+
+

डुब्दै गएको भेनिस सहरको उचाइ बढाउने अनौठो योजना, के सम्भव होला ?

एजेन्सी एजेन्सी
२०८० असार २५ गते १३:२३

इटालीको उत्तरपूर्वमा अवस्थित एक सुन्दर मध्यकालीन सहर हो भेनिस । यो सहर समुद्रको बीचमा रहेको हुनाले यसलाई पानीमा तैरिएको सहर पनि भनिन्छ ।

यसको सुन्दरता तथा आश्चर्यचकित पार्ने अवस्थितिबाट आकर्षित भएर हरेक वर्ष लाखौं पर्यटक त्यहाँ पुग्दछन् । वास्तवमा भेनिस इटालीको प्रमुख पर्यटनस्थलमध्ये एक हो ।

हेर्दा लाग्छ कि यो सहर समुद्रको पानीमा तैरिरहेको छ । तर एड्रियाटिक सागरको पानीमा अवस्थित भेनिस सहरलाई अहिले पानीबाटै सबैभन्दा ठूलो खतरा पैदा भएको छ ।

सन् २०१९ मा समुद्रमा आएको ज्वारभाटाका कारण बाढी रोक्नका लागि बनाएका बाँधसमेत नाघेर लाखौं क्युबिक मिटर पानी भेनिस सहरमा छिर्‍यो ।

सहरको तल्लो हिस्साबाट मानिसहरुलाई उद्धार गरी सुरक्षित ठाउँमा लगियो । पछिल्लो समयमा त्यस्तो खालका सामुद्रिक बाढी प्रायः दोहोरिन थालेका छन् जसका कारण भेनिसको जनजिवन प्रभावित भएको छ ।

यसले केवल आम मानिसहरुलाई मात्र होइन सहरका ऐतिहासिक भवनहरु, गिर्जाघर तथा अन्य धरोहरहरुमा समेत खतरा पैदा भएको छ ।

सन् २०१९ मा भेनिसमा आएको बाढीमा परेर २ जनाको मृत्यु हुनुका साथै करोडौं युरोको क्षति भएको थियो । यो समस्यालाई आगामी दिनमा रोक्नका लागि सरकारले एड्रियाटिक सागरको किनारामा ज्वारभाटाको पानी रोक्नका लागि बाँध बनाएको छ, जसलाई मोसे ब्यारियर भनिन्छ ।

तर, जलवायु परिवर्तनका कारण समुद्रको जलस्तर लगातार बढिरहेको छ, त्यसैले पानी छेक्न बाँध बनाउने कार्य अब पर्याप्त नहुने तर्क विज्ञहरुको छ ।

त्यसैले अब भेनिस सहरलाई बाढीबाट बचाउनका लागि समुद्रकै पानीको प्रयोग गर्ने एक नयाँ योजनामाथि विचार भैरहेको छ । यस अन्तर्गत समुद्रको पानीलाई भेनिसको जमिनमुनि भरेर सहरलाई माथि उठाउने कोसिस गरिनेछ ।

डुब्दै गरेको अनौठो सहर

समुद्री खाडीको बीच भागमा यत्रतत्र पानी नै पानी भएको ठाउँमा भेनिस सहर कसरी बन्यो त ?

फ्रान्सको टोलूस विश्वविद्यालयका मध्यकालीन इतिहासका प्राध्यापक तथा इतिहासकार क्लेयर ज्यूड डिलावेयरका अनुसार भेनिस सहर मध्यकालीन यूगमा विशाल खाडीमा निर्माण गरिएको हो । त्यहाँ एड्रियाटिक सागर र आसपासका नदीहरुको पानी बगेर आउँछ ।

उनी भन्छन्, ‘त्यस समयमा इटालीमा प्रायः आक्रमणकारीहरुले हमला गरिरहन्थे । ती आक्रमणबाट मानिसहरुलाई बचाउनका लागि पानीको बीचमा सहरको निर्माण गरियो । साथै त्यहाँ खाडीमा प्रसस्त मात्रामा माछा पाइन्थे र जमिनमा सागसब्जी र दलहनको उत्पादन पनि गज्जबले हुन्थ्यो ।’

