
News Summary
Generated by OK AI. Editorially reviewed.- माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्व र वैचारिक प्रश्नमाथि गम्भीर आलोचना गर्दै प्रचण्ड नेतृत्वको असुली धन्दा आरोप लगाए।
- शर्माले पार्टीभित्रको असन्तुष्टि सार्वजनिक मञ्चबाट उठाउँदा जनवादी केन्द्रीयताको सिद्धान्त उल्लंघन भएको भन्दै आलोचना भए।
- पार्टीको वैचारिक पुनरावलोकन र नेतृत्व परिवर्तन बहस वैचारिक स्तरमा आधारित हुनुपर्ने र व्यक्तिगत असन्तुष्टिमा सीमित नहुने भनिएको छ।
साउन ६ गते, पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बोलेका केही वाक्यहरूले पार्टीको आन्तरिक संरचना र नेतृत्वको वैचारिक प्रश्नहरूमाथि गहिरो बहसको ढोका ढक्ढक्याएको छ ।
शर्माको ‘कमरेड मनमोहन अधिकारी बाहेक सबै प्रधानमन्त्रीहरू असुली धन्दामा लागेका छन्’ भन्ने अभिव्यक्तिले पूर्व प्रधानमन्त्री तथा आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्पष्ट संकेत गर्यो । तर संगसंगै जनार्दन शर्मा स्वयंले दाहाल प्रधानमन्त्री हुँदा मात्रै होइन पार्टी सरकारमा मात्रै जाँदापनि पटकपटक गरी अर्थ, गृह, ऊर्जा, शान्ति जस्ता महत्वपूर्ण मन्त्रालयहरू सम्हाल्दै आएका छन् ।
विगत तीन दशकदेखि पार्टीको केन्द्रीय समिति र अधिकांश समय उच्च नेतृत्वमा रही अध्यक्ष प्रचण्डले गर्ने सबै निर्णयहरूको भागिदार रहँदै आएका छन् । जनयुद्धको रणमैदानदेखि सत्ता र संगठन दुवै तहमा निर्णायक भूमिकामा रहँदै आएको पृष्ठभूमिमा यो अभिव्यक्ति केवल व्यक्तिगत गुनासो वा असन्तुष्टिको आरोपबाट लोकप्रिय प्रतिक्रिया प्राप्त गर्न खोज्ने आम प्रवृत्ति हो वा विचार, पद्धति र सिंगै नेतृत्वपंक्ति माथिको व्यापक समीक्षात्मक प्रश्न हो ? यसको उत्तर दिनुपर्ने कठघरामा स्वयं शर्मापनि खडा हुन आइपुगेका छन् ।
नेकपा माओवादी केन्द्रभित्र आलोचनाको परम्परा नयाँ होइन । उसो त कम्युनिष्ट पार्टीको जीवन नै आत्मालोचना र आलोचना मार्फत निरन्तर शुद्धीकरणको प्रक्रियालाई मानिन्छ । यद्यपि माओवादी आन्दोलनको समग्र इतिहास चाहिँ वैचारिक बहस, मतभेद र विघटनको सिलसिलासँग गाँसिएको छ ।
हरेक चरणहरूमा कतै नेतृत्वको निर्णयप्रति, कतै राजनीतिक लाईनप्रति र कतै सांगठनिक व्यवहारप्रति आलोचनाहरू हुँदै आएको छ । तर, ती सबै असहमतिको अभिव्यक्तिको साझा एउटा विशेषता के छ भने, ‘हामीले प्रचण्डको नेतृत्व अस्वीकार गरेको होइन तर … ’ भन्दै अन्ततः फेरी ‘प्रचण्ड जस्तो खराब व्यक्ति इतिहासमा थियो न भविष्यमा जन्मने नै छ’ भन्ने स्तरको आरोपहरू नै अधिकांशतः प्रस्तुत हुँदै आएका छन् ।
यद्यपि मोहन वैद्य र बाबुराम भट्टराईहरूले आफ्ना आरोपलाई सैद्धान्तीकरण गर्ने कोसिस गर्न खोजेको देखिन्छ । तर जनार्दन शर्माले उठाएको कतिपय विषयको आवाज, आवाजको हदसम्म सहि भएपनि जुन रूप र स्तरमा उठाइएको छ, त्यसको वैचारिक स्तर कायम हुन नसकेको तिता प्रश्नहरू स्वयं शर्मामाथि व्यापक रूपमा उठ्ने निश्चित छ ।
