+
+

भ्याटले आन्तरिक हवाई भाडा ६ प्रतिशतसम्म बढ्दै, अन्तर्राष्ट्रियमा अझै अलमल

हवाई इन्धन, जहाज, इन्जिन र पार्टपूर्जा, कार्यालय सामग्रीलगायतमा तिरेको भ्याट कम्पनीहरुले फिर्ता दाबी गर्न पाउने भएकाले करको दरअनुसार १३ प्रतिशत नै मूल्य नबढ्ने भएको हो ।

अच्युत पुरी अच्युत पुरी
२०८० असार ३० गते १८:२२

३० असार, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ बाट हवाई टिकटमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा आउँदा आन्तरिक उडानतर्फ ६ प्रतिशतसम्म हवाई भाडा बढ्ने भएको छ ।

वायुसेवा कम्पनीहरुका अनुसार सोही अनुसार वायुसेवा सञ्चालक संघमा आबद्ध सबै कम्पनीहरु भ्याटमा दर्ता भइ टिकटमा लाग्ने भ्याट कार्यान्वयन गर्ने तयारीमा जुटेका छन् ।

मूल्य अभिवृद्धि कर लाग्ने भएकाको हकमा घोषणा भएको ३० दिनभित्र भ्याटमा दर्ता भइसक्नु पर्छ ।

नेपालमा वस्तु तथा सेवामा १३ प्रतिशत भ्याट लाग्छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार हवाई टिकटमा भ्याट कार्यान्वयन गर्दा हवाई टिकट ६ प्रतिशत हाराहारी मात्र बढ्नेछ ।

हवाई इन्धन, कार्यालय सञ्चालनका सामग्री तथा उपकरण खरिदमा तिरेको भ्याट कम्पनीहरुले फिर्ता दाबी गर्न पाउने भएकाले जति प्रतिशत कर लाग्ने हो, मूल्य त्यति नै बढ्दैन ।

नयाँ प्रावधान अनुसार भाडादरसहित जहाज, इन्जिन र पार्टपूर्जाको आयातमा १३ प्रतिशत भ्याट जोडिन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक यात्रुबाट विमानस्थल विकास शुल्कका नाममा ५०० रुपैयाँ लिन्छ ।

वायुसेवा कम्पनीको हवाई भाडामा मात्र भ्याट जोडिंदा ६ प्रतिशतसम्म भाडा बढ्ने अनुमान गरिएको हो ।

यसअघि हवाई टिकटमा भ्याट लाग्दैनथ्यो । सोहीकारण कम्पनीहरु भ्याटमा दर्ता समेत हुनु अनिवार्य थिएन । अब भने सबै कम्पनी भ्याटमा दर्ता भइ कारोबार गर्नुपर्ने भएको छ ।

अन्तर्राष्ट्रियमा भने अन्यौल

उता, अन्तर्राष्ट्रियतर्फ भने अझै अन्यौल कायम छ । सो सम्बन्धमा सरोकारवालासहित अर्थ मन्त्रालयले पछिल्ला दिनमा हरेक दिनजसो छलफल चलाए पनि कुनै निष्कर्ष भने निस्कएको छैन ।

सरकारले नेपालमा हवाई टिकटमा भ्याट लगाउँदा विदेशी एजेण्टबाट टिकट बुकिङ बढ्न सक्ने र यसले नेपालको बिजनेश खुम्चिदा सरकार र व्यवसायी दुवैलाई घाटा पुग्ने चेतावनी व्यवसायीले दिएका छन् ।

मन्त्रालयका एक उच्च अधिकारीका अनुसार वस्तुमा भ्याट लगाउने सन्दर्भमा समस्या नभएपनि हवाई टिकट सेवा क्षेत्रअन्तर्गत पर्ने र यसको कार्यान्वयनमा केही प्राविधिक समस्या समेत रहेका कारण सहजीकरण कसरी गर्ने भन्ने विषय नै अहिलेसम्म टुंग्याउन सकिएको छैन ।

अर्थ मन्त्रालयले व्यवसायी, प्राधिकरण र अन्य सरोकारवाला समेत सहभागी भएको एक कार्यदल बनाएर हवाई टिकटमा भ्याट कार्यान्वयन गर्नेबारे तयारी गरेको थियो । तर, यो विषय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन तथा अन्य अन्तर्राष्ट्रिय नियमनकारी निकायको समेत सरोकारको विषय भएकाले तत्काल कार्यान्वयनमा अन्यौल देखिएको हो ।

आन्तरिक राजस्व विभागका निर्देशक राजुराज प्याकुरेलले १ साउनबाट हवाई टिकटमा भ्याट लाग्ने कानुनी प्रावधान भए पनि कार्यान्वयनको अन्योल नहटेको बताए ।

‘एक त यो नयाँ विषय भयो, अर्कोतर्फ यसमा अन्तर्राष्ट्रिय चासो र प्राविधिक इस्यु पनि जोडिने भए, त्यसकारण कसरी सहजीकरण गर्ने भन्नेबारे छलफल जारी नै छ,’ उनले भने ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?