+
+

प्रचण्ड र दोस्रो तहका नेताबीचको कचमच कीर्तिपुरमा छताछुल्ल

अनलाइनखबर अनलाइनखबर
२०८० असार २४ गते २०:१५

२४ असार, काठमाडौं । माओवादी केन्द्रका प्रतिस्पर्धी नेताहरु वर्षमान पुन, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत हत्तपत्त एउटै मञ्चमा भेटिंदैनन् । उनीहरुबीच सहकार्य कम, प्रतिद्वन्द्विताको पृष्ठभूमि बढ्ता लामो छ ।

तर प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आक्रामक प्रतिक्रियाले उनीहरुलाई बिहीबार एकसाथ कीर्तिपुर पुर्‍यायो ।

त्यसको अघिल्लो दिन २० असारमा क्रान्तिकारी स्ववियु काउन्सिलको तेस्रो राष्ट्रिय भेला उद्घाटन गर्न त्रिवि अडिटोरियम हल कीर्तिपुर पुगेका प्रचण्डले दोस्रो तहका पार्टी नेताहरुको आलोचनामा निकै समय खर्चिए।

अखिल क्रान्तिकारीबाट क्याम्पसहरुमा स्ववियु जितेकामध्ये उल्लेख्य संख्याले काउन्सिल भेला बहिष्कार गरेकाेमा उनी क्रूद्ध थिए । दोस्रो तहका माओवादी नेताहरुबीचको झगडा यसको कारक रहेको उनले संकेत गरे ।

माओवादी केन्द्रको नेतृत्वमा संयुक्त सरकार चले पनि यसले गरेका सकारात्मक काम प्रचार गर्न नसक्नुका पछाडि आफ्नै पार्टीपंक्तिको अन्तरसंघर्ष कारक रहेको अपजस लगाए ।

‘तपाईंहरु राम्रोसँग हेर्नुहोस् त, मेरो नेतृत्वमा सरकारले सुशासन र विकासका लागि धेरै राम्रा कामहरु गरेको छ, सबैले स्याब्बास भनेका छन्, अझ खासगरी पार्टी र आन्दोलनभन्दा बाहिरकाले पनि लौ है धन्यवाद र बधाई छ सरकारलाई भनेका छन्’ प्रचण्डले काउन्सिलका विद्यार्थी नेताहरुसँग भनेका थिए, ‘तर हाम्रै रैथानेहरुले चाहिं धन्यवाद र साथ दिन बाँकी छ । उहाँहरुको खै के नमिलेको हो, के चित्त नबुझेको हो । के गरिदिनुपर्ने हो ।’

प्रचण्डले पुन, शर्मा र बस्नेत कसैको पनि नाम नलिएरै तर प्रष्ट बुझिने भाषामा आलोचना गरेका थिए । आफूले नेत्रविक्रम चन्द विप्लवलाई पार्टीभित्र ल्याउन खोजेकाेमा दोस्रो तहका नेताहरु असन्तुष्ट भएको उनले संकेत गरे ।

प्रचण्ड विप्लवलाई महासचिव बनाएर पार्टीभित्र र बाहिर एकसाथ दुई सन्देश दिन चाहन्छन् । प्रचण्डको पहिलो सन्देश पार्टीभित्र– अहिले नै प्रचण्डको विकल्प खोज्ने कोसिस नगर्नु, मसँग धेरैवटा विकल्पहरु छन् । प्रचण्डको दोस्रो सन्देश पार्टीबाहिर– म माओवादी धारालाई फेरि एकीकृत गर्न अघि बढेको छु, त्यसका लागि जुनसुकै त्याग र समझदारीका लागि पनि वातावरण बनाउन तयार छु ।

प्रचण्डले आफूहरुलाई अपजस दिएको बुझेपछि पुन, शर्मा र बस्नेतले एक साथ त्रिवि अडिटोरियम जाने निधो गरे । आफूहरुलाई परस्पर विरोधी देखाएर विप्लवलाई महासचिव बनाउने अध्यक्षको डिजाइन बुझे उनीहरुले ।

भेलाको दोस्रो दिन सोही मञ्चमा वर्षमान पुनले गुनासो र व्यंग्य मिश्रित भाषामा भने, ‘हिजो नेतृत्वलाई बम हान्दै हिंड्नेहरुले सरकारको कामलाई धन्यवाद भनेछन्, हाम्रो नेतृत्व पनि खुसी भयो रे ! हामी भित्रै बसेर नेतृत्वलाई बचाउ गर्नेहरुले धन्यवाद भन्न सकिएनछ ।’

त्यसपछि मञ्चमै बसिरहेका जनार्दन शर्मातिर हेर्दै पुनले थपे, ‘हामी धेरै लडियो भन्ने पनि सुनियो प्रभाकरजी । अब यसौं गरौं, महासचिवमा हामीबीच कुनै विवाद छैन । तपाईं महासचिव बन्नुहोस् । मेरो स्वास्थ्य पनि ठीक छैन । बरु सरकारका कामहरुलाई सहयोग गरौंला म ।’

पुनपछि बोलेका शर्माले नेतृत्वका आकांक्षी बीचमा सानोतिनो प्रतिस्पर्धाको भावना देखिएको हुनसक्ने भए पनि समग्र पार्टी कामलाई त्यसले फिटिक्कै प्रभावित नपारेको, बरु त्यसलाई बढाइँचढाइ गरेर प्रस्तुत गरेर अप्ठेरोमा पार्न खोजिएको दु:खेसो गरे ।

उनले दोस्रो पुस्ता अहिले पनि नेतृत्वलाई काँध थापेर हिंड्न तयार रहेको भन्दै अघिल्लो दिन मञ्चमा व्यक्त प्रचण्ड–असन्तुष्टिबारे उल्टै असन्तुष्टि व्यक्त गरे ।

शर्माले प्रश्न गरे, ‘३२ सिट भए पनि प्रधानमन्त्री पाएका छौं, सातै प्रदेशका सरकारमा कुनै न कुनै रुपले हाम्रो सहभागिता छ । विभिन्न मुख्यमन्त्रीहरु बनाउन पाएका छौं, यसलाई हामीले सहयोग नगरेको भन्न मिल्छ र ?’

