरा गरी १० जनाको परिवार र साथमा सहयोगी सहित नेपाली राजदूतको आगमन पनि समाचार बनेको थियो । साढे छ वर्षको राजदूतको कार्यकालपछि उनी सेप्टेम्बर १९६२ मा काठमाडौं फर्किए । प्रा. मानन्धर बेलायतमा राजदूत हुँदा तत्कालीन सोभियत सङ्घका लागि पनि पहिलो राजदूत (गैरआवासीय) रहे । यस अवधिमा राजा महेन्द्रले रूसको राजकीय भ्रमण गरे ।

१९५९ को सुरूमा रूसले नेपालसँग हस्ताक्षर गरेको आर्थिक सहयोग सम्झौताको प्रमुख सूत्रधारका रूपमा राजदूत मानन्धरलाई मान्न सकिन्छ ।

राजकीय भ्रमणमा गैरआवासीय राजदूतकै रूपमा भए पनि मानन्धरको प्रस्तुति, मिहिनेत र उपलब्धिबारे नेपाली पक्षले त तारिफ गरेको थियो नै, त्यतिबेला लामै समयदेखि रूसमा कार्यरत राजदूत तथा अनुभवी र वरिष्ठ कूटनीतिज्ञको श्रेणीमा पर्ने प्रसिद्ध कूटनीतिशास्त्री, लेखक र भारतका पूर्वपरराष्ट्र सचिव केपिएस मेनन (१८ अक्टोबर, १८९८– २२ अक्टोबर, १९८२) पनि अत्यन्त प्रभावित थिए ।

मेननले राजा महेन्द्रको सम्मानमा एक विशेष कार्यक्रम पनि गरेका थिए । भारतीय राजदूत मेनन १९४८–१९५२ अवधिमा पहिलो भारतीय परराष्ट्र सचिव रहे । उनी यसअघि चीनमा राजदूत, कोरियाका लागि संयुक्त राष्ट्रसङ्घीय आयोगको अध्यक्ष र १९५२–१९६१ अवधिमा मस्कोमा राजदूत रहे । अवकाशपछि उनी सङ्घीय लोकसेवा आयोगका सदस्य र अध्यक्ष बने ।

राजाको स्वागतमा भारतीय राजदूतले गरेको कार्यक्रममा बोलेको विषय नेपाली पक्षले त्यति सहज रूपमा नलिएको प्रसङ्गमा राजदूत मानन्धरले दिएको प्रत्युत्तरबाट श्री ५ महेन्द्र निकै प्रभावित भए । राजदूतको प्रस्तुतिप्रति विशेष रूपमा सराहना गर्दै राजारानी, शेरबहादुर मल्ल (सैनिक सचिव) र पछि नेपालका अन्तिम बडाकाजी दर्जा पाएका पुष्पराज राजभण्डारीको उपस्थितिमा राजाले राजदूतलाई स्याबासीका रूपमा के चाहिन्छ, त्यसबारे उनलाई ‘जाहेर’ गर्न आग्रह गरे ।

आफ्नो एकोहोरो मिजास र विद्वान् पृष्ठभूमिका बाबजुद उनले अन्य कुनै अनुरोध नगरी आफूलाई ‘अत्यन्त दुःख दिइरहेका’ प्रथम सचिव झरेन्द्रनारायण सिंहलाई राजदूतावासबाट हटाइदिन राजासमक्ष ‘बिन्ती’ चढाए ।

केही समयअघि शाही भ्रमणबारे रूसी सञ्चारमाध्यमले मस्कोमा बेल्जियमकी मुमा महारानी एलिजाबेथलाई ‘रातो कार्पेट’ व्यवहारका साथ स्वागत गरिएको प्रसङ्ग उठाउँदै राजा महेन्द्रको रूसी सरकारले उपयुक्त स्वागत गर्न लागेको उल्लेख गरेको थियो । राष्ट्रपति क्लिमेन्टी वाई भोरोसिलोभको निमन्त्रणामा हुन लागेको नेपाल नरेशको राजकीय भ्रमणलाई तत्कालीन सोभियत सङ्घ सरकारले निकै महङ्खव दिएको थियो ।

यसअघि नेपाल र तत्कालीन सोभियत समाजवादी गणतन्त्र सङ्घबीच औपचारिक दौत्य सम्बन्ध स्थापना गर्ने निर्णय गरिएको थियो । त्यो समय केवल भारत र संयुक्त अधिराज्यको मात्र काठमाडौंमा कूटनीतिक उपस्थिति थियो । नेपालको परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित विज्ञप्ति अनुसार तत्कालका लागि भारतस्थित राजदूत एमए मेन्सिकोभ र लन्डनका लागि नेपालका आवासीय राजदूत प्रा. रामप्रसाद मानन्धरले एकअर्का देशका लागि गैरआवासीय राजदूतको हैसियतमा काम गर्ने कुरा जनाइएको थियो ।

