+
+

साढे २ प्रतिशतले घट्यो नेप्से, लघुवित्त उपसूचकमा उच्च गिरावट

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते १५:४८

१७ असार, काठमाडौं । सेयर बजारमा साढे २ प्रतिशतको उच्च गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से ५३.७० अंक (२.५ प्रतिशत) ले गिरावट हुँदा २०९७.२९ अंकका विन्दुमा बन्द भएको छ । गत साता उच्च वृद्धि भएको लघुवित्त उपसूचक सहित बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा पनि गिरावट हुँदा नेप्सेमा उच्च गिरावट भएको हो ।

सेयर बजारमा तरलता सहज भएर ब्याजदर घट्दै जाँदा बढ्दो क्रममा देखिएको बजारमा असार मसान्त नजिकिंदै जाँदा बैंकको ब्याज र किस्ता तिर्ने दबाबले सेलिङ प्रेसर आई नेप्से घट्न लागेको हो । असार मसान्तमा बैंकहरुले हर्जा असुलीमा दबाब बढाउँदा ऋण तिर्ने सेयर बेच्नेहरुले सेलिङ प्रेसर बढाउँदा नेप्सेमा उच्च गिरावट आएको सेयर ब्रोकरहरु बताउँछन् ।

आइतबार नेप्सेमा सबै उपसूचकमा गिरावट हुँदा लघुवित्त उपसूचक ४.७५ प्रतिशतले गिरावट भएको छ । गत सातको ३ कारोबार दिनमा नै साढे १४ प्रतिशत भन्दा माथिले वृद्धि भएको लघुवित्त उपसूचक गत बुधबार नै करिब ३ प्रतिशतले घटेको थियो । तुलनात्मक रुपमा छोटो अवधिमा उच्च प्रतिफल आएको लघुवित्तबाट नै नाफा बुक गर्ने प्रयासले लघुवित्त उपसूचकमा उच्च गिरावट आएको हुनसक्ने बजारका जानकारहरु बताउँछन् । यस्तै विकास बैंक उपसूचक ३.४८ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक ३.१५ प्रतिशत र बैंकिङ उपसूचक पनि २.३८ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेका गिरावट हुँदा कारोबार रकम पनि केही घटेको छ । गत बुधबार ६ अर्ब हाराहारीको कारोबार भएको नेप्सेमा आइतबार कारोबार रकम ५ अर्बमा झरेको छ । नेप्से घट्ना लाग्दो पोर्टफोलियो होल्ड गर्ने लगानीकर्ता निष्कृय बन्दा बैंकको ऋण तिर्नुपर्ने ऋणीहरुले भने सेयर बिक्रीको चाप बनाउँदा नेप्सेमा उच्च गिरावट भएको हो । आइतबार नेप्सेमा ७४ हजार ४४१ वटा कारोबारमा १ करोड १३ लाख २३ हजार १८३ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ८ करोड २० लाखको कारोबार भएको हो ।

आइतबार नेप्सेमा हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक ४२ करोड ५७ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको २७ करोड ५६ लाख र सोल्टी होटलको २० करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आइतबार नेप्सेमा कुल २२५ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २०७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । त्यस्तै १८ कम्पनीको सेयरमूल्य भने बढेको छ । आइतबार कारोबार भएकामध्ये बीपीडब्ल्यू लघुवित्त सोल्टी होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा एसीसी डिबेञ्चर २०८६ को मूल्य ७.७८ प्रतिशतले बढेको छ ।

यता श्रृजनशील लघुवित्तको सेयरमूल्य ९.३२ प्रतिशतले गिरावट हुँदा माउन्टेन इनर्जी हाइड्रोपावरको सेयरमूल्य ९.१२ प्रतिशत र ग्रामिण विकास लघुवित्तको सेयरमूल्य ८.०१ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?