+
+
वर्षमान पुनसँग वार्ता :

‘विप्लवजीलाई महासचिव मान्न जनार्दनजी र म तयार छौं’

बसन्त बस्नेत दिपेश शाही बसन्त बस्नेत, दिपेश शाही
२०८० असार ११ गते १९:५५

चीनमा लामो उपचारपछि भर्खरै स्वदेश फर्किएका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ आफ्नो पार्टी संगठनभित्र प्रभावशाली मानिन्छन् । पार्टीका रणनीति, अन्तरपार्टी मध्यस्थता लगायत कार्यकर्ता व्यवस्थापनमा दक्खल राख्ने अनन्त पार्टी नेतृत्वको आकांक्षा राख्नेमध्येका एक नेता हुन्, जसको प्रतिस्पर्धा अर्का उपमहासचिव जनार्दन शर्मासँग देखिन्छ । पार्टी अध्यक्ष प्रचण्डलाई एमालेको समर्थनमा प्रधानमन्त्री बनाउन निणर्ायक भूमिका खेलेका अनन्त लगत्तै बिरामी परे । एमाले-माओवादी गठबन्धन पनि टिक्न सकेन ।

अनलाइनखबरले यिनै सेरोफेरोमा वर्षमानसँग आइतबार अपराहृन विस्तृत कुराकानी गर्‍यो ।

अहिले तपाईंको स्वास्थ्य कस्तो छ ?

मेरो स्वास्थ्य अहिले सामान्य छ । स्वास्थ्योपचारको सिलसिलामा धेरै साथीले परिवारका सदस्य, पार्टी लगायत विभिन्न माध्यम मार्फत शुभेच्छा व्यक्त गर्नुभएको छ । म सबै शुभेच्छुकप्रति आभार व्यक्त गर्दछु । म अब नियमित रूपमा पार्टी र देशको काममा खटिन सक्ने भएको छु ।

तपाईं उपचारको क्रममा रहँदा देशमा विभिन्न राजनीतिक घटना घटे । तपाईंहरू मिलेर बनाएको गठबन्धन टुट्यो …

स्वस्थ हुँदा र नहुँदा पनि सबै घटनामा सहभागी हुने भन्ने हुँदैन । निश्चय पनि म उपचारको क्रममा रहँदा केही राजनीतिक घटनाक्रममा परिवर्तन भयो । यहाँ भएको भए स्वाभाविक हिसाबले केही भूमिका रहन सक्थ्यो । तर तात्विक हिसाबले पार्टीले गरेको निर्णयभन्दा फरक हुन्थ्यो भन्ने लाग्दैन ।

तपाईं भएको भए एमालेसँगको गठबन्धन बच्थ्यो, तपाईं अनुपस्थित हुँदा नेपाली कांग्रेससँग जानुपर्छ भन्ने जनार्दन शर्माको मत अझ बलियो बन्यो भन्ने पनि छ नि !

त्यो वास्तविकता होइन । हामीले कांग्रेससँग गठबन्धन बनाएर चुनाव लडयौं । अन्तिम अवस्थामा कांग्रेसको मूल नेतृत्वले गठबन्धनको विपक्षमा वा एमालेसँग गठबन्धन गरेर जाने निर्णयमा पुगिसकेपछि त्योभन्दा वाम गठबन्धन राम्रो भन्ने भएको हो । पछिल्लो समय हाम्रा कतिपय मतभेद थिए, तर वाम गठबन्धन गरेको ठीक हो भन्ने भएको हो ।

हामीले एजेन्डाका आधारमा गठबन्धन बनाएका थियौं । त्यसमा कांग्रेसले प्रश्न उठाइसकेपछि बाध्यात्मक हिसाबले हामीले वाम गठबन्धन बनाएका हौं । चुनाव सँगै लडिसकेपछि सरकारमा पनि सँगै जानुपर्छ भन्ने पार्टीमा सबैको धारणा थियो । तर म स्वास्थ्य उपचारमा थिएँ । धेरै कुरा मलाई जानकारी भएन । अहिले पनि राष्ट्रपति निर्वाचनसम्म आउँदा चुनावी गठबन्धनमा फर्कियौं । वाम गठबन्धन टिकेन । यसको समीक्षाका पक्षहरू छन् ।

तपाईंले एमालेका दोस्रो वरीयताका नेतासँग बसेर गरेको गृहकार्य कामयाब भएन भन्ने हो ?

खास-खास नेताहरूका कारण यस्तो भयो भन्ने होइन । त्यसमा स्वाभाविक हिसाबले पार्टीका सबै नेताले यो अवस्थामा फरक ढंगले जानुपर्ने अवस्था आयो भनेर नै निर्णय गरेको हो ।

प्रचण्डले प्रधानमन्त्री बन्नुअघि एकैपटक तपाईंलाई ओलीसँग संवाद गर्न बालकोटमा र जनार्दन शर्मालाई देउवासँग संवाद गर्न बालुवाटार पठाएको त सत्य हो नि !

