+
+

जीवन आचार्य कोशीमा फेरि मन्त्री बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार २२ गते २०:१५

२२ असार, विराटनगर । कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट प्रदेश सांसद जीवन आचार्य फेरि मन्त्री बन्ने निश्चित भएको छ ।

उनी प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् ।  हिक्मत कार्की नेतृत्वको सरकारमा मन्त्री  भएका आचार्य उद्धव थापा नेतृत्वको सरकारमा पनि मन्त्री बन्न लागेका हुन् ।

शुक्रबार दिउँसो बसेको माओवादी केन्द्रको बैठकले आचार्यलाई पठाउने सहमति गरेको हो । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आचार्यलाई सरकारमा पठाइने बताए । बाँकी मन्त्रीको नाम छनोटका लागि संसदीय दलका नेता प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षलाई जिम्मेवारी दिइएको छ ।

‘माथिबाट  आर्थिक मामिला तथा योजना मन्त्रालय दिनुपर्ने कुरा आएको छ’  माओवादी केन्द्रका एक नेताले भने, ‘आइतबार–सोमबारतिर शपथ होला ।’  श्रोतका अनुसार आचार्य पार्टीको नेतृत्व गर्दै सरकारमा जाने छन् ।

शुक्रबार मुख्यमन्त्री उद्धव थापाले सरकारमा सहभागी सबै दलबाट एक–एक जना मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए  । नेकपा एकीकृत समाजवादी पार्टीले कमलप्रसाद जवेगु र कांग्रेसले प्रदीप सुनुवारको नाम छान्यो ।

जसपा नेतृ निर्मला लिम्बूले विश्वासको मत लिएपछि मात्रै मन्त्री बन्ने भन्दै शपथग्रहण गर्न मानिनन् । माओवादी केन्द्रले भने शुक्रबार बिहान मन्त्रीको नाम पठाउन सकेन । मन्त्री छनोट गर्न नसक्दा शपथग्रहण समारोहमा माओवादी  सांसद  पुगेनन् ।

माओवादीमा यसअघि मन्त्री भएका दुर्गाप्रसाद चापागाईं र जीवन आचार्यलाई पठाउने कि नयाँ मान्छे पठाउने भन्ने विवाद थियो । विवादका कारण माओवादीले नाम नपठाएपछि प्रदेश प्रमुखले कांग्रेसका सुनुवार र नेकपा एकीकृत समाजवादीका जवेगुलाई विना विभागीय मन्त्रीको शपथग्रहण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?