कम्युनिस्ट आन्दोलनको मेरुदण्ड मानिने ‘जनवादी केन्द्रीयता’ को सिद्धान्त, केवल सांगठनिक व्यवहारमात्र होइन । बरु विचार र चेतनाको आधारभूत खम्बा समेत हो । यसले व्यक्तिको आलोचना गर्ने र पार्टीभित्र आफ्नो धारणलाई स्थापित गर्ने अधिकार सुनिश्चित गर्छ । जनवादी केन्द्रीयताको संगठनात्मक अभ्यास भनेको – व्यक्ति संगठनको मातहत, अल्पमत बहुमतको मातहत, तल्लो समिति माथिल्लो समितिको मातहत, सबै समिति केन्द्रीय समितिको मातहत र केन्द्रीय समिति महाधिवेशनको मातहत रहने हो । यस अनुसार हुने निर्णयलाई स्वीकार्दै संघर्ष एकता र रूपान्तरणको मार्गमा काम गर्न सिकाउँछ ।
तर जब यो विधिको पालना गर्ने–गराउने स्तरका नेताहरूले नै यसको उलंघन गर्छन् र आफ्ना समितिका बहसहरू त्यहीं समाधान गर्ने र हल गर्ने प्रक्रियाबाट च्यूत भई हठात तल्ला समिति र आम जनबहसको विषय बनाउन थाल्छन्, त्यहाँ विचारको स्थान व्यक्तिवादले लिन्छ । अनि जनवादी केन्द्रीयता, विधि र पद्धति एक व्यक्तिले अर्को व्यक्तिलाई आरोप लगाउने सामान्य हतियारमा रूपान्तरण हुन्छ ।
यही विचलनका शृङ्खलाहरू माओवादी आन्दोलनमा बारम्बार देखिएको छ र त्यसको सिकार पटक पटक सिंगो माओवादी पार्टी बनेको छ । यद्यपि अधिकांश फुटको स्तरमा पुगेका सबै समूह र व्यक्तिले विगतमा गलत गरिएको महसुस गरेर पुनः पार्टीमा एकीकृत हुने प्रक्रिया निरन्तर चलिरहेको छ ।
२०६९ सालमा मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रबाट अलग हुँदा, उनले प्रचण्डमाथि लगाएको मुख्य आरोप थियो – क्रान्तिको परित्याग, जनयुद्धको उपलब्धिहरूलाई संशोधनवादसँग साटासाट, सात दलसँग १२ बुँदे सहमति, सेना समायोजनको फ्रक्रियामा जनमुक्ति सेनाको आत्मसमर्पण र पार्टीभित्रको सामूहिक निर्णय प्रणालीप्रतिको बेवास्ता लगायतका आरोपहरू वैद्य समूहले प्रचण्डमाथि लगायो ।
यसैगरी २०७२ सालमा डा.बाबुराम भट्टराईलेपनि माओवादी केन्द्र परित्याग गर्दा प्रचण्ड नेतृत्वको विगत एक दशकको सत्ता सम्बन्धी व्यवहार, सिद्धान्तहीन गठबन्धन, राजनीतिक अवसरवाद लगायतका विषयमा आलोचना गर्दै पार्टीले विचार र उद्देश्य दुवै गुमाइसकेको निष्कर्ष निकाले ।
‘पार्टी अब जनताको होइन, पद, पैसा र पहुँचको संरचनामा बनेको छ’ भन्दै पार्टीको आधारभूत धरातलमाथि नै अविश्वास गरे । बाबुराम भट्टराईले पार्टीमा रहँदा कहिल्यै आफू मुख्य नेतृत्वको योग्य हुँ भन्न सकेनन् तर, मूलतः प्रचण्डलाई स्वीकार गर्न सकेनन् ।
यस सन्दर्भमा केवल भट्टराईमात्र होइनन्, वैद्य, विप्लव, बादल, महरा, मातृका, रविन्द्र, मणि लगायत जो जतिले पार्टी छाडे वा विद्रोह गरे उनीहरू कसैले मूलतः प्रचण्डको नेतृत्वदायी प्रश्नलाई सैद्धान्तिक स्तरमा उठान गरेर बहस गर्ने वैचारिक ल्याकत राखेनन् तर असन्तुष्टिलाई कुनै न कुनै सैद्धान्तिक लेप लगाएर पार्टीबाट अलग हुँदै पुनः जोडिए वा जोडिने शृङ्खला चलिरहेको छ ।
