+
+

एनआरएन नागरिकता पाउँदा खुसी हुने कि दुःखी ?

सोनाम लामा सोनाम लामा
२०८० असार १७ गते ९:१४

गैरआवासीय नेपालीहरुले लामो समयदेखि दोहोरो नागरिकताको माग राख्दै आएका थिए । ‘दोहोरो नागरिकता’ शब्दप्रति नेपालमा सन्देह उत्पन्न भएपछि ‘नेपाली नागरिकताको निरन्तरता’ भन्न थालियो ।

खासमा हामीले चाहेको नेपाली नागरिकताको निरन्तरता नै थियो । त्यो कसलाई चाहिएको थियो त ? खासगरी अमेरिका, बेलायत, अष्ट्रेलिया जस्ता मुलुकमा आएर सेटल भइसकेका र विदेशी नागरिकता लिइसकेकाहरुका लागि यसको ठूलो अर्थ थियो ।

किनभने हामी विदेशमा दुःखले कमाएको केही पूँजी र सीप आफ्नो मातृभूमिमा लगानी गर्न चाहन्थ्यौं, हाम्रा सन्तानको नेपाल बसाइँ र आवागमनलाई बढाउन चाहान्थ्यौं । हामी नेपालमा घरजग्गा किन्न, आफ्ना परिवारका सदस्यसँग बस्न र नेपालमा लगानी गर्न पनि चाहन्थ्यौं ।

तर, त्यसका लागि हाम्रो विदेशी नागरिकको हैसियत धेरै ठाउँमा बाधक भइरहेको थियो । हाम्रो उद्देश्य नेपालमा सिप र पूँजी लैजाने थियो । हामी र हाम्रा सन्तानलाई नेपाल फर्किएर राजनीति गर्ने वा सरकारी जागिर खाने इच्छा पटक्कै हैन ।

त्यसैले हामीले राजनीतिक अधिकार नभएको तर आर्थिक तथा सामाजिक अधिकार भएको नागरिकता दिलाउन निकै लबिइङ गर्यौं । खासगरी एनआरएनको नेतृत्वमा शेष घले आएसँगै त्यसले तीव्रता पायो । संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा रहेकाले हामीले सबै दलका शीर्ष नेता, सभासद् र प्रभाव समूहरुलाई दर्जनौंपटक भेट्यौं । सबै दलहरुमा हाम्रो मागप्रति शंका गर्ने र नागरिकता दिन हुँदैन भन्ने सांसद÷नेताको कमी पटक्कै थिएन ।

गैरआवासीय नेपालीहरुले विदेशी नागरिककै हैसियतमै पनि नेपालमा अर्बौं लगानी गरिरहेका छन्, नागरिकता नै भयो भने नेपालमा लगानी बढ्छ भनेर हामीले आश्वस्त पार्यौं । निकै मिहिनेतपछि २०७२ असोज ३ गते जारी भएको संविधानमा गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रावधान पर्न सफल भयो ।

संविधान जारी त भयो तर त्यसलाई ऐनमा रुपान्तर गर्ने काम अगाडि बढ्न सकेन । दुर्भाग्य के भने नागरिकता विधेयक नेपालको राजनीतिक विषय बनिदियो, दलहरुले आ–आफ्नो अनुकूलतामा यसलाई प्रयोग गरे ।

यो नागरिकताले हामी राजनीति गर्ने र सरकारी जागिर खानेबाहेक सबै काम गर्न सक्छौं । कसैलाई भोलि नेपालमै आएर राजनीति नै गर्न मन छ भने त विदेशी नागरिकता त्यागेर आए जुन दिन पनि त्यो बाटो खुला छ ।

पछिल्लोपटक संसदले पारित गरेर राष्ट्रपतिकहाँ पठाएको विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखिदिनुभयो । अन्ततः नयाँ राष्ट्रपति आएपछि यो विधेयक अगाडि बढ्यो । सर्वोच्च अदालतले पनि बाटो खोलिदियो ।

अब गृह मन्त्रालयले गैरआवासीय नेपाली नागरिकताका विषयमा कार्यविधि बनाएपछि केही दिनमै हामीले गैरआवासीय नेपाली नागरिकता पाउने अवस्था बन्दै छ । तर, यसैबेला गैरआवासीय नेपालीहरुमा यो नागरिकता कस्तो प्रकृतिको हो, हामीले यो लिने कि नलिने भन्ने विषयमा बहस हुन थालेको छ ।

केही साथीहरुलाई लागेको छ– गैरआवासीय नेपाली नागरिकता लिँदा नेपालसँग वंशजको नागरिकताको साइनो टुट्छ र दोस्रो दर्जाको नागरिक भइन्छ । त्यसैले अंगिकृतको हैसियत भएको गैरआवासीय नागरिकता लिनु हुँदैन ।

यसमा हामीले के हेर्नुपर्छ भने– हामीलाई नागरिकता किन चाहिएको हो ? राजनीति गर्न त पक्कै हैन ! राजनीति नै गर्ने मन हो भने विदेशको नागरिकता  त्याग्नासाथ नेपाली नागरिकता पाइन्छ र चुनाब लड्न पनि पाइहालिन्छ । यो नजिर त रवि लामिछाने प्रकरणमा बनिसक्यो ।

अर्को कुरा, जसले विदेशमा पीआर लिएर बस्नुभएको छ, जो अध्ययन र रोजगारीमा केही वर्षका लागि जानुभएको छ, उहाँहरु त स्वतः नेपाली नागरिक हो । उहाँहरुलाई राजनीतिक अधिकार नभएको गैरआवासीय नेपाली नागरिकता चाहिने कुरै भएन ।

यदि हामीलाई राजनीति गर्नु छैन भने नेपाल सरकारले बडो उदारतापूर्वक दिएको गैरआवासीय नेपाली नागरिकता हामीले लिनुपर्छ । यो नागरिकताले हामी राजनीति गर्ने र सरकारी जागिर खानेबाहेक सबै काम गर्न सक्छौं ।

कसैलाई भोलि नेपालमै आएर राजनीति नै गर्न मन छ भने त विदेशी नागरिकता त्यागेर आए जुन दिन पनि त्यो बाटो खुला छ । विदेशी नागरिकता त्यागेपछि स्वतः गैरआवासीय नेपाली नागरिकता पनि रहने भएन । त्यसो हुँदा साविककै वंशजको आधारको नेपाली नागरिकता पुनः प्राप्ति गर्न कुनै कठिनाइ हुँदैन ।

त्यसैले गैरआवासीय नेपाली नागरिकता लिने कि नलिने ? समर्थन गर्ने कि विरोध गर्ने भन्ने अलमलमा पर्नु हुँदैन । नेपालमा लगानी गर्न चाहने, सिप भित्राउन चाहने, आफ्ना सन्तान नेपाल गएर मातृभूमिसँग जोडिउन् भन्ने चाहने हरेक गैरआवासीय नेपालीले नागरिकता लिनुपर्छ । यसमा खुसी मनाउनुपर्छ । नेपालले हामीलाई देखाएको उदारता र खुला हृदयप्रति आभार व्यक्त गर्नुपर्छ ।

(लामा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व उपाध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?