+
+
ब्लग :

सांसद डा. तोसिमाको बोली र सत्यको रूप

हामी आफूमा धेरै खोट पालेर पृथ्वीमै सम्भव नहुने सर्वगुणसम्पन मानव खोज्छौं। के यो भुल होइन र ? पूर्वाग्रह विना वस्तुस्थितिको मूल्याङ्कन नगरी सबैले खने म पनि खेदो खन्छु भनेर विवेक गुमाउने छुट हामीलाई चैं कसरी प्राप्त हुन्छ ?

सञ्जीव कार्की सञ्जीव कार्की
२०८० असार २८ गते १९:४०

प्रधानमन्त्री पत्नी सीता दाहालको मृत्युको विषयमा समवेदना प्रकट गर्ने क्रममा व्यक्त विचार बारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीको सामाजिक सञ्जालमा बेस्सरी आलोचना भइरहेको छ। व्यक्त विचारको भिडियो अंश हेर्दा यो स्वाभाविक लाग्छ भने पूरै भिडियो हेर्दा/सुन्दा भने अस्वाभाविक।

नियोजित रूपमा बनाइएको भिडियोको अंशले हेर्नेले सामाजिक सञ्जालमा गाली गरेका छन्। गलत कमेन्ट गरेका छन्। पीडामा रहेका माओवादी सम्बद्ध मानिसहरू आक्रोशित पनि देखिन्छन्। आम मान्छेको नजरमा तोसिमाका केही कुरा बिझाएका पक्कै छन् किनभने हाम्रो पूर्वीय धर्मसंस्कार र परम्परामा मलामी जानु भनेको कसैको मर्ममा प्रहार गर्न जानु नभएर आफन्तको मृत्यु वियोगले पर्ने दुःखमा सहानुभूति प्रकट गर्न जानु हो। सान्त्वना र समानुभूति दिन उपस्थिति हुनु हो। दुःखमा हामी/म पनि साथमै छौं/छु भन्ने भाव दिनु हो।

पृथ्वीजगतमा जन्मको दिनमा नै मृत्युको करारनामा गरिएको हुन्छ। मृत्यु हर प्राणीको लागि अनिवार्य पहिलो र अन्तिम सत्य मानिएको छ। मृत्यु चाहेर नचाहेर आउँछ। असमयमा आउँछ तापनि यसलाई स्वीकार गर्न कठिन हुन्छ यही असहज अवस्थामा मृत्यु स्वीकार गर्न सजिलो होस् भनेर नै आफन्त, नरनाता, छरछिमेकी, शुभेच्छुक, साथीभाइ मृत्यु वियोगमा परेका मान्छेको परिवार र आफन्त भेट्न जान्छन्। समवेदना व्यक्त गर्छन्। मृतकको लागि चिरशान्तिको लागि कामना गर्छन्। श्रद्धाञ्जली अर्पण गर्छन्। मृतकको गुण स्मरण गर्छन् र अवगुण बिर्सने चलनको रूपमा मलामी र मृतक परिवार भेटघाटको सन्दर्भलाई लिइन्छ। जहाँ अट्टहास अपाच्य हुन्छ। अधिकतम मौनताको अपेक्षा गरिन्छ।

मलामी जाँदा कसैको लागि अर्ति–उपदेश विगतको नकारात्मकता र भाषणबाजी अन्तर्वार्ता नाजायज लाग्छन्। असान्दर्भिक हुन्छन्। हिजोको वैमनस्य, रिस राग, आक्रोश, आवेश, प्रतिस्पर्धा, विमति सबै छोडेर समभाव राख्ने परम्परा छ। यस्तो बेलामा प्रचण्ड केन्द्रित कतिपय भनाइ आपत्तिजनक हुन् कि जस्ता लाग्छन्। तसर्थ तोसिमाप्रति मानिसहरूले खेद प्रकट गरेका छन्। आक्रोश पोखेका हुन्। अमानवीय असन्तुलित र अपरिपक्वताको पराकाष्ठा भनेर लेखेका छन्।

मलामीको मूल धर्म भनेको शान्त रहनु, वैरभाव भुल्नु, मृतकका असल कामको स्मरण गर्नु र शोकाकुल परिवारलाई समवेदना प्रकट गर्नु भनेर बुझिन्छ, बुझाइन्छ। मृत्यु भएको दिन आफ्नो जन्मजात शत्रु र सातपुस्ते शत्रुलाई समेत गाली गरिन्न बरू उसको मृत्युमा खिन्न बनिन्छ।

