+
+
जनार्दन शर्मासँग अन्तर्वार्ता :

‘पार्टी बहुपदीय भए पनि प्रचण्डकै निर्णय चल्छ’

बसन्त बस्नेत दिपेश शाही बसन्त बस्नेत, दिपेश शाही
२०८० साउन ३ गते २०:२५

३ साउन, काठमाडौं । हक्की छन्, जनार्दन शर्मा ‘प्रभाकर’ । मनमा लागेका कुरा सीधै भनिदिन्छन् । माओवादी केन्द्रमा उपमहासचिव पद पाउँदा उनले सुरुमा नस्वीकार्ने भनेर बैठकमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिए । अर्का प्रभावशाली नेता वर्षमान पुन ‘अनन्त’सँग ‘प्रभाकर’को व्यक्तित्व टकराव विकास हुँदै नेतृत्वको प्रतिस्पर्धातिर गइरहेको चर्चा चल्दै गर्दा अर्का नेता नेत्रविक्रम चन्द ‘विप्लव’को सम्भावित पार्टी प्रवेशले माओवादी पंक्ति तरंगित छ ।

यसैबीचमा प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरमा केही दिनअघि आफूलाई दोस्रो तहका नेताहरूबाट काममा सोचे जस्तो सहयोग प्राप्त नभएको संकेत गरेका थिए । उनले सुशासनका क्षेत्रमा सरकारले गरेका काममा विपक्षीहरूले समेत धन्यवाद भन्दै गर्दा रैथाने साथीहरूबाट साथ नपाएको खुला गुनासो नै गरेका थिए ।

अनलाइनखबरका तर्फबाट दिपेश शाहीबसन्त बस्नेतले यी लगायत थुप्रै सन्दर्भमा उनीसँग प्रश्न सोधेका छन् । यसअघि माओवादीभित्रको आन्तरिक प्रतिस्पर्धा र समाजवादी केन्द्र लगायत विषयमा हामीले ‘विप्लव’ र ‘अनन्त’सँग छुट्टाछुट्टै वार्ता गरेका थियौं । ‘प्रभाकर’सँगको यो कुराकानी त्यसैको निरन्तरताका रूपमा प्रस्तुत छ :

प्रधानमन्त्री तथा तपाईंहरूको पार्टी अध्यक्ष प्रचण्डले ‘रैथाने’ साथीहरूबाट आफ्ना कामहरूको सकारात्मक प्रचार नभएको गुनासो गर्नुभएछ । खास कुरो के हो ?

अध्यक्षले गुनासो गर्नुभएको हो वा के गर्नुभएको हो थाहा भएन । मैले पनि उहाँको भनाइलाई यूट्युबमा हेरेको हुँ । म त्यो दिन कार्यक्रममा उपस्थित थिइनँ । उहाँलाई किन त्यस्तो लाग्यो थाहा छैन ।

हामी उहाँकै साथमा छौं र हरेक कदममा कदम मिलाएर काम गरिरहेका छौं । प्रचण्ड आज जुन ठाउँमा हुनुहुन्छ, त्यसमा आम नेपाली जनताको भूमिका छ । हजारौं कार्यकर्ताको योगदान छ । हामी पनि त्यही कार्यकर्तामध्ये पर्छौं । उहाँलाई के भ्रम पर्‍यो वा के लाग्यो ? छलफल भएको छैन ।

मैले प्रचण्डलाई पहिलो पटक २०४२ सालमा भेटेको हुँ । त्यतिबेला नै मैले उहाँसँग छलफल गरेको थिएँ, नेपालमा सामन्तवाद र राजतन्त्रको अन्त्य र क्रान्ति सम्पन्न कसरी हुन्छ ? यो गर्ने कि नगर्ने भनेर प्रश्न सोध्ने मान्छे हुँ । उहाँले मलाई ४५ मिनेट लगाएर त्यसको जवाफ दिनुभएको थियो । उहाँको जवाफ मलाई चित्त बुझेपछि मैले प्रचण्डप्रति मेरो आस्था त्यहाँबाट बढेको हो । त्यसबेलादेखि आजसम्म सकारात्मक, राम्रा हरेक कामको पक्षमा र संकट पर्दा सबभन्दा नजिकबाट खडा भएर मद्दत गर्नेमध्ये एक हुँ । त्यो कुरा उहाँलाई नै सोध्दा पनि सायद होइन भन्न सक्नुहुन्न ।

मेरो अनुभूति यो, हो । तर उहाँलाई के लागेर भनिदिनुभयो, थाहा छैन । हिजो मात्रै उहाँले म अलि भावुक छु, सेन्टिमेन्टल छु भनेर भन्नुभयो । कुनै सेन्टिमेन्टमा आएर भन्नुभयो होला भनेर सामान्य रूपमा नै लिएको छु ।

यति निकट सम्बन्ध भएका पार्टी अध्यक्षले भन्नुभएको कुरा तपाईंहरूबारे लामो समययताको रियलाइजेसन र बुझाइबाट पो आयो कि ?

रियलाइजेसन कसरी भयो भन्ने हो । २०४२ सालदेखि आजसम्म हरेक कदम, नीतिनिर्माण, विचार निर्माण, संगठन निर्माण, युद्ध, आन्दोलन, संविधानसभा, संविधान निर्माण, त्यसपछिका चुनाव, जन परिचालन, कार्यकर्ता परिचालन र अन्य योजनामा पनि निरन्तर मद्दत पुर्‍याउँदै आएको कुरा आम कार्यकर्तालाई थाहा छ । जनतालाई पनि थाहा छ । उहाँले लेखेका हिजोका दस्तावेजमा पनि यी कुरा इंगित छन् । उहाँका भाषणमा पनि छन् । अस्ति आएर  फ्याट्टै ‘रैथानेहरूले के-के गरे’ भनेर भनेको कुरा सुनियो ।

प्रचण्डले देव गुरुङलाई महासचिव बनाउने बेला पनि तपाईं र वर्षमान पुन जस्ता रैथानेलाई होइन, बाहिरबाटै मौका दिनुभयो । अहिले विप्लवलाई पार्टीमा ल्याउने चर्चा चल्दै गर्दा तपाईंहरू पदीय व्यवस्थापनमा असन्तुष्ट बनेको सुनिन्छ नि !

हाम्रो पार्टी बहुपदीय भए पनि एकपदीय कार्यकारी छ । रूपमा बहुपदीय छ, तर सारमा एकपदीय छ । त्यो भनेको प्रचण्ड नै हो । उहाँले नै त्यो निर्णय गर्नुहुन्छ ।

हामीले उहाँलाई आफ्ना सुझाव दिएका हौं । हामीले माग गरेको पनि होइन, हामीले हामीलाई नै बनाउनुस् भनेका पनि होइनौं । मलाई पनि भन्नुभयो, अनन्तलाई पनि भन्नुभयो । अरू पनि क-कसलाई भन्नुभयो ।

पछि बनाउने क्रममा हामी दुई जनाको मिलेन कि भन्ने जस्तो आएपछि अनन्तजी र मैले ‘हामी दुईजनामध्ये जसलाई बनाए पनि हामीलाई स्वीकार्य छ’ भनेर भनेका थियौं ।

पछि उहाँले देव गुरुङलाई बनाउनुभयो । हामीभन्दा सिनियर मान्छे महासचिव बन्दा हाम्रो आपत्ति थिएन, हामीलाई नभई नहुने पनि थिएन । हामीले सहजै स्वीकार गर्‍यौं । पार्टीको काममा लाग्यौं ।

तपाईंहरूले कहाँ सहजै स्वीकार गर्नुभयो र ? झन् तपाईंले उपमहासचिव पद नै छोडिदिन्छु भनेर चुनौती दिनुभएको होइन र ?

पार्टीमा त मैले आफ्नो मत राख्ने कुरा भइहाल्यो । आफ्नो मत राख्ने अधिकार पार्टीमा हुन्छ । पार्टीको कुरा भनेको ‘अभिव्यक्तिमा स्वतन्त्रता, कामकारबाहीमा एकरूपता’ भन्ने हो । यो नीतिअन्तर्गत आफ्नो कुरा राखियो ।

तर प्रचण्डले तपाईंलाई उहाँकै शैलीमा भावुक बनाउँदै उपमहासचिवमा कायम गराइछाड्नुभयो, होइन ?

होइन, मनाउने-नमनाउने कुरा होइन । मैले आफ्नो मत राखें, आफ्नो काम गरिरहेको छु ।

तपाईंले चुनाव जितेर रुकुमबाट फर्किएपछि पार्टीमा परिवारवाद हावी भयो भनेर भन्नुभएको थियो । त्यो गुनासो पार्टी अध्यक्षसँगै लक्षित थियो ?

मैले त्यस्तो गुनासो गरेको त थाहा छैन । मैले निर्वाचनसँग सम्बन्धित कुराहरू गरेको थिएँ । मैले देशैभरि सबभन्दा बढी प्रतिशत मत ल्याएर चुनाव जितें । त्यही कुरा मात्रै मैले राखेको थिएँ ।

साथै, पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्छ, कार्यकर्ताका तमाम गुनासा छन् । पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्छ, संगठन सुदृृढ गर्नुपर्छ भनेको थिएँ ।

तपाईंले राखेको यो प्रस्तावको सम्बोधन हुने अवस्था माओवादीभित्र छ कि छैन ?

हाम्रो पार्टीका सात वटा भौगोलिक र तीनवटा गैरभौगोलिक गरेर १० वटा प्रदेश छन् । तीन वटा प्रदेशमा मैले संगठन विभागको तर्फबाट दुई महिनाको समय लगाएर सबै नेता, कार्यकर्ता, युवा र जनवर्गीय संगठनका साथीहरूसँग अन्तरक्रिया गरेको छु ।

पार्टी निर्माण कसरी गर्ने, हाम्रा समस्या के हुन्, सच्याउनुपर्ने कुरा के हो भनेर अन्तरक्रिया गरें । उहाँहरूको भनाइको सार के छ भने, हामी पदाधिकारीलाई पार्टीको विधान मानेनौ भन्ने छ । विधि मान्दैनौ, पद्धति मानेनौ त्यसैले पार्टी बनेन भन्ने छ । आफूलाई मन परेका मान्छेलाई केन्द्रीय सदस्य बनाइदिन्छौ, विधान मिच्छौ भनेर हामीलाई भनिएको अवस्था छ । पहिले त्यहाँबाट सच्याउनुपर्‍यो, विधि मान्ने पार्टीले पहिले विधि मान्नुपर्छ भन्ने सुझाव आएको छ । यस विषयमा पार्टी अध्यक्षसँग पनि छलफल भएको छ ।

