+
+

नवीन अर्यालको ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असार २६ गते १७:५८

काठमाडौं । नेपाली खेलकुदको इतिहासबारे तयार पारिएको खोजमूलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ सार्वजनिक भएको छ । पुस्तक शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनसँगको सहकार्यमा खेल पत्रकार नवीन अर्यालले लेखेको उक्त पुस्तक मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनका अध्यक्ष रेणु शाह, प्रकाशक क्रिएटिभ बुक्सका अध्यक्ष टीएस ठकुरी, पुस्तकका समालोचक तथा प्राध्यापक पी खरेल र लेखक अर्यालले संयुक्त रुपमा पुस्तक विमोचन गरे ।

२३ वर्षदेखि खेलकुद पत्रकारितामा सक्रिय अर्यालले नेपाली खेलकुदको इतिहासलाई खोतल्ने प्रयास स्वरुप पहिलो पुस्तक लेखेका हुन् । पुस्तकमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागितादेखि अहिलेसम्मको खेलकुद वृत्तान्त समेटिएको छ । नेपाली खेल क्षेत्रले पदक जित्नका लागि गरेको संघर्षको कथा र खेलयात्राको वर्णन गरिएको छ ।

साथै, सीमित साधनस्रोतकाबीच नेपालको घरेलु खेलकुदलाई संस्थागत र संरचनागत रुपमा बलियो बनाउन तत्कालीन नेतृत्वले खेलेको भूमिका र योगदानलाई पनि लिपिवद्ध गरिएको छ । ऐतिहासिक तस्वीरहरु, चिठीपत्र र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारले पुस्तकलाई तथ्यगत र विश्वसनीय बनाउने विश्वास लिइएको छ ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री लिम्बूले खेल जगतमा लागेका खेलाडी प्रशिक्षक अभिभावकका लागि पुस्तक मार्गदर्शन बन्न सक्ने बताए । पुस्तकले सरकारका लागि पनि यसले मार्गनिर्देश गर्ने समेत उनले बताए ।

प्राध्यापक खरेलले पुस्तक अब्बल दर्जाको रहेको बताए । ‘मैले ३० को दशकदेखि खेलकुद पत्रकारिता गरेको हो । अहिले पनि लेखिरहेको छु । यो पुस्तकमा मैले पनि थाहा नपाएका नयाँ विषयहरु समेत उल्लेख छन् । पुस्तक अब्बल दर्जाको छ,’ उनले भने । खरेलले खेलकुदकै बारेमा ५०० भन्दा बढी लेख लेखिसकेका छन् ।

ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले पुस्तक प्रकाशनलाई ऐतिहासिक क्षण भन्दै यसले नयाँ पुस्ताका लागि खेलकुदको इतिहास बुझ्न सहयोग पुग्ने बताए । ‘यो आफैंमा ऐतिहासिक काम हो र राम्रो सुरुवात पनि । खेलकुदको दस्तावेज ल्याउने काम भएको छ । यसले नेपाली खेलकुदको विकासमा पनि सहयोग गर्छ,’ उनले भने ।

पुस्तकका लेखक अर्यालले पुस्तकमा आफूले खोज अनुसन्धान गरेर इतिहासका विषयका साथै नयाँ विषय विषय समेटेको बताए । उनले आफूले खेलकुदको दस्तावेजीकरण गर्ने प्रयास गरेको र यसले युवापुस्तालाई इतिहासबारे बुझ्न सहयोग पुग्ने विश्वास रहेको बताए ।

क्रिएटिभ बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य ६२५ रुपैयाँ र हार्डकभरको एक हजार २५ रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?