त्यसरी भन्दा पनि हामी स्वाभाविक रूपले कांग्रेससँग निर्वाचनमा सँगै थियौं । जनमत आइसकेपछि कांग्रेससँगकै गठबन्धन प्राकृतिक हुन्थ्यो । तर कांग्रेस गठबन्धनबाट पछि हट्ने गरी समानान्तर जस्तो ढंगले बालकोटसँग वार्ता गरिरहेको हामीलाई थियो । हामीले कांग्रेसलाई भनेका पनि थियौं, तपाईंहरू त्यसो गर्नुहुन्छ भने बरु हामीलाई सजिलो हुन्छ । स्वाभाविक रूपले नेकपा एमालेसँग कुराकानी गर्ने, राजनीतिक रूपले छलफल गर्ने सामान्य कुरा नै हुन्थ्यो । त्यसलाई अन्यथा लिनुहुन्थेन । पछि त्यही कारणले गठबन्धन बनाउन सजिलो बनायो, त्यो चाहिं सत्य हो ।

सरकारको आयु कति हुन्छ भनेर चर्चा सुरु भएको छ । प्रधानमन्त्रीले केही समयअघि म झुक्दिनँ बरु सरकार छोड्छु भन्नुभयो । केपी ओलीले सरकार ढाल्न सक्छन् भनेर माधवकुमार नेपालले बोल्नुभयो । देउवाको सिंगापुरबाट फिर्तीपछि भएका घटनाक्रमले प्रचण्ड सरकारको भविष्य के हुन्छ भन्ने चर्चा सुरु भएको छ । त्यसको प्रतिबिम्ब बजेटमाथिको छलफलमा समेत देखिइरहेको छ । खासमा भित्र के भइरहेको छ ?

गठबन्धनभित्र बजेटमा केही असन्तुष्टि छन् । अर्थमन्त्रीले सम्बन्धित मन्त्रालयसँग योजना तथा कार्यक्रममा समन्वय नै नगरिकनै चलाउनुभयो भन्ने गुनासो छ । कति साथीहरूको पूर्वाधार सम्बन्धी मन्त्रालयहरूले गठबन्धनका माननीय र समग्र देशका प्राथमिकता र आवश्यकता सम्बोधन गर्नुभएन, आफ्नो दल र आफ्नो क्षेत्रलाई मात्रै प्राथमिकता दिनुभयो भन्ने गुनासो छ । त्यो संसदमा पनि उठ्यो र गठबन्धनमा पनि छ ।

तर यही कारणले सरकार यताउति हुने अवस्था छैन, हुँदैन पनि । किनभने, सरकार सुशासन, समृद्धि र सामाजिक न्यायको एजेन्डामा बनेको हो । तत्काल शान्ति प्रक्रियाका बाँकी काम लगायत मैले भनेका तीन वटा प्राथमिकताका आधारमा बनेको सरकार हुनाले गठबन्धन एक ठाउँमा छ । त्यसभित्र सरकार र बजेटसँग सम्बन्धित कुराहरूलाई हामीले व्यवस्थापन र सम्बोधन गरेर जानुपर्छ ।

माधवकुमार नेपाल लगायत नेताको अभिव्यक्ति सुन्दा त सत्ता मोर्चाभित्र असन्तुष्टि चुलिएको देखिन्छ । सम्बोधन गर्ने अवस्था अझै छ ?

शीर्ष नेतृत्वको तहमा छलफल चलिरहेको छ । हाम्रो तहमा पनि छलफल गरिरहेका छौं । असन्तुष्टि र गुनासालाई उपयुक्त तवरले सम्बोधन गर्ने, बजेट पास गर्ने, सरकारलाई अझ बलियो बनाउने हाम्रा समझदारी छन् । यसमा उठेका प्रश्नलाई कुनै ठाउँ छैन भन्दा हुन्छ ।

कांग्रेस र एमाले मिलेर सरकार चलाउने सम्भावना देख्नुहुन्छ ?

त्यो सम्भावना छैन । अहिले सरकारको गठबन्धनको प्राथमिकता सुशासन हो । सुशासनका लागि काम गर्ने हो । सरकार बदल्ने भनियो भने त्यो प्रतिबद्धता विपरीत हुन्छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण लगायत विभिन्न घटनामा राहदानीको सहजीकरण, सवारी अनुमति पत्र, सेवा प्रवाहलाई सहज बनाउने, समयमा नै मल किसानसम्म पुर्‍याउने, समयमा नै विद्यार्थीको हातमा किताब पुर्‍याउने काम जो हेर्दा सानो, तर जनताले चाहेको काम वा सुशासनको काम हुनु राम्रो कुरा हो । अर्थात्, सरकारले डेलिभरीको काम राम्रो गरिरहेको छ । यो अवस्थामा गठबन्धन झन् बलियो हुनुपर्छ ।

प्रतिपक्ष दलले पनि राम्रो गरिरहेको काममा समर्थन, कमि भएको ठाउँमा आलोचना गर्ने र सतर्क गराउने भूमिका हुनुपर्छ । त्यसर्थ, सरकारको विकल्प खोज्ने सम्भावना छन् । केही छलफल चलिरहेका हुनसक्छन् । तर यथार्थमा त्यो सम्भावना छैन । गठबन्धन पनि त्यति कमजोर छैन ।

समाजवादी मोर्चा पनि बनेको छ । खासमा यो मोर्चाले गठबन्धनलाई बलियो बनाउन सहयोग गर्छ कि कमजोर बनाउन ?