अन्य दिन झगडामा आवेशमा तँ मर्दा खसी काटेर भोज गर्छु, तेरो मृत्यु उत्सव मनाउँछु भन्नेहरू पनि साँच्चिकै मृत्यु भएको दिन शोकाकुल बनेर बसेको पाइन्छन्। शत्रुले मृत्युवरण गरेको दिन खिन्न बनेर दु:खमनाउ गर्दै बसेको भेटिन्छन्। साधारणतया मृत्युको दिनलाई उत्सव मानिन्न। आजभोलि मृत्यु पनि उत्सव र कुनै दिवस चाडपर्व जस्ता लाग्न थालेका छन्। मिडियाबाजी र युट्युबको पत्रकारिताले मृत्यु स्टन्टबाजीमा परिणत हुन थालेको छ। विगतमा पनि यस्तो भएको छ हिजो पनि थुप्रै सेलिब्रेटीहरू ( समाजमा विभिन्न ढङ्गले चिनिएकाहरू) मृत्युमा उत्सव मनाउन व्यस्त देखिन्थे। मिडियाकर्मी, नामका केही आत्माहीन बुख्याँचाहरू द्रव्यको लागि भद्दा मजाक गरिरहेका थिए। कति प्रचण्डको चाकरीमा व्यस्त देखिन्थे। कतिलाई लास माथि राजनीतिको प्रतिशोध लिनु थियो।

सुखदुःख, हरेक ठाउँ र अवस्था अनुसार मान्छेले पालन गर्ने धर्म र निर्वाह गर्ने कर्तव्यहरू फरक फरक हुन्छन् तथापि मान्छेहरू संवेदनशील घडीमा असंवेदनशील व्यवहार प्रदर्शन गरिरहेका थिए। कतिपय मान्छे संवेदना सकिएका मान्छेको रूपमा आफूलाई प्रस्तुत गरिरहेका भेटिन्थे। नर्भिक अस्पताल होस् या माओवादी केन्द्रको पार्टी अफिस (जहाँ प्रचण्ड पत्नी स्वर्गीय सीता दाहाललाई अन्तिम दर्शनार्थ राखिएको थियो) देखि पशुपति आर्यघाट मान्छेहरू मानवता बिर्सनेमा पनि थिए।

सर्वसाधारण मान्छेको हकमा सामान्य लागे पनि माननीय टाइटल पाएकाहरू नै अभद्र र अशिष्ट देख्दा दुःख लाग्छ। हामी कस्तो संस्कार हुर्काइरहेका छौं। हाम्रो मलामी जाँदा अपनाइने मौलिकपन अतिक्रमित बनिरहेको छ। त्यही अतिक्रमणको झल्को दिने गरी सांसद तोसिमको भिडियो क्लिप भाइरल बन्दा ताली नभएर गाली आउनु अस्वाभाविक होइन। परिस्थितिजन्य र स्थान सुहाउँदो अभिव्यक्ति आवश्यक हुन्छ न कि माइक र बुम बोकेको पत्रकार भेट्ने बित्तिकै मर्यादाहीन र पदीय दायित्व बिर्सने अभिव्यक्ति।

आर्यघाट दुःख साटासाट गर्ने स्थल हो जहाँ मृत्युबोध र जीवनबोधका थुप्रै कुरा सिक्न सकिन्छ त्यसैले त्यो मृत्यु अन्तिम र अनिवार्य शर्त भएको तथ्य सिकाउने महाविद्यालय पनि हो आर्यघाट। जहाँ आफ्नो पनि दिन यस्तै हो भनेर गम्ने ठाउँ हो। यहाँ भद्दा प्रस्तुति निको ठानिन्न तोसिमाको भाइरल बनेको भिडियो क्लिप मात्रै सुन्दा पाइने गालीगलौज मात्रै हो। यसमा अन्यथा छैन।

आजको युग हंग्री जेनेरेशनको हो। यसले बजारमा जे आएको छ त्यो क्वाप्प मुखमा हाल्छ। दायाँबायाँ, तल–माथि हेर्ने र पर्खिने आवश्यकता ठान्दैन। कुनै कुराको प्रतिक्रिया दिन हतारिन्छ। हतारमा हुने क्षतिबारे गम्दैन। उसलाई बजारमा छिटो बिक्नु छ त्यसैले बजारको हावामा मिसिन पुग्छ। यो आम प्रवृत्ति हो। हामी कागसँग कुद्छौं जबकि पहिले कान छाम्नु पर्थ्यो।

श्रीमती बितेको दिन विगत र द्वन्द्वको चपेटाको स्मरण गराई राख्नु आवश्यक थिएन कि ? मुखको (जिब्रो) गरिमा मीठो बोलीमा भनिन्छ। मुखले गर्दा थुप्रै प्रशंसा पाएकी छौ। थुतुनोले गाली खान्छ/निम्त्याउँछ। यही मुख कहिले थुतुनो बन्छ त कहिले मुख। मुखलाई थुतुनो हामी कसैले नबनाऔं। मुखको गरिमा जोगाऔं।

