+
+
Shares

प्रचण्डको विकल्प खोज्ने जनार्दनको असफल प्रयास

‘मैले त्यो विषय उठाए बापत के भोग्नु पर्‍यो त ? एक पटक मलाई एक्लै भन्नुभयो– तँ अर्को पार्टी खोल, तँ मलाई डिस्टर्ब नगर, तँ अन्त जा । अर्को पटक दशौं हजार जनताको बीचमा गए पनि हुन्छ भन्नुभयो अध्यक्ष कमरेडले’ शर्माले बैठकमा भने ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ असोज १२ गते २१:३५

११ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले शुक्रबार पार्टीको सबै कमिटीहरू भंग हुनुअघि केही प्रश्न सोधे, केही जवाफ दिए ।

शर्माले अर्को प्रचण्ड बन्न खोजेको नभई प्रचण्डपछिको अर्को प्रचण्ड खोज्ने प्रयास गरेको प्रष्टीकरण दिए । आफ्नो जवाफलाई बलियो बनाउन उनले गरेको तर्क थियो, ‘प्रचण्डले मात्रै नेतृत्व छाड्ने भनेको होइन, उहाँले जति नभए पनि दुई तीन दशकदेखि नेतृत्वमा रहेका सबैले छाडौं भन्ने हो । मैले पनि छाड्ने हो ।’

माओवादीको युद्धकालीन दस्तावेज २१ औं शताब्दीको जनवादमा पनि नेतृत्व विकास बारे प्रस्ताव गरिएको उनले बताए ।

अध्यक्षबाट प्रचण्डलाई हटाएर आफू आउन खोजेको रूपमा नबुझिदिन समेत शर्माको आग्रह छ । ‘अध्यक्षलाई हटाएर म आउन खोजेको होइन, मैले प्रष्ट भनेको छु । यो आन्दोलनलाई नयाँ ढंगले संगठित गर्ने भनेको हो,’ शर्माले भने ।

आफूले निर्देशक कमिटी बनाउने प्रस्ताव गरेको उल्लेख गर्दै उनले थपे, ‘निर्देशक कमिटी भनेको हामी आन्दोलनलाई पलायन हुने कुरा होइन । आज आन्दोलनमा विचारको अभाव छ, त्यसलाई हल गर्न तपाईंले समग्र वैचारिक नेतृत्व गर्ने भनेको हुँ ।’

नयाँ पुस्ता नेतृत्व गर्न तयार रहेको उल्लेख गर्दै उनले सोधे, ‘जस्ता–तस्तै प्रचण्ड कहाँ पाउने त अहिले ? अर्को प्रचण्ड पाएर अनि नेतृत्वमा उठाएर कसरी ल्याउने त ?’

प्रचण्डपछि पनि माओवादी पार्टी जीवन्त भइराख्नुपर्ने आफ्नो मनसाय रहेको शर्माले प्रष्ट पारे । ‘अर्को प्रचण्ड नभएसम्म उहाँ नै त हो । अर्को नेतृत्व खडा नगर्ने हो भने अहिलेको प्रचण्डपछि के यो पार्टी विघटन हुने हो ? त्यस पछाडि अर्को प्रचण्ड छैन यहाँ ? तपाई मात्रै हो ? तपाई नभएको दिन यो पार्टी विघटन हुने हो ? कि के हो ?’

प्रचण्डकै युद्धकालमा ‘माओले गल्ती गरे, अरूले गल्ती गरे, त्यसकारण जीवित हुँदै नेतृत्व निर्माण गर्नुपर्छ’ भन्ने गरेको प्रसंग उनले स्मरण गराए ।

‘प्रचण्डले पार्टी छोड भने’

विगत केही वर्षदेखि पार्टीका शक्तिशाली अध्यक्ष प्रचण्डविरुद्ध प्रश्न सोधेर चर्चामा रहेका उनले नेतृत्व बारे प्रश्न गर्दा, विकल्प खोज्ने प्रयत्न गर्दा पार्टीभित्र अपमान र अनपेक्षित प्रश्नहरूको सामना गर्नुपरेको दुःखेसो पनि गरे ।

‘मैले त्यो विषय उठाए बापत के भोग्नु पर्‍यो त ? एक पटक मलाई एक्लै भन्नुभयो– तँ अर्को पार्टी खोल, तँ मलाई डिस्टर्ब नगर, तँ अन्त जा । अर्को पटक दशौं हजार जनताको बीचमा गए पनि हुन्छ भन्नुभयो अध्यक्ष कमरेडले’ शर्माले बैठकमा भने ।