कांग्रेसलाई दबाब दिन वा तर्साउन समाजवादी मोर्चा बनाइएको भनिन्छ, तर यथार्थ त्यस्तो होइन । खासगरी कांग्रेसकै नेताको पनि विचार मिल्नेहरू मोर्चामा बस्नुपर्छ भन्ने सुझाव थिए ।

कांग्रेसले यस्तो सुझाव दियो होला ? ‘हामी धेरै शक्तिशाली छौं, तपाईंहरू स-सानो हुनुहुन्छ । बलियो भए हामीसँग लड्न सजिलो होला’ भनेर… ?

गठबन्धनमा भएका समाजवादी विचार राख्ने साथीहरू कांग्रेससँग एकता गर्ने अवस्था त हुँदैन । त्यसैले विचारले निकट भएकाबीच एकताको सम्भावना पनि छ । अहिले सरकारमा सहकार्य गर्दैछौं, एक प्रकारको मोर्चा वा गठबन्धनमा नै छौं । तर त्योभन्दा नजिकको सम्बन्ध, भोलि एकतासम्मको सम्भावना भएका दलहरू एकठाउँमा बस्नु कांग्रेसका लागि नराम्रो होइन ।

भोलि एकीकृत समाजवादी छुटिहाल्छ कि, जसपा निस्किहाल्छ कि भन्ने न सरकारलाई चिन्ता, न गठबन्धनलाई । सरकारको नेतृत्व गर्न वेटिङमा बसिरहेको कांग्रेसलाई पनि चिन्ताभन्दा पनि राम्रो विषय हो ।

त्यसो भए सत्ता गठबन्धन टिकाइराख्न सुनिश्चितताका लागि यो मोर्चा बनेको हो ?

सत्ता गठबन्धनलाई प्राथमिकताभन्दा पनि विचार मिल्नेहरू निकट भएर बसौं, आवश्यकता पर्दा एकता पनि गरौं, एकतासम्म नपुगे पनि नजिक बसेर छलफल गरौं भन्ने उद्देश्यबाट यो मोर्चा बनाइएको हो । त्यसो गर्दा प्रकारान्तरले गठबन्धनलाई पनि सहयोग पुग्यो, यो राम्रो भयो ।

यसो गर्दा प्रचण्ड नेतृत्वको सरकार कहिलेसम्म टिक्छ ?

यो गठबन्धन पाँच वर्षका लागि बनेको हो । बाँकी गठबन्धन दलहरूभित्रको समझदारीले नै निश्चित नीति, सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकता दिएर नेतृत्वमा सामान्य परिवर्तन वा आलोपालो हुने स्वाभाविक भनेका छौं । तर यतिसम्म बस्ने, यसपछि हिंडिहाल्ने भनेर मिति घोषणा गरेका छैनौं ।

प्रचण्डलाई तीन वर्ष र देउवालाई दुई वर्ष भनेर समय नै बाँडिएको भन्ने छ, होइन ?

नेताहरूबीच भएको छ भने मलाई थाहा भएन । म त्यसमा जानकार छैन । स्वाभाविक हो कि जनमतको आधारमा हाम्रो अहिलेको निश्चित एजेण्डामा कांग्रेसले पनि सरकारको नेतृत्व गर्नुपर्छ, गर्छ ।

देउवालाई कसरी कुर्ने भनेर चिन्ता भयो है ?

उहाँ पटक-पटक देशको प्रधानमन्त्री भइसक्नुभएको मान्छे हो । देशको आवश्यकता पूरा गर्नलाई गठबन्धन बनेको छ । त्यो गठबन्धनको आवश्यकता र समझदारीलाई उहाँले बुझ्नुभएको छ ।

यो पाँच वर्षको अवधिमा माधवकुमार नेपालको चाहिं पालो आउँदैन ?

त्यसमा के समझदारी छ भन्ने मलाई ठयाक्कै जानकारी छैन । तर हामी सबै नेता एकठाउँमा बस्नुपर्छ । अहिलेको जनताको आकांक्षा, भावनालाई सम्बोधन गर्नुपर्छ । जनताले धेरै अस्थिरता भन्दा पनि अहिले शासनमा, विकास निर्माण र पूर्वाधारमा, रोजगारीको सृजना गर्ने कुरामा देखिने गरी केही परिणाम खोजेका छन् ।

जनताले दिएको मतले नै संसदको संरचना यस्तो बनेको छ । मिलेर काम गर भनेका छन् । त्यही अनुसार नेताहरू अघि बढ्नुहुन्छ । त्यो जनताको म्यान्डेटलाई बुझ्नुभएको छ भन्ने लागेको छ ।

तर एकीकृत समाजवादीकै नेता झलनाथ खनालले दुईवटा मन्त्री लिएर कसरी समाजवादको यात्रा तय हुन्छ भन्नुभएको छ । नेताहरूमा त एक खालको उकुसमुकुस देखिएको छ, होइन ?