यही शृङ्खलाको निरन्तरता आभाष हुनेगरी अहिले उपमहासचिव शर्माले पार्टीभित्र असन्तुष्टिका टुटेफुटेका प्रश्नहरू तर गम्भीर रूपकै सञ्चार हुनेगरी उठाएका छन् । यसले ती पुराना प्रसंगहरू सम्झनु सान्दर्भिक बनेको छ ।
जनयुद्ध र जनआन्दोलनको धरातलमा शान्तिप्रक्रियाको स्थापना र संविधान निर्माणसँगै पटकपटक माओवादी सरकारमा पुग्यो । तर, समाजको चरित्र बदलिएन । माओवादी सत्ता केन्द्रित हुँदा र सत्तामा नयाँखालको पूँजीवाद, ब्यूरोक्रेटिक दमन र संस्थागत भ्रष्टाचारको सिण्डिकेट मौलायो । यही सन्दर्भमा, आशा गरिएको माओवादीकेन्द्र प्रति आम जनताको निराशाको पारो बढ्नुले ‘माओवादी केन्द्रको क्रेज घट्यो’ भन्ने चिन्ताबाट प्रश्न उठ्नुलाई अस्वाभाविक लिनु हुँदैन ।
यस्तो अवस्थामा पार्टीभित्र इतिहासको गम्भीर समीक्षा एवं विचारको नयाँ केन्द्रीकरण र संगठनलाई नयाँ सन्दर्भमा विकास गर्न नेतृत्व परिवर्तनको बहस उठाउनु झट्ट सुन्दा स्वाभाविक र कहिलेकहीं गज्जबको हिम्मत पनि लाग्न सक्छ । तर त्यो व्यक्तिगत असन्तुष्टि, गुटगत रणनीति वा पदको आकांक्षाबाट निर्देशित हुनु हुँदैन र वैचारिक समीक्षा, ऐतिहासिक मूल्याङ्कन, राजनीतिक दृष्टिकोण, सामाजिक उत्तरदायित्व एवं सांगठनिक दृष्टिमा आधारित हुनुपर्छ भन्नेमा सचेत रहनुपर्छ ।
फेल भएको हो भने के कारणले नेतृत्व फेल भयो ? नेतृत्वमात्रै फेल भएको हो कि २०/३० वर्षदेखि लगातार निर्णायक तहमा बस्ने नेतृत्वको टिम फेल भएको हो ? विचारको मार्गबाट चिप्लिएको हो भने कुन विन्दुबाट चिप्लिन थालेको हो ? संशोधनवादमै डुबेको हो भने त्यो के कारण हो र इतिहासको कुन बिन्दु र कुन-कुन नेतृत्वबाट संशोधनवाद हाबी हुन थालेको हो ? यी प्रश्नहरूको जवाफ खोज्नका लागि गहिरो वैचारिक समीक्षा आवश्यक छ ।
२०५२ सालदेखि माओवादी आन्दोलनले के–के प्राप्त गर्यो र के–के गुमायो ? शान्ति प्रक्रिया र संविधान निर्माणसम्म भएका एकता र फुटको कारण के थियो ? र, संसदीय मोर्चामा भएको जित–हारको अनुभव, जीवनशैली, संस्थागत व्यवस्थापन लगायतका विषयमा समीक्षा हुनुपर्छ ।
संविधान निर्माणपछि भएका गठबन्धन, त्यसले दिएका सकारात्मक अनुभव र नकारात्मक अनुभवहरू लगायत यस सन्दर्भमा भूमिका खेल्ने सबै महत्वपूर्ण नेतृत्वको समीक्षा हुनुपर्छ । यदि जनयुद्धका बलिदानहरूलाई कहिँकतै सौदाबाजीमा साट्ने कार्य भएको हो भने – किन भयो ? वर्गसंघर्षको साटो निरपेक्ष समन्वयको असफल मार्गमा किन लाग्यो ? समावेशी राज्यको सपना किन संस्थागत असमानतातिर रूपान्तरण भयो ? यत्रो परिवर्तनको संवाहक संस्था माओवादी केन्द्रप्रति आम उत्पीडित वर्ग समुदायको आकर्षण किन घट्दै गयो ?