यसैअनुसार पार्टीको विधि, मूल्य, मान्यतालाई स्थापित गरेर जाने गरी हामी सबै तयारीमा छौं । हाम्रो बैठक साउन १७ गते बस्दैछ । केन्द्रीय समितिमा नै यस विषयमा छलफल गर्ने गरी हामी अगाडि बढ्दैछौं ।

संगठन विभागको नेतृत्वमा रहँदा तपाईंले लामो समयसम्म बैठक नै राख्नुभएन भन्ने गुनासो सुनिन्थ्यो नि !

यस्तो गुनासो आएको मलाई थाहा छैन । मैले संगठनको बैठक राखिराखेको छु । पार्टीको बैठक बस्नुपूर्व संगठन विभागको बैठक राखेर, आफ्ना सुझाव र प्रतिवेदन बुझाइराखेका छौं । अहिलेसम्म पाँच-सात वटा प्रतिवेदन बुझाइसकेका छौं ।

अहिले पनि अध्यक्षले तयारी गर भनेर निर्देशन दिनुभएको छ । हामी केही दिनअघि मात्रै बैठक बस्यौं । हामी पुनः छिट्टै बसेर पार्टीको संगठनात्मक प्रतिवेदन बुझाउँदै छौं । त्यसैले हाम्रो बैठक अरूको भन्दा बढी नै बसिरहेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समाजवादी मोर्चा हुँदै पार्टी एकतामा आउँदै हुनुहुन्छ भन्ने चर्चा छ । तपाईंले आन्तरिक कार्यक्रममा विप्लवको विगतको समीक्षा हुनुपर्ने माग उठाउनुभएको रहेछ । के प्रगति हुँदैछ ?

यी मोर्चा आदि भन्दा पनि यत्रो संविधान जे बनेको छ, जुन अधिकार लेखिएका छन् र स्थापित भएका छन् त्यसका लागि अध्यक्ष प्रचण्डको नेतृत्वमा भएको त्याग र बलिदानलाई आम जनतासम्म सशक्त ढंगले स्थापित गर्न नसक्नु हाम्रो कमजोरी हो

विप्लव पार्टी फुटाउनेतिर लागिरहँदा मैले करिब दुई महिनाभन्दा बढी समयसम्म त्यतिबेला हरेक दिन छलफल गरेको थिएँ । पार्टी नफुटाउनुस्, त्यो गल्ती हुन्छ, यहीं बसेर संघर्ष गरौं, छलफल गरौं, पार्टी सुदृढ गरौं र अगाडि बढौं भनेको थिएँ । उहाँले पार्टी फुटको निर्णय गर्ने अन्तिम दिन पनि मैले उहाँसँग छलफल गरेको थिएँ । उहाँले मान्नुभएन ।

यो पार्टीबाट सम्भव छैन, क्रान्ति हुँदैन, अगाडि बढ्दैन भनेर भन्नुभएको थियो । मैले उहाँलाई सम्झाउन सकिनँ । अन्ततोगत्वा उहाँले पार्टी फुटाउनुभयो ।

त्यसपछि पनि पटक पटक मैले छलफल गरेको छु । छलफलमा मैले पार्टी फुटाएर तपाईंले गल्ती गर्नुभयो भनेर भनेको छु । यसले गर्दा आन्दोलन कमजोर भयो, यत्रो परिवर्तनकारी आन्दोलनका एजेन्डा स्थापित गर्नेबेला तपाईं अर्कोतिर लागेर बिगि्रयो भनेको छु । त्यसपछि उहाँ भूमिगत हुनुभयो । त्यो समयमा आठ-दश जनाको ज्यान गयो । एकीकृत क्रान्ति भनेर सुरु गर्नुभयो । यी तमाम कुराहरू भए । अहिले आएर अस्ति भर्खरै मात्रै पनि मैले छलफल गरें ।

माओवादी विभाजन भएकै दिनदेखि म माओवादी एकता अभियान चलाउने मान्छे हुँ । माओवादी पुनर्गठन अभियान भनेर सुरु गरें, अरू सबै साथीहरूलाई जम्मा गरें, छलफल गर्दागर्दा रामबहादुर थापा, देव गुरुङलाई यो पार्टीमा भित्र्याएँ । हितमानजी आउनुभयो, फेरि चुप लागेर बसेपछि सक्रिय बनाउने, देवेन्द्र पौडेलजीलाई यहाँ ल्याउने काम मैले त्यही पुनर्गठन अभियान मार्फत गरेको हुँ । मैले सबै वातावरण मिलाएर ‘ल अध्यक्ष कमरेड एकता गरौं’ भन्दै जोड्दै आएको अवस्था हो ।

