+

४ खानेकुरा, जसले मुटु स्वस्थ राख्छ

२०८० असार  १२ गते १४:१६ २०८० असार १२ गते १४:१६
४ खानेकुरा, जसले मुटु स्वस्थ राख्छ

मुटुमा विभिन्न कारणले समस्या आउँछ । मुटुरोग लाग्नुको प्रमुख कारण खानपिन हो । यदि दैनिक रुपमा लो डेन्सिटी लिपोप्रोटिन (एलडीएल) अर्थात् खराब कोलेस्टेरोल बढ्ने चिल्लो, गुलियो र नुनिलो खानेकुरा बढी खाएमा मुटुरोगको जोखिम उच्च हुन्छ ।

यस्ता खानेकुराले बोसो जमेर मुटुको रक्तनली साँघुरो बनाउँछ । जसकारण रक्तनली नै बन्द हुने सम्भावना हुन्छ । मुटुमा रक्तप्रवाह नियमित हुँदैन र यसले कोलोनरी हार्ट डिजिज र हृदयघातको सबैभन्दा प्रमुख कारण मानिन्छ ।

त्यसैले मुटुलाई स्वस्थ राख्न यी खानेकुरामा जोड दिनुपर्छ ।

हरियो सागपात : मुटु स्वस्थ राख्न चम्सुर, पालुङ्गो, मेथीको साग, रायो, तोरी, फर्सीको मुन्टाजस्ता हरियो सागपात लाभदायक हुन्छन् । यी तरकारीमा उच्च मात्रामा भिटामिन, खनिज पदार्थ, न्युट्रिसियन पाइने भएकाले रगतलाई जम्न र रक्तचाप घटाउन मद्दत गर्छ । हरियो सागपात दैनिक खानामा समावेश गरे मुटुरोग लाग्ने सम्भावना निकै कम हुन्छ ।

फलफूल : फलफूल चिनीको मात्रा कम र बढी हुने दुई प्रकारका हुन्छन् । मुटुका लागि चिनीको मात्रा कम भएका फलफूल उपयुक्त हुन्छ । यसमा बेरी प्रजातिको अंगुरलगायत फलफूल पर्छन् । बेरीले रक्तनलीको भित्री पत्रलाई पनि स्वस्थ बनाउँछ ।

फाइबरयुक्त खानेकुरा : फाइबरयुक्त खानेकुरा मुटुलाई स्वस्थ राख्न उपयुक्त हुन्छ । फाइबरयुक्त खानेकुराले रगतमा कोलेस्टेरोल र ग्लुकोजको मात्रा कम गराएर रक्तनलीमा खराब कोलेस्टोरोल जम्मा हुन दिंदैन । फाइबरयुक्त खानेकुरा जस्तै गेडागुडी, गाँजर, जौ, फलफूल, ड्राइफ्रुट, बोक्रासहितको फलफूल, ब्रोकाउली, गाँजर, हरियो सागसब्जी, काउली, च्याउ, कुरिलो, हरियो केराउ हुन् । छोक्रासहितको गहुँको पिठो, काफल, सुन्तला पनि फाइबरको राम्रो स्रोत भएकाले दैनिक खानु उपयुक्त हुन्छ ।

प्रोटिनयुक्त माछामासु : प्रोटिनको राम्रो स्रोत माछामासु सन्तुलित रुपमा खान सकिन्छ । तर यसमा बोसोको मात्रा भने न्यून हुनुपर्छ । माछामासु दैनिक भन्दा पनि सन्तुलन मिलाएर खान सके लाभदायक हुन्छ । त्यस्तै दाल र गेडागुडी पनि खानमा दैनिक समावेश गरे मुटुरोगबाट बच्न सहयोग पुग्छ ।

खानपानबाटै मुटुलाई स्वस्थ राख्न सकिन्छ ?

खानपान मुटुरोगको प्रमुख कारण भए पनि वंशाणुगत, उच्च रक्तचाप, मधुमेहका कारण पनि मुटुरोग लाग्न सक्छ । शारीरिक व्यायामको कमी, तौलको कारण पनि मुटुरोग लाग्ने सम्भावना हुन्छ ।

हरेक रोग लाग्नुमा खानपानकै मुख्य भूमिका हुन्छ । उदाहरणको लागि यदि कसैलाई १० प्रतिशत मुटुरोग लाग्ने सम्भावना छ भने खानपानमा ध्यान दिएमा २-३ प्रतिशत मात्रै यसको सम्भावना हुन्छ । त्यसैले खानपानका साथै शारीरिक व्यायाम, तौल घटाउन सकेमा र धुम्रपान मद्यपान छाड्न सकेमा धेरै हदसम्म मुटुरोगबाट बच्न सकिन्छ ।

कस्तो खानपानले मुटुलाई हानि गर्छ ?

धेरै नुनिलो, चिल्लो, कार्बोहाइड्रेट धेरै भएको, रातो र बोसोयुक्त मासु, जंकफुड, गुलिया खानेकुरा, तारेको, भुटेको खानेकुरा मुटुका लागि हानिकारक हुन्छन् । त्यस्तै अत्यधिक माछामासु सेवन, धुम्रपान र मद्यपानले पनि मुटुलाई हानि पुर्‍याउँछ ।

(वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोजु धुलिखेल अस्पतालमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

खानेकुरा डा. राजेन्द्र कोजु मुटु
प्रा. डा. राजेन्द्र कोजु
लेखक
प्रा. डा. राजेन्द्र कोजु
मुटुरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : २०१६ कार्डियोलोजीमा एमडी धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका पूर्व डिन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय