+
+

उद्घाटनको ७ महिनापछि बल्ल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते १८:१३

१ साउन, पोखरा । सञ्चालनमा आएको करिब ७ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपोको सोमबार शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विमानस्थलमा बन्ने इन्धन डिपोको शिलान्यास गरेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराएको ९ हजार २१५ वर्गमिटर क्षेत्रफलमा निगमले डिपो बनाउन लागेको हो । निगमका हवाइ इन्धन डिपो परियोजना प्रमुख भरत रेग्मीका अनुसार ३६ लाख लिटर इन्धन भण्डारण गर्न सक्ने क्षमताको डिपो बन्नेछ ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको २५ वर्षे फ्लाइट संख्या, यात्रुको चापलाई आधार मानेर सोही अनुसार प्रक्षेपण गरेर डिपोको डिजाइन गरिएको छ’, रेग्मीले अनलाइनखबरसँग भने, ‘त्योसँग सम्बन्धित अग्नि सुरक्षा, त्यससँग सम्बन्धित सबै संयन्त्रलगायत सबै हेरेर डिजाइन गरिएको छ ।’

विमानस्थलमा ३ वटा हवाइ इन्धन ट्यांकी बन्ने र प्रत्येक ट्यांकीको क्षमता १२/१२ लाख लिटर क्षमताको हुने निगमले जनाएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ इन्धन डिपो बनाउन गत कात्तिक २९ गते नै सम्झौता गरिएको थियो । निगमले भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्स्ट्रक्सन र समानान्तरले संयुक्त रुपमा डिपो बनाउन मूल्य अभिवृद्धि करबाहेक ६७ करोड रुपैयाँमा ठेक्का दिएको छ ।

‘सम्झौता भएको मितिदेखि २४ महिनामा सक्ने गरी सम्झौता भएको छ’, रेग्मीले भने, ‘तर, हामीले सकेसम्म १ वर्षभित्रै सक्ने गरी कामको थालनी गरेका छौं ।’ उनका अनुसार डिपोको डिजाइनदेखि अन्य आवश्यक प्रक्रिया पूरा भइसकेकाले भौतिक निर्माणको काम छिटो सक्ने निगमको लक्ष्य छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै इन्धन भण्डारण बनाउनुपर्ने भएकाले डिपो बनाउन केही ढिलो भएको रेग्मीले स्वीकारे । ‘डिपोसँगै अग्नि सुरक्षा, अन्य बाहिरी लेआउट डिजाइन पनि सँगसँगै गर्नुपर्ने भएकाले ढिलाइ भएको हो’, उनले भने, ‘अब भने काम छिटो सकिन्छ ।’

अंग्रेजी नयाँ वर्ष जनवरी १ अर्थात् पुस १७ गतेबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । नयाँ विमानस्थलमा इन्धन डिपो नहुँदा साविक पोखरा विमानस्थलबाटै ट्यांकरबाट हवाइ ढुवानी गरेर भरिँदै आइएको छ ।

पुरानो विमानस्थलमा भएको ६० हजार लिटर क्षमताको इन्धन भण्डार गृहको भरमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भइरहेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्रै सीमित हुँदा पनि दैनिक ३० हजार लिटरसम्म इन्धन खपत हुँदै आएको विमानस्थलले जनाएको छ । नयाँ इन्धन डिपो बनेपछि उडानमा पनि सहज हुने दाबी विमानस्थलको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल भनिए पनि सञ्चालनमा आएदेखि हाल राष्ट्रिय उडानमा मात्रै सीमित छ । पोखरामा पहिलो पटक मनाइएको चिनियाँ ड्रागन फेस्टिबल मनाउन असार ६ गते चिनियाँ टोली सिचुवान एअरलाइन्सबाट चार्टर्डमा आएकाबाहेक पोखरादेखि अन्य अन्तर्राष्ट्रिय उडान भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?