त्यसो हो भने प्रतिपक्षमा बसेर समाजवादको यात्रामा पुगिन्छ ? त्यसरी पनि प्रश्न उठ्ला । अथवा, हिजो नेकपाको दुई तिहाइ हुँदा समाजवादको कति यात्रा तय भयो भन्ने पनि होला । त्यसो त पार्टीभित्रको छलफल त आफ्नो ठाउँमा होला ।

त्यसैले एउटै घटनाले समाजवादको यात्रा तय हुँदैन । त्यतातिर उन्मुख छ कि छैन भन्ने हो । चिनियाँहरूले ७० वर्ष लगाएर गरिबी उन्मूलन गरे । विश्वमा कुनै यस्तो देश छैन, जहाँ गरिबी शून्य भएको होस् । तर चिनियाँहरूले शून्यमा पुर्‍याए । उहाँहरूले यसलाई चिनियाँ विशेषताको समाजवाद भन्नुभएको छ । अब आधुनिक समाजवादमा जाने भन्नुहुन्छ । भन्दा हामीलाई कति वर्ष लाग्ला समाजवादमा पुग्न ? त्यसैले अहिले त्यतातिर फर्किनु र हिंड्नु पनि ठूलो कुरा हुन्छ ।

उहाँ पुरानो नेता, वरिष्ठ नेता, बौद्धिक नेता पनि हो । यो मेरो खण्डन भन्दा पनि धैर्यपूर्वक जनमतको कदर गर्नुपर्छ भन्ने लाग्छ ।

माधवकुमार नेपाल प्रधानमन्त्री हुने विषयमा के सहमति भएको छ भन्ने तपाईंलाई थाहा होला । उहाँको अब के हुन्छ ?

मलाई थाहा छैन । पक्कै पनि नेताहरूका बीचमा केही न केही समझदारी बनेको छ । सबैले एकअर्काको आवश्यकता देख्नुभएको छ । त्यो अनुसार नै अगाडि जान्छ, जानुपर्छ ।

तपाईं चीनबाट फर्किएपछिको अवस्था देख्दा उहाँहरूबीच समझदारी छ भन्ने लागेको छ ?

नेताहरूका पनि आफ्ना बाध्यता हुन्छन् । कहिलेकाहीं नेताको पनि, राज्यका पनि केही बाध्यता हुन्छन् । मलाई लाग्छ, माधवकुमार नेपाल बोलिराख्नुभएको कुरा गठबन्धनको लागि हो कि पार्टीभित्र केही समस्या भएर हो ? कहिलेकाहीं छोरी कुटेर बुहारी तर्साउँ भनिन्छ नि । कुटेको चाहिं सरकारलाई, तर भित्र केही छ कि भन्ने लाग्छ । तर मलाई थाहा छैन । कहिलेकाहीं नेताहरूले जे बोलिराख्नुभएको हुन्छ, त्यो सरकारकै बारेमा बोलेको हो कि अरू कसैलाई सन्तुष्ट पार्न बोलेको भन्ने घटना, परिस्थिति र सन्दर्भ अनुसार लिनुपर्छ ।

जस्तो कि कणर्ाली गएर सरकारले ज्यादती गर्‍यो, एकदिन पनि सहन सकिन्न भनेर भन्नुभयो । काठमाडौं आएर गठबन्धनका नेताहरूसँग त्यहाँ असाध्य समस्या देखेर त्यहींका नेताको भावना बोलेको हो भनेर भन्नुभयो । यसरी सन्दर्भमा बुझ्नुपर्छ ।

पहिले तपाईंहरूले पार्टी एकताका विषयमा पनि खूब छलफल गर्नुभयो । अब त्यस्तो गृहकार्य गर्ने जाँगर छ कि छैन ?

निरन्तर रूपले पार्टीलाई परिमार्जन गर्ने, गतिशील बनाइराख्ने कुरा त स्वाभाविक हो । अहिले र आजकै मितिमा नेकपा बन्ने सम्भावना छैन । सहकार्यको बीचबाट हेर्दा विचार मिल्नेहरूले अलग-अलग चुलो बालेर काम हुँदैन । दीर्घकालीन हिसाबले एकता गरेर जानुपर्छ ।

यो कुरा प्रचण्डले बढी बुझ्नुहुन्छ कि ओलीले ?