आज विप्लवजीलाई पनि यो पार्टीमा ल्याउने कुरामा मेरो सकारात्मक भूमिका हुन्छ । उहाँ आउनुपर्छ । तर कस्तो अप्ठेरो छ भने उहाँ यो पार्टीमा आउन चाहे पनि उहाँकै कार्यकर्ताले प्रश्न गरिरहेका छन् । समस्या उहाँलाई छ ।

किन हिजो पार्टी फुटाएको भनेर प्रश्न गरिराखेका छन् । उहाँसँग जोडिएका मान्छे हामीसँग पनि आउँछन् । कुरा हाम्रो पनि हुन्छ ।

तर मैले उहाँलाई भनेको छु, अहिले संविधान, लोकतान्त्रिक गणतन्त्र, यसको संसदीय व्यवस्थाबाट अघि बढौं । यसको विकल्प छैन । आउनुस् यही बाटोबाट एकताबद्ध भएर जाऔं भनेर भनेको छु ।

उहाँले अगाडि सारेको कार्यदिशालाई छाडेर संसदीय मान्यतालाई स्वीकार गरेर आउँदाखेरि हामी सहज रूपमा एकताबद्ध गरेर जाने नै हो । कुनै अन्यथा हुँदैन ।

यो भनेको त माओवादी केन्द्रसँग एकता होइन, खुरुक्क पार्टीमा फर्किने भन्नुभएको ?

जसरी हिजो रामबहादुर थापा ‘बादल’, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेलजीहरू फर्किनुभयो त्यसै गरी फर्किने । पार्टी प्रवेश, एकता जे भने पनि उहाँहरू त्यसरी नै आउने हो । आउनुस् भनेर मैले पनि भनेको छु, अध्यक्षले पनि भन्नुभएको छ ।

यसमा हाम्रो अध्यक्षको भाषामा हामी सबै रैथाने माओवादीहरू सकारात्मक छौं ।

बाबुरामजीलाई पनि ल्याउनुपर्छ भनेका छौं । उहाँलाई ल्याउने भनेर त मैले नै छलफल गरेको छु । बाबुरामसँग एकता गर्ने निर्णय नै भएको हो । अहिले ढिलो भइरहेको छ ।

बाबुराम, विप्लव, गोपाल किराँती, विश्वभक्त दुलाल, सुदर्शन, धर्मेन्द्र र किरणजी लगायत थुप्रै साथी हुनुहुन्छ । उहाँहरू सबैलाई ल्याउने, फर्काउने हो । त्यसमा म निरन्तर लागेकै छु ।

अहिले त विप्लवसँग एकता गरेर पार्टीको महासचिव बनाउने, प्रचण्ड अध्यक्ष हुने भनेर चर्चा भइरहेको छ । त्यसो हुँदा यसअघि महासचिवका आकांक्षी रहनुभएका वर्षमान पुन र जनार्दन शर्मा असन्तुष्ट हुनुहुन्छ र एक ठाउँमा आउनुभएको भन्ने कुरा सही हो ?

आकांक्षी भन्ने कुरा होइन । त्यो भोलिको होइन, हिजोको महासचिवको कुरा हो । हिजोको महासचिवको कुरा गरेकै हो, अध्यक्षले भन्नुभएको थियो । वर्षमान र म भएर हामीले स्पष्ट भनेको पनि हो ।

वर्षमानले त पछिल्लो स्थायी समिति बैठकमा नै ‘जनार्दनलाई दिनुस्, किन तेस्रो मान्छे खोज्नुहुन्छ ? म स्वीकार्न तयार छु’ भनेर भन्नुभएकै थियो । यो त्यतिबेलाको कुरा हो । अहिले महासचिव खोजेका छैनौं । वर्षमानजीले के गर्नुभएको छ, उहाँले भन्नुहोला । मैले खोजेको छैन ।

अब विप्लवलाई ल्याउँदा जे पद दिए पनि भयो । अध्यक्षले दिंदा त महासचिव दिनुहुन्छ कि अध्यक्ष दिनुहुन्छ कि के दिनुहुन्छ, त्यो उहाँको कुरा हो । उहाँले दिनुहोला । त्यसमा केही प्रश्न छैन ।

प्रश्न के हो भन्दा पहिला त उहाँले परित्याग गरेर लिएको बाटो गल्ती थियो, पार्टी फुटाउनु गल्ती भयो भनेर महसुस त गर्नुपर्ला नि ! आत्मसमीक्षा गर्नुपर्ला ।

आत्मसमीक्षा गरेर यही बाटोबाट जाने हो भनेर आउँदा हामी सहज रूपमा पार्टी एकता गरेर जाने हो । त्यसमा कुनै अन्यथा छैन ।

विप्लवले पनि तपाईंहरू हिंडेको बाटो बढी संसदवादी भयो, यसले गर्दा पार्टीले भनेको क्रान्ति सही बाटोबाट हिंड्न सकेन र सबैले आत्मसमीक्षा गर्नुपर्छ भनेका छन् । कम्युनिस्ट आन्दोलनमा सबैले समीक्षा गर्दा एमाले पनि एकतामा आउँछ भन्ने उनको मत छ । तपाईंहरू आत्मसमीक्षा गर्नुहुन्छ ?