प्रचण्डले यति गर्दा पनि आफूले पार्टी नछोडेको शर्माको भनाइ छ ।

उनले भनेका छन्, ‘यो पार्टी अध्यक्षको व्यक्तिगत भए त म हिंडिहाल्नु पर्थ्यो, यो व्यक्तिगत होइन । यो सिंगो रगत पसिनाले बनेको पार्टी हो । त्यसैले यो पार्टीमा मैले अध्यक्षले भन्दैमा हिंड्नु हुन्न भनेर बसिराखेको छु, यहीँ छु ।’

यद्यपि, बैठकमा शर्माले राखेको प्रस्तावले बलियो समर्थन प्राप्त गर्न सकेन । बैठकले पार्टीका सबै कमिटीहरू भंग गरेर मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राख्यो । सबैले आफ्नो पुरानो जिम्मेवारी गुमाए । प्रचण्ड पार्टी संयोजक बने ।

बैठकबाट निस्कँदै गर्दा उनले भने, ‘म आजबाट अध्यक्ष रहिनँ । म अब संयोजक रहेँ ।’

सामाजिक सञ्जालमा उनको चलाखीपूर्ण निर्णयलाई धेरैले व्यङ्ग्य गरेका छन् । ‘प्रचण्डले अध्यक्ष छाड्नुभयो तर पुष्पकमल दाहाल संयोजक बन्नुभयो,’ केही प्रयोगकर्ताले लेखेका छन् । उनीहरूले नेतृत्व छाड्नुपर्ने दबाबलाई छल्ने प्रयास गर्दै चलाखीपूर्वक पार्टीको सबै अधिकार आफैंमा केन्द्रित गरेको टिप्पणी गरेका छन् ।

‘मैले प्रश्न गरेँ, जेनजीले आन्दोलन’

शर्माले बैठकमा आफूले विगतदेखि नै पार्टी र नेतृत्व बारे प्रश्न उठाइरहेको स्मरण गर्दै भने, ‘मैले नेतृत्वको प्रश्न जेन–जी आन्दोलनपछिको परिस्थितिमा उठाएको होइन, दुई वर्ष पहिलेदेखि मैले उठाएको छु ।’

उनले थपे, ‘मैले भनेको थिएँ– विधि, विधान लागू नहुने भयो । संगठन नबन्ने भयो । अध्यक्ष ! तपाईं विधानभन्दा माथि बस्दिनुस्, तपाईं विधानभन्दा माथि बसेर यो संगठनको जिम्मा अर्को कसैलाई दिनुस् ।’

पार्टीलाई गतिशील बनाउन गरिएको पहल नेतृत्वले बेवास्ता गर्दा जेनजी आन्दोलन भएको उनले तर्क गरे ।

संकटको बेला नेतृत्वमाथि प्रश्न गरेको भन्ने आरोपको प्रतिवाद गर्नै शर्माले भने, ‘यो पार्टी बनाउन वैचारिक राजनीतिक सत्ताको काम प्रचण्डले समग्रमा गर्नुस्, यो गरौं भनेर मैले उहाँलाई पहिला राखेकै थिएँ ।’

उनले फ्लोरतिर प्रश्न गर्दै, ‘अहिले आन्दोलनपछि मात्र प्रश्न गरेको होइन । यो पुरानै प्रश्नहरूको निरन्तरता हो । तर दुई वर्ष पहिले तपाईंहरूले अधिकांश विषय ठिक भए पनि नेतृत्वको कुरा नगरौं भन्नुभएको होइन ?’

‘यसरी समाजवादमा पुगिन्छ ?’

शर्माले पार्टी र नेतृत्व उदार नीतिमा अगाडि बढिरहेको र यसरी समाजवादमा नपुगिने टिप्पणी गरे । ‘हामी समाजवादी क्रान्तिका नाममा उदार पुँजीवादी नीति लिएर हामी गइरहेका छौँ । यो नीति परिवर्तन गरौँ । उदार पुँजीवाद, उदार अर्थतन्त्र, उदार नीति लिएर अब हुँदैन,’ उनले भने ।

उनले थपे, ‘आज उदारवादलाई समातेर समाजवादी क्रान्ति हुन्छ ? बहस त मैले यहाँ पो गरौँ भनेको हो । अनि यो बहस के खराब छ ?’

