+
+

‘फिल्म बगानमार्फत नयाँपुस्तासँग जोडिन खोजेका छौं’

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १५:००

काठमाडौं । आगामी असार २९ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘बगान’लाई लिएर यतिबेला करिश्मा मानन्धर उत्साहित छिन् । यो फिल्मसँगको उनको संलग्नताको खास अर्थ पनि छ । एकल महिलाको कथावस्तुमा बनेको यो फिल्ममा आफू जोडिनुपछि कथा र यसको सामाजिक सन्देश प्रमुख रहेको उनको भनाइ छ ।

यो फिल्मको निर्माणमा समेत उनको संलग्नता छ । एकल महिलाको पुनर्विवाहको समेत कथा प्रस्तुत गर्ने यो फिल्ममा करिश्माले एकल आमाको भूमिकामा अभिनय गरेकी छन् । सरोज खनालको डेब्यु निर्देशन रहेको यो फिल्मको निर्माण र अभिनयमा आफू जोडिनुमा कथा नै कारण रहेको उनको भनाइ छ ।

‘हामीले काम गर्दै जाँदा निर्माणमा समेत सहकार्य गर्‍यौं । सरोजको डेब्यु निर्देशन र कथावस्तु राम्रो भएकाले निर्माणमा समेत जोडिएँ,’ फिल्ममा जोडिनुको कारणबारे उनले भनिन् । समग्रमा ‘बगान’ सिंगल मदर र छोरीको कथा हो । छोरीको भूमिकामा प्रमिला कार्कीले अभिनय गरेकी छन् ।

चरित्र चित्रणको हिसाबले पनि करिश्माका लागि यो फिल्म खास रह्यो । आमाको रोलमा अभिनय गर्न उनले आमालाई सम्झिइन् । आमालाई नै सम्झिएर चरित्रमा डुब्न उनले मेहनत गरिन् । ‘मैले आमामार्फत बुझेको कुरालाई यसमा प्रयोग गरेकी छु । यसमा एकल महिलाको जीवन, उनले समाज र परिवारमार्फत राख्ने अपेक्षामा केन्द्रित छ । केही अव्यक्त तथ्यलाई समेत यसमा प्रस्तुत गरिएको छ,’ उनले भनिन् ।

डेब्यु निर्देशक तथा अभिनेता खनाल पनि फिल्ममा करिश्माको कामलाई लिएर खुसी छन् । ‘करिश्मा निकै राम्रो कलाकार हुन् । म उनको को-स्टार भएर काम गरेकाले उनको अभिनय क्षमतासँग परिचित थिएँ । त्यसैले यसमा उनको क्षमतालाई बाहिर ल्याउने कोसिस गरेको छु,’ सरोजले भने ।

सरोज र करिश्मा लामो समयदेखि अभिनयको यात्रामा छन् । ‘बगान’ उनीहरुको लागि नयाँपुस्तासँग घुलमिल हुने प्लेटफर्म पनि हो । खनालले त यही फिल्मबाट नयाँ पुस्तासँग अन्तरक्रिया गर्न खोजेका छन् । लिड अभिनेत्रीको रुपमा पछिल्लो समय ‘हिरोज’मा देखिएकी करिश्माको यो फिल्मलाई कमब्याक प्रोजेक्ट पनि भन्न सकिन्छ । उनको पछिल्लो फिल्म हिरोज र अहिलेको फिल्म बगानबीच पाँच वर्षको ग्याप छ । पछिल्लो फिल्म ‘जात्रैजात्रा’मा उनी केमियो रोलमा थिइन् ।

सरोज अभिनेता पनि भएको हिसाबले बगानमा काम गर्न सजिलो भएको करिश्माको बुझाइ छ । ‘निर्देशककै अनुसार कलाकार प्रस्तुत हुने गरेका छन् । हामीले काम गर्दा त्यही अनुरुप गरेका थियौं,’ करिश्मा भन्छिन्, ‘बगानमा कलाकार र मेरो को-स्टार रहिसकेका सरोज निर्देशक भएपछि झनै सहज भयो । उनले अभिनयको दुवै पाटोलाई बुझेकोले पनि पात्रमा जीवन भर्ने कोसिस गर्‍यौं ।’

पारिवारिक कथावस्तु भएकाले फिल्म सबैले हेर्नुपर्ने उनको सुझाव छ । ‘हामीले यसलाई परिवारले एकसाथ हेर्नुहोस् भनेर तयार गरेका छौं । एउटा परिवारले अन्य सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्छन् भन्ने यसमा देखाएका छौं,’ उनले भनिन्, ‘यसमा समस्या मात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौं । त्यसैले सपरिवारले हेर्दा आफूलाई महसुस गर्नुहुनेछ ।’

प्रदर्शनको तयारीमा रहेको ‘बगान’मा सरोज र करिश्मासहित नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । स्वप्न नीरवले लेखेको पटकथामा बनेको फिल्मलाई गौरीशंकर धुजुले छायांकन निर्देशनमा उत्सव दाहाल र नारायण जिसीले खिचेका हुन् । अर्जुन जिसी, राजेश शाह र सन्देश शाहले सम्पादन, समिर मियाले भीएफएक्स तथा रेनिश फागोले रङ संयोजन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?