विगतमा प्रचण्डले नै २०७४ सालमा सँगै चुनाव लडौं र एकता पनि गरौं भनेर प्रस्ताव गरौं भन्नुभएको हो । केपी शर्मा ओलीले पनि पछि ठीकै छ अहिलेको आवश्यकता हो भनेर स्वीकार गर्नुभएको हो ।

दुइटै नेताको बुझाइ र स्वीकारोक्तिका रूपमा हामीले गठबन्धन गर्‍यौं र पार्टी एकता पनि गर्यौं । तर पछि त्यसमा दरार र असमझदारीहरू आए । त्यसका कारण बारे पर्याप्त छलफल भइसकेको छ ।

त्यसैले अहिले पनि प्रचण्डले वाम एकता, गठबन्धन, सहकार्य, ध्रुवीकरण आवश्यक छ भनेर भनिराख्नुभएको छ । त्यो बुझाइ सही छ । तर आजै सजिलै हुँदैन । किनभने, विगतका यी घटनाक्रमले सिकाएका छन् ।

तपाईं काठमाडौंमा नै हुँदा पनि चिनियाँ नेताहरूसँग राम्रै संवाद हुन्छ । पछिल्लो समय तपाईं आफ्नो स्वास्थ्योपचारका लागि चीनमा हुनुहुन्थ्यो । उहाँहरूको के सुझाव छ ?

यसपटक म उपचारकै लागि चीन बसें । त्यसो हुँदा राजनीतिक र कूटनीतिक प्राथमिकता हुने सम्भव नै हुँदैन । यद्यपि, स्वास्थ्य लाभको लागि शुभेच्छा दिने र सद्भाव राख्ने क्रममा जति कुराकानी भए त्यसमा उहाँहरू नेपालको स्थिरतामा बढी इच्छुक देखिनुहुन्छ । जसरी हुन्छ नेपाल स्थिरताको दिशामा गयो भने त्यसले नेपालको हित र चीनको चासो पनि सम्बोधन हुन्छ भन्ने छ । त्यो भारतको हकमा पनि हो । स्वाभाविक हो नेपाल एउटा कोर्समा जाँदा छिमेकका लागि पनि राम्रो हुन्छ ।

वाम पार्टीको एकताका हिसाबले स्वाभाविक रूपमा कम्युनिस्ट पार्टीको हैसियतले निकट भए राम्रो, ठूलो फोर्स हुँदा त्यो नेपाललाई राम्रो होला भन्ने शुभेच्छा जहिले पनि हुन्छ । अहिले पनि हुन्छ । तर पछिल्लो समय वाम पार्टीसँग परम्परागत सम्बन्ध भइहाल्यो, नेपालका सबै कांग्रेस, राप्रपा र रास्वपा लगायत पार्टीसँग पनि निरन्तर संवाद र सहकार्य गर्ने नीति देखिन्छ ।

हालै पनि चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले काठमाडौं आएर सबैसँग भेट गरेको र अन्तरक्रिया गरेको समाचार सार्वजनिक भएका छन् । ती र भ्रमणको आदान-प्रदान हेर्दा पनि वाम पार्टीको प्राथमिकतामा राखेको संवाद गरेको देखिन्छ ।

सी जिनपिङ नै आउनुभयो, बीआरआईबाट ट्रान्स हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्कको कुरा अघि बढेको थियो । तर, अहिले कहाँबाट कहाँ पुग्यो भनेर चिनियाँहरू पनि अलमलमा परेका होलान् है ?

मलाई त्यसो लाग्दैन । विश्वको, छिमेकको सबै राजनीति उसले बुझेको हुन्छ । चिनियाँहरूले नबुझ्ने कुरै हुँदैन । विश्वको एउटा शक्तिले विश्व परिस्थिति बुझेको छ, नेपाल मामिला नबुझ्ने कुरै हुँदैन ।

तसर्थ कहिले उतार हुन्छ, कहिले चढाव हुन्छ । तर दुई देशबीचको सम्बन्ध निरन्तर स्थिर रहेको छ । मैत्री सम्बन्ध समझदारीपूर्ण रहेको छ । त्यो ठूलो कुरा हो ।

भर्खरै प्रचण्डको भारत भ्रमण भयो । त्यतिबेला सम्बन्धमा पुनर्ताजगी मात्रै नभई नेपाली कूटनीतिक, सांस्कृतिक दक्षिणायन भयो भनेर थुप्रैले भने।  सहमत हुनुहुन्छ ?

यसमा म पूरा सहमत छैन । जोसँग धेरै सम्बन्ध भयो, ऊसँगै धेरै भ्रमण आदानप्रदान हुने हो । दुई तिहाइ बढी आयात-निर्यात भारतसँगै हुन्छ । खुला सिमाना भएका कारण आउजाउ जनस्तरमा भारतसँगै हुन्छन् । धेरै विशिष्ट, थोरै जटिल सम्बन्ध भारतसँगै छ । त्यसैले संवाद गरिराख्नुपर्छ । प्रधानमन्त्री, मन्त्री, संयन्त्रस्तरमा धेरै छलफल हुनुपर्ने भएकाले यो पल्ट प्रधानमन्त्रीको भारत भ्रमण आवश्यक पनि थियो । सफल पनि भयो ।

उच्च नेतृत्व तहमा आइसब्रेक गर्ने, सम्बन्धलाई न्यानोपन र विश्वासको तहमा लैजाने काम भयो । वैचारिक नीतिगत प्राथमिकताहरूमा राम्रो सम्बन्ध भएको छ । एकअर्कालाई बुझेर चल्नु राम्रो हो । त्यसैले सीमा लगायत विषयलाई प्रक्रियामा लगेर हल गर्ने कुरा भएको छ । व्यापार पारवहन सन्धि नवीकरण थाती रहेको थियो । त्यो अघि बढ्नु राम्रो कुरा हो ।

