+
+

सीता दाहालबाट फस्ट लेडीहरूले सिक्नुपर्ने धेरै छ

आफ्नो परिवार र श्रीमान्को उद्देश्यको लागि जीवन समर्पण गर्नुभएको एक नारी जसले मान्छे–मान्छे बीचमा मानवीय सम्बन्धको गहिराइ र परिवारप्रतिको प्रेम र समर्पण कुन हदसम्म हुनसक्छ भनेर बाँचेका मानिसहरूलाई एउटा उदाहरण छोडेर विदा हुनुभएको छ ।

सचिन घिमिरे   सचिन घिमिरे  
२०८० असार २९ गते १६:२१

सन् २००७ मा दिल्लीस्थित जेएनयू अध्ययन गर्न गएपछि अधिकांश राजनीतिक पार्टीका नेतृत्वहरूसँग विविध प्रसंगमा भेटघाट हुने मौका जुटिरहेको हुन्थ्यो । त्यसै अनुसार, पहिलो पटक सन् २००८ मा प्रधानमन्त्री निर्वाचित भइसकेपछि क. प्रचण्ड जम्बो टोलीका साथ दिल्ली आउने मिति तय भयो ।

यस कार्यक्रमको लागि जेएनयूमा एमफिल तथा पीएचडी गरिरहेका थुप्रै विद्यार्थीलाई दिल्लीको ताज होटलमा प्रधानमन्त्री प्रचण्डसँग डिनर खाने गरी औपचारिक निम्तो दिल्लीको नेपाली दूतावासले पठाएको थियो । निम्तो आएको केही दिनपछि बाह्रखम्बा सडकमा अवस्थित नेपाली दूतावासमा प्रचण्डको कुरा सुन्न म र मित्र रोशन बराल जाने निधो गर्‍यौं ।

प्रचण्डलाई मन पर्दछ भनेर त्यसदिन मित्र रोशनले चे–ग्वेभाराको प्रिन्ट भएको कुर्था जानीबुझिकनै लगाएका थिए । दिल्लीको प्रचण्ड गर्मीमा प्रचण्ड आउने भन्ने वित्तिकै बिहानैदेखि सुट लगाएर हिंड्न सक्ने अवस्था पनि थिएन । त्यसमाथि सर्वहारा वर्गको नेता आउने हामीलाई ‘बुर्जुवा’ देखिन पनि मन थिएन ।

बेलुकीको कार्यक्रमको लागि मात्र होस्टल फर्केर सुट लगाउने बिहानको लागि अनौपचारिक रूपमा नै जाने सोचले मैले पनि कालो हाफ टिसर्ट र नीलो जिन्स अनि सेतो स्पोर्टस् सुज लगाएँ । हामी होस्टलबाट हतारिएर झण्डै एक घण्टा लामो यात्रा गरेर दूतावासमा पुग्यौं । शायदै यही गेटअपले गर्दा होला दिल्लीस्थित नेपाली दूतावासमा पनि सुरक्षाकर्मीहरूले हामीलाई रोकतोक गरिरहेका थिए र एकैक्षण बाहिर नै बस्न अनुरोध गरे ।

पछि दूतावासको हामीलाई चिन्ने कर्मचारीले भित्र बोलाएर लगेपछि मात्र कार्यक्रममा सहभागी हुने मेसो मिल्यो । हत्तेरिका सुट नै लगाएर आउनुपर्ने रहेछ भन्दै मलाई भने मनमा थक्थक् भइरहेको थियो ।

सचिन घिमिरे

नेपाली दूतावासको प्रांगणमा दशक अघिदेखि नाम मात्र सुनेको कमरेड प्रचण्ड मेरो अगाडि उभिएर भाषण दिइरहेको देख्दा मेरो ध्यान उनको हातका औंलाका चालदेखि आँखाको भावसम्म गइरहेको थियो ।

त्यस दिन प्रचण्डले ‘नेपालमा चारवटा स्पेसल इकोनोमिक जोन खोल्ने र त्यसको कमाण्ड आफैंले गरेर नेपालमा आर्थिक चमत्कार गर्ने अब’ भनेर ठ्याक्कै यही भाषा बोल्नुभएको थियो । समयको हुरीले प्रचण्डलाई हुत्याएर अन्तै पु¥याइसकेपछि त्यस दिन नेपाली दूतावासमा गरेको वाचा बिर्सनुभयो कि उहाँलाई अझै याद छ कुन्नि ! खैर, म त्यतातिर अहिल्यै प्रसंग कोट्याइरहन चाहन्नँ ।

त्यसदिन दिउँसो पनि प्रधानमन्त्रीका थुप्रै कार्यक्रम भएकोले प्रचण्डको प्रवचन भएको ठाउँ लोधी गार्डेन नजिकै इण्डिया इन्टरनेशनल सेन्टर जाने निधो गरेर हामी त्यता लम्कियौं । प्रचण्डको भाषण भएको ठाउँमा पुग्न हामीले निकै कसरत गरे पनि हामीसँग त्यहाँको लागि पास पनि नभएको र सम्भवतः मेरो हाफ टिसर्ट र मित्र रोशनको कुर्थामा चे–ग्वेभारा देखेर होला अनेक अनुरोध गर्दा पनि भारतीय सुरक्षा गार्डले हामीलाई मुख्य हलमा प्रवेश गर्न पटक्कै अनुमति दिएन ।

त्यसपछि हामी होस्टल गएर औपचारिक लुगामा ताज होटल जाने कि यत्तिकै अनौपचारिक लुगामा जाने भनेर छलफल गर्दै थियौं । यही बीचमा चियापसलमा भेटिएका नेपाली पत्रकार प्रशान्त झाले हाम्रो अलमल बुझेर ‘म त यही कुर्थामा यत्तिकै जाने हो’ भनेपछि हामीलाई पनि साउथ दिल्लीमा भएको होस्टल पुगेर सुटेड–बुटेड भएर फेरि होटल जाने जाँगर पटक्कै चलेन ।

त्यहाँ केहीबेर बसेपछि औपचारिक निम्तोको आडमा हामी दुवै जना साँझपख सेन्ट्रल दिल्लीमा अवस्थित होटल ताज पुगियो । प्रधानमन्त्री आएको औपचारिक कार्यक्रममा हाफ टिसर्ट र जिन्स लगाएर लखर–लखर भित्र प्रवेश गरेपछि भारतीय सुरक्षाकर्मीहरूको आँखी भौं उचालिनु स्वाभाविक नै थियो । धन्न जेएनयूका नेपाली विद्यार्थी हौं कार्यक्रममा बोलाएको निम्तो पनि छ भनेर गलफत्ती गरेपछि होटलको गेट बाहिरबाट नै होस्टल फर्कनु भने परेन ।

हामी होटल पुग्दा शिक्षविद् डा. सदानन्द कँडेल होटल पुगिसक्नुभएको थियो । उहाँले हामीलाई होटलले विशेष खालको वाइनले स्वागत गरिरहेको छ चाख्न नबिर्सनुहोला भनेर सूचना दिनुभयो ।

सम्भवतः हाम्रो अनौपचारिक गेटअपले गर्दा होला होटलको वाइन दिने मानिसले हामीलाई टाउकोदेखि खुट्टासम्म हेरेर ‘त्यो वाइन त सकिइसक्यो’ भन्दै अर्को कुनै सस्तो वाइन दियो । मानिसको लवाई–खवाई हेरेर व्यवहार हुने दुनियाँमा आफू महँगा सपनाहरू बोकेर हिंड्ने मानिस हो भनेर त्यहाँ प्रमाणित गरिरहनुपर्ने पनि मलाई कुनै बाध्यता थिएन ।

जेहोस् प्रधानमन्त्री आएको कार्यक्रममा तारे होटल प्रवेश पाइयो भनेर खुशी नै लागिरहेको थियो ।

त्यसदिन होटल ताजको भव्य कार्यक्रममा प्रचण्डको उपस्थितिमा जुन दृश्य देख्ने सौभाग्य मिल्यो सम्भवतः त्यस्तो दृश्य मैले पप सम्राट माइकल ज्याक्सनको कन्सर्टका तस्वीरहरूमा मात्र देख्न पाएको थिएँ ।

प्रचण्डले त्यहाँ आएका पाहुनाहरूलाई अंग्रेजीमा स्वागत भाषण गरेर सबैलाई रात्रिकालीन डिनरमा भाग लिन आह्वान गर्नुभयो । प्रचण्ड ड्यासबाट उत्रिएपछि सन्ध्याकालीन बत्तीहरूले सजाइएको ताज होटलको त्यो विशाल बगैंचामा विशेषगरी भारतीय मूलका मानिसहरूको भीड छाल जस्तै बगेर प्रचण्डतिर आइरहेका थिए ।

प्रचण्ड त्यो छालसरी बगेर आइरहेका मानिसहरूलाई हात मिलाउँदै मिलाउँदै अघि बढेको त्यो दृश्य एक दुर्लभ ऐतिहासिकता नै थियो । इतिहासमा कुुनै एउटा नेपालीले भारतीय भूमिमा यतिविघ्न सम्मान पाएको मैले त्यसअघि कहिल्यै देखेको थिइनँ । प्रचण्डलाई छुन मात्र पाए पनि बाँकी जीवन धन्य हुन्थ्यो जस्तो गरेर मानिसहरूको त्यो विशाल भीड प्रचण्डतिर अघि बढिरहेको थियो ।

निकैबेरपछि त्यो छाल कमी हुँदै गएपछि प्रचण्ड र उहाँकी धर्मपत्नी सीता दाहाल होटल ताजको बगैंचाको एउटा कुनामा उभिनुभएको थियो । खैरो सफारी लगाएका भारतीय सुरक्षा गार्डहरूले उहाँलाई अझै घेरिरहेकै थिए । त्यतिबेला मेरो मित्र रोशन हुलमुलमा कतातिर लागे मैले भेउ पाइनँ । मलाई भने प्रचण्डसँग भेट्न अति मन लागिरहेको थियो ।

मैले वाइनको गिलास टेबलमा छोडेर प्रचण्डको नजिकै पुग्न लाग्दा सम्भवतः उही टिसर्ट र जिन्सकै कारण हुनसक्छ भारतीय सुरक्षाकर्मीले मलाई फेरि रोक्यो । उसको अवरोध बुझेपछि मैले, ‘सिन्स आइ ह्याभ गट दि फर्मल इन्भिटेसन टु एटेन्ड दिस प्रोग्राम, ह्वाई आर यु स्टपिङ मि टु मिट द प्राइममिनिस्टर !’ भनेपछि भारतीय सुरक्षाकर्मी सर्लक्क छेउतिर पन्छियो ।

मैले प्रचण्डलाई ‘सर नमस्ते’ भनेपछि सँगै उभिनुभएको सीता दाहाललाई पनि ‘म्याम नमस्ते’ भनेको थिएँ । मैले प्रधानमन्त्री कमरेडलाई सर भनेपछि शायद उहाँलाई आफैंले पढाएको विद्यार्थी जस्तो लाग्यो कि कुन्नि, ‘तपाइँ कहाँ ?’ भनेर उहाँको दुई हातले नै मेरो हात समातेर यसरी झड्कालेर हात मिलाउनुभयो कि उहाँको कमरेडी हातमिलाइले त्यतिबेला मेरो शरीरमा बेग्लै प्रकारको रक्तसञ्चार भएको थियो ।

प्रचण्डको ‘तपाइँ कहाँ’ प्रश्नलाई आफू जेएनयूमा स्वास्थ्य विषयमा एमफिल गरिरहेको बताएँ । मौका यही हो भनेर मैले पनि सोध्न भ्याइहालें, ‘संसारभरि नेपालमा जस्तो क्रान्ति भएको ठाउँमा जनपक्षीय स्वास्थ्य प्रणाली बनाउन प्रगतिशील नेतृत्वहरूले ठूलो भूमिका खेलेका छन्, तपाइँको अगाडि पनि स्वास्थ्य प्रणालीमा उदाहरणीय काम गरेर संसारलाई सन्देश दिने मौका छ, तपाइँले यसबारे केही सोच्नुभएको छ त ?’

मेरो कुरा सुनेर उहाँले ‘तपाइँको कुरा राम्रो हो, मैले मनन गरें, म तपाइँलाई अवश्य सम्झनेछु’ भन्नुभयो । त्यसबेलासम्म अघि प्रचण्डलाई घेरेको छाल कमी भएर होटल ताजको डिनर खान व्यस्त भइसकेको थियो । म अर्को एक–दुई मिनेट गफ गर्न चाहन्थें तर एक्कासी एउटा ठूलै भीड फेरि प्रचण्डलाई भेट्न आइपुग्यो ।

त्यो भीडले प्रचण्डलाई भेटघाट गरिरहेको बेला मैले छेउमा एक्लै उभिइरहनुभएको सीता म्यामसँग भलाकुसारी गर्ने निधो गरें । मैले उहाँलाई आफ्नो घर ललितपुर भएको र दिल्लीमा पढ्नको लागि आएको बताएर कुरा सुरु गरेको थिएँ । उहाँले ललितपुर कुन ठाउँमा घर भनेर सोध्दा मैले बज्रवाराही भनेपछि उहाँले ‘म जान पाएको छैन त्यता’ भनेर भन्नुभएको थियो । मलाई याद छ मैले पहिलो प्रश्न उहाँलाई, ‘म्याम कस्तो महसुस गरिरहनुभएको छ त यतिबेला हजुरले ?’ भनेर कुराकानी अघि बढाएको थिएँ ।

उहाँले अलि सानो स्वरमा भन्नुभयो ः ‘मलाई त अचम्म  लागिरहेछ बाबू, यस्तो दिन पनि आयो भनेर, पहिला कस्तो दुःख थियो, संकटकालको बेला कुन दिन मरिन्छ होला जस्तो दिन पनि आए । लडाइँमा होमिंदा होमिंदै मरियो भने छोराछोरीको के गति होला जस्तो सोचेर मन भक्कानिन्थ्यो । साँझ परेपछि धन्न आज त बाँचियो जस्तो लाग्थ्यो । परिवारका को कहाँ छन्, कता पुगेका छन् केही ठेगान नहुने । न बस्नको ठेगान, न खानको ठेगान, उतिबेलाका दिनहरूमा त सारै दुःख भयो नि बाबू !’

उहाँको निश्छल र सरल जवाफ सुनेपछि मलाई आफैं गाउँको भाउजू वा आफ्नै परिवारको फुपूसँग कुरा गरेजस्तो वा आफ्नै घरको कोही सदस्यलाई नै दिल्लीमा भेटे जस्तो महसुस भएको थियो । त्यसपछि मैले त्यही त, नेपालको राजनीति यहाँसम्म आइपुग्न त हजुरहरूको परिवारले त ठूलो योगदान गरेको छ नि भनेर अलिकति थपें पनि ।

मेरो कुरा सुनेर उहाँले, ‘पहिला पनि दुःख थियो नि बाबू, केटाकेटी धेरै  कसरी हुर्काउने होला जस्तो लाग्थ्यो । उहाँको पनि कमाइ राम्रो थिएन । कहिले कता कहिले कता गरेर छोराछोरी हुर्काइयो । ती दिन सम्झेर अहिले त सपना जस्तो लाग्छ नि !’

त्यसपछि उहाँले बाबूहरू त पढ्न यहाँसम्म आउनुभयो । हामीले त उतिबेला त्यस्तो मौका कहाँ पाउनु नि भन्नुभएको मलाई याद छ । कमरेड प्रचण्ड अर्को टोलीसँग भेट गरिरहँदा प्रधानमन्त्रीको श्रीमतीको यति निश्चल र निर्दोष स्वीकारोक्तिहरू सुनेर म त भावुक भइसकेको थिएँ ।

उहाँको पहिलो बोलीबाट नै मलाई कुनै शक्तिशाली प्रधानमन्त्रीको श्रीमतीसँग बोलेको जस्तो महसुस पटक्कै भइरहेको थिएन । उहाँले दुःखका कुरा निकालेपछि मैले पनि, हो त हजुरहरूलाई, मेरो आमाको पुस्तालाई त साह्र्रै दुःख थियो भनेर थपेको थिएँ । उहाँले संकटकालका दिनहरू सम्झँदा मलाई त आङै सिरिंग हुन्छ, यो दिन पनि हेर्न लेखेको रहेछ भनेर अझै थप्नुभयो ।

त्यसपछि उहाँले अभिभावकीय दायित्व पूरा गरेर भन्नुभयो, ‘ल राम्रोसँग पढ्नु बाबू, नेपाल आएपछि आएर भेट्नु है !’

कमरेड प्रचण्डलाई एकपछि अर्को समूहले भेटघाट गरिरहँदा मैले ‘हजुरले केही खाने होइन म्याम’ भनेर दुई–तीन पटक नै सोध्न भ्याएको थिएँ । सीता म्यामले मेरो हरेक अनुरोधलाई नकार्दै उहाँले अर्थात् कमरेड प्रचण्डले पनि खानुभएको छैन, उहाँले खाँदा सँगै खाने भनेर इशारा गरेर एक्लै टोलाएर उभिइरहनुभयो ।

उहाँले मलाई ‘बाबू लिनु न, भोक लागिसक्यो होला’ भनेर अभिभावकत्व देखाउँदा मलाई दिल्लीको बिरानो संसारमा पनि बेग्लै आत्मीयता महसुस भएको थियो । केहीबेरको भलाकुसारी पछि म्यामलाई नमस्ते गरेर म पनि खानतिर लागें ।

हाम्रा भावी ‘फस्टलेडी’हरूले उहाँको शान्त र सरल व्यक्तित्वबाट थोरै सिक्न सकेमा मात्र पनि यो समाजले फरक राजनीतिक संस्कार पाउँदछ । कमरेड सीता दाहाल लगायत महिलाहरूले पितृसत्तात्मक समाजमा गरेको मौन योगदानलाई गहिरोसँग मनन गर्न पनि हाम्रो पुस्ताले उहाँले मलाई दिल्लीमा भने जस्तै– ‘राम्रोसँग पढ्नुपर्दछ’ ।

ताज होटलको सस्तो वाइनको त्यो तीतो स्वाद सीता म्यामसँगको आत्मीय कुराकानीपछि मैले बिर्सिसकेको थिएँ । त्यस दिन दिल्लीमा मेरो टिसर्ट र जिन्समा दिनभरिमा धेरै थरीलाई समस्या भइरहेको थियो । तर सीता म्यामलाई मेरो पोशाक हेरेर मप्रति फरक व्यवहार गर्नुपर्दछ भन्ने पटक्कै नलागेर नै होला छोटो भेटघाटमा पनि मलाई आफ्नै भाइ–छोरा, भान्जा वा भतिज जस्तै सम्झेर खुलेर कुराकानी गर्नुभएको ।

