+
+

दिल्लीमा बाढीको आतंक, सबै शिक्षण संस्था बन्द, कर्मचारीलाई ‘वर्क फ्रम होम’

यमुना नदीको बाढी ४५ वर्षयताकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०८० असार २८ गते १७:१२

२८ असार, काठमाडौं । भारतको नयाँ दिल्लीमा बाढी र डुबानको कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

दिल्ली सरकारको आकस्मिक बैठकले सबै स्कुल, कलेज र विश्वविद्यालय आइतबारसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ भने अत्यावश्यक बाहेकका सरकारी कार्यालय बन्द गरिएको छ । अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

अत्यावश्यकसेवाबाहेकका सरकारी र निजी कर्मचारीहरुलाई ‘वर्क फ्रम होम’ (घरबाटै काम) गर्न भनिएको बैठकपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले जानकारी दिए । उनले बैठकले गरेका निर्णयहरु ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् ।

बीबीसी हिन्दीका अनुसार दिल्ली भएर बग्ने यमुना नदीको जलस्तर बिहीबार २०८.६ मिटरभन्दा माथि पुगेको छ । यो हालसम्मकै उच्च जलस्तरको रेकर्ड हो । यसअघि सन् १९७८ मा यमुना नदीको जलस्तर २०७.४९ मिटर पुगेको रेकर्ड थियो । त्यतिबेला दिल्ली डुबानमा परेर ठूलो क्षति पुगेको बीबीसीले जनाएको छ ।

यमुना नदीको बाढीले ४५ वर्षयताको रेकर्ड तोडेपछि तटीय क्षेत्र जलमग्न भएको छ । पानीको सतह बढ्दो क्रममा रहेकाले शहरी क्षेत्र पनि डुबानमा पर्न सक्ने अनुमान गरिएको छ । भारतका मौसमविदहरुले यमुना नदीको जलस्तर अझै बढ्नसक्ने प्रक्षेपण गरेकाले मानिसहरुमा आतंक छ ।

बाढी र डुबानका कारण स्थिति गम्भीर बन्दै गएपछि दिल्ली सरकारले केन्द्र सरकारका गृहमन्त्री अमित शाहलाई पत्र लेख्दै विपदमा परेकाहरुलाई जोगाउन आह्वान गरेका छन् । पत्रमा लेखिएको छ, ‘दिल्लीको देशको राजधानी हो र यहाँ जी–२० शिखर सम्मेलन हुँदैछ । देशको राजधानीमा बाढीको खबरले विश्वमा राम्रो सन्देश जाँदैन । हामी सबै मिलेर यो स्थितिमा दिल्लीका जनतालाई जोगाउनुपर्दछ ।’

दिल्लीमा पछिल्लो तीन दिनयता यमुना नदीको जलस्तर तीव्र रुपमा बढिरहेको छ । खतरा बढ्दै गएपछि दिल्ली सरकारले धारा १४४ लागू गर्दै अत्यावश्यक काममा बाहेक घर बाहिर निस्किन वा चारजना भन्दा बढी व्यक्तिहरु भेला हुन रोक लगाएको छ ।

गत शनिबार बिहानदेखि नै भारी वर्षा, बाढी र पहिरोका कारण भारतको जनजीवन प्रभावित भएको छ । राजधानी नयाँदिल्लीसँगै हिमाचल, उत्तराखण्ड, पञ्जाब, हरियाणा, जम्मु–कश्मिर र राजस्थानका कयौं बस्ती जलमग्न छन् । सवारी साधन, घर, सडक, खेतियोग्य जमिन सबै डुबानमा परेका छन् । दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यानसमेत गइसकेको छ ।

सबैभन्दा बढी क्षति हिमाचल प्रदेशमा पुगेको छ । बीबीसी हिन्दीका अनुसार हिमाचल प्रदेशमा ६०० भन्दा बढी पुल बगेका छन् । ६ वटा हाईवेसहित आठ सय सडक बन्द भएका छन् । ४५ सय ट्रान्सफरमरमा क्षति पुग्दा बिजुली आपूर्ति बन्द भएको छ भने कयौं जलविद्युत आयोजनाहरु पनि बन्द भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?