
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदको बैठकमा चर्चित अमेरिकी गायिका टेलर स्वीफ्टको कुरा उठाउँदै नेपालको सफ्टपावर (सौम्य शक्ति) के हो भने सरकारलाई प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पन्तले नेपाली गीत, संगीत, सिनेमा, साहित्य र संस्कृतिलाई सफ्ट पावरको रुपमा विकास गर्नुपर्ने बताए ।
अमेरिकासँग सफ्ट पावरको गायिका टेलर स्वीफ्ट रहेको, बेलायतसँग सेक्सपियर र रुससँग गोर्की, टोल्सटोय र चेखोभ रहेको उदाहरण दिंदै सांसद पन्तले नेपालको सफ्ट पावर के हो भने सरकारलाई प्रश्न गरेका हुन् । ‘हाम्रो सफ्टपावर हाम्रो गीत, संगीत, सिनेमा र संस्कृति हो,’ उनले भने, ‘यी कुरा भएनन् भने भोलि देश रहँदैन ।’
संगीतकार अम्बर गुरुङसँगको संवादको प्रसंग उप्काउँदै पन्तले भने, ‘अम्बर गुरुङ भन्नुहुन्थ्यो– राजा महेन्द्र बाँचिरहेको भए नेपाली संगीत अझै फस्ट्याउँथ्यो ।’
सांसद पन्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीप्रति आक्रामक सुनिए । मन्त्री किरातीले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान गठन गर्दादेखि नै विवाद निम्तिएको र प्रतिष्ठानको १५ रोपनी जग्गा लिजमा दिन लागिएको भन्दै उनले विरोध गरे ।
‘त्यो जग्गा लिजमा दिन रोकियोस् र भवन बनाउन भनियोस्,’ पन्तले भने ।
यो प्रसंगमा सांसद पन्तले मन्त्री किरातीलाई चुनौती पनि दिए । ‘तनहुँको चुँदीरम्घास्थित भानुभक्तको घर जलेको धेरै भयो । कसैले बनाउँदैनन् । लण्डनमा जाँदा उनीहरुले सेक्सपियर, रुसमा जाँदा टोल्सटोय, गोर्की र चेखोभको घर देखाउँछन् । हामीले आदिकविको भानुभक्तको घर भन्छौं । भानुभक्तको घर हेर्न जाँदा वैराग लागेर आउँछ । त्यसैले लिजमा लगाउने कुरा बन्द गर्न म आग्रह गर्छु,’ उनले भने ।
तर मन्त्री किरातीले चाहिं लिजमा दिने कुरा तथ्यहीन भन्दै यसअघि नै खण्डन गरिसकेका छन् ।
प्रतिक्रिया 4