अहिले म सोच्छु, त्यस दिन मैले टिसर्टको साटो सुट लगाएको भए मलाई कुनै ‘बुर्जुवा भीआईपी’ जस्तो देखेर म्याम धेरै नबोल्न पनि सक्नुहुन्थ्यो कि ! गलत पोशाक लगाएँ कि भनेर दिनभर लागेको थक्थक् ताज होटलमा सीता म्याम भेटेपछि हराएर गइसकेको थियो ।

झण्डै पन्ध्र वर्षअघि भएको दश–पन्ध्र मिनेट जति गरेको त्यो भलाकुसारी उहाँ बिरामी भएपछि सामाजिक सञ्जालमा आउने उहाँको तस्बिर देख्यो कि मलाई त्यही क्षण सम्झना भइरहन्थ्यो । ‘हामीले त पढ्न पाएनौं, राम्रोसँग पढ्नु बाबू’ भनेको अहिले पनि  खुमलटारको बाटो ओहोरदोहोर गर्दा घरी–घरी मलाई त्यही बोली याद आइरहन्छ ।

मलाई उहाँको त्यो बोली एउटा पुस्ताले अर्को पुस्तालाई सुम्पिएको पीडा सहितको ऐतिहासिक कार्यभार जस्तो महसुस हुन्छ । कमरेड सीता दाहालसँगको यो सम्झना त्यसको केही वर्षपछि म जेएनयूमा पीएचडी गरिरहँदा मलाई उहाँको छोरा प्रकाशलाई च्याटमा गफमा पनि सुनाएको थिएँ । सीपी गजुरेल जेएनयूमा आउँदा मैले कमरेडलाई अपहरण गर्ने धम्की दिएँ भनेर किशोर श्रेष्ठले जनआस्थामा मूल कुरो बंग्याएर समाचारै छापेका थिए ।

त्यतिबेला कमरेड प्रकाश दिल्लीमा नै थिए । त्यो समाचार पढेपछि सबैभन्दा पहिला मेसेज पठाउँदै उनले मलाई च्याटमा प्रश्न सोधेका थिए, ‘तपाइँले हाम्रो कमरेड सीपीलाई अपहरण गर्ने धम्की दिनुभयो रे हो त ?’ त्यतिबेला माउ पार्टीबाट छुटिसकेको पार्टीको नेताको बारेमा पनि प्रकाशले चासो राखेर सोधेको देखेर मैले पनि, हो त कमरेड, मैले रेकर्डिङ्ग अन गरेर ‘कमरेड सीपीलाई बौद्घिक अपहरण गर्ने, होस्टलमा केही दिन सँगै राख्ने यति चाँडै नेपालमा अर्को सशस्त्र क्रान्तिको आवश्यकता छैन भनेर कुरा बुझाउने’ सोचेर त्यसो भनेको थिएँ भनेर प्रष्ट्याएँ ।

‘अब जनआस्थाले बौद्घिक हटाएर अपहरण मात्र छापेछ, नपत्याए तपाइँ रेकर्डिङ्ग सुन्न जेएनयू आउनुहोला’ भनेपछि, प्रकाशले जेएनयूमा चिया खान आउँछु भनेर दुईतीन पटकसम्म च्याटमा मलाई आश्वासन दिए तर उनको र मेरो भौतिक भेट दिल्लीमा कहिल्यै हुन सकेन ।

त्यसपछिका दिनहरूमा मेरो लागि लाजिम्पाट र खुमलटारको पर्खाल यतिविघ्न अग्लो भइदियो कि मैले डा. गोविन्द केसीको जीवन रक्षार्थ कमरेड प्रचण्डलाई भेट्न खोज्दा उनी त के त्यसपछिका अनेक सवालमा उनका स्वकीय सचिवहरूलाई भेट्ने हैसियत पनि मैले कहिल्यै बनाउन सकिनँ । प्रचण्डको परिवार र माओवादी पार्टीसँग मेरो प्रत्यक्ष केही संलग्नता नभए तापनि कमरेड सीता दाहालसँगको दिल्लीमा भएको त्यो भेट र उहाँको दिवंगत छोरा प्रकाशसँग च्याटमा गरेको आत्मीय कुराकानी मेरो मानसपटलमा अझै पनि ताजा नै रहेको छ ।

