
२१ असार, काठमाडौं । सरकारले शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडितको समस्या समाधानका लागि फेरि आयोग गठन गर्ने तयारी गरेको छ ।
बिहीबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडितको समस्यालाई अझै लम्बिन दिन नहुने बताए ।
‘शुक्लाफाँटा वन्यजन्तु आरक्ष पीडितको समस्या २० वर्षदेखि लम्बिरहेको छ । ३२ वटा आयोग बनेको छ । पीडितहरू गूनासो गरिरहेका छन् । यसमा मन्त्रीको ध्यान जाओस्’, चौधरीले भने । समस्या समाधानका लागि एकीकृत कानुन बनाएर जानुपर्ने उनको राय छ ।
जवाफमा वन तथा वातावरणमन्त्री डा. विरेन्द्रप्रसाद महतोले यस विषयमा अधिकारसम्पन्न आयोग गठन गरेर जाने तयारीमा सरकार रहेको बताए ।
‘शुक्लाफाँटा आरक्षबाट विस्थापितहरुको समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग गठन गरेर त्यसमा जान लागेका छौं’, उनले भने ।
विगतमा पेचिलो तरिकाले आयोग बनाउने, रिपोर्ट दिने र फेरि आयोग बनाउने, फेरि रिपोर्ट दिने कार्य हुँदै आएको उल्लेख गर्दै उनले थपे, ‘यसपटक हामी विगतजस्तो होइन अधिकारसम्पन्न आयोग गठन गरेर लाग्छौं ।’
प्रतिक्रिया 4