+
+

सामाजिक सञ्जालबारे दयाहाङ र दीपकराज भन्छन्- सत्य नजाँची लेख्ने-बोल्ने क्रम बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १७:३७

काठमाडौं । पल शाहले एक टेलिभिजनमा दिएको अन्तर्वार्ता र त्यसबाट सिर्जित विवादलाई लक्षित गर्दै अभिनेता दीपकराज गिरीले मंगलबार फेसबुकमा लेखे, ‘हिजो तिमीलाई भगवान बनाएको पनि देखियो । आज हेर्दा हेर्दै राक्षस भयौ साथी । त्यसैले विश्वास छैन मलाई यो फेसबुके गाली र प्रशंसामाथि ।’

पछिल्लो समय सामाजिक सञ्जालमा हुने गरेका प्रशंसा र गालीको प्रवृत्तिलाई लिएर अभिनेता गिरीले व्यक्त गरेको असन्तुष्टि हो यो । उनी सामाजिक सञ्जालमा धेरै गाली खाने सेलिब्रिटीमध्ये पर्छन् । ‘आदिपुरुष’ विवादलक्षित एक फेसबुक स्टाटसमा पनि उनीविरुद्ध लक्षित गालीको बाढी नै आयो ।

दीपकको मंगलबार पोस्ट गरिएको पछिल्लो पोस्टमा समेत व्यापक टिप्पणी आइरहेका छन् । कतिपय फिल्मकर्मी र इन्फ्लुएन्सरले समेत उनको पोस्टमा टिप्पणी गर्दै विभिन्न प्रतिक्रिया दिइरहेका छन् । ‘चपली हाइट’ निर्माता तथा गायक अर्जुन कुमारले टिप्पणी गरेका छन्, ‘कसै-कसैको लागि खेती हो फेसबुक दाइ ।’

मंगलबार केही मिडियासँग कुरा गर्दै अभिनेता दयाहाङ राईले पनि सामाजिक सञ्जाल लक्षित टिप्पणी दिएका छन् । यतिबेला फिल्म ‘हात्तीछाप’को छायांकनमा व्यस्त दयाहाङले सामाजिक सञ्जालले कलाकारलाई मात्र होइन, समाजमा समेत विध्वंश मच्चाइरहेको बताएका छन् । मानिसले सत्य चेक नगरी लेख्ने र बोल्ने काम गरिरहेको उनको भनाइ छ ।

कलामा मात्र होइन, राजनीतिमा पनि सामाजिक सञ्जालले भ्रम फैलाइरहेकोप्रति उनको असन्तुष्टि छ । ‘भाइरल र पपुलारिटीको खोजी गर्दा मानिसमा भ्रम पैदा भएको छ,’ उनले भनेका छन्, ‘यसले समाजलाई नै नकारात्मक दिशातर्फ अघि बढाइरहेको छ ।’ अब भने सामाजिक सञ्जालको प्रयोगलाई लिएर सोच्नुपर्ने बेला आएको उनको भनाइ छ । ‘म आम मानिसलाई भ्रमको पछाडि नलाग्न आग्रह गर्छु । यसले कलाकार मात्र नभएर राजनीतिज्ञलाई पनि मानसिक रुपमा असर पुर्‍याउन सक्छ,’ उनले भने ।

अभिनेत्री आँचल शर्माले आफूविरुद्ध केही अभिव्यक्ति दिएको भन्ने हल्लाप्रति लक्षित गर्दै दयाहाङले केही दिनअघि एक फेसबुक पोस्ट गरेका थिए । उनले भ्रमको पछि लागेर कुनै पनि कलाकारलाई गाली नगर्न समेत आग्रह गरेका थिए । आँचलले पनि त्यस्तो खाले पोस्ट गर्ने दुई फेसबुक एकाउन्टविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?