यावत प्रश्नहरू वास्तवमा जनार्दन शर्माले प्रचण्डलाई सार्वजनिक मञ्चबाट सोध्ने प्रश्न होइन । बरु शर्मा समेत कम्तिमा नेकपा माओवादी केन्द्रको पदाधिकारी टिमलाई बाँकी तेस्रो र त्यसभन्दा तलका आम कार्यकर्ताले सोध्नुपर्ने गम्भीर प्रश्न हो । पदाधिकारी टिमले एकमत भएर यस प्रश्नको निराकरण गरेपश्चात पार्टीभित्र बल्ल आगामी राजनीतिक रणनीतिको प्रश्न उठ्छ ।
आजको परिवर्तित नयाँ नेपालमा कस्तो प्रकारको रणनीतिको माग भएको हो ? केवल चुनावी गठबन्धन र सत्ताको समीकरण मात्र होइन, श्रमिकवर्ग, सीमान्तकृत समुदाय, भूमिहीन किसान, युवा र शोषित वर्गलाई विश्वास सहितको संगठित गर्ने नया कार्यदिशा के हो ? समावेशीता, संघीयता, पहिचान, जनसत्ता, भूमि सुधार, श्रमको सम्मान, दलित र महिला मुक्ति लगायत उत्पीडित वर्गको यी मुद्दाहरूलाई निरन्तर उठाउने आवाज र सचेतनाको दृष्टिकोण के हो ? अहिलेको संसदीय प्रतिस्पर्धात्मक शासकीय प्रणलीको विकल्प के हो ? यसको उत्तर माओवादीले एकताबद्ध रूपमा दिन सक्नुपर्छ ।
यी सबै बिन्दुहरूमा एकताबद्ध एवं सौहार्द वैचारिक र सांगठनिक मन्थनपछि मात्र नेतृत्वको विषय स्वाभाविक उठ्न सक्छ । नेतृत्व केवल व्यक्तिको हैसियत होइन, त्यो विचारको प्रतिनिधि हो । त्यसैले प्रश्न ‘को’ होइन, ‘किन’ हुनुपर्छ । नेतृत्व फेरिएर पनि दिशा फेरिएन भने त्यो परिवर्तन होइन, बरु दोहोरिएको गल्तीमात्र हुनेछ । नेतृत्वको मर्म विचार हो, विचारको मर्म नीति हो र नीतिको मर्म जनताको दैनिक जीवनमा परिवर्तनको बाटो हो ।
जनार्दन शर्माले प्रचण्डको आलोचना गर्दा केवल कटाक्ष गरेर मुक्ति पाइदैन । बरू माओवादी आन्दोलनको विगतलाई पुनः हेर्ने, वर्तमानलाई विश्लेषण गर्ने र भविष्यको वैचारिक खाका प्रस्तुत गर्ने हिम्मत राख्नुपर्छ । उद्देश्य मतभेद बढाउने र मनहरूलाई फुटाउने होइन, विचार र दृष्टिकोणलाई निखार्ने हुनुपर्छ । नेतृत्व परिवर्तनको बहस सत्ताको साटाफेर होइन, विचार र उद्देश्यको पुनर्निर्माणमा केन्द्रित हुनुपर्छ ।
तीन दशकदेखि माओवादी आन्दोलनको मूल प्रवाहमा रहेर र अनेकौं अवसर लिएको व्यक्तिले पार्टीभित्रको आन्तरिक असन्तुलन, विघटन र विचलनका कुरा उठाएर कसैलाई आरोप गर्दैगर्दा प्रश्न उठ्छ कि यावत असन्तुलन निर्माणमा उनी स्वयंको भूमिका के रह्यो ? जब नेतृत्वको आलोचना गर्दा विधि र पद्धतिका कुरा गरिन्छ, तब आलोचना गर्ने स्वयंको आचरण पनि उही मापदण्डमा परीक्षण हुन आइपुग्छ ।