हामी कोलकाता विशाखापटनमबाट समुद्रसम्म पुगेकै थियौं । अब जलमार्गबाटै पुग्ने कुरा भएको छ । जलमार्ग भारतको होइन, हाम्रो प्राथमिकताको कुरा थियो । स्थलमार्ग भूपरिवेष्टित देशका लागि अनिवार्य प्राथमिकता हुन्थ्यो, तर जलमार्ग नै हुने अझ राम्रो हो । यसमा नयाँ समझदारी भयो । जलमार्ग मार्फत समुद्री पहुँचमा पुग्न थप परिमार्जनसहित सहमति राम्रो भयो ।

अर्को जलस्रोत हो । त्यसबाट जलविद्युत् आउने हो । हामीले प्रयोग गरेपछि भारतीय बजारमा बिजुली पठाउने, भारतीय बाटो हुँदै बंगलादेश पठाउने कुरा एकदमै राम्रो हो । राष्ट्रिय हितमा छ यो । यसलाई दक्षिणायन भन्दिनुभएन ।

प्रधानमन्त्री भारत गइसकेको हुनाले अब उहाँलाई उत्तरतिर जान या अमेरिका जान बाटो खुल्यो होइन ?

चीनतिरको तयारी, अमेरिका खासगरी संयुक्त राष्ट्रसंघमा जाने तयारीहरू भइरहेका छन् । अब अरू भ्रमणहरू पनि हुँदै जान्छन् ।

अब पार्टीको प्रश्नमा आउँ । महासचिवमा तपाईं र जनार्दन शर्माको प्रतिद्वन्द्वीतालाई प्रचण्डले देव गुरुङ महासचिव बनाएर बैठान गर्नुभयो । अहिले विप्लव माओवादी केन्द्र्रमा आएर महासचिव बन्ने चर्चा छ नि ?

जनार्दनजीसँग मेरो सम्बन्ध आजदेखिको होइन । पञ्चायतकालदेखि ‘जनयुद्ध’कालमा जीवनमरणको संघर्षका बेलाको साथी । हामी एकअर्काको राम्रो पक्ष र कमी दुवै बुझेका छौं । एकअर्काको पूरक बनेर पार्टी र आन्दोलन दुवैको हित हुने सोच्छौं । साना-तिना कुरामा मतभेद जोड-कोण नमिल्ने होला । त्यसलाई स्वाभाविक मान्नुपर्छ । बाहिर चर्चा गर्ने गरे जस्तो हाम्रो सम्बन्ध होइन ।

महासचिव पाएमा अझै राम्रोसँग काम गर्छौं भनेर हामी दुवैले पार्टीमा आकांक्षा राखेकै थियौं । नेताहरूलाई भन्यौं, स्थायी समितिले हामीमध्ये जो-कोहीलाई महासचिव दिए पनि काम गर्छौं, एकअर्कालाई सघाउँछौं । महासचिव पाए मात्रै काम गर्ने, नत्र नगर्ने भन्ने हुँदैन । पार्टीमा आ-आफ्ना योगदान हुन्छन्, व्यक्तित्व हुन्छन् । त्यसरी जाउँ भन्ने थियो ।

हामीले आकांक्षा राखेकै हो, तर अनावश्यक प्रतिस्पर्धा होइन समझदारीमै गएका थियौं । दुई जनाको आकांक्षा भएको अवस्थामा तेस्रो व्यक्ति राखेर के गर्ने भन्ने भयो । पुरानै पुस्तामा जाउँ भनेपछि देव गुरुङजीलाई सहयोग गर्ने कुरा भएको छ । उहाँले चलाइराख्नुभएको छ । अब अहिले फेरि आयो विप्लवजी आउने नयाँ कुरो । त्यो चाहिं मिडियालाई पनि धार चाहिने हुँदोरहेछ ।

होइन, तपाईंहरूकै कार्यकर्ता पंक्तिबाट सुनेको हो, धार चाहिएको होइन !

त्यसो होइन, जेमा पनि पक्ष-विपक्ष खोज्ने त बानी भइसक्यो । हरेक ठाउँमा पार्टीमा मूल नेतृत्वलाई सतर्क गराइराख्नुपर्छ । आलोचनात्मक चेत हुने कुरा राम्रो हो, तर जेमा पनि मतभेदै खोज्ने भनेेको समाज टुक्र्याउने कुरा रहेछ ।

विप्लवलाई स्वागत गर्न प्रचण्ड जति लालायित हुनुहुन्छ, त्यति लालायित अनन्त र प्रभाकर हुनुहुन्न भन्ने त बाहिर आएकै कुरा हो नि !

