+
+

टीकापुरमा फस्टाउँदै केरा खेती

रासस रासस
२०८० असार २३ गते १७:१२

२३ असार, भजनी । कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ । यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ । बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

टीकापुरमा केरा खेतीमा समर्पित कालु हमाल सुरुआतमा १० बोटबाट व्यवसाय सुरु गरेको बताउँछन् । यहाँ केराका लागि सुहाउँदो माटो भएका कारण हमालसँगै यतिबेला सयौँ किसानले व्यावसायिक केरा खेती गर्दै आएका छन् । ‘त्यो बेला केराको व्यवसाय गर्ने म एक्लो थिएँ । अहिले धेरै किसान यसमा लागेका छन्’ उनले भने ।

हमालले केरा खेतीलाई पर्यटन व्यवसायसँग जोडे । केराको मात्रै परिकार पाइने बनानाज रिसोर्ट निकै चर्चित छ । यहाँ उत्पादन भएको केराको चिप्स देशभर बिक्रीका लागि पठाइन्छ । उनी उत्कृष्ट कृषकका रुपमा सम्मानित भइसकेका छन् ।

टीकापुर क्षेत्रमा हाल एक हजार दुई सय बिघा क्षेत्रफलभन्दा बढीमा केरा खेती हुँदै आएको तथ्याङ्क छ । बर्सेनी केरा खेती विस्तार हुँदै गएको केरा व्यवसायी टेकेन्द्र धामी बताउँछन् । ‘किसान केरा खेतीमा आकर्षित हुँदै गएका छन् । बजारीकरणको समस्या छैन, एकपटक खेती गर्दा तीन पटकसम्म आम्दानी लिन सकिन्छ’, उनी भन्छन्, ‘टीकापुरमै सहजै केराको बेर्ना उपलब्ध हुन्छ ।’

धामीले केराको बेर्ना टीकापुरमै उपलब्ध गराउँदै आएका छन् । उनले सात वर्षदेखि टिष्युकल्चर प्रविधिबाट केराको बेर्ना हुर्काएर किसानलाई बिक्री गर्दै आएका छन् । केही वर्ष पहिले भारतबाट बेर्ना मगाउने धामी अहिले नवलपरासीबाट बेर्ना ल्याएर त्यसलाई माटो सुहाउँदो हावापानीमा हुर्काएर किसानलाई बिक्री गर्छन् । गत वर्ष करिब दुई लाख केराको बिरुवा बिक्री गरेको उनले बताए ।

केराको बजारीकरणका लागि टीकापुरमा समस्या छैन । टीकापुरमा उत्पादन भएको केरा कैलालीका अन्य ठाउँका साथै बर्दिया, बाँके, दाङ, रुपन्देही हुँदै पोखरा, काठमाडौँसम्म बिक्री हुने गरेको छ । व्यवसायी राजकुमार चौधरी व्यापारी बारीमै आएर केरा खरिद गर्ने गरेको बताउँछन् ।

केरा खेतीका लागि राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले किसानलाई सहयोग गर्दै आएको छ । कार्यान्वयन इकाइले केराको बेर्ना खरिद, मलखाद, विषादी, कृषि उपकरणहरु ५० प्रतिशत अनुदानमा सहयोग गर्दै आएको छ ।

कार्यान्वयन इकाइका सूचना अधिकारी दिलीपजङ्ग रानाले चालू आर्थिक वर्षमा मात्रै केरा खेतीका लागि आयोजनाले ६० लाख रुपैयाँ विनियोजन गरेको बताए । कार्यान्वयन इकाइले टीकापुरमा विषादीरहित केराको बजारीकरणका लागि केरा पकाउने च्याम्बर पनि निर्माण गरेको छ । च्याम्बर पूर्णरुपमा सञ्चालनमा भने आउन सकेको छैन ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?