+
+

‘जलवायु परिवर्तनले हिमाली क्षेत्रमा अस्वाभाविक रुपमा तापक्रम बढ्नु चिन्ताजनक’

अनलाइनखबर अनलाइनखबर
२०८० असार १८ गते ११:२८

काठमाडौं । नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्स (एनएफएसजे)को ‘मिट द साइन्टिस्ट’को तेस्रो शृंखलामा पर्वतीय जलवायु र विज्ञान पत्रकारिता विषयमा अन्तरक्रिया गरिएको छ ।

काठमाडौंमा भएको कार्यक्रमका वक्ता चाइनिज एकेडेमी अफ साइन्सेसका अनुसन्धान वैज्ञानिक डा. डीबी कट्टेलले पर्वतीय जलवायु र तिब्बती प्लेटोबारे भएका अनुसन्धानबारे तथ्यगत र वैज्ञानिक निचोड प्रस्तुत गरे ।

ग्लोबल वार्मिङ र जलवायु परिवर्तनका कारण उच्च पर्वतीय क्षेत्र र त्यहाँका बासिन्दाले भोग्नुपरेका विभिन्न समस्याबारे उनले धारणा राखे । ‘जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा अस्वाभाविक रुपमा तापक्रम बढ्नुका साथै त्यसले कृषि, पर्यटन, जैविक विविधतालगायत विभिन्न क्षेत्रमा असर पारेको छ,’ उनले भने, ‘त्यही भएर यसबारे गहन अनुसन्धान जरुरी छ ।’ तिब्बती प्लेटो नेपालको हिमाली क्षेत्र तथा दक्षिण एसियाली मुलुकका लागि महत्वपूर्ण भएकाले जलवायु परिवर्तनका कारण त्यहाँ सिर्जित समस्याबाट दक्षिण एसिया नै प्रभावित हुने उनको भनाइ थियो ।

डा. कट्टेलका अनुसार चाइनिज एकेडेमी अफ साइन्सेसमा विभिन्न ४० मुलुकका ४०० भन्दा बढी वैज्ञानिकले तिब्बती प्लेटो, जलवायु परिवर्तनलगायत विभिन्न वैज्ञानिक विषयवस्तुमा अनुसन्धान गरिरहेका छन् । सन् २०१६ देखि एकेडेमीमा अनुसन्धान वैज्ञानिकका रुपमा कार्यरत डा. कट्टेलका ‘क्लाइमेटोलोजी’सम्बन्धी दर्जनौं पेपरहरु अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । विज्ञान लेखकसमेत रहेका डा. कट्टेलले वैज्ञानिक अनुसन्धानलाई सजिलो र बुझ्ने भाषामा जनसमक्ष ल्याउन विज्ञान पत्रकारको अहम् भूमिका हुने बताए ।

एनएफएसजेका संस्थापक अध्यक्ष एवं कार्यक्रम निर्देशक छत्र कार्कीले डा. कट्टेलले पर्वतीय जलवायु र विज्ञान पत्रकारिताबारे गहन र जानकारीमूलक प्रस्तुति दिएकोमा धन्यवाद दिंदै आगामी दिनमा पनि वैज्ञानिक र पत्रकारबीचको अन्तरक्रियालाई निरन्तरता दिने बताए । कार्यक्रममा पत्रकार, अनुसन्धाता, विज्ञानका विद्यार्थी लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?