+
+

‘केरला स्टोरी’ निर्माताले नक्सालवादीको कथामा ‘बस्तर’ बनाउने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते ११:२१

काठमाडौं । बलिउड फिल्म ‘द केरला स्टोरी’का निर्माताले नयाँ फिल्म ‘बस्तर’ निर्माणको घोषणा गरेका छन् । मुम्बईस्थित प्रोडक्सन हाउसले मंगलबार नयाँ फिल्म बनाउने जनाएको हो ।

फिल्मको नाम ‘बस्तर’ हुनेछ । ‘केरला स्टोरी’ फिल्म बनाएका निर्माता विपुल शाह र निर्देशक सुदीप्तो सेनले फिल्मको प्रि–प्रोडक्सन थालेका छन् । फिल्मको केही अंश रियल बस्तरमा खिचिने भएको छ ।

निर्माताले सामाजिक सञ्जालमा फिल्मको पोस्टर सार्वजनिक गर्दै यसबारे खुलाएका हुन् । पोस्टरमा जंगल, राइफल, धुवाँ र नक्साल झण्डा देखिन्छ । त्यसमा लेखिएको छ, ‘लुकेको सत्य, जसले देशमा आँधी ल्याउनेछ ।’ तल बस्तर लेखिएको छ । यो फिल्म ५ अप्रिल २०२४ मा रिलिज हुने निर्माताले उल्लेख गरेका छन् । फिल्ममा को–को कलाकार रहनेछन् भन्ने टुंगो लागेको छैन । ठूला निर्माता–निर्देशकको फिल्म भएकाले यस फिल्ममा ठूला कलाकारलाई लिन सकिने बताइएको छ ।

‘केरला स्टोरी’ रिलिजका बेला दक्षिणी राज्य कर्नाटकमा विधानसभा चुनाव चलिरहेको थियो । मुलुक लोकसभा चुनावतर्फ अघि बढ्दा बस्तर रिलिज गर्ने योजनामा निर्माता छन् । मूलधारका फिल्म निर्माताले ‘बस्तर’लाई सीधै ठूलो पर्दामा ल्याउने प्रयास गरेको यो पहिलो पटक हो ।

यसअघि फिल्म निर्माता प्रकाश झाले पनि नक्सलवादको विषयमा एउटा फिल्म ल्याइसकेका छन्, जसमा अभिनेता मनोज बाजपेयी नक्सलवादी कमाण्डरको भूमिकामा थिए । ‘द कश्मीर फाइल्स’ का निर्देशक विवेक अग्निहोत्रीले बस्तरको नक्सल समस्यामाथि पनि फिल्म बनाएका छन् ।

नक्सलवादीलाई संरक्षण दिएर यो समस्या कसरी कायम रह्यो भन्ने विषयमा फिल्म बन्ने निर्देशक सेनले बताएका छन् । छत्तीसगढको झिराम घटनालाई पनि यस फिल्ममा देखाउने जनाइएको छ । उनको पछिल्लो फिल्म ‘द केरला स्टोरी’ निकै विवादित बनेको थियो, यद्यपि फिल्मले बक्स अफिसमा २५६ करोड भारु कमाइ गरेको थियो ।

निर्माता विपुल शाहले यसअघि ‘आँखे’, ‘होलिडे, फोर्स, कमाण्डो, ‘वक्त’, ‘नमस्ते लन्डन’, ‘सिंह इज किङ्’, ‘द केरला स्टोरी’, सनक, ब्लकबस्टर वेब शो ह्युमन आरजस्ता फिल्म बनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?