एमालेलाई उहाँले ल्याउनुहुन्छ कि के गर्नुहुन्छ, थाहा छैन । एमाले उहाँले भनेर आउने होइन, आउँदैन । एमालेको आफ्नो कन्भिक्सन र बाटो छ । आफ्नो ढंगले अघि बढेको पार्टी विप्लवजीले भन्दैमा एमाले एकता गर्न आउँछ जस्तो मलाई लाग्दैन ।

हिजोका माओवादीहरू यो पार्टीको अहिले भएको लाइन, आन्दोलन र महत्वलाई नबुझेर जो विभाजनमा जानुभएको थियो ती सबै साथीहरूलाई फर्काएर यही बाटोमा ल्याउनेमा हाम्रो पूरै मिहिनेत छ । हाम्रो सक्रियता र सहमति छ । हामी ल्याउन चाहन्छौं ।

किरणजीलाई पनि ल्याउन चाहन्छौं, तर उहाँ मान्नुभएको छैन । विप्लवजी हो कि, हो कि जस्तो गरिराख्नुभएको छ । तर उहाँकै पार्टीभित्र पनि समस्या छन् । हिजो सँगै काम गरेका मान्छे, आज पनि सँगै काम गर्नमा हामीलाई त कुनै आपत्ति छैन ।

भनेपछि पदीय व्यवस्थापनले अड्किन सक्ने देखियो है ?

पद मागेरै उहाँ आउनुहुन्छ भने त मलाई केही भन्नु छैन । आन्दोलन चाहिएको हो कि पद चाहिएको हो ?

पद त अध्यक्षले दिने हो, दिन सक्नुहुन्छ । यो ठूलो कुरा होइन ।

उहाँ अर्को पार्टीको प्रमुख भएर बसेको व्यक्ति यहाँ पनि त्यसको कुरा त आउला नि !

उहाँले त एउटा अन्तर्वार्तामा अध्यक्ष हुन सकिन्छ भनेको पनि मैले सुनेको थिएँ । अध्यक्षले अध्यक्ष नै बनाउनुभएछ भने पनि त्यो बनाउनुहोला । त्यो अर्कै कुरा हो ।

अहिले पदको कुरा नगरौं । पहिले हाम्रो संविधानको कुरा हो । संविधानले समाजवादको कुरा गरेको छ । समावेशिता, संघीयता, मौलिक अधिकारदेखि सबै अधिकारका कुरा उठाएको छ । हिजोको आन्दोलनमा तीन वटा नारा थिए । हामीले २०४८ सालमा निर्वाचनमा भाग लिंदा होस् वा २०५२ सालमा मागपत्र बुझाउँदा वा जनविद्रोहमा जाँदा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका नारा थिए ।

यी तीन वटै नाराको विस्तारित रूप नै संविधानसभा हो । संविधानसभाले ती नारा र अधिकारलाई जनतामा ल्याउने काम गर्‍यो । राष्ट्रियता त सधैं सुदृढ गरिराख्नुपर्छ । यसको आफ्नै महत्व छ । दोस्रो, जनतन्त्र भनेको जनताको अधिकार । जनताले निर्वाचित गरेर बन्ने कार्यकारी प्रमुख आदित्यादि र सबै कुरा । जनजीविका भनेका जनताका दैनिक जीवनसँग जोडिएका विषय । यिनै मुद्दाहरू हुन् जो संविधानले प्रष्ट उल्लेख गरेको छ ।

अब त्यसलाई कार्यान्वयन गर्नुपर्नेछ । त्यसका लागि माओवादी पार्टी एकताबद्ध हुनुछ । त्यतिले मात्रै पुग्दैन संसदमा भएका सबै पार्टीहरू यो संविधानलाई कार्यान्वयन गर्नका लागि एकताबद्ध हुनु आजको आवश्यकता हो ।
त्यसका लागि हामी त कांग्रेससँग सहकार्य गर्छौं, अरूसँग गठबन्धन गर्छौं भने विप्लवजीसँग पार्टी एकता गर्ने कुरामा दुईमत नै हुँदैन ।

कांग्रेससँग माओवादी केन्द्र भएर सहकार्य गर्न सजिलो थियो कि समाजवादी मोर्चा भएर ?

माओवादी केन्द्रले नै कांग्रेससँग सहकार्य गरेको हो । समाजवादी मोर्चा बनाउनेमा गठबन्धन दलको सहमति भएको होला, कांग्रेसकै पनि सहमति छ जस्तो लाग्छ । त्यसमा पनि उसको विमति हुने कुरा भएन ।

समाजवादी मोर्चा बनेको छ । सातबुँदे आधारपत्र तयार भएको छ । समाजवादका आ-आफ्ना व्याख्या छन् ।

संविधानले समाजवाद भन्यो, तर व्याख्या गरेको छैन । एउटा व्याख्या वामपन्थी खालको आधुनिक वैज्ञानिक समाजवाद भन्ने छ । एउटा लोकतान्त्रिक समाजवाद भन्ने छ । दुवै लोकतान्त्रिक हुन् हुन त ।

यही व्याख्याको अन्तर हो । त्यो पनि एकपछि अर्को उन्नत हुँदै जाने हो । संविधानले त्यो अधिकार दिएको छ । अहिले यो वैज्ञानिक समाजवाद भन्न चाहनेहरूको मोर्चा हो ।

उपेन्द्र यादव पनि वैज्ञानिक समाजवाद भन्ने व्याख्यामा तयार हुनुहुन्छ ?

