+
+

सत्ताको जोडघटाउमा प्रयोग भए कोशीका सभामुख

हरि अधिकारी हरि अधिकारी
२०८० असार २१ गते १९:५१
कोशी प्रदेशका सभामुख बाबुराम गौतम ।

२१ असार, विराटनगर । कोशी प्रदेशका सभामुख बाबुराम गौतम सरकार गठन प्रक्रियामा सहभागी भएका छन् । संविधानले सभामुखको भूमिका निष्पक्ष रहने परिकल्पना गरेपनि गौतम सरकार गठन प्रक्रियामै सहभागी भएका हुन् ।

बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी गर्दा गौतमको पनि हस्ताक्षर बुझाएका थिए । कोशीमा सरकार गठनका लागि प्रदेशसभाको कुल ९३ सदस्यमध्ये बहुमत संख्या ४७ जनाको समर्थन आवश्यक पर्छ । राप्रपाले साथ नदिएपछि सभामुखलाई नजोड्ने हो भने कांग्रेस माओवादी गठबन्धनसँग बहुमत पुग्दैनथ्यो । कांग्रेसका २९, माओवादीका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक प्रदेशसभा सदस्य छन् ।

त्यसैले मुख्यमन्त्री थापाले सभामुख गौतमको समेत समर्थन लिएर बहुमत भएको दाबी गरेका छन् । कांग्रेस संसदीय दलका नेता थापाभन्दा पहिले नेकपा एमाले र राप्रपाले बिहीबार दिउँसो प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको थियो ।

तर प्रदेश प्रमुख परशुराम खापुङले कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

सत्ताको जोडघटाउमा सभामुख नै सहभागी भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले सांसद लिलाबल्लभ अधिकारी सभामुखले गैरसंवैधानिक काम गरेको बताउँछन् । ‘सभामुखको कदम संसदीय परम्परामाथिको ठाडो प्रहार हो’, उनले भने, ‘संसदीय परम्परामाथि प्रहार भएको छ ।’ आफ्नो दलले संवैधानिक सर्वाेच्चताको पक्षमा आवश्यक कदम चाल्ने उनले बताए ।

माओवादी केन्द्रबाट निर्वाचित सभामुख गौतमले भने परम्परा अनुसार हस्ताक्षर गरेको दाबी गरे । सरकार गठन प्रक्रियामा दलहरुले निर्वाचन आयोगको लिस्टबाट सिट संख्या पठाउने गरेको भन्दै उनले भने, ‘यहाँ संख्या गणनामै आउनुपर्ने परिस्थिति भएकाले एउटा जटिलता भयो, नभए सभामुखहरु जाने रहेछ ।’

मुख्यमन्त्री थापाले भने सभामुखका रुपमा नभई प्रदेशसभा सदस्यको हैसियतमा गौतमको हस्ताक्षर प्रयोग गरेको दाबी गरे । ‘उहाँ सभामुख मात्र होइन, प्रदेशसभा सदस्य पनि हो । ९३ जना प्रदेशसभा सदस्यमा बाबुराम गौतम पनि हो’, मुख्यमन्त्री नियुक्तिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने, ‘हामीले सभामुखको नाताले होइन, प्रदेशसभा सदस्यको नाताले समर्थन लिएका छौं ।’

प्रदेश प्रमुखको कार्यालय परिसरमा भेटिएका सत्तारुढ कांग्रेसकै प्रदेशसभा सदस्य केदार कार्कीले ‘सभामुखलाई कसरी प्रयोग गर्न मिल्छ ?’ भन्दै प्रश्न उठाएका थिए भने पूर्वमुख्यमन्त्री एवं एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले गठबन्धनको पक्षमा ४७ सांसद रहेको देखाइएको भन्दै ठ्टटा गरेका थिए ।

संवैधानिक कानुनका जानकार टीकाराम भट्टराई कोशीमा सभामुखको भूमिका गैर संवीधानिक र गैरसंसदीय भएको बताउँछन् । ‘सभामुख एउटा पार्टीको सदस्यका रुपमा काम गरेपछि कसरी सभामुखको गरिमा रहन्छ ? आज उहाँको भूमिका गैरसंवैधानिक र गैरसंसदीय हो’, सभामुखबाट राजीनामा गरेर मात्र प्रदेशसभा सदस्यको रुपमा सहभागी हुन पाउने भन्दै उनले भने ।

सभामुखले गरेको गल्तीलाई प्रदेश प्रमुखले पनि सदर गरिदिएको भन्दै वरिष्ठ अधिवक्ता भट्टराईले भने, ‘उहाँले यसलाई परीक्षण गर्ने र नियन्त्रण गर्ने गर्नुपथ्र्यो । उहाँले संविधानको परिपालना भन्दा पनि दलीय स्वार्थमा लागेको अनुभूति भयो ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?