तोसिमाद्वारा व्यक्त विचारमा पनि करिब करिब त्यस्तै भएको छ। अझ अर्को कुरा पत्रकारले चिप्ल्याउँदै चिप्ल्याउँदै लगेर खाल्डामा जाक्दिन सिपालु हुन्छन् भन्ने ज्ञान राख्न नजान्नु पनि सेलिब्रेटीहरूको अवगुण हो। तोसिमा धेरै बोल्न रुचि राख्छिन्। यस्तै अवगुणको फन्दामा उनी परेकी छन्। सत्यलाई हेर्ने र पारख गर्ने पनि विश्वदृष्टि हुन्छ, सत्यको छोपिएको पाटो बारे पनि दृष्टि दिने चेतना चाहिन्छ। सिक्काको एउटा पाटो हेरेर खोटो भनिएको छ। यहाँ सिक्काको दुवै पाटाबारे बुझ्नु–बुझाउनुपर्छ।

अहिलेको प्रधान समस्या भनेको अघिल्तिर जे देखिन्छ त्यति मात्र सत्य भनेर बुझ्ने हतारको मानसिकता र प्रतिक्रिया नै हाम्रा लागि अभिशाप बनेका छन्। पूरै शरीरको अवलोकन नगरी शरीरको कुनै एक अङ्ग हेरेको भरमा दिइने प्रतिक्रिया र बनाइने धारणा पूर्णतया अपूर्ण हुन्छ। शिर हेरेर पुच्छर, गोडा बारे भन्ने र पुच्छर हेरेर शिरको अन्दाज गर्ने परिपाटी तर्कसङ्गत छैन। एकातिरबाट मात्रै हेरेर सत्य पत्ता लाग्दैन। खुट्टा छोपेर खुट्टा नभएको, टाउको मात्रै भएको मान्छे भनियो भने त्यो न्यायसंगत होला र ?

सत्य छोपेर अर्धसत्य प्रस्तुत गरेर यही हो सत्य भन्नु र मान्छेहरू त्यसैको पछिलाग्नु विडम्बनापूर्ण छ। त्यसैले ‘घटना परिवेशको मेसो नपाउने मेसिनले जन्माएको ब्रोइलर चल्लो’ भन्दै तोसिमाप्रति खनिएका छन् मान्छेहरू। तोसिमाले ‘सीता दाहालको योगदानको उच्च मूल्याङ्कन गर्दै हामी राजनीति गर्न उभिएको धरातल निर्माणको जस दिन चाहन्छौं’ पनि भनेकी छन्। व्यवस्था परिवर्तनमा उहाँको योगदानलाई सम्मान गरेकी छन्। सीताबाट सिक्नुपर्ने कुरा उनको निस्वार्थ त्यागबारे पनि उल्लेख गरेकी छन् के यो उनको उच्च सुझबुझ होइन र ? प्रधानमन्त्री लगायत शोकाकुल परिवारलाई विचलित नहुन आग्रह गरेको कुरा भिडियोमा सुन्न पाइन्छ। थोरै सुनेर धेरै प्रतिक्रिया अलि बढी भएन र ?

हामी आफूमा धेरै खोट पालेर पृथ्वीमै सम्भव नहुने सर्वगुणसम्पन मानव खोज्छौं। के यो भुल होइन र ? पूर्वाग्रह विना वस्तुस्थितिको मूल्याङ्कन नगरी सबैले खने म पनि खेदो खन्छु भनेर विवेक गुमाउने छुट हामीलाई चैं कसरी प्राप्त हुन्छ ? तोसिमाको अनावश्यक दानवीकरण गरेर खेद्ने अतिरञ्जित खेदाइ र उनको मानवीय भुललाई कार्पेट मुनि छोपेर गरिने प्रतिरोध, अतार्किक बचाउ यी दुवै अतिवाद हुन्। रास्वपा बाहेकमा अन्त पनि राम्रा र क्षमतावान मान्छे छन्/हुन्छन् भन्ने नबुझ्ने स्वाँठ प्रवृत्ति र रास्वपामा पनि राम्रा मान्छे छन् भनेर नबुझ्ने गलत हुन्। बहसै नभएर कुनै पनि विषयको निष्कर्ष निस्कन्न तसर्थ स्वस्थ बहस अनावश्यक होइन।