उनले भने, ‘साथ छ, शुभकामना छ, सबै कुरा त छ । आजसम्म सबैखाले उतारचढाव बेहोर्दै आयौं, जसअपजस जेमा पनि नेतृत्वको प्रतिरक्षा गर्दै आयौं । कहाँनेर बिग्रियो त कुरो ? भन्दिनुपर्‍यो नि ! रैथानेले सघाएनन् भनेर पुग्छ र ?’

पुन र शर्मा दुवैले आफूहरुलाई किनारा लगाएर विगतमा प्रतिशोध लिन खोज्नेहरुलाई अघि बढाइए राम्रो सन्देश नजाने चुनौती भने खुलेरै पेश गरे ।

भेलापछि अखिल क्रान्तिकारीका एक उच्च नेताले भने, ‘अध्यक्ष र नेताहरुबीचमा मनमुटाव छ भन्ने त थाहा थियो, तर यो हदसम्म कुरो भइरहेको रहेछ भन्ने हाम्रै भेलामा देख्न पाइयो ।’

प्रचण्ड मन्त्रिपरिषदका मन्त्री समेत रहेका नेता शक्ति बस्नेतले नरम भाषामा बोले पनि वर्षमान र जनार्दनको लाइनमा असहमति राखेनन् ।

अखिल क्रान्तिकारीका अर्का नेताले भने अनुसार प्रचण्डले अघिल्लो दिन दोस्रो तहका नेताहरुको आलोचना गरेपछि संगठनकी अध्यक्ष पञ्चा सिंह आफैंले शर्मा, पुन र बस्नेतलाई फोन गरेर जवाफ दिन आग्रह गरेकी थिइन् ।

अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिंदै सिंहले भेलामा विभिन्न कोणबाट कुरा आएको भन्दै थप प्रतिक्रिया दिन चाहिनन् । उनले भनिन्, ‘प्रधानमन्त्रीज्यूले बोल्नुभएको कुरा आइसकेकै छ, अरु नेताहरुले पनि आफ्नो कुरा राख्नुभयो । अहिले थप टिप्पणी नगरौं ।’

प्रचण्डले आफूलाई दोस्रो तहका नेताहरुबाट सोचेजति सहयोग नभइरहेको ठान्ने गरेका छन् । उनीहरुको विकल्पमा प्रचण्डले अघि सार्न खोजेको विप्लव कार्डबारे खासगरी पुन र शर्मालाई राम्रो हेक्का रहेको निकटस्थ नेता बताउँछन् । विगतमा आफूहरुलाई आपसमा भिडाउनमा प्रचण्डले समेत भूमिका खेलेको बुझाइमा उनीहरु यति बेला देखिन्छन् ।

पुनले अघिल्लो साता अनलाइनखबरसँग कुरा गर्दै भनेका थिए, ‘महासचिव पाएमा अझै राम्रोसँग काम गर्छौं भनेर जनार्दनजी र म दुवैले पार्टीमा आकांक्षा राखेकै थियौं । तर यसमा अनावश्यक प्रतिस्पर्धा छैन । अहिले फेरि विप्लवजी आउने नयाँ कुरो चलिरहेको छ ।’

उनले विप्लवलाई महासचिव मान्न अप्ठेरो नभए पनि विगतमा आफूहरुप्रति लक्षित बम र हिंसाहरुबारे आत्मालोचना नहुन्जेल सहकार्य कठिन रहेको संकेत गरेका थिए । विप्लवको सम्भावित आगमनबारे सञ्चारमाध्यमबाट बढ्ता प्रचार भएको भन्दै असन्तुष्टि पनि जनाएका थिए ।

विगतमा माओवादीभित्रको अन्तरसंघर्षमा प्रचण्डलाई खुलेर सघाउने गरेका दोस्रो तहका प्रभावशाली नेताहरु र प्रचण्डबीचको मनोमालिन्य पहिलो पटक सतहमा आएको छ । आपसी गुनासाहरु प्रकट गर्नका लागि प्रचण्ड–दोस्रो तहका नेता दुवैले कीर्तिपुरको विद्यार्थी भेलालाई साझा मञ्चका रुपमा प्रयोग गर्नुचाहिं रोचक थियो ।

‘माओवादीमा विद्यार्थीबाहेक अरु भ्रातृ संगठन खासै चलायमान नभएकाले गर्दा नेताहरुको आश काउन्सिल भेलातिर बढ्ता हुनुपर्छ’ अखिल क्रान्तिकारीका एक पदाधिकारीले भने, ‘नेतृत्वभित्र असन्तुष्टि यो हदसम्म झाँगिएको रहेछ भन्ने हामीले पनि प्रत्यक्ष थाहा पायौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?