तयार भएर त समावेश हुनुभएको होला । बरु यसमा बाबुरामजीलाई पनि ल्याउने कुरा थियो, उहाँ आउन चाहनुहुन्थ्यो । तर बाबुरामजीलाई यहाँ सामेल गराइएन । मैले सामेल गराउनुपर्छ भनेर राखेको हुँ ।

उपेन्द्रजीले त्यति सहमत हुनुभएन । उहाँलाई पनि क्रमशः यसैमा सामेल गराउनुपर्छ, ल्याउनुपर्छ ।

उपेन्द्र यादवले त नेपालमा कम्युनिस्ट नै छैनन्, वैज्ञानिक समाजवाद भन्ने खालका कुरा नगरौं भन्नुभएको छ । तपाईं र उहाँले गरेको व्याख्या त मिलेन हैन ?

त्यसो भए तपाईंहरूसँग गरेको व्याख्या र गठबन्धनमा गरेको व्याख्या फरक पर्‍यो होला ।

प्रचण्ड पनि कमरेड भन्ने, माधव नेपाल पनि कमरेड भन्ने । तर उहाँले कोही कम्युनिस्ट नै छैनन् भनेपछि त कसरी मिल्यो र ?

कमरेड त सबै कमरेड हो । कमरेडको अर्को पर्यायवाची शब्द साथी भनेको न हो ।

तर गठबन्धनको बैठकमा गएर शेरबहादुर देउवालाई पनि कमरेड त भनिन्न होला नि !

शेरबहादुर देउवालाई पनि कमरेड भन्यो भने केही बिगिं्रदैन । किनभने, उहाँ पनि साथी नै हो नि त ! हामीले साथी भन्न मिलेन, उहाँ हामीभन्दा सिनियर हो । प्रचण्डले त कमरेड शेरबहादुर भनेर बोलाउँदा पनि फरक पर्दैन ।

बाबुराम भट्टराईसँग त मोर्चाभन्दा पनि पार्टी एकताकै विषय समेत उठेको थियो । तर उहाँ अहिले समाजवादी मोर्चाकै विषयलाई लिएर आलोचनात्मक देखिनुहुन्छ । यसमा प्रचण्ड र बाबुरामको केही नमिलेको भन्ने सुनिन्छ । उहाँसँगको एकताको कुरा के भइरहेको छ ?

यो हिजोकै संघर्षको कारण त होइन । उहाँसँग म र अध्यक्ष समेत बसेर वार्ता गरेका हौं । पार्टी एकताको विषय पनि टुंगो लगाएका थियौं । उहाँले निर्वाचन नलड्ने घोषणा गर्नुभयो । जतिसक्दो सहयोग गर्ने भन्नुभएको थियो । दुई जना सौहार्द वातावरणमा गोरखा जानुभएको थियो । हिजोको पूर्वाग्रह भए त्यति पनि नहुनुपर्ने हो ।

अहिले अलिकति प्राविधिक संकट परेको हो । उपेन्द्रजीले बाबुरामलाई ल्याउन स्वीकार गर्नुभएन । त्यसलाई मिलाउन नसक्दा नै उहाँलाई मोर्चामा ल्याउन नसकिएको हो ।

त्यसो हुँदा उहाँलाई समाजवादी मोर्चा भनेर सुरु गर्ने म, मलाई नै समावेश नगर्ने भनेपछि फरक महसुस हुनु स्वाभाविक हो । तसर्थ उहाँले अहिले विभिन्न कुरा भनी पनि राख्नुभएको छ ।

तर उहाँ र हाम्रो बीचमा पार्टी एकतासम्म गर्ने भन्ने सल्लाह भएको हो । सहमति नै भएको । त्यही भएर एउटै चुनाव चिहृनमा चुनाव समेत लडेका हौं । महिन्द्र राय यादव सांसद नै हुनुहुन्छ । गंगानारायण श्रेष्ठ प्रदेश सांसद हुनुहुन्छ । अरू समानुपातिक सांसद पनि हुनुहुन्छ ।

उहाँलाई हामी मोर्चामा पनि समावेश गर्छौं र पार्टी एकतामा पनि समावेश गर्छौं ।

राष्ट्रपतिको निर्वाचनको समयमा प्रचण्डले बाबुरामलाई राष्ट्रपतिका लागि प्रस्ताव गर्नुभयो । त्यसपछि बाबुराम अलिकति सक्रिय भएपछि प्रचण्ड झस्किएर विचारको कुरा मात्रै गर्छु भन्ने पद खोज्नुभयो भनेर टाढिनुभयो भन्ने छ । अहिले बाबुरामको पार्टीले त गोरखाको चुनावमा प्रचण्डले जित्नका लागि धोका दिएको समेत आरोप लगाएको छ नि !