तर, खाडीको बीचमा दलदले जमिनमा सहर बसाउनका लागि सुरुमा उक्त जमिनलाई बलियो र ठोस बनाउनु आवश्यक थियो । त्यसका लागि भेनिसका मानिसहरुले एउटा विलक्षण प्रविधिको प्रयोग गरे ।

क्लेयर ज्यूड डिलावेयर भन्छन् – मध्यकालीन युगमा भेनिसमा जुन प्रविधिको प्रयोग मानिसहरुले गरे त्यो अहिले पनि प्रयोग हुने गरेको छ । उनीहरुले काठका खम्बाहरुलाई दलदल जमिनमा गाडेर जग बनाए र त्यसमाथिको पत्रपत्रमा ढुंगा र इँटाको ढाँचा खडा गरे । त्यहीँ जगमा महल, गिर्जाघर तथा अन्य भवनहरु समेत तयार गरियो । भेनिस सहरको भुइँमा पानीमा करोडौं काठका खम्बा गाडिएका छन् । एकप्रकारले त्यो पानीमुनि फैलिएको जंगल जस्तै छ ।

सहरको जग त मजबूत भयो तर समुद्रको पानीबाट हुने खतरा चाहिं कायमै रह्यो । प्रायः सामुद्रिक छालको पानी सहरमा छिर्ने गर्दछ ।

भेनिसमा आउने त्यस्तो बाढीलाई इटालीमा एक्का आल्टा भनिन्छ र हरेक पटक यसले ठूलो क्षति पुर्‍याराउने गर्दछ ।

डिलावेयरका अनुसार ज्वारभाटाका क्रममा जलस्तरमा घटबढ हुँदा सहरको जगमा गाडिएका काठका खम्बाहरु देखिन्छन् । यसरी काठहरु अक्सिजनको सम्पर्कमा आउनाले त्यसमा विभिन्न खालका ब्याक्टेरियाहरुले संक्रमित गर्दछन् जसका कारण काठ मक्किन थाल्दछ । नुनिलो पानीले भवनका पत्थरहरुमा समेत नोक्सानी पुर्‍याउने गरेको छ ।

यद्यपि यो मध्यकालीन सहरका लागि सामुद्रिक बाढी कुनै नयाँ कुरा होइन ।

आखिर पहिले पहिले भेनिसका मानिसहरु बाढीलाई कसरी व्यवस्थापन गर्थे त ? डेलावेयर भन्छन्, ‘भेनिसका पूर्व शासकहरुले पनि बाढीबाट बँच्ने उपायहरुका बारेमा सोच्दथे । यसका लागि आल्पस पर्वतबाट आउने नदीहरुको बहाव नै मोडिएको थियो । साथै खाडी तथा नहरहरुको नियमित सरसफाई गरिन्थ्यो भने दुर्गन्ध, माटो र लेउ नियमित रुपमा हटाउने गरिन्थ्यो । १८औं तथा १९औं शताब्दीमा खाडीको छेउछाउ ढुंगाको पर्खाल बनाइयो ताकि एडि्रयाटिक सागरको पानीलाई खाडीमा आउनबाट रोक्न सकियोस् ।’

अहिले भेनिसमा आधुनिक बाँध बनाइएको छ जसलाई मोसे ब्यारियर भनिन्छ ।

डेलावेयरका अनुसार तत्कालका लागि त मोसे ब्यारिअरबाट सहयोग पुगेकेा छ तर जुन गतिमा पृथ्वीको तापक्रम र समुद्रको जलस्तर बढिरहेको छ त्यसलाई हेर्दा भविष्यमा भेनिसलाई पानीबाट जोगाउन उक्त बाँध पर्याप्त हुनेछैन ।

के हो मोसे बाँध ?

