+
+

१० उपमहानगरको बजेट : सामाजिक विकासमा केन्द्रित

अमृत चिमरिया अमृत चिमरिया
२०८० असार १२ गते २०:२८

१२ असार, काठमाडौं । देशभरका ११ उपमहानगरपालिका मध्ये १० वटा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरिसकेका छन् । यी उपमहानगरले ल्याएको कुल बजेट २० अर्ब ३६ करोड रहेको छ ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले भने अझै बजेट ल्याउन सकेको छैन । २ असारमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको यो उपमहानगरले बजेट ल्याउने क्रममा विवाद भएपछि ३२ असारमा बजेट ल्याउने तयारी गरेको छ ।

उपमहानगरपालिकाहरुले ल्याएको बजेटमा सामाजिक विकास केन्द्रित विषयहरु प्राथमिकतामा राखेको पाइएको छ ।

सबैभन्दा ठूलो आकारको बजेट हेटौंडाको

बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरको हेटौंडा उपमहानरगपालिकाले उपमहानगरमध्ये सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ ।

२ असारमै ल्याएकोको बजेटमा शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकताको दिइएको छ । २ अर्ब ६० करोड ६५ लाख ४० हजारको बजेटमा शहरी स्वास्थ्य केन्द्र र विद्यालयहरुमा लगानी बढाउने पनि उल्लेख छ । यस्तै बालविकास केन्द्रका शिक्षिकाहरुको पारिश्रमिकमा मासिक ३ हजार थप्ने घोषणा बजेटले गरेको छ ।

हेटौंडाले आगामी आवका लागि खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार, प्रदेश सरकारको विभिन्न शीर्षक अन्तर्गत अनुदानबाट तीन करोड ३४ लाख ६८ हजार, सङ्घीय सरकारको अनुदानबाट एक अर्ब १४ करोड ५० लाख रुपैयाँबाट ब्यहोरिने बजेटमा उल्लेख छ ।

कार्यपालिका बैठकले गरिब घरपरिवारलाई निःशुल्क खानेपानी वितरण गर्ने निर्णय अनुसार महसुल भुक्तानीका लागि १ करोड बजेट विनियोजन गरिएको छ । उपमहानगरले शिक्षामा सशर्त ७६ करोड र स्वास्थ्यमा ६ करोड ९० लाख रुपैयाँ छुट्याएको छ ।

बुटवलमा स्वास्थ्यलाई उच्च प्राथमिकता

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको छ ।

बजेटमा शिक्षा र स्वास्थ्य क्षेलाई मुख्य प्राथमिकता दिइएको छ । जसमा २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाले महिला, बालबालिका, समावेशीकरणतर्फ २७ करोड ४९ लाख, नगरस्तरीय योजना तथा कार्यक्रमका लागि ४१ करोड १८ लाख, वडास्तरीय योजनाहरुका लागि १६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै कृषि, पशुपन्छी विकास, पर्यटन, उद्योग, वाणिज्य, सहकारी र रोजगारतर्फ ४ करोड ४० लाख, फोहोरमैला व्यवस्थापन तथा वातावरणतर्फ १ करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

रगत निःशुल्क उपलब्ध गराउने, दुई वटा १५/१५ शय्याका अस्पताल सञ्चालन गर्न २ करोड बजेट छुट्याइएको छ । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा सुत्केरी हुने महिलाको सबै खर्च व्यहोर्ने एवम् नगर प्रमुख आमा सुरक्षा कार्यक्रमका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

उज्यालो बुटवल कार्यक्रम अन्तर्गत मुख्य मुख्य चोकहरुमा हाइमास्ट लाइट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाइट र सौन्दर्यीकरणका लागि ४ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ ।

नगरप्रमुख पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्न २ करोड रुपैयाँ विनियोजन भएको छ । नगरप्रमुख स्वस्थ शिशु सुत्केरी पोषण कार्यक्रमका लागि १ करोड विनियोजन भएको छ । १८ वर्षमुनिका एचआईभी संक्रमित बालबालिकालाई पोषण स्थिति सुधार गर्न मासिक ३ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ । विद्यालय भौतिक सुधारका लागि २ करोड रुपैयाँ विनियोजन भएको छ ।