डियर तोसिमा,

तिमीले आफैं पत्रकार बोलाएर सम्मेलन गरेकी पनि होइनौ। पत्रकारले घेरे बोल्न रूचि राख्ने मिडिया फ्रेन्डली मान्छे बोल्यौ। मात्रै यति भन्छु। नबोलेको भए पनि हुन्थ्यो। बोल्दा श्रद्धाञ्जली र समवेदनामा सीमित हुनुपर्थ्यो। प्रसङ्ग बदलिन लाग्दा अब पुग्यो भनेको भए पनि हुन्थ्यो। सामान्य असावधानी तिलको पहाड बन्यो। तिमी हृदयहीन मान्छे पक्कै होइनौं। मलाई थाहा छ तिमीमा भरपुर मानवीय संवेदना छ। तर आज पाषण हृदयी नारीको रूपमा तिम्रो चित्रण भइरहेको छ। मानौं अक्षम्य अपराधको भागीदार तिमी हौ। तिमीप्रतिको त्यो अपमान र अमर्यादाले द्रवित भएर नै अति भयो केही त लेख्छु भनेर लेख्दैछु।

कम बोल्नु कम गल्ती गर्नु हो भन्ने बुझ। प्रचण्डलाई अट्याक गर्ने राजनीतिको मैदान र संसद छँदैछ। जनविद्रोहको क्रममा युद्धसँग असम्बद्ध थुप्रै मान्छे मारिएका छन्, त्यसको राजनीतिक प्रतिवाद गर्न सकिन्छ। तर श्रीमती बितेको दिन विगत र द्वन्द्वको चपेटाको स्मरण गराई राख्नु आवश्यक थिएन कि ? मुखको (जिब्रो) गरिमा मीठो बोलीमा भनिन्छ। मुखले गर्दा थुप्रै प्रशंसा पाएकी छौ। थुतुनोले गाली खान्छ/निम्त्याउँछ। यही मुख कहिले थुतुनो बन्छ त कहिले मुख। मुखलाई थुतुनो हामी कसैले नबनाऔं। मुखको गरिमा जोगाऔं।

संसारमा कमजोरी नभएका मान्छे फेरि को पो होलान् र ? यसको अर्थ यो होइन कि कमजोरी गरिरहनुपर्छ। दोहोर्‍याइरहनुपर्छ। तिमीलाई थाहा छ राजनीति शुद्ध प्रशंसा मात्रै पाइने क्षेत्र होइन यहाँ ताली र गाली बराबर पाइन्छ। फूलको माला र जुत्ताको माला सँगसँगै आउँछ। यी सबबारे तिमी समझदार छौ। मान्छेसँग भावना, मनमस्तिष्क, मुटु, संवेदना, आवेग, आक्रोश, घृणा र स्नेह, विवेक सबै सबै हुन्छ नि होइन र ? तिमी डाक्टर मान्छे, सर्जन।

चिकित्सकीय पेशालाई महान धर्म र उत्कृष्ट कर्मसँग तुलना गरिन्छ, तिमी राजनीति मार्फत देशको शल्यक्रिया गर्न आएकी छौ। सामान्य हुरीबतास सामान्य नै भए अरु थुप्रै असामान्य परिस्थितिसँग जुध्ने हिम्मत राख। हिम्मत भएर नै राजनीतिमा छौ। संसदमा प्रस्तुति आकर्षक छ। यसर्थ विचलित हुने ठाउँ छैन।

आफ्नोपन भनेको सन्तुलन, सौहार्दता र सहयोग हो, सहयोग प्रशंसा मात्र होइन नि ! गाली पनि हो। पदले परिपक्वता खोज्छ। पद कद होइन, कद आफूले निर्माण गर्ने हो। कद निर्माण गर्ने क्रममा थुप्रै असिनापानीले चुटिनुपर्छ। हिउँतुसारोले पुरिनुपर्छ, चर्को घामले डढ्नुपर्छ। हतियारमा पाइन हाल्दा असह्य चोट सहनुपर्छ। आजको पत्रकारिता फास्टफुड जस्तै हो। जुन अर्ग्यानिक छैन। तात्तातो जे बिक्छ त्यो तयार पारेर बिक्री वितरणको लागि सार्वजनिक हाटबजारमा राख्छन्। तसर्थ कहिलेकाहीं नबोलेर पनि धेरै कुरा बोलिन्छ भन्ने हेक्का राख्नु जरूरी हुन्छ।

भुइँमान्छे र रैतीको सुझाव सुन्ने फुर्सद नहोला, तैपनि सुनाएँ अन्यथा भए माफी माग्दछु। सांसदको मर्यादामा आँच पुर्‍याउने मेरो अभीष्ट छैन।

लेखकको बारेमा
सञ्जीव कार्की

समसामयिक विषयमा कलम चलाउने कार्की विशेषगरी सीमान्तकृत समुदाय र दलितका सवालमा कलम चलाउँछन् । उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा एमफिल-पीएचडी अनुसन्धाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?