उनले प्रश्न थपे, ‘के समाजवादी नारा लगाएर उदारवादी व्यवहार गरेर दलाल पुँजीपतिसँग सहकार्य गरेर समाजवादी क्रान्ति हुन्छ ? मैले प्रश्न उठाएको यहाँ हो, छलफल गर्न खोजेको कुरा यो हो ।’

बलियो पार्टी बनाउन पहल गर्दा अध्यक्षले पार्टी छोडेर जा भन्दा असैह्य पीडा भए पनि आफू यही पार्टी बनाउन संघर्षरत रहेको उनले जिकिर गरे ।

‘धेरै सहिदका सपनालाई पूरा गर्नु छ, तपाईं हामी सबै फिल्डमा थियौं, त्यो रगतमा लतपतिएका सहिदहरूलाई दाहसंस्कार गर्ने हामी हौं, घाइतेहरूलाई उपचार गर्ने हामी हौं । नेतृत्वलाई रिपोर्ट गरेर यस्तो छ है भनेर हामीले भन्थ्यौ’ भावुक हुँदै उनले भने, ‘त्यो सपना पूरा गर्नुछ, त्यो कर्तव्य पूरा भएको छैन, गर्नु छ ।’

यसैका निम्ति पार्टी निर्माण गर्नुपर्ने उनको तर्क छ । ‘यहाँ पार्टीलाई सशक्त बनाउनु पर्छ भन्ने मनसायबाट प्रश्न उठाउन पाइँदैन ? छलफल गर्न पाइदैन ?,’ उनले प्रश्न गरे ।

महासचिवलाई प्रश्नः कसको एजेन्ट भएर पार्टी फुटाएको ?

शुक्रबार भंग भएको केन्द्रीय समितिका महासचिवमा हुन्- देव गुरुङ । २०६४ सालको संविधान सभामा माओवादी सबैभन्दा ठूलो पार्टी थियो । त्यसबेला मोहन वैद्यको नेतृत्वमा माओवादी फुटेको थियो । फुटेको पार्टीमा देव गुरुङ सहितका नेताहरू थिए । पछि गुरुङ सहितका नेताहरू माओवादीमै फर्किए ।

उपमहासचिव समेत रहेका शर्मा इतिहासका प्रसंग कोट्याउँदै महासचिव गुरुङविरुद्ध कडा रूपमा प्रस्तुत भए । गुरुङले साम्राज्यवादीको एजेन्ट भएर पार्टी फुटाउन लागेको आरोप लगाएका थिए ।

‘नेतृत्वको प्रश्न उठाउँदा साम्राज्यवादी एजेन्ट हुन्छ भने म क्षमा चाहन्छु । भएको ठूलो पार्टी, बहुमतको पार्टीलाई फुटाउन नेतृत्व गर्नेहरूले आज …,’ उनले सोधे, ‘महासचिव कमरेड त्यतिबेला तपाईं कसको एजेण्ट हुनुहुन्थ्यो ? कसको एजेण्ट भएर पार्टी फुटाएको ? किन साथीहरूलाई उत्साहित गर्नुभयो पार्टी फुटाउन ? प्रश्न नगर्ने ?’

आफूले पार्टी बहस गर्नका लागि विषयहरू उठाएको शर्माले दोहोर्‍याए । बहस गर्नका लागि विषय उठाउँदा साम्राज्यवादीको एजेन्ट भन्नेहरूबाट पार्टी जोगाउन र बचाउन पनि पार्टीमा प्रश्नहरू आवश्यक रहेको प्रभाकरको तर्क छ ।

‘अध्यक्ष कमरेडले फेरि भन्दिनु होला– महाधिवेशनको अन्त्य बैठक यहाँ माथि हलमा बसेको बेला मैले भनेको के थियो ?’ शर्माले भने, ‘हामीले विभागीय जिम्मेवारीमा बस्छौं भनेका हौं नि ! त्यसबेला पाँच/छ जना थियौं हामी ।’

यसोभन्दा प्रचण्डले हुन्छ भनेको पनि शर्माले बताए । ‘हुन्छ ठीक छ छलफल गरौंला, म पर गएर उसको नाम घोषणा गरेर आउँछु अनि मिटिङ गरौंला भन्नुभयो । पर गएर बैठक समापन गर्दिनुभयो, छलफल नै भएन । अध्यक्ष चुन्न पाएनौं हामीले त्यो दिन ।’

त्यतिबेला पनि आफू पार्टीको कार्यकारी जिम्मेवारी छोड्न तयार रहेको उनले बताए, ‘म सल्लाहकार हुन तयार छु । कार्यकारी जिम्मेवारी छोड्न तयार छु।’

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?