इटहरीमा आकाशेपुल

आर्थिक वर्ष २०८०/८१ लागि इटहरी उपमहानगरपालिकाले दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको बजेट ल्याएको छ ।

उपमहानगरले चालुतर्फ १ अर्ब १५ करोड ७८ लाख २५ हजार र पूँजीगततर्फ १ अर्ब १८ करोड ७२ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

इटहरी उपमहानगरले चालु वर्षका लागि २ अर्ब १८ करोड ६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।

आगामी आर्थिक वर्षमा इटहरीको चौबाटोमा दुई वटा आकाशे पुल निर्माण गर्ने बजेटमा उल्लेख छ । मुख्य बजार क्षेत्र भएर बग्ने खेतीखोला र टेङ्ग्रा खोलाको अवरोध हटाई रिभर करिडोर र ग्रीन बेल्ट बनाउनका लागि पनि बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्य इटहरी कार्यक्रम अन्तर्गत नगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नका लागि २ वटा एम्बुलेन्स खरिद गर्ने पनि घोषणा गरिएको छ ।

जनकपुरको बजेट २ अर्ब २८ करोड

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९० बजेट ल्याएको छ ।

शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार लगायतलाई समेटेर सार्वजनिक गरिएको बजेटमा चालु तर्फ १ अर्ब १३ करोड ६२ लाख अर्थात् ४९.७८ प्रतिशत र पूँजीगततर्फ एडीबीसहित १ अर्ब ९ करोड २८ लाख ३५ हजार २९० अर्थात् ४७.८८ प्रतिशत रहेको छ ।

त्यस्तै वित्तीय व्यवस्थापन तर्फ ५ करोड ३३ लाख ३४ हजार अर्थात् २.३४ प्रतिशत छुट्याइएको छ भने पूँजीगततर्फ उपमहानगरको छुट्टै ५६ करोड ९५ लाख १८ हजार २९० रुपैयाँ अर्थात् ३.९५ प्रतिशत बजेट विनियोजना गरिएको छ ।

घोराहीमा शिक्षा र स्वास्थ्य प्राथमिकता

घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट ल्याएको छ ।

चालु तर्फ १ अर्ब २८ करोड ३ लाख ४० हजार र पूँजीगत तर्फ ८७ करोड ५१ लाख ४३ हजार रूपैयाँको बजेट सार्वजनिक गरिएको छ ।

घोराहीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई प्राथामिकता राख्दै बजेटको बाँडफाँट गरेको छ। जसमा कृषिमा उत्पादन वृद्धि गर्न भन्दै सिँचाइ सुविधा विस्तारका लागि २ करोड ७१ लाख रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै सडक कालोपत्रे, ग्राभेल तथा बाटो स्तरोन्नती, कल्भर्ट, सिँचाइ तथा खानेपानी, लगायतका पूर्वाधार विकासका तर्फ ५८ करोड ११ लाख ६८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै उपमहानगर भित्रका डाक्टर–इन्जिनियर छात्रवृत्तिका लागि १६ लाख रुपैयाँ छुट्याएको छ ।

धनगढीको बजेट १ अर्ब ९३ करोड

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि एक अर्ब ९३ करोड ८ लाख २४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

बजेटमा चालु खर्चतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पूँजीगत खर्चतर्फ तर्फ ७८ करोड ६५ लाख २७ हजार विनियोजन गरिएको छ ।

उपहानगरपालिकाको बजेटको स्रोतमा आन्तरिक आयको ३५ करोड ४३ लाख ३० हजार, राजश्व बाँडफाँडबाट प्राप्त हुने ४६ करोड ९७ लाख ९४ हजार, संघीय सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ५ करोड ३२ लाख १२ हजार र चालु आर्थिक वर्षको दायित्व सरी आउने १२ करोड ५० लाख रुपैयाँ रहेको छ ।

तुलसीपुरको बजेटमा कृषि, स्वास्थ्य र पर्यटन प्राथमिकतामा 

तुलसीपुर उपमहानगरपालिकाको आगामी आव ०८०/८१ का लागि एक अर्ब ७९ करोड ४५ लाख ६९ हजार ल्याएको छ ।