मोसे बाँध अवरोधकहरुको एक श्रृंखला हो जुन पानीको सतहभन्दा तल रहन्छ । ज्वारभाटाको समयमा एडि्रयाटिक सागरको पानीलाई खाडीमा घुस्नबाट रोक्नका लागि मोसे ब्यारियरलाई माथि उठाइन्छ ।

कन्जोरशियो नोभा कम्पनीले मोसे ब्यारियर बनाएको हो । कम्पनीका निर्देशक हेर्मिस रेडी भन्छन्, ‘ आम रुपमा मोसे बाँधमा पानी भरिएको हुन्छ । तर त्यसमा माटो पनि भर्न सकिन्छ । ज्वारको जलस्तर अनुसार त्यसलाई माथि वा तल गराउन सकिन्छ । हामीलाई मौसम विभागबाट ६ दिनअघि नै कुनै ठूलो ज्वारभाटा आउने सूचना प्राप्त हुन्छ । ज्वार आउनु भन्दा ६घण्टा पहिले हामीले मोसे बाँधलाई जलस्तरभन्दा माथि उठाउँछौँ । यसका लागि हामीले बन्दरगाह प्रशासनसँग सम्पर्क राखिरहनु पर्दछ किनकि जब मोसे बाँध माथि उठाइन्छ तब डुंगा तथा पानीजहाजहरु खाडीमा प्रवेश गर्न सक्दैनन् ।’

६ अर्ब लागत रहेको मोसे बाँध तयार गर्न २० वर्ष लागेको थियो । त्यस्तै हरेक पटक ज्वारभाटा छेक्नका लागि मोसे बाँधलाई माथि उठाउन २ लाख युरो खर्च हुन्छ ।

यस्तो ज्वारजन्य बाढी पहिलेको तुलनामा हाल धेरै आउने गरेको छ । त्यसैले के यस्तो उपाय अब व्यवहारिक होला ?

हर्मिस रेडी भन्छन्, ‘हामीले वर्षदिनमा १५ पटक मोसे बाँधलाई माथि उठाउनु पर्दछ । यसका लागि ३० लाख युरो खर्च हुन्छ । तर बाढीबाट भेनिसमा करोडौं युरो खर्च हुन्छ । त्यसैले आर्थिक दृष्टिकोणबाट मोसे बाँधको प्रयोग उत्तम उपाय हो ।’

वास्तवमा मोसे बाँधबाट बाढी रोक्नमा त सहयोग पुगेको छ, तर यो कुनै स्थायी उपाय नभएकोमा चाहिँ स्वयं रेडी पनि सहमत छन् ।

समुद्रको जलस्तर निरन्तर बढिरहेको हुनाले आगामी ७०/८० वर्षपछि नयाँ उपायको खोजी गर्नुपर्ने उनको भनाइ छ ।

समुद्री उपाय

भेनिसलाई बाढीबाट बँचाउनका लागि एउटा नयाँ उपायमाथि गम्भीरतापूर्वक विचार विमर्श भैरहेको छ । के मोसे बाँधका अलावा सहरकै उचाइँ बढाउनु पनि एक उपाय हुनसक्छ ?

इटालीको पाडुआ विश्वविद्यालयका जलविज्ञानका प्राध्यापक पियाट्रो टियेटिनीका अनुसार यो सम्भव छ ।

उनी भन्छन्- हामी सबैलाई थाहा छ कि यदि पृथ्वीको तल्लो सतहबाट तरल पदार्थ निकालियो भने माथिल्लो सतह धस्सिन थाल्दछ । त्यहीँ प्रकारले तल्लो सतहमा पानी भरिदिने हो भने चाहिं माथिल्लो सतहलाई माथि उठाउन सकिन्छ । खाडीमा प्रचूर मात्रामा पानी उपलब्ध छ र ५ सय मिटर तल केवल नुनिलो पानी मात्रै छ । हामीले के पायौं भने सब सर्फेसमा पानी भर्नाले जमिनको सतहलाई २५ देखि ३० सेन्टिमिटरसम्म माथि उठाउन सकिन्छ ।

