+
+
Shares

आफ्नो विफलतामा छिमेकीलाई दोष दिने पाकिस्तानको पुरानो बानी : भारत

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १९:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तान भारतका लागि छद्म युद्ध लडिरहेको आरोप लगाएका छन्।
  • भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले पाकिस्तानका आरोपलाई अस्वीकार गर्दै भारत अफगानिस्तानको सार्वभौमिकता र अखण्डताको पक्षमा रहेको बताएका छन्।
  • डुरण्ड रेखा नजिकको भिडन्तमा निर्दोष नागरिकको मृत्यु भएको घटनाप्रति भारतले दुःख व्यक्त गर्दै त्यसलाई निन्दनीय भनेको छ।

३० असोज, काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तान भारतका लागि छद्म युद्ध लडिरहेको आरोप लगाएपछि भारतले ती दाबीलाई अस्वीकार गर्दै कडा प्रतिक्रिया जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै आफ्ना विफलतामा पाकिस्तानले छिमेकी देशहरूलाई दोष दिने गरेको बताए ।

अफगानिस्तानको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताको पक्षमा भारत दृढ रूपमा उभिने समेत उनको भनाइ छ ।

उनले भने, ‘हामी पाकिस्तान-अफगानिस्तानबीच सिर्जना भएको परिस्थितिमा कडाईका साथ नजर राखिरहेका छौं । तीन कुरा स्पष्ट छन्- पाकिस्तान आतङ्कवादी संगठनहरूलाई आश्रय र समर्थन दिन्छ, आफ्ना आन्तरिक विफलताका लागि छिमेकी देशहरूलाई दोष दिने त्यसको पुरानो बानी हो, र भारत अफगानिस्तानको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताको पक्षमा दृढ रूपमा उभिएको छ ।’

उनले डुरण्ड रेखा नजिक भएको भिडन्तमा निर्दोष नागरिकको ज्यान गएको घटनाप्रति दु:ख व्यक्त गर्दै त्यसलाई ‘निन्दनीय’ बताएका छन् ।

यसअघि पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानी टेलिभिजन जियो न्यूजसँगको अन्तर्वार्तामा अफगानिस्तान अहिले भारतका लागि छद्म युद्ध लडिरहेको आरोप लगाएका थिए ।

अफगानिस्तानले यो युद्धलाई बढाए पाकिस्तानले पूर्ण शक्तिका साथ जवाफ दिने उनको चेतावनी थियो ।

रक्षामन्त्री आसिफले पाकिस्तान र अफगान तालिबानबीच हाल घोषणा गरिएको ४८ घण्टे युद्धविराम लामो समय टिक्ने सम्भावना नरहेको समेत टिप्पणी गरेका थिए ।

तर अफगान तालिबानका प्रवक्ताले भने युद्धविराम पाकिस्तानकै अनुरोधमा गरिएको दाबी गर्दै इस्लामाबादको भनाइलाई अस्वीकार गरेका छन् ।

भारतले भने आफू क्षेत्रीय शान्ति र स्थायित्वको पक्षमा रहेको दोहोर्‍याएको छ ।

डुरण्ड रेखा भन्ने अफगानिस्तान र पाकिस्तानबीचको विवादास्पद सीमारेखा हो । जुन सन् १८९३ मा तत्कालीन ब्रिटिश भारत र अफगानिस्तानबीचको सम्झौताबाट तय गरिएको थियो । यो करिब २,६४० किलोमिटर लामो क्षेत्रफलमा फैलिएको छ ।

यो रेखा पाकिस्तानको खैबर पख्तूनख्वा र बलुचिस्तान प्रदेशबाट भएर अफगानिस्तानको पूर्वी तथा दक्षिणी भूभागसम्म फैलिन्छ ।

 मुख्यत: यो रेखाले पश्तुन बस्तीहरू विभाजन गरेको छ । अफगानिस्तानले ऐतिहासिक कारणले यसलाई आधिकारिक अन्तर्राष्ट्रिय सीमा मान्न अस्वीकृत गर्दै आएको छ भने पाकिस्तानले यसलाई आफ्नो वैधानिक सीमा ठानेको छ ।

यही राजनीतिक असहमति र सीमावर्ती समुदायको विभाजनले डुरण्ड रेखा क्षेत्रमा दुई देशबीच तनाव र झडपहरू हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?