श्री ५ महेन्द्रबाट १ अप्रिल, १९६६ मा रामप्रसाद मानन्धरलाई राजसभा सदस्यमा नियुक्त गरियो । साथै रङ्गनाथ शर्माको अध्यक्षतामा गठित राजसभा स्थायी समितिका सदस्य पनि तोकियो । स्मरणीय छ, एकै दिन नियुक्त भएका अन्य राजसभा सदस्यहरू सुवर्णशमशेर, कालीप्रसाद उपाध्याय र केशरबहादुर केसीलाई स्थायी समितिमा राखिएको थिएन ।

यी चारै जना पूर्वराजदूत थिए । स्थायी समितिमा स्थान दिइएकामा पछि राजदूत भएका व्यक्ति अनिरूद्धप्रसाद सिंह र खड्गमान सिंहसमेत थिए । लन्डनबाट फर्केपछि केही महिना परराष्ट्र मन्त्रालयमा जगेडामा हाजिर गरी ४८ वर्षको उमेरमा मानन्धरलाई सेवाबाट निवृत्त गरियो ।

१९६४ मा उनलाई राजसभा स्थायी समितिका सदस्य तोकिएको थियो । सोही मितिमा राजसभाका सदस्यमा नियुक्त भएका विशिष्ट व्यक्ति र अन्य पूर्वराजदूतहरूमा सुवर्णशमशेर, केशरबहादुर केसी र कालीप्रसाद उपाध्याय थिए । पछि राजदूत भएका परराष्ट्रसम्बन्धी पूर्वसल्लाहकार (मन्त्रीसरह) खड्गमान सिंहलाई त्यति बेला राजसभा स्थायी समितिको सदस्य बनाइएको थियो ।

प्रा. मानन्धर १९४९ मा राजदूत शङ्करशमशेरका साथ काउन्सेलर पदमा लन्डन जाँदा सोही राजदूतावासमा कार्यरत प्रथम सचिव ईश्वरीराज मिश्र (पछि सरदार दर्जा पाएका, ४ अक्टोबर, १९१७ – ३० नोभेम्बर, १९९९) र विशेष सैनिक सहचारी (पछि सैनिक सहचारी भएका) मेजर जनरल श्रीधरशमशेर उनी राजदूत रहँदा सोही स्थानमा निरन्तरता पाई कार्यरत थिए । शङ्करशमशेरसँग बेलायत पुगेको नेपाली टोली फ्य्राङ्कोनिया नामक जहाजमा गएको थियो ।

मिश्रलाई प्रथम सचिवका रूपमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा यसअघि कार्यरत प्रथम सचिव पदका झरेन्द्रनारायण सिंहले बदले । सिंहलाई पछि उनी सरह अलाहाबादबाट कूटनीति र अन्तर्राष्ट्रिय मामिला अध्ययन गरेका भरतराज राजभण्डारीले विस्थापित गरे । यी तीनै जना एकभन्दा धेरै पटक राजदूत (सिंह चार पटक, मिश्र र राजभण्डारी दुईदुई पटक) र राजभण्डारी अनि सिंह परराष्ट्र सचिवसमेत बने ।

राजदूतावासको सैनिक सहचारी श्रीधरशमशेरको स्थानमा पछि कर्णेल रविशमशेर र उनको स्थानमा ले.क. सिंहप्रताप शाह (पछि नेपाली सेनाका प्रधानसेनापति र जर्मनीमा राजदूत) नियुक्त भए । करिब तीन वर्ष विशेष सैनिक सहचारी (१९४९–५१) र २३ वर्षको उमेरका मेजर जनरल दर्जासहित सैनिक सहचारी (१९५१–५७) भएका श्रीधरशमशेरलाई लन्डनमा अवस्थित अन्य राजदूतावासका सैनिक अधिकारीहरू र ब्रिटिस कूटनीतिक क्षेत्रमा ठूलै सैनिक रणनीतिज्ञ वा प्रतिभावान् हुनसक्ने सम्भावित व्यक्तिका रूपमा चर्चा गर्थे । मेजर जनरल दर्जाका सैनिक सहचारीमा उनी मात्र एक थिए ।

१९५७ मा लेफ्टिनेन्ट जनरलमा पदोन्नति भई १९५८ मा ३० वर्ष हाराहारी उमेरमा उनी सैनिक सेवाबाट अवकाश भइसकेका थिए । प्रधानमन्त्री चन्द्रशमशेरका नाति तथा राजदूत जनरल शङ्करशमशेर र खिलराज्यलक्ष्मीका छोरा जनरल श्रीधर १९४४ मा दोस्रो विश्वयुद्धका बेला १४ वर्षमै सेनाका उच्च अधिकृत भएका थिए ।