तर प्रश्न यो उठ्छ कि यतिधेरै गहिराइमा पानी कसरी भर्न सकिन्छ ? टियेटिनी भन्छन्, ‘हामीले सब सर्फ]{मा ठूलो संख्याका कुवा खन्नेछौं । यो योजना अन्तरगत भेनिसको मध्य भागमा दश किलोमिटरको गोलो घेरामा दशवटा कुवा खनिनेछ । ती कुवाहरुको माध्यमबा खाडीको पानीलाई सब सर्फ]{मा भरिनेछ । प्राविधि दृष्टिबाट यो कुनै नयाँ अवधारणा होइन ।’

तर यो योजना पूरा गरेर सहरलाई माथि उठाउनका लागि १० वर्षसम्मको समय लाग्न सक्दछ । प्राध्यापक टियेटिनीका अनुसार सब सर्फ]{मा पानी भर्ने समयमा यो कुराको ख्याल गर्नुपर्दछ कि पानीको दबाब आवश्यकता भन्दा धेरै नबढोस् ।

यदि पानीको प्रेसर धेरै भयो भने त्यसले जमिनको सतह टुट्न सक्दछ र चिरा पर्न सक्छ ।अनि के भेनिस सहरको उचाइँ ३० सेन्टिमिटर मात्रै बढाउनु पर्याप्त छ त ? किनकि हालै आएको एक्का आल्टाका क्रममा जलस्तर डेढ मिटर सम्मले बढेको थियो ।

त्यस्तोमा के जमिनलाई १ वा २ मिटरसम्म माथि उठाउन सकिँदैन ? टियेटिनीका अनुसार यो सम्भव छैन । उनी भन्छन्, ‘मलाई लाग्दैन कि सहरलाई ३० सेमीभन्दा माथि उठाउन सकिन्छ । ज्वारभाटाको समयमा खाडीको जलस्तर यसभन्दा धेरै हुन्छ भन्ने कुरा सही हो । तर यस्तोमा यो प्रणालीलाई मोसे ब्यारियरसँगै प्रयोग गर्नेहो भने बाढीलाई रोक्न सकिन्छ ।’

उनका अनुसार यो योजनाको प्रस्ताव १५ वर्षअघि नै गरिएको थियो । तर त्यस समयमा भेनिस प्रशासनले मोसे बाँधको निर्माण कार्य सुरु गरेको थियो र अन्य कुनै योजनाका लागि बजेट थिएन । त्यसबेला सहर उठाउने उक्त योजनाको लागत १० करोड युरो अनुमान गरिएको थियो । तर अहिले त्यसको लागत निकै धेरै हुनसक्छ ।

उनका अनुसार अब मोसे बाँधले मात्र भेनिसमा बाढी रोक्न सम्भव नहुने कुरा प्रष्ट भैसकेको अवस्थामा सहरको जमिनलाई नै माथि उठाउने बारेमा गम्भीरतापूर्वक सोँचविचार भैरहेको छ ।

तर के यस योजनाका पनि केही कमजोरी छन् ? अनि सहरबासीहरुमा यसप्रति आशंकाहरु छैनन् त ? टियेटिनी भन्छन्, ‘हामीले यो परियोजनाको गहन रुपमा अध्ययन गरेका छौं । मानिसहरुमा के पनि आशंका देखियो भने सहरलाई माथि उठाउने क्रममा सहरको केही भाग मात्र माथि उठेर अरु भाग तल नै पो रहन्छ कि ? यसबाट सहरका भवनहरु अस्थिर हुने खतरा पैदा हुन्छ । हामीले यस्तो कदापि हुँदैन भनेर आश्वस्त पारेका छौं किनकि भेनिसको भूविज्ञान अर्थात् संरचनालाई ध्यानमा राखेर सबसर्फ]{मा पानी भरिनेछ । पूरै सहरको उचाइँ समान रुपमा बढ्नेछ । यो पूर्णरुपमा सुरक्षित प्रक्रिया रहनेछ र भवनहरुमा कुनै खतरा पैदा हुनेछैन ।’

