+
+

‘उद्धार र राहत कार्यमा खटिने नाममा पीडितसँग तस्वीर खिचाउने कार्य रोक्नुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०८० असार १४ गते १६:०१

१४ असार, काठमाडौं। सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गरेको छ। विपद् प्रतिकार्यमा खटिने नाममा आसामाजिक गतिविधि नगर्न सचेत पनि गराएको छ।

बिहीबारबाट सुरू भएको दोस्रो विपद् जोखिम न्युनिकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र राहत कार्यमा खटिने नाममा पीडितहरुसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका कार्यहरु रोक्न जरुरी रहेको बताए।

उनले भने, ‘अझै आजभोलि त पीडितसँग तस्बिर खिचाउने, सामाजिक सञ्जालमा शेयर गर्ने लगायतका कार्यहरु बढी देखिएका छन्। यसप्रति सचेत हुनु जरूरी छ । ‘

उनले विपद्मा उपस्थिति दर्ता गराउने होडबाजी बढेको भन्दै विपद्का बेलामा उपस्थिति दर्ता गराउन मात्रै विपद् स्थलमा नजान आग्रह गरे । उनले विपद् रोकथामका कार्यमा राज्य एक्लैले मात्रै नसक्ने भन्दै सम्बन्धित निकायहरुसँग समन्वय गरी राहत र उद्धार कार्यमा खटिनु आवश्यक रहेको बताए।

”विपद् रोकथामका कार्यमा राज्य मात्रैको संलग्नताले पुग्दैन । विपद्का बेलामा उद्धारका लागि जाने भनेर उपस्थिति दर्ज गराउने होडबाजी बढी देखिएको छ । यसलाई रोक्नुपर्छ।’

उनले सरकारले विपद्बाट बच्न तीन चरणका तयारीहरु गरेको पनि बताए । उनले सरकार र सरकार मातहतका निकायसँगै गैरसरकारी संघ संस्थाहरुको पनि विपद् व्यवस्थापन र न्युनिकरणका लागि सहयोगको आवश्यकता रहेको बताए।

उनले भने, ‘गृह मन्त्रालय तीन वटा विपद्का मुख्य चरणहरु, विपद्पूर्वको पूर्वतयारीको चरण, गृह मन्त्रालय त्यसमा धेरै सहभागी नभए पनि काम मन्त्रालयको निर्देशनमा नै रहेर भइरहेको हुन्छ । तर हामी सम्बन्धित साझेदार निकायसँग, सम्बन्धित मन्त्रालयसँग र अरु हिसावले जनचेतना निर्माण गर्ने निकाय यसमा संलग्न हुन्छन्।’

विपद् व्यवस्थापन कार्यका लागि सरकारको तर्फबाट थप अनुसन्धान गरी रोकथाममा लाग्नुपर्ने बताए।

‘विपद्को तत्कालीन राहत, उद्धार बाहेकको पछिको दीर्घकालीन पुनःनिर्माण, पुनः एकीकरणको विषयमा पनि गृह मन्त्रालयले भूमिका निभाइरहेको हुन्छ। मन्त्रालय र मन्त्रालय मातहतका निकायसँग मन्त्रालयले कार्ययोजना बनाएर विपद् जोखिम न्युनिकरण तथा पुनः निर्माण प्राधिकरणबाट ७७ वटै जिल्लाका स्थानीय प्रशासन र अरु निकाय योसँग सरोकार राख्ने गैरसकारी निकायहरुको सहयोगमा हामीले उपलब्धि हाँसिल गरिरहेका छौँ,’  उनले भने, ‘यो साझा प्रयत्नबाट भएको हो। हामीले अझै यसमा सुधार गर्नुपर्छ, अनुसन्धानमा हामीले थप अनुसन्धानको आवश्यकता पर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?