यो उहाँहरू दुई जनाको कुरा हो । मलाई सबै थाहा छैन । राष्ट्रपति बन्ने भनेको पार्टीको भन्दा पनि समग्र देशको कुरा हो । नेताहरूलाई राष्ट्रपति बन्न पाउँदा इच्छा लाग्नुलाई म अन्यथा मान्दिनँ । कतिसम्म उहाँहरूको कुरा भएको हो भन्ने मलाई जानकारी छैन ।

चुनावपछि सरकार गठनको विषयमा वर्षमान पुन र तपाईं एक जना कांग्रेससँग छलफल गर्न बालुवाटार र अर्को जना एमालेसँग छलफल गर्न बालकोट जानुभएको थियो । तपाईंहरूलाई के कति प्रस्ताव गरियो भन्ने पक्कै थाहा छ होला नि !

वर्षमानजीले के जिम्मा लिनुभयो भन्ने मलाई थाहा छैन । अध्यक्षले मलाई बालुवाटार गएर वार्ता गर्न भनेपछि मैले गरेको हुँ । उहाँको निर्देशनलाई कार्यान्वयन गर्नुपर्थ्यो ! शेरबहादुर, पूर्णबहादुर, ज्ञानेन्द्र कार्की लगायत थुप्रै नेतासँग वार्ता गरेको हुँ ।

सरकार गठनको विषयमा तत्काल अनन्तले सफलता पाए पनि पछि तपाईंले जिम्मा पाएको कांग्रेससँगको सहकार्य नै अगाडि बढ्यो है ?

त्यस्तो होइन । यो सफलता र असफलताको कुरा होइन । अध्यक्षले वार्ता गर भनेपछि गरेको हुँ । वर्षमानले पनि वार्ता गर्न भनेपछि गर्नुभयो होला । मलाई थाहा छैन । मैले वार्ता गरेर पूरा पनि गरें ।

तपाईंले केपी शर्मा ओलीलाई संसदबाट आफ्नो सहयोगबाट दुईपटक प्रधानमन्त्री बनेको भनेर जवाफ दिनुभयो । फेरि पनि तपाईंले आफ्नो सहयोग विना प्रधानमन्त्री हुन सम्भव छैन भन्ने हेक्का राख्न भन्नुभयो । प्रधानमन्त्रीले पनि सरकारको आयु के हुन्छ भनेर भन्नुभएको थियो । केपी शर्मा ओलीले पनि सरकारको भविष्यमाथि प्रश्न उठाइरहनुहुन्छ । यी तीन वटा कुराको केही संगति छ कि फरक कुरा हुन् ?

बाहिर नेकपा बन्छ भन्ने जुन हल्ला छ, त्यो विल्कुल बन्दैन । त्यो परिस्थिति छैन । मनोगत चाहनाले हुने होइन, वस्तुगत परिस्थितिले बन्ने हो । अहिले नेकपा बन्ने वस्तुगत परिस्थित छैन ।

हिजो एमालेसँग सहकार्य गरेर प्रधानमन्त्री प्रस्ताव गरेपछि अहिले हामीले कांग्रेससँग गठबन्धन बनाएका छौं । यस्तो अवस्थामा नेकपा बन्छ भनेर कसरी मैले विश्वास गरुँ । यो बन्दैन अहिले । राजनीतिक चर्चाको कुरा त हुनेभयो । तर नेकपा अहिले बन्दैन ।

यो त तपाईंकै पार्टी अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले चर्चा गरेको विषय होइन र ?

जसले गरे पनि एमाले सहित हिजोकै नेकपा बन्दैन । छुट्टै नेकपा त बन्न सक्छ ।

यो नेकपा बन्ने वा समाजवादी मोर्चा बन्ने कुराको जे चर्चा चलिरहेको छ यसका पछाडि पछिल्ला निर्वाचनमा उदाएका नयाँ दल र व्यक्तिहरूसँगको त्रास हो ?

यो प्रणालीमा जनताको जनमत जसले पाउँछ ऊ अगाडि आउने स्वाभाविक हो । त्यसमा तर्सिनुपर्ने केही कुरा छैन । जनताले जनमत जसलाई दियो त्यो अगाडि आउने हो । हिजो कोही आए, आज कोही आए, भोलि कोही आउँछ, फेरि कोही आउला । यो लोकतन्त्रको निरन्तर प्रक्रिया हो । आत्तिनु पर्दैन ।

यी मोर्चा आदि भन्दा पनि यत्रो संविधान जे बनेको छ, जुन अधिकार लेखिएका छन् र स्थापित भएका छन् त्यसका लागि अध्यक्ष प्रचण्डको नेतृत्वमा भएको त्याग र बलिदानलाई आम जनतासम्म सशक्त ढंगले स्थापित गर्न नसक्नु हाम्रो कमजोरी हो । त्यसलाई स्थापित गर्दै अहिले पार्टीको मूल टीममा रहेका हामीले अर्को पंक्तिलाई छोड्दै जानुपर्थ्यो । नयाँलाई ल्याउनुपर्थ्यो ।

हाम्रो आन्तरिक सुधार गर्ने र हाम्रा मुद्दा जनतामा स्थापित गर्दा यो वा त्यो शक्तिसँग मिलेर होइन, आफैं आफ्नो बलमा जनताको बीचमा प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्ने खालको पार्टी बनाउन सकिन्छ । यो बनाउने मिसनमा म लागेको छु । त्यो बन्दै गर्दा मोर्चाको कुरा सहायक हो ।

अहिले सरकारले गरेका महत्वपूर्ण कामलाई जनतामा स्थापित गर्दै जानुपर्छ । कसैसँग मिलेर होइन आफू एक्लै पार्टीले चुनाव लडेर जित्ने अवस्था बनाएर जानुपर्छ भन्ने मेरो मान्यता हो ।

पछिल्लो चुनावमा तपाईंकै पार्टीका कैयौं युवा नेताले अर्को पार्टीबाट चुनाव लड्नुपर्ने अवस्था बन्यो । भन्न चाहिं एक्लै चुनाव जित्ने भन्ने, तर कार्यकर्ता असन्तुष्ट भएर छोड्दै जाने अवस्था बनिरहेको बारे के सोच्नुभएको छ ?

