+
+

प्रतिमहिना औसत पर्यटक आगमन ७९ हजार नाघ्यो, अपेक्षा अनुसार बढेनन् चिनियाँ

अच्युत पुरी अच्युत पुरी
२०८० असार १७ गते १३:२०

१७ असार, काठमाडौं । नेपालमा प्रतिमहिना पर्यटक आगमन औसतमा ७९ हजार नाघेको छ ।नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को ६ महिनाको अवधिमा कुल पर्यटक आगमन ४ लाख ७६ हजार ४८१ जना पुगेको छ । यस अनुसार नेपालमा प्रतिमहिना ७९ हजार ४१३ जना पर्यटक नेपाल आएका छन् ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार जुन महिनामा मात्र ७२ हजार २५० जना पर्यटक नेपाल आएका छन् । सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य बजेटमार्फत राखेको छ । आगमनको वर्तमान ट्रेण्डले भने सो लक्ष्य पूरा गर्न चुनौतीपूर्ण हुने देखिएको छ ।

चीनले आफ्ना नागरिकलाई विदेश भ्रमणमा जान अनुमति दिन सुरु गरेसँगै नेपालमा चिनियाँ पर्यटकको आगमन केही बढेको छ । तर, अपेक्षित सुधार आउन भने सकेको छैन ।

बोर्डका निर्देशक लामिछानेका अनुसार जुन २०२३ मा ४ हजार ३४३ जना चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो तेस्रो ठूलो संख्या हो । तर, अघिल्ला दुई महिनाको तुलनामा भने चिनियाँ पर्यटकको आगमन केही कम भएको छ । मे २०२३ मा ४ हजार ६६७ र अप्रिल २०२३ मा ४ हजार ७७० जना चिनियाँ नागरिक नेपाल भ्रमणमा आएका थिए ।

जुन २०२३ मा भारतबाट मात्र ३८ हजार ८४५ जना पर्यटक नेपाल आएका छन् । यो हवाई मार्गमार्फत नेपाल आएका भारतीय पर्यटकको संख्या हो । अमेरिका दोस्रो स्थानमा छ । जुन २०२३ मा ८ हजार ४७० जना पर्यटक नेपाल आएका थिए । तेस्रो स्थानमा चीन छ । त्यसपछि क्रमशः बंगलादेश (२,४०२), बेलायत (१,९९२), अष्ट्रेलिया (१,६३९), मलेसिया (१०७९), दक्षिण कोरिया (८८८), जापान (७६४) र भुटानबाट ७०२ जना पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ ।

कुन महिनामा कति पर्यटक ?

  • जनवरी : ५५,०७४
  • फेब्रुअरी : ७३,२५५
  • मार्च : ९९,४२६
  • अप्रिल : ९८,७७३
  • मे : ७७,७०३
  • जुन : ७२,२५०
  • कुल : ४,७६,४८१

कोभिडपछिको पुनरुत्थान भने सन्तोषजनक

कोरोना महामारीपछि नराम्रोसँग प्रभावित भएको पर्यटक आगमन सन् २०२३ पछि भने सन्तोषजनक रुपमा पुनरुत्थान भइरहेको पाइएको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार जुन महिनाको आगमन सन् २०१९ को जुन महिनाको तुलनामा ९६.४८ प्रतिशत हाराहारी हो । सन् २०२० पछि भने कोभिड-१९ ले पर्यटन आगमन प्रभावित बनेको थियो ।

सन् २०२० को जुनमा १०२, सन् २०२१ को जुनमा १,१८७ जना र सन् २०२२ को जुन महिनामा ४६ हजार ९५७ जना पर्यटक नेपाल आएका थिए ।

सिधा हवाई सेवा सूरू भएसँगै चिनियाँ पर्यटकबाट अपेक्षा

पर्यटन व्यवसायीहरुका अनुसार वर्षायाम भारतीय नागरिकले बढी संख्यामा नेपाल भ्रमण गर्ने समय हो । सोही अनुसार भारतीयको संख्या समेत सन्तोषजनक देखिएको छ । तर, चीनले भ्रमण खुला गरेसँगै उनीहरुको अपेक्षा अब चिनियाँ पर्यटक आगमन बढ्छ भन्नेमा छ । सोही अनुसार चीनतर्फ गतिविधि समेत बढेका छन् ।

यसैसाता चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक चार्टर्ड उडान भएको छ । यसैसाताबाट हिमालय एयरलाइन्सले समेत काठमाडौं–बेइजिङ सिधा उडान सुचारु गरेको छ ।

कुन महिनामा चीनबाट कति पर्यटक आए ?

  • जुन : ४,३४३
  • मे : ४,६६७
  • अप्रिल : ४,७७०
  • मार्च : २,६३५
  • फेब्रुअरी : २,२६६
  • जनवरी : १,४३६
लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?