त्यति बेलासम्म केवल रोलवाला तथा प्रभावशाली राणाहरू मात्र लन्डनमा नेपालको राजदूत हुने गरेका थिए । यस्तो परिप्रेक्ष्यमा संयुक्त अधिराज्यका लागि नेपालबाट पठाइने पहिलो गैरराणा र सर्वसाधारण जनताका तर्फबाट राजदूत प्रा. मानन्धरको नियुक्ति हुँदा बेलायती पक्षलाई दिइएको जीवनीमा उनको रूचिका विषयमा अङ्ग्रेजी साहित्य, नेपाली साहित्य, आधुनिक इतिहास, सामान्य प्रशासन, राष्ट्रिय योजना, सार्वजनिक सम्बन्ध, समसामयिक विषय र अन्तर्राष्ट्रिय मामिला जस्ता विषय उल्लेख थियो ।

अन्य विभिन्न उपलब्धिका साथै प्रा. रामप्रसाद मानन्धर राजदूत रहँदा राजा महेन्द्रको संयुक्त अधिराज्यको राजकीय भ्रमण र बेलायतकी महारानी एलिजाबेथ द्वितीया (२१ अप्रिल, १९२६ – ८ सेप्टेम्बर, २०२२; ७० वर्ष ७ महिना गद्दीमा रही बेलायतको लामो राजतन्त्रको इतिहासमा सबैभन्दा लामो अवधिकी राजर्षि महारानीको कीर्तिमान कायम गर्न सफल) को नेपालको राजकीय भ्रमण भयो ।

उक्त अवसरमा राजदूत मानन्धरले सायद राजा महेन्द्रलाई युवराज वीरेन्द्रको शिक्षादीक्षा दार्जीलिङमा मात्र सीमित राख्नुको साटो बेलायतमा उच्च शिक्षा दिलाउने आवश्यकताबारे विश्वस्त गराए । यस सम्बन्धमा उनले धेरै पटक राजदरबारलाई पत्र पनि पठाए ।

बेलायतको ह्यारो, इटन आदि विश्वप्रसिद्ध शैक्षिक क्षेत्रमा विभिन्न देशका राजपरिवारका सदस्य र भावी नरेशहरूको पठनपाठन हुने प्रचलित परिपाटीको उदाहरण दिएपछि दार्जीलिङको सेन्ट जोसेफ स्कुलबाट विद्यालयको पढाइ पूरा गरेका युवराज वीरेन्द्रलाई उच्च शिक्षाका लागि इटन पढ्न पठाइएको थियो । यो पढाइपछि हार्भर्ड र टोकियोमा पनि केही समय रही भावी राजालाई उच्च शिक्षा हासिल गर्ने व्यवस्था मिलाइयो ।

राजदूत मानन्धर विद्वत्ता, भद्रता र शिष्टताका लागि राम्ररी चिनिन्थे । तर यसअघि चर्चा गरिएअनुसार प्रशासनिक मामिलामा भने उनी कमजोर थिए । लन्डनस्थित राजदूतावासमा रहँदा उनका परिवारका सदस्यको व्यवहार स्वीकृत आचारसंहिता र परम्परागत कूटनीतिक मान्यताभन्दा नितान्त फरक थियो ।

एक पटक लन्डनका लागि भारतीय उच्च आयुक्त र उदारमना श्रीमती विजयलक्ष्मी पण्डितले यस स्थितिबारे नेपाली राजदूतलाई विशेष रूपमा सतर्कता र सावधानीका लागि ध्यानाकर्षण गरेकी पनि थिइन् । यो अवस्था राजदूत मानन्धर बेलायतबाट काठमाडौं फर्केपछि पनि कुनै नकुनै रूपमा जारी रह्यो ।

भर्खरै संसद विघटन भएको १९६१ सुरूको परिप्रेक्ष्यमा संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भई लन्डन आएका एक पूर्वसांसदले बेलायती सांसदको कारबाही हेर्ने इच्छा देखाए । संसद् सदस्यबाट उनी हालैको राजनीतिक परिवर्तनपछि स्वतः निलम्बन भएको परिप्रेक्ष्यमा मिलनसार र अरुलाई सहयोग गर्न कटिबद्ध राजदूत मानन्धरले उनलाई संसद् सदस्य नभनी सांसद (पार्लियामेन्टरियन) भन्ने धेरै अर्थ लाग्ने शब्दबाट परिचय गरी ब्रिटिस विधायिकाको कामकारबाही हेर्न सक्ने व्यवस्था मिलाउन मध्यमार्गी बाटो अपनाएका थिए ।

(असार १५ गते शुक्रबार विमोचन हुन लागेको ‘चार कूटनीतिज्ञ’ पुस्तकांश)

(*यसअघि समाचार शीर्षकमा वीरेन्द्र हुनुपर्नेमा भुलवश अन्यथा हुनगएकोमा सच्याइएको छ – सम्पादक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?