+
+

साफ च्याम्पियनसिपमा गोल गरेपछि आशिषले भने : देशको लागि गोल गर्ने सपना पूरा भयो

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० असार १२ गते १९:२२

१२ असार, बैंगलुरु । साफ च्याम्पियनसिप २०२३ को आफ्नो अन्तिम खेलमा पाकिस्तान विरुद्ध नेपाललाई १-० को जित दिलाउन आशिष चौधरीले निर्णायक गोल गरे ।

बैंगलुरुस्थित कान्तिराव स्टेडियममा भएको खेलमा विजयी गोल गरेपछि २२ वर्षीय आशिषले नेपालका लागि गोल गर्ने सपना पूरा भएको बताए ।

बेन्चबाट खेल सुरु गरेका आशिष दोस्रो हाफको सुरुमै आभाष लामिछानेको स्थानमा मैदान प्रवेश गरेका थिए । उनले ८०औं मिनेटमा लकेन लिम्बुको पासमा गोल गर्दै नेपाललाई अग्रता दिलाएर र त्यही गोलमा नेपाले जारी साफमा पहिलो जित निकालेको हो ।

सुरुवाती दुई खेलमा कुवेतसँग ३-१ र भारतसँग २-० ले पराजित हुँदै साफबाट बाहिरिसकेको नेपालले सान्त्वना जितसहित प्रतियोगिता सकायो ।

नेपालले पाकिस्तानलाई साफमा १५ वर्षपछि हराउँदा नायक उनै आशिष रहे ।

मोरङको हरैँचाका आशिषले गत वर्ष काठमाडौंमा भएको बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलबाट नेपालका लागि डेब्यु गरेका थिए ।

पहिलो पटक साफ च्याम्पियनसिप खेलेका उनले पाकिस्तान विरुद्ध आफ्नो डेब्यु गोल गरेका हुन् । नेपाललाई जिताएपछि स्वभाविक रुपमा उनी खुशी थिए । आफ्नो परिवारको सहयोग र आफूले गरेको मिहिनेत पूरा भएकोमा आशिष दंग पनि थिए ।

‘नेपालको लागि गोल गर्ने सपना थियो । त्यो सपना पूरा भएको छ’, आशिषले भने, ‘यतिबेला म मेरो परिवारलाई मलाई सहयोग गर्ने दाइहरूलाई सम्झन चाहन्छु ।’

आशिषले देशका लागि अझै धेरै गर्न बाँकी रहेको पनि बताए । ‘एउटा सपना त पूरा भएको छ तर म यतिमै खुशी हुनुहुँदैन । अझै धेरै गर्न बाँकी छ । देशको लागि अझै खेल्न बाँकी छ,’ साफअघि काठमाडौंमा सकिएको शहीद स्मारक ए डिभिजन लिगको उपाधि उचालेका आशिषले भने ।

चर्च ब्वाइजलाई पहिलो सिजनकै ए डिभिजन लिगको उपाधि जिताउँदा आशिषले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यसअघि गतवर्ष चर्च ब्वाइजले बी डिभिजन लिगको उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका उनी लिगको बेस्ट प्लेअर घोषित भएका थिए ।

पछिल्लो समय नेपालका फुटबल खेलाडीहरु विदेशिने क्रमम जारी छ । यस्तो बेला राष्ट्रिय टिममा रहेका आशिषले नेपालको लागि अझै खेल्ने र विदेश जाने बारे केही नसोचेको बताए ।

‘म विदेश नै जानु थियो भने किन खेल्थेँ र ? बल्ल मिहिनेतको फल पाउँदै छु । अझै धेरै गर्न बाँकी नै छ ।’ यसअघि उनलाई परिवारले नै विदेश जान कर गरेका थिए तर उनले मानेका थिएनन् । साफअघि फिलिपिन्ससँत्र मैत्रीपूर्ण खेल खेल्न उनी नेपाली टिमसँग पहिलो पटक विदेश गएका थिए ।

अब भने उनलाई परिवारले नै विदेश जानुपर्दैन भन्न थालेका छन् । पहिलो पटक साफ च्याम्पियनसिप खेलेका आशिषले कुवेत र पाकिस्तानविरुद्धको खेलमा मात्र अवसर पाए ।

कुवेत विरुद्ध ७३औं मिनेटमा मैदान प्रवेश गर्दै १७ मिनेट खेलेका उनले भारत विरुद्ध दोस्रो खेलमा अवसर पाएनन् । तेस्रो खेलमा उनले दोस्रो हाफ पूरै खेल्दै एक गोल गरे ।

साफमा उनले समग्रमा ६२ मिनेट खेलेर एक गोल गरे ।

यस साफमा नेपालले जम्मा दुई गोल गर्दा अर्को गोल अन्जन विष्टले कुवेत विरुद्ध गरेका थिए ।

नेपालका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले पनि आशिषको प्रशंसा गर्दै उनी राम्रो सम्भावना भएको खेलाडी भएको बताए ।

‘आशिष युवा छन् । उनको भविषय धेरे राम्रो छ । अझै उनले साफका केही संस्करणहरु खेल्न सक्छन् । आशिष र सबै टिमको लागि खुशी छु ।’

प्रशिक्षक एनेसले टिमको रणनीति परिवर्तन गर्दै आशिष र नवयुग श्रेष्ठलाई एकसाथ मैदान प्रवेश गराउँदै दोस्रो हाफको सुरुमा ४-४-२ को फर्मेनसमा खेलाएको र पछि फेरि ४-३-३ को फर्मेसनमा खेलाएको बताए । जहाँ आशिषले आफूलाई प्रमाणित गरे ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?