पार्टी एकतामा हामी सबै खुला छौं । वैद्यजी फुट्दा पनि हामीले तथानाम गरेनौं । अपशब्द बोलेनौं । तपाईंहरू कहिल्यै आउनु नपरोस् पनि भनेनौं । जबकि २०७० को चुनावमा उहाँहरूको बमले झन्डै हाम्रो ज्यान गयो । हामी लगातार छलफलमै थियौं । बाटो बिराउनुभयो भन्यौं । सात-आठ वर्षको अन्तरसंघर्षपछि देव गुरुङ, रामबहादुर थापा, पम्फा भुसाललगायतले यथार्थबोध गर्नुभयो । प्रचण्ड कमरेडको नेतृत्वमा जे प्रयोग भइरहेको छ, यसैबाट माओवादी आन्दोलनका उपलब्धि जोगाउनुपर्छ भनेर विभिन्न समूहसँग एकता पनि गर्यौं । जोसँग एक भयौं, उहाँहरूलाई तपाईंहरूले गर्दा पार्टी सानो भयो भनेर हृयुमिलियट गर्ने पक्षमा पनि छैनौं । मान्छेहरूको सीमा हुँदोरहेछ है ।

विप्लवजीहरूसँग पनि अलग भएको १० वर्ष भयो । विप्लवजीहरूसँगको एकतामा हाम्रो कुनै रिजर्भेसन छैन । स्वागत गर्न तयार छौं । सँगै अहिलेको व्यवस्था स्थापना गर्यौं । यसलाई स्वीकृत गर्ने क्रममा हाम्रो मतभेद भयो । हाम्रो शक्ति कमजोर भयो । उहाँहरूले अलग पार्टी बनाउनुभयो । हिजो कहीं न कहीं नराम्रो भन्ने नराम्रो त होइन नि ! ढिलोचाँडो हामी एकताबद्ध हुनैपर्छ । चुनावबाटै जाऔं भन्नु त स्वागतयोग्य कुरा हो । शान्तिपूर्ण राजनीतिमा उहाँ पनि त आउनुभयो ।

जनार्दन शर्माको बारेमा स्थायी कमिटीमा जे भनें भनेर तपाईंले अघि भन्नुभयो नि ! हामी दुवै जना महासचिवका आकांक्षी छौं । हामीमध्ये एक जनालाई बनाउँदा एकले अर्कालाई सहयोग गर्ने हार्दिकता तपाईंहरुले देखाउनुभयो । त्यो शब्द भोलिको दिनमा विप्लवलाई प्रयोग गर्न सक्नुहोला ?

हामी एउटै विचारमा छौं । उहाँले मलाई वा मैले उहाँलाई वा हामी दुवैले जनार्दनजीलाई महासचिव बनाएर हामी नयाँहरूले अलि नयाँ ढंगले लैजाऔं भन्न केही आपत्ति छैन । त्यसका लागि तयार पनि हुनुपर्दछ ।

अहिले विप्लवजीसँग एकता गरिसकेको चरण होइन । कार्यदिशामा अहिले फरक छ नि ! उहाँ संसद बाहिर हुनुहुन्छ । हामी भित्र छौं । हामी सरकारमा छौं, उहाँ बाहिर हुनुहुन्छ । हामी संविधानको रक्षा, यसको सुदृढीकरणको पक्षमा छौं । उहाँहरू संविधानको विरोधमा हुनुहुन्छ । यी कुराहरूमा छलफल गरेर ल मिल्यो भनिसकेपछि एकता हुने हो ।

तर मोर्चा त बनिसक्यो नि ? छलफल गर्नका लागि सजिलो ठाउँ बन्यो होइन ?

मोर्चा त बन्यो । यो व्यवस्था स्थापनाका लागि सबैको योगदान छ । यसलाई कसरी अघि लैजाने भन्नेमा मतभेद भएर दुइटा बाटोमा छौं । एउटा बाटो बनाउने वित्तिकै नेतृत्व भन्ने त प्राविधिक विषय भइहाल्यो । विचार मिल्ने वित्तिकै जसले नेतृत्व गरे पनि हुन्छ ।

नेतृत्व भन्या फेरि विगतमा पुरानो राज्यव्यवस्थाविरुद्ध लड्दा जसरी हुनुपर्दछ भन्ने पनि होइन । कार्यकर्ताको मतबाट पनि बनाउँला । हामीसँग विधि पनि छ । नेतृत्व स्वीकार्न केही पनि आपत्ति छैन ।

चुनावको बेला नो नट अगेन खूबै चलेको थियो । पार्टीभित्र चाहि ‘नो नट अगेन’ भन्ने हुन्छ कि हुँदैन ?

पार्टीमा ठ्याक्कै त्यस्तै त हुँदैन । चुनावको पनि चर्चा चल्यो । चुनावमा प्रतिस्पर्धा नै नगरेका साथीहरूलाई पनि ‘नो नट अगेन’ भनियो । डा. बाबुराम भट्टराईजी, डा. रामशरण महतजी, कृष्णबहादुर महराजी, अग्नि सापकोटाजी उम्मेदवार नै हुनुहुन्थेन । उहाँको फोटो राखेर त्यस्ता प्रचार गरियो । त्यो अलि नियोजित हो कि !