हामीले सच्याउनुपर्ने धेरै कुरा छन् । पहिलो त पार्टीको समग्र विधि, पद्धतिलाई स्थापित गर्ने कुरा र संरचनालाई स्थायित्व बनाएर चुस्त कमिटी बनाउने लगायत कुरा छन् । सरकारमा बसेर गर्दाका कामहरूलाई जनतामा स्थापित पनि गर्नुछ । विकास र समृद्धिको नेतृत्व गर्ने र गरिब वर्ग, हिजो जनविद्रोहमा सहयोग गर्ने वर्गलाई माथि उठाउने कुरा सच्याउनुपर्नेछ ।

प्रक्रियाका कराण टिकट बाँड्दा कहीं तल-माथि भयो होला । अलि निकटका व्यक्तिलाई ल्याउने र टिकट दिने काम भएको छ । सबैले गरेका होलान् । ती तमाम कुरालाई सच्याएर विधिले निर्धारण गर्ने नहुँदा ती असन्तुष्टि पैदा भएका हुन् । विधिबाट काम गर्दा ती सबै समस्याको समाधान निस्किन्छ ।

सरकार कति लामो जान्छ ?

गठबन्धनको सहमति अनुसार पूर्ण समयसम्म रहन्छ ।

गठबन्धनमा के सहमति छ ?

पाँचै वर्ष सञ्चालन गर्ने भन्ने छ ।

कसरी गर्ने भन्ने छ ?

त्यो मुख्य नेताबीच छलफल भएर अगाडि बढ्ने भन्ने छ । मलाई त्यस विषयमा जानकारी छैन ।

तपाईंले विधिबाट चलाउने कुरामा असाध्यै गम्भीर ढंगले चासो देखाउनुभयो । तर कोशीमा सरकार बनाउने क्रममा सभामुखकै भोट प्रयोग गर्नुभयो । गर्ने र बोल्ने भन्ने कुरा फरक-फरक हुने हो ?

सभामुखले निर्णायक मत हाल्ने मान्यता छ । मैले बुझेको त्यत्ति हो । यो नीतिगत कुरा हो ।

त्यो त संसदमा मत विभाजन गर्दा पो हो । मुख्यमन्त्री नियुक्तिमा त कहाँ हो र ?

यसमा लामो कुरा भन्दा पनि मैले सभामुखका सम्बन्धमा भएको र आफूले बुझेको व्यवस्था बताएको ।

सरकारले सुशासनका क्षेत्रमा गरेका कामका बारेमा के टिप्पणी छ ?

सरकारले गरेका सबै कामहरू सही छन् । पछिल्लो समय सरकारले गरेको ललितानिवास लगायत प्रकरणमा गरेको कामको पनि समर्थन गर्छु र सशक्त रूपमा अगाडि बढाउनुपर्छ ।

तर एउटा सोच्नुपर्ने विषय पनि छ । एउटाले आदेश दियो, अर्कोले कार्यान्वयन गर्‍यो, त्यो पनि टिप्पणी उठाइदियो । त्यो उठाएको १७ वर्षपछि आज एउटा सचिवलाई जसरी गिरफ्तार गरियो त्यो उहाँमाथि अन्याय भएको छ । मुख्य कुरा दोषीलाई कारबाही गर्नुपर्छ । तल-माथि गरिनुहुन्न ।

दिनानाथ शर्मामाथि पक्राउ पुर्जी जारी भयो भन्ने आयो । उहाँ त्यो बेला शिक्षामन्त्री हुनुहुन्थ्यो । शिक्षा समितिको बैठकमा बसेको कारण उहाँलाई पनि पुर्जी काट्न मिल्छ त ?

यहाँनेर अनुसन्धानकर्ताले मुख्य समस्या कहाँ हो भनेर ध्यान दिनुपर्छ । घुन पिस्ने काम गरियो भने कर्मचारीतन्त्रमा ठूलो प्रभाव पर्छ ।

गृहमन्त्रीलाई यस विषयमा भन्नुभएको छैन ?

मैले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइसकें ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सीधै भन्ने परिस्थिति छैन ?

छ, किन नहुनु ? तर प्रधानमन्त्रीसँग भेट भयो, मैले उहाँलाई नै भनें । एउटा सचिवको कुनै दोष छैन । दोष नभएको मान्छेलाई पनि त्यहाँ हालिएको छ । त्यो कुरा मिलेको छैन ।

भिडियो र तस्वीर : आर्यन धिमाल

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?