+
+

सुदूरपश्चिमका कांग्रेस सांसदले देउवालाई भने-बजेट पारित गर्न सकिंदैन

जनक विष्ट जनक विष्ट
२०८० असार १३ गते ९:५३

१३ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि असन्तुष्ट नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन् ।

धनगढीबाट डेलिकेशनसहित काठमाडौँ पुुगेका कांग्रेसका ६ जना प्रदेश सभा सदस्यले मंगलबार पार्टी सभापति शेरबहादुर देउवासँग भेट गर्दै यथास्थितिमा सरकारले ल्याएको बजेटमाथि समर्थन गर्न नसकिने बताएका हुन् ।

उनीहरुले सरकारले प्रदेश सांसदहरुको भावनाविपरीत ल्याएको बजेट संशोधन गर्नुपर्ने, तल्लो तहबाट सिफारिस भएर आएका योजना समेटिनुपर्ने बताउँदै यथास्थितिमा समर्थन गर्न नसकिने कुरा राखिएको एक सांसदले जानकारी दिए ।

‘यो सरकारले ल्याएको असन्तुलित बजेट हामीलाई स्वीकार्य छैन । संशोधन गर्नुपर्छ भनेर सभापतिज्यूसँग कुरा राख्यौँ,’ भेटमा सहभागी एक सांसदले भने, ‘बजेट संशोधन नगरेमा समर्थन गर्न सक्दैनौँ । बरु कारवाही भोग्न तयार छौं भनेर फर्केका छौँ ।’

ती सांसदको भनाइमा सभापति देउवाले भेटमा सहभागी ६ जनाकै कुरा धैर्यतापूर्वक सुनेका थिए भने जवाफमा पूरक बजेट ल्याएर गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘सभापतिज्यूले बजेट सन्तुलित नआएको कुरामा म सहमत छु । अब पूरक बजेट ल्याएर यसलाई सच्याउँछौँ भन्नुभयो,’ देउवाको भनाइ उदृत गर्दै सांसदले भने ।

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले गत १ असारमा प्रदेश सभा बैठक अगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए ।

शाहीले प्रस्तुत गरेको बजेट सन्तुलित नरहेको भन्दै सत्तारुढ दलकै सांसदहरुले विरोध जनाउँदै संशोधनको माग गरेपछि अहिलेसम्म बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन ।

भेटमा कांग्रेसका प्रदेशसभा सदस्य बहादुर सिंह थापा, मेघराज खड्का, दिवानसिंह विष्ट, प्रकाश बम, मानबहादुर रावल र शिवराज भट्ट सहभागी थिए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?