तुलसीपुर उपमहानगरले आवको चालुतर्फ ४७ करोड सात लाख १८ हजार र पूँजीगतर्फ १ अर्ब ३० करोड ८८ लाख ५१ हजार विनियोजन गरेको छ । उपमहानगरले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटनलाई प्राथमिकतामा राखेको बजेटमा उल्लेख छ ।

धरानमा सामाजिक विकासलाई ५४ करोड बजेट

सुनसरीको धरान उपमहानगरपालिकाको तेह्रौँ नगरसभाबाट १ अर्ब ७१ करोडको बजेट नगर सभामा पेश गरेको छ ।

बजेटमा सामाजिक विकासतर्फ ठूलो रकम छुट्याइएको छ । धरानले मेयर कोषमा १ करोड ५० लाख उपमेयर कोषमा ७५ लाख रुपैयाँ राखेको छ ।

यस्तै बजेटमा पूर्वाधार विकासका लागि कुल ४४ करोड, २१ लाख, ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । कुल २० वडामा विनियोजित वडागत बजेट कुल २१ करोड रुपैयाँ रहेको छ ।

सामाजिक विकासका कार्यक्रम, साझेदारी र सहयोगका लागि कुल ५४ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक विकासको शीर्षकमा कुल ३ करोड ४८ लाख ५० हजार रुपैयाँ छुटाइएको बजेटले उपमहानगरपालिमा बेसार उद्योग, साबुन उद्योग समेत स्थापना र सञ्चालन गर्ने घोषणा गरेको छ ।

नेपालगञ्जमा ल्यान्डपुलिङदेखि निःशुल्क एम्बुलेन्ससम्म

नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ६७ करोड ५६ लाख बजेट ल्याएको छ ।

बजेटमा सामूहिक बस्ती विकास गर्ने योजनादेखि निःशुल्क एम्बुलेन्ससम्मको योजना ल्याएको छ । ‘चक्रपथको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्डपुलिङ’मार्फत बस्ती विकास गर्ने’ बजेटमा भनिएको छ ।

बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सुशासन प्रवर्द्धनलाई प्राथमिकता दिइएको बजेटमा उल्लेख छ । विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउने, गुणस्तरीय शिक्षामा जोड, स्थानीय पाठ्यक्रम कार्यान्वयन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, योगमैत्री नगर बनाउने, पाँच वर्षभित्र क्षयरोगमुक्त उपमहानगर घोषणा गर्ने, जमुनाहा नाकामा हेल्थडेस्क सञ्चालन गरी सरुवाजन्य रोगको रोकथाम, निगरानी र व्यवस्थापन गर्ने उल्लेख छ ।

प्लास्टिकका झोलाको प्रयोगलाई न्यूनीकरण गर्ने, हरित नेपालगञ्ज बनाउन सडकको दायाँबायाँ बिरुवा रोप्ने लगायतका कार्यक्रम समेत बजेटमा समेटिएका छन् ।

कलैयामा सुलभ ऋण

बाराको कलैया उपमहानगरपालिकाले आगमी आर्थिक वर्षका लागि १ अर्ब ५३ करोड २८ लाख ६६ हजारको बजेट ल्याएको छ ।

चालु खर्चमा ३८ करोड ७२ लाख र पूँजीगत खर्चमा ५६ करोड ७५ लाख ६६ हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ । यस्तै संघको सशर्त चालु खर्च ५३ करोड २६ लाख र संघको सशर्त पूँजीगत खर्च तर्फ ३६ लाख, समपूरक खर्च ३ करोड ५० लाख, विषेश खर्च ५४ लाख प्रदेशबाट समपूरक खर्च प्रदेश ५० लाख र प्रदेशबाट विषेश खर्च तर्फ ७५ लाख खर्च हुनेगरी डेढ अर्बको बजेट ल्याएको हो ।

बजेटमा शिक्षा, स्वास्थ्य र कृषि लगायत क्षेत्रको पूर्वाधारहरु विकास, विस्तार र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिएको उल्लेख छ । यस्तै पानी संरक्षण, नगरवासीका लागि काम र रोजगारीको अवसरमा वृद्धि गर्न सहयोगी संस्थासँगको समन्वयमा सुलभ ब्याजदरमा ऋणको व्यवस्था दिने बजेटले घोषणा गरेको छ । कलैयाले अधुरा योजनाहरुलाई निरन्तरता दिने घोषणा समेत गरेको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?