जनवादी केन्द्रीयताको मर्म भनेको आन्तरिक बहस, सामूहिक निर्णय र यसो हुन नसक्दा बहुमतलाई मान्ने अल्पमतलाई कदर गर्ने हो । तर शर्माले पार्टीभित्र छलफल, समीक्षा र निर्णयको विधिबाट होइन सार्वजनिक मञ्च र मिडिया मार्फत पार्टी र नेतृत्वमाथि आक्रोश पोख्ने शैली अवलम्बन गर्दै आएका छन् । यसले उनी आफैं जनवादी केन्द्रीयताको मर्मबाट च्यूत भएको देखिन्छ ।
कम्युनिष्ट पार्टीका सदस्यहरू सबैभन्दा पहिले विचार, कार्यक्रम र पार्टीको ऐतिहासिक दृष्टिकोणबाट प्रशिक्षित हुन्छन् । आलोचना स्वाभाविक हुन्छ, तर त्यो पार्टीको शिक्षण, प्रशिक्षण र सामूहिक अभ्यासको भाग हुनुपर्छ । जनार्दन शर्माले भनेका विचारहरू के हुन् ? प्रचण्ड र बाँकी पदाधिकारीको विचारविरुद्ध हो भने फरक के हो ? उनले कुन संगठनात्मक प्रक्रियाबाट ती कुरा अघि सारे ? यसको जवाफ संस्थागत संगठनले संस्थागत रूपमा पक्कै खोज्छ ।
अझ गम्भीर प्रश्न त के हो भने, विद्यार्थी संगठनमा भर्खरै प्रवेश गरेका किशोर–किशोरीको मुखबाट ‘जनार्दन ठीक कि प्रचण्ड ठिक ?’ भन्ने जस्ता गुटीय भाष्य निर्माण गरिनु कुन संगठनात्मक नीति अनुरूप पर्दछ ? पार्टीमा विचारको बहसलाई गुटको मनोविज्ञानले प्रतिस्थापन गर्नु पार्टी शिक्षाको विकृति हो ।
कम्युनिष्ट आन्दोलनमा वैचारिक मतभेदलाई गम्भीरतापूर्वक लिइनुपर्छ । त्यसलाई दस्तावेजीकरण गर्दै बहस–छलफल र जनवादी सामूहिकता मार्फत अघि बढाइनुपर्छ । तर अहिलेको अवस्थामा जनार्दन शर्माले त्यो परम्परा तोडेका छन् । न स्पष्ट वैचारिक प्रतिपादन, न सांगठनिक फ्रक्रिया न नयाँ कार्यक्रम नै स्पष्ट छ । सिर्फ जनविद्रोहको शैलीमा आफ्नै पार्टी र नेतृत्वलाई सार्वजनिक रूपमा दोषारोपण गरिएको छ ।
यही कारण हो कि आजको बहस वैचारिक होइन । बरु असन्तुष्टि र झोकको परिणाम देखिन्छ । जब एकजना नेता आफ्नै पार्टीका निर्णयहरूको साझेदार भएर कैयौं पटकसम्म मन्त्री बनेका छन्, उनैले ‘…सबै असुली धन्दामा लागेका छन्’ भन्नु आत्मविरोधी विरोधाभाष हो । यस्तो अभिव्यक्तिमा न आत्मालोचना झल्किन्छ, न ऐतिहासिक जिम्मेवारीबोध ।
यदि जनार्दन शर्मालाई वर्तमान नेतृत्व साँच्चिकै विचारमा चुक्यो भन्ने लागेको हो भने अझै उनले भन्न सक्नुपर्छ– ‘यो मेरो वैकल्पिक दस्तावेज हो । म तपाईंहरूलाई विचारमा चुनौती दिन्छु । यदि यो पास भएमा नेतृत्व प्राकृतिक रूपमा सर्छ, असफल भएमा म त्यो नेतृत्व मान्छु ।’ यति भन्न सकियो र भनेको कुरा मान्न सकियो भने यही हो कम्युनिष्ट नेतृत्वको मर्म । नेतृत्व विचार र विचार अनुसारको निरन्तर व्यवहारले उत्पादन गर्ने हो । केवल पदले नेतृत्व विकास गर्न सक्दैन ।
प्रतिक्रिया 4