+
+

बाढी आएपछि मेलम्चीको पानी काठमाडौं ल्याउन छाडियो

अनलाइनखबर अनलाइनखबर
२०८० असार १९ गते १९:१८

१९ असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोक अम्बाथानस्थित हेडवर्क्सबाट सुरुङमा पानी पथान्तरण बन्द गरिएको छ । मेलम्चीको जलाधार क्षेत्रमा भारी वर्षा भएर धमिलो पानीसहितको बढी अएपछि सोमबारदेखि मेलम्चीको सुरुङमा पानी हाल्न रोकिएको छ ।

मेलम्ची खानेपानी आयोजनाका निर्देशक प्रवक्ता राजेन्द्र पन्तका अनुसार गत हप्ता दिनभर सुरुङमा पानी हाल्ने र रातमा बन्द गर्ने गरिएको थियो । तर, जलाधार क्षेत्रतर्फबाट धमिलो पानी आएपछि सुरुङलाई हुनसक्ने जोखिमलाई ध्यानमा राखेर बन्द गरिएको उनले बताए ।

यसका कारण काठमाडौंमा फेरि खानेपनीको वितरण प्रभावित हुने भएको छ । ‘पानी संग्लिएपछि फेरि सुरुङ खोल्छौं,’ उनले भने, ‘गत वर्षहरुको जस्तो वर्षायामभरि लगातार सुरुङ बन्द गर्दैनौं, जोखिम कम देखिएर खोलेर पानी ल्याउँछौं ।’

१ असार, २०७८ मा आएको बाढीले यसअघि सिन्धुपाल्चोकको अम्बाथानमा तयार भएको मुहानस्थल क्षतिग्रस्त गरेपछि सरकारले भौगेलिक रुपमा कम चुनौतीपूर्ण ठाउँमा हेडवर्क्स बनाउने गरी नयाँ मुहान खोजिरहेको छ ।

सरकारले यो परियोजनाको पुनर्स्थापनालाई खासै चासो दिएको छैन । बाढीपछि तयार भएर सञ्चालनको तयारीमा अवस्थामा पुगिसकेको पानी छान्ने संयन्त्र (डिसेन्डर) मुहानस्थल पुरिएको छ । नदीको सतहभन्दा मुनि परेका ती संरचनाहरूको अवस्था के छ भन्ने बुझ्न अहिलेसम्म खोतलेर हेरिएकोसम्म छैन ।

तर, अस्थायी संरचना बनाएर हिउँदभरि पानी ल्याइँदै गर्दा वर्षायाममा पनि मेलम्चीको पानी ल्याउने गरी स्थायी मुहान तयार गर्न सरकारले ढिलाइ गर्दै आएको छ ।

मेलम्चीको मुहानभन्दा माथि भू–गर्भ कस्तो अवस्था र भविष्यमा बाढी र पहिरो आउने सम्भावना कति छ भनेर सरकारीतबरबाटै विस्तृत अध्ययन गराउन पनि कसैले चासो दिएको छैन ।

एसियाली विकास बैंक (एडीबी)ले गरेको अध्ययनले कस्तो निचोड दिन्छ भन्ने स्पष्ट छैन । मेलम्चीको जलाधार संरक्षण र बाढीपहिरो नियन्त्रणका लागि कार्ययोजना बनाएर स्थायी रुपमा नै समस्या समाधान गर्न काम सुरु भएको छैन ।

सरकार बाढीले पुरेको संरचनालाई प्रयोग गर्न नसकिने निष्कर्षमा पुगेपनि त्यसको विकल्पमा नयाँ मुहान तयार गराउन हतारिएको छैन । गत वर्ष बजेटबाटै मेलम्ची खानेपानी विकास समिति खारेज गरिएपछि झण्डै एक वर्ष आयोजना अन्योलको भूमरीमा फसेको थियो । अहिले नयाँ गठन आदेश जारी गरेर ब्युँताइएको मेलम्ची विकास समितिले अझै स्थायी र दिगो संरचनाहरुको निर्माणका लागि काम गर्न सक्ने अवस्था छैन ।

मेलम्ची खानेपानी आयोजनाबाट एडीबीले हात झिकिसकेको छ । अब नयाँ संरचना बनाएर १२ महिना नै मेलम्चीबाट पानी ल्याउनसक्ने गरी नयाँ संरचनाहरू तयार गर्न कहाँबाट लगानी ल्याउने भन्नेमा सरकार अलमलमा छ ।

पहिलो चरणकै काम अलपत्र परेपछि आयोजनाको दोस्रो चरणमा थप ११ किलोमिटरको सुरुङ बनाएर सिन्धुपाल्चोककै यांग्री र लार्के खोलाको पानी काठमाडौं खसाल्ने योजना पनि अलपत्र परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?