+
+

विभाजनको समीक्षा गरेर फेरि नेकपातिरै फर्किनुपर्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १०:४६

१७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेसँग भएको पार्टी एकता र विभाजनबाट शिक्षा लिँदै फेरि नेकपातिरै फर्किनुपर्ने बताएका छन् । त्यसको प्रयासस्वरुप समाजवादी मोर्चा बनाएको पनि उनले बताए ।

नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई आज बिहान भक्तपुरमा सम्बोधन गर्दै प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकता गरेर बनेको नेकपालाई बचाउन नसक्नु दुर्भाग्य भएको बताए ।

देशलाई छिटो आर्थिक समृद्धितिर र समाजवाद तिर जान सकिन्छ भनेर एमालेसँग एकता गरेको स्मरण गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । हामी एकपटक असफल भए पनि फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ ।’

उनले त्यो एकता के कारणले टिक्न सकेन भनेर गम्भीर समीक्षा गर्ने र त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्ने प्रचण्डले बताए । उनले भने, ‘आज हामीले फेरि एकपटक चिन्तन गर्नुपर्यो कि हिजो एकीकृत भएको कम्युनिष्ट आन्दोलन के कारणले टिक्न सकेन, त्यहाँ के त्रुटी थियो, के प्रवृत्तिका कारण हाम्रो विभाजन भयो भन्ने गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्दछ ।’

समाजवादी मोर्चा गठन गर्दा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र आफूबीच फेरि नेकपातिरै फर्किनुपर्छ भन्ने सल्लाह भएको पनि उनले जानकारी गराए । ‘माधव नेपाल, विप्लव र उपेन्द्र यादवले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गराउने पहल सुरु गरेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘माधव जी र मैले के पनि भनेका छौं भने फेरि नेकपातिरै फर्किनुपर्दछ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ पनि हामीले भनेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?