साथै सुुरुमा २ वा ३ वटा कुवा खनेर त्यसको नतिजा हेरेर मात्रै थप काम अगाडि बढाइनेछ । यसका लागि २/३ वर्ष लाग्नेछ ।

भेनिसको भविष्य

विज्ञहरुका अनुसार हाल विश्वको तापमान जुन गतिमा बढिरहेको छ त्यस अनुसार सन् २१०० सम्ममा समुद्रको जलस्तर १ मिटरसम्म बढ्न सक्दछ ।

यदि त्यस्तो भएमा भेनिस र त्यसका आसपासका क्षेत्रहरु पानीमा डुब्नेछन् । यो भेनिसबासीका लागि भयानक त्रासदी हो ।

अमेरिकाको एमआइटी विश्वविद्यालयका प्राध्यापक कार्लो राटीका अनुसार मोसे बाँध र सहरको उचाइ बढाउनुका साथै भेनिसका मानिसहरुले पनि आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनु पर्नेछ र सहरका सामाजिक सम्बन्धहरुलाई मबजुत बनाउनु पर्नेछ ।

उनी भन्छन् – प्राचीनकालमा रोमन साम्राज्यका मानिसहरु सहरलाई जनाउनका लागि दुईवटा शब्दको प्रयोग गर्दथे, अर्ब अर्थात् सहर र चिविटा अर्थात् समुदाय । भेनिसमा चिविटा अर्थात् सामुदायिक जनजिवन विस्तारै समाप्त हुँदै गएको छ । भेनिसमा जनसंख्या ५० हजार भन्दा कम छ र सहर विस्तारै खाली भैरहेको छ । अहिले भेनिसमा सबै ठाउँमा स्थानीय बासिन्दा भन्दापनि पर्यटककै भीड देखिन्छ ।

उनका अनुसार यस्ता युवाहरुलाई भेनिसमा बस्नका लागि प्रोत्साहित गर्नुपर्दछ, जसले त्यहाँ काम गर्न चाहन्छन् । ७० को दशकमा भेनिसालई एक अन्तराष्ट्रिय विश्वविद्यालय सहरका रुपमा परिणत गर्ने योजना थियो ताकि संसारभरका प्रतिभाशाली युवाहरुलाई त्यहाँ ल्याउन सकियोस् । तर अब त्यो परिकल्पना हराएको छ ।

अहिले सहरमा पर्यटक हाबी भएका छन् र त्यहाँको जनजीवन पनि पर्यटककै आवश्यकता अनुसार ढल्किदै गएको छ । जसका कारण त्यहाँको मूल सामुदायिक जिवन समाप्त हुँदै गैरहेको छ ।

कार्लो राटीका अनुसार मोसे बाँध र सहरको उचाइँ बढाउने जस्ता उपाय त आवश्यक छन् तर यो केवल प्राविधिक समस्या मात्र होइन ।

उनी भन्छन्, ‘भेनिस सदियौं अगाडि बनेको थियो । अहिले यसको संरचना कमजोर बनिरहेको छ र पानीमा डुबिरहेको छ । भेनिसलाई युरोप तथा बाँकी संसारका लागि पनि खुल्ला गरेर एक विश्व सहरका रुपमा परिणत गर्नुपर्दछ ताकि संसारभरबाट आएका मानिसहरुले त्यहाँ एक सामुदायिक जिवनशैली कायम गरुन् मिलेर जलवायु परिवर्तनकेा समस्याको समाधान निकाल्न सकून् । यो पूरै विश्वका लागि एक प्रेरणा र आदर्श पनि बन्न सक्दछ ।’

विज्ञहरुका अनुसार भेनिसमा बाढीको खतरा रोक्नका लागि केवल प्रविधि मात्र पर्याप्त छैन । यसका लागि सामुदायिक जीवनलाई पनि बलियो बनाउनु पर्दछ र जलवायु परिवर्तनका दुष्परिणामलाई न्यूनीकरण गर्नका लागि अन्य उपायहरुको पनि खोजी गर्नुपर्दछ ।

बीबीसीबाट

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?