+
+

गगन थापालाई एनपी साउदको जवाफ : देउवा भाग्यले होइन क्षमताले ५ पटक प्रधानमन्त्री भएका हुन्

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १५:३५

१७ असार, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले पार्टी सभापति शेरबहादुर देउवा योग्यताकै आधारमा पाँच पटक प्रधानमन्त्री भएको दाबी गरेका छन् ।

सुदूरपश्चिममा रहेका उनले सभापति देउवा भाग्यले पाँचपटक प्रधानमन्त्री नभएको बताए । आइतबार अछामको चौरपाटीमा कांग्रेसको स्थानीय समितिले गरेको कार्यक्रममा उनले भने, ‘धेरै मान्छेले भन्छन् शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन् । उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन । तपाईं कसैलाई पाउनुहुन्छ ५ पटक लट्री परेको मान्छे ? कहिँ ५ पटक एकै मान्छेलाई लट्री पर्छ ?’ उनले भने, ‘शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो । पार्टीको विचारले हुनुभएको हो ।’

महामन्त्री गगन थापाले शनिबार एक कार्यक्रममा एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री किन बन्नुपर्ने भन्दै प्रश्न गरेका थिए । एउटै व्यक्ति एउटै पदमा पटक पटक पुग्नु लोकतन्त्रका लागि पनि राम्रो नहुने उनको भनाइ थियो । तर महामन्त्री थापाको भनाइको प्रतिवाद गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका साउदले देउवा क्षमताकै कारण पाँच पटक प्रधानमन्त्री भएको दाबी गरेका हुन् ।

परराष्ट्र मन्त्री साउदले नयाँ दलका लागि सामाजिक सञ्जाल रहेको तर संगठन नभएको बताए । ‘उनीहरु अर्को पार्टीका कार्यकर्तालाई हामीलाई भोट दिनु भन्छन् । पार्टी पद्धतिमा विश्वास गर्दैनन्’, उनले भने, ‘पार्टी पद्धतिमा विश्वास नगर्नेले देश सञ्चालन गर्न सक्दैनन् । त्यही भएर लगातार विवादमा परिराखेका छन् ।’

उनले वामपन्थीको चिन्तन उत्पादन नबढाउने, तर वितरणमात्र बढाउने भएको बताए । ‘बाँड्दै जाँदा सबैलाई पुग्ने गरी बाँड्नुपर्छ, तर उनीहरु सबैलाई पुग्ने गरी बाँड्दैनन्’ मन्त्री साउदले भने, ‘कतै धेरै त कतै अनिकाल पर्ने गरी वितरण गर्छन् ।’ उनले एमाले नेतृत्वको सरकारले आर्थिक अनिकाल आउने परिस्थिती निर्माण गरेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?