हुन त पितृसत्तात्मक समाजमा अक्सर गरेर पुरुषहरूको मात्र सत्कर्म र दुष्कर्मको इतिहास पुरुषहरूकै कलमले लेखिन्छ । तर एउटी शान्त महिलाले पुरुषलाई जीवनभर हल्ला गर्न सहज वातावरण र परिस्थिति जुटाएर गरेको मौन तर महत्वपूर्ण योगदानको कमै चर्चा हुन्छ ।

जीवनको उत्तराद्र्धमा शक्ति सम्बन्धको घेराभित्र जीवन व्यतीत गर्ने मौका मिले तापनि प्रेम, समर्पण र बलिदानको पर्याय बनेर एक सरल, शान्त र निश्छल मानवले दिएको यो सन्देश बुझ्नेलाई समुद्रजत्तिकै विशाल छ ।

कमरेड सीता दाहालले नेपाली वामपन्थी आन्दोलनमा गरेको योगदान आफ्नै प्रकारले भावी इतिहासले समीक्षा गर्ला तर उहाँको आफ्नो परिवारप्रतिको निष्ठा र समर्पण भने अत्यन्त मार्मिक र भावुक महसुस हुन्छ । आफ्नो जवान छोरा गुमाउनु परेको पीडाबाट ‘ब्याक टु नर्मल’ हुनै नसकी त्यही दोखबाट जीवनलीला नै समाप्त पारेकी  एक आमाको सन्तानप्रतिको ममता र स्नेह कति गहिरो हुन्छ यो सम्बन्धको भावनात्मक गहिराइ सितिमिति मनन गर्नै गाह्रो छ ।

एकै क्षण भेट भएको म एउटा पराइ केटोको प्रश्नमा पनि पुराना दुःखका दिनहरूको सम्झना सुनाउनु उहाँको सरल र निश्छल व्यक्तित्वको त्योभन्दा अर्को उदाहरण के नै हुनसक्छ र ! आफूभन्दा पनि आफ्नो परिवार र श्रीमान्को उद्देश्यको लागि जीवन समर्पण गर्नुभएको एक नारी जसले मान्छे–मान्छे बीचमा मानवीय सम्बन्धको गहिराइ र परिवारप्रतिको प्रेम र समर्पण कुन हदसम्म हुनसक्छ भनेर बाँचेका मानिसहरूलाई एउटा उदाहरण छोडेर विदा हुनुभएको छ ।

जीवनको उत्तराद्र्धमा शक्ति सम्बन्धको घेराभित्र जीवन व्यतीत गर्ने मौका मिले तापनि प्रेम, समर्पण र बलिदानको पर्याय बनेर एक सरल, शान्त र निश्छल मानवले दिएको यो सन्देश बुझ्नेलाई समुद्रजत्तिकै विशाल छ । मलाई लाग्छ एक आमा र श्रीमतीको रूपमा सीता दाहालको सरलता र त्यागमा नै उहाँको महानता लुकेको छ ।

हाम्रा भावी ‘फस्टलेडी’हरूले उहाँको शान्त र सरल व्यक्तित्वबाट थोरै सिक्न सकेमा मात्र पनि यो समाजले फरक राजनीतिक संस्कार पाउँदछ । कमरेड सीता दाहाल लगायत महिलाहरूले पितृसत्तात्मक समाजमा गरेको मौन योगदानलाई गहिरोसँग मनन गर्न पनि हाम्रो पुस्ताले उहाँले मलाई दिल्लीमा भने जस्तै– ‘राम्रोसँग पढ्नुपर्दछ’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?