जनताको स्वाभाविक सेन्टिमेन्ट भन्दा पनि नियोजित हो कि ! वा, जनताकै भए पनि सूचना नभएर पुराना देखिएका जति भनिएको हो कि ! पुराना देखिंदैमा स्वतः पुरानो हुँदैन । यद्यपि, उमेर पनि महत्वपूर्ण फ्याक्टर हो । कुनै बेला ४० वर्षे ओबामालाई राष्ट्रपति छाने । कुनैबेला राष्ट्रवादको लहर चल्छ । कहिले लोकपि्रयतावाद चल्छ । कहिले उमेरको चल्छ । कहिले र्‍याडिकल चल्छ । पुराना लिडरसिपले गणतन्त्र, संघीयता ल्यायो । पुरानाले विस्तारै नयाँलाई छोड्नुपर्दछ भनी आम धारणा बन्दै गएको छ ।

कसैलाई बलपूर्वक जबरजस्ती गर्ने होइन । योग्यता हुने बेलासम्म नेतृत्वलाई सम्मान गर्ने हो । सधैं पदमा बस्नुपर्छ भन्ने पनि छैन । विधिमा गयो भने त कहिले युवा कहिले एजेन्डा मान्छे पनि नेतृत्वमा आउन सक्छ । त्यसकारण, एउटा विधि बसालौं । विधि बस्यो भने त उमेरको कुरा आएन नि त ! एजेण्डाको कुरा आउँछ ।

प्रचण्डले अब कति बर्ष नेतृत्व गर्न सक्नुहोला तपाईंको विचारमा ?

अहिले राष्ट्रिय राजनीति हेर्दा सबै प्रचण्डको पछि लागिरहेको देखिन्छ । गाली पनि गर्छन्, ताली पनि प्रचण्डलाई दिन्छन् । उहाँ एउटा मान्छे हो । कुनै न कुनै रूपमा नेतृत्व हस्तान्तरण गरेर आराम लिने र नयाँहरू आए हुनेथियो भन्ने उहाँलाई पनि लागेको छ । यही रूपमा बुझ्नुपर्दछ ।

नयाँ पुस्ता आयो भने विश्रामतिर जान्छु भन्ने प्रचण्डलाई लागेको छ ?

नयाँ साथीहरू तयार हुनुहोस् । आराम लिने मेरो विचार छ । किताब लेख्ने या गार्जियन सिटमा बस्ने इच्छा छ भनेर धेरैपटक मिटिङमै भन्नुभएको छ । उहाँको कुरालाई स्वभाविक रूपमा लिएका छौं ।

प्रचण्डले आराम लिने विचार छ भनेर साँच्चै भन्नुभएको हो ?

साँचो रूपमा नै लिएका छौं । आवश्यकता पनि हो नि देशको । उहाँको नेतृत्वमा राजतन्त्र अन्त्य, गणतन्त्र स्थापना भयो । दश वर्षको ‘जनयुद्ध’पछि १५ वर्ष संसदीय राजनीतिको पनि प्रयोग गर्यौं ।

पञ्चायत विरुद्धको आन्दोलनमा पनि उहाँकै नेतृत्वमा लड्यौं । थुप्रै परिवर्तनमा नेतृत्वमा रहेर काम गर्नुभयो । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने, आरामपूर्वक काम गर्ने स्वाभाविक रूपमा मानवीय पक्ष जस्तो लाग्छ । कोही तयार नहुँदा, स्थिति नबन्दाको स्थिति फरक हो । ८४ वर्षको उमेरमा गिरिजाबाबु सडकमा आउनुभयो । लट्ठी खानुभयो । लोकतन्त्रको रक्षा गर्ने, निरंकुशताको अन्त्य गर्न सडकमा आउनुभयो । नेता आजको आजैको घटनाले मात्रै हुँदैन । कर्मले निर्णय गर्ने कुरा हो । जो कोहीको बारेमा पनि ।

डा. बाबुराम भट्टराईसँगको संवाद चाहिं कहाँ पुगेको छ ? उहाँ त हिजोआज तपाईंहरूसँग रिसाइरहनुभएको छ !

बाबुरामजीसँग सँगसँगै काम गर्दा ७० वर्षपछि म सक्रिय राजनीतिमा हुन्न भन्नुहुन्थ्यो । अब ७० वर्ष पुगें कार्यकारी पदमा बस्न म हुँदैन भन्नुभएको छ । पार्टी निर्माणको बेला पनि बेला-बेला यस्तो भन्दै आउनुभएको छ । विचारको काममा रहन खोजे जस्तो उहाँमा देखिन्छ । उहाँ मोर्चामा हुनुपर्थ्यो । हामी सबैभन्दा निकट बाबुरामजीसँगै छौं । एउटै चुनाव चिह्नमा लडेका थियौं । कानुनतः एउटै संसदीय दल छ, पार्टी अलग अलग छ । मोर्चाबद्ध भइसकेको पार्टी पनि उहाँसँगै हो । बाबुरामजी र उहाँका साथीहरूले बुझ्ने कुरा हामी त यसै पनि मोर्चामा छौं भन्ने हो ।

फोटो/भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?