+
+

नेदरल्याण्डसमा किन निम्तियो राजनीतिक संकट ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते १३:३४

एजेन्सी । सत्ता गठबन्धनमा आवद्ध दलबीच आप्रवासी नीतिका विषयमा मतभेद हुँदा नेदरल्याण्डसमा राजनीतिक संकट आइपरेको छ । कन्जरभेटिभ पार्टीका प्रधानमन्त्री मार्क रूटले राजा विलियम अलेक्जेण्डरलाई राजीनामा बुझाएसँगै नेदरल्याण्डसमा राजनीतिक संकट सुरु भएको हो ।

गठबन्धनमा रहेका चार दललाई आप्रवासी नीतिका विषयमा समझदारीमा ल्याउन नसक्दा रूटले सत्ता छोडेका हुन् । नेदरल्याण्डसमा रुटको सत्ता ढलेसँगै आप्रवासी नीतिले युरोपमा असरको संकेत गरेको छ । यस्तै आप्रवासी नीतिलाई  चरम दक्षिणपन्थीहरूले एजेण्डा बनाएर कसरी सत्तानै धरापमा पार्न सक्छन् भन्ने उदाहरण नेदरल्याण्डसमा देखापरेको छ ।

पार्टी फर फ्रिडम एण्ड डेमोक्रेसीका नेता रूटलाई सेन्ट्रिस्ट प्रो युरोपियन, क्रिष्टियन पार्टी र क्रिष्टियन युनिनयको समर्थन थियो । आप्रवासी नीतिका कारण सत्ता ढल्ने जोखिम बढेसँगै रुटले पछिल्लो एक महिनादेखि सत्ता साझेदारलाई समझदारीमा ल्याउने कोशिस गरेका  थिए ।

अन्तत: गठबन्धनमा रहेका अन्य दलले आफूहरूले समर्थन फिर्ता लिने बताएपछि त्यहाँ राजनीतिक अनिश्चचितता बढेको छ । ‘सत्ता गठबन्धनमा आप्रवासी नीतिबारे मतभिन्नता रहेको विषय कतै लुकेको थिएन । दुर्भाग्यवश हामी सहमतिमा आउन सकेननौँ र हाम्रो मतिभन्नताका कारण मिलनविन्दु पहिल्याउन सकेनौँ’, रूटले भनेका छन् ।

कस्तो थियो प्रस्तावित आप्रवासी नीति ?

सरकारले शरणार्थीलाई दुई वर्गमा विभाजित गर्ने प्रस्ताव गरेको थियो । पहिलो, द्वन्द्वका कारण आएकाहरूलाई अस्थायी बसोबासको प्रबन्ध गर्ने, दोस्रो, सत्ताले सताएकाहरुलाई स्थायी बसोबासको अनुमति दिने । दुबै प्रस्तावको उद्देश्य भनेको शरणार्थीको संख्या कम गर्नु थियो । गठबन्धन बाहिर रहेका दक्षिणपन्थी दलहरूले यसलाई राजनीतिक लाभमा परिणत गर्ने कोशिस गरिरहेका थिए ।

यता, गठबन्धनमा रहेका दलले दुई किसिमको शरण प्रणालीमा सहमति जनाएका थिए । तर उनीहरू प्रधानमन्त्री रुटले प्रस्ताव गरेको दुई वर्षको समय कुर्न भने सहमत थिएनन् । गत वर्षमात्रै युरोपेली संघ बाहिरका २१ हजार मानिसले नेदरल्याण्डसमा शरण लिएका थिएनन् । सन् २०२२ भित्रमा ४ लाख भन्दा बढी आप्रवासी मुलुक भित्रिएको डच सरकारको प्रतिवेदन छ ।

आप्रवासी संख्या बढ्दा नेदरल्याण्डसलाई आवासको चिन्ता भइरहेको छ । नेदरल्याण्डसमा आफ्नै जनसंख्या १ करोड ७० लाख भन्दा बढी छ ।

प्रधानमन्त्रीको राजीनामा पछि अब के हुन्छ ?

राजीनामा दिएपछि रुटले कामचलाउ सरकारको नेतृत्व गरिरहेका छन् । अर्को निर्वाचन नहुन्जेलसम्म उनीनै सत्तामा रहनेछन् । नेदरल्याण्डसमा नोभेम्बरमा आम चुनाव हुनेछ, पार्टीको संसदीय दलको नेतामा रुटनै कायम हुन्छन् वा हुन्नन् भन्ने कुरा निश्चित छैन ।

यद्यपि डियासँग प्रतिक्रिया दिँदै उनले आफूनै कायम हुने विश्वास व्यक्त गरेका छन् । उनका विश्वासपात्रहरू रूटसँग खुशीनै रहेकाले त्यो सम्भावना कायमै हुने आमस्टडर्म विश्वविद्यालयका प्राध्यापक मार्सेल हेनिग्राफ बताउँछन् । रुटले चुनाव जितेमा उनकै नेतृत्वमा फेरि गठबन्धन सरकार बन्नसक्ने हेनिग्राफको विश्वास छ । तर त्यसले पनि हालकोझैँ संकट निम्त्याउने प्राध्यापक हेनिग्राफले बताए ।

के होला रूटको भविष्य ?

प्रधानमन्त्री रूटले राजनीतिक आँधी यसअघि पनि व्यहोरेका छन् । सन् २०१० मा सत्तामा आएका उनी सबैभन्दा बढी प्रधानमन्त्री हुने व्यक्ति हुन् । अनेकौँ राजनीतिक हण्डर खाएर पनि सत्ता बनाउन सक्ने उनलाई टेफ्लनको संज्ञा दिइएको छ । टेफ्लन यस्तो रसायन हो जसले अन्य तत्वसँग कुनैपनि रासायनिक प्रतिक्रिया जनाउँदैन ।

तर अन्य डच राजनीतिज्ञहरूले भने नेदरल्याण्डसमा अब नयाँ प्रधानमन्त्री चाहिएको बताउँदै आएका छन् । नेदरल्याण्डसको स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा ल्याएको दल फार्मर सिटिजन मुभमेन्टकी नेता क्यारोलिन भान डेर पाल्स भन्छिन्, ‘अब मुलुकमा नयाँ नेताको खाँचो भइसक्यो ।’

राजनीतिक विश्लेषकहरूका अनुसार संसदमा हाल एक सिट रहेको यस दलले आगामी चुनावमा राम्रो नतिजा ल्याउने विश्वास लिएका छन् । यो दल दोस्रो ठूलो हुने संभावना रहेको उनीहरुको आकलन छ ।

रुट नेतृत्वको सरकारले किसानहरूलाई लक्षित गर्दै नाइट्रोजन प्रदुषणबारेको नीति ल्याएको भन्दै किसानहरू उनीसँग रूष्ट छन् । नाइट्रोजन अक्साइड र एमोनिया जस्ता रसायन खेतीमा प्रयोग हुनेगर्छ । त्यसको उत्सर्जनमा कमी गर्ने नीति सरकारले अघि सारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?