 
																			३ साउन, काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले केन्द्रबाट बेवास्ता गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । पार्टी केन्द्रीय कार्यसमिति बैठकको दोस्रो दिन आमन्त्रित सदस्यका रुपमा सहभागी छ सभापतिले बुधबार आफ्नो धारणा राख्ने क्रममा संघीय संरचनाको महत्वपूर्ण इकाइलाई नेतृत्वले बेवास्ता गरिरहेको भन्दै आलोचना राखे ।
प्रदेश समितिलाई ‘बाइपास’ गरेर केन्द्र, जिल्ला र वडा तहका मात्रै कार्यक्रम ल्याइएको भन्दै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदनमा उनीहरुले आपत्ति जनाए । संघीयताको मर्म अनुसार पार्टी संरचना नचल्ने हो भने प्रदेश समिति भंग गर्न समेत प्रदेश सभापतिहरुले चेतावनी दिएका छन् ।
बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले भने, ‘आवश्यकता छैन भने पार्टीले बरु दुई तह राखोस् । होइन भने विधान अनुसार गरियोस् ।’
बानियाँकै भनाइमा समर्थन जनाउँदै लुम्बिनीका सभापति अमरसिंह पुनले आफ्ना कुरा राखे । उनले सिधै माथिबाट निर्णय गर्ने हो भने प्रादेशिक संरचना खारेज गर्न नेतृत्वलाई सुझाव दिए । मधेशका सभापति कृष्ण यादवले पनि प्रादेशिक भूमिका पार्टीभित्र उपेक्षित रहेको भन्दै केन्द्रको उच्च तहका नेताहरुलाई सचेत गराए ।
प्रदेश सभापतिहरुले आफूहरुलाई केन्द्रीय समितिमा आमन्त्रित सदस्यको रुपमा मात्रै बोलाउने प्रचलन हटाउन माग गरिरहेका छन् ।
‘पटक पटक कुरा उठायौं । विधानतः यहाँ उपस्थित हुने व्यवस्था बनाइयोस् । हामीलाई जति कमजोर बनाइयो, त्यति पार्टी कमजोर हुन्छ’, गण्डकीका सभापति शुक्रराज शर्मा भन्छन् ।
महामन्त्री गगन थापाले मंगलबार बैठकमा प्रस्तुत गरेको वार्षिका तालिकामा प्रदेश संरचनालाई बिर्सिएको उनीहरुको गुनासो छ । संस्थापनइतरबाट निर्वाचित गण्डकीका शर्मा र लुम्बिनीका सभापति अमरसिंह पुनले प्रतिवेदनप्रति आपत्ति जनाए ।
बागमतीका सभापति बानियाँ र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पनि प्रतिवेदनमा प्रदेश संरचनाको ख्याल नगरिएको भन्दै चित्त दुखाए ।
‘संघीयतालाई बलियो बनाउने भन्दा केन्द्रीयतामा ध्यान दिइएको छ । आफ्नो तह भन्दा तल्लोलाई ताबेर (दबाएर) चल्दा संगठन बलियो नहोला’, लुम्बिनीका सभापति पुन भन्छन्, ‘सांगठनिक प्रतिवेदनले प्रदेश समिति जोड्ने काम भएन ।’ बागमतीका सभापति बानियाँले महामन्त्रीको प्रतिवेदनमा सांगठनिक तालिका हेर्दै जाँदा प्रदेश काहीँ पनि नभेटेको बैठकमा सुनाए ।
महामन्त्रीद्वयले २१ र २२ असारमा बोलाएको जिल्ला सभापतिहरुको भेला बारेमा प्रदेश सभापतिहरुसँग राय समेत नलिएको गुनासो राखे । ‘७७ जिल्लाको सभापति बोलाएर महामन्त्रीले भेला गर्नुभयो । हामीलाई थाहा दिइएन’, गण्डकीका सभापति शर्माले भने ।
तरुण दल र महिला संघको मनोनित सदस्य थप्दा प्रदेश सभापतिलाई जानकारी नगराइएको उनीहरुको गुनासो थियो । आफूलाई हराउन रौतहटमा लागेका व्यक्ति भ्रातृ संस्थाको केन्द्रीय सदस्य बनेको भन्दै मधेशका सभापति कृष्ण यादवले आपत्ति जनाए ।
भ्रातृ संस्थामा मनोनित गर्दा प्रदेश सभापतिहरुको सुझाव नलिएको उनीहरुको गुनासो छ । नेतालाई मन परेको व्यक्ति भए खराब पनि भ्रातृ संस्थामा स्थान दिइएको लुम्बिनीका सभापति पुन बताउँछन् ।
केन्द्रीय नेताहरुको पुरानो मानसिकता अनुसार चलेको प्रदेश सभापतिहरुको गुनासो थियो । मातहतका कार्यक्रममा जाँदा प्रदेशसँग समन्वय नगर्ने अवस्था रहेको गण्डकीका सभापति शर्मा बताउँछन् । जिल्ला, पालिका र वडामा कार्यक्रम लिएर केन्द्रीय नेताहरु जाँदा प्रदेश सभापतिलाई थाहै नहुने परिस्थिति रहेको शर्माले सुनाए ।
उनी भन्छन्, ‘यसले ‘प्रदेशको महत्व घट्दै जाने, जिल्लाहरु पनि प्रदेशप्रति उत्तरदायी कम हुने र संगठन कमजोर हुँदै जाने भएको छ ।’
कर्णालीका सभापति ललितजंग शाही महामन्त्रीको प्रतिवेदन भन्दा पनि अनुशासन समिति संयोजकप्रति खनिए । विधानको व्यवस्था अनुसार कारबाहीको भागिदार भएको व्यक्तिलाई आफूखुसी उन्मुक्ति दिने कार्य अनुशासन समितिका संयोजक आनन्द ढुंगानाबाट भएको बताए ।
शाहीले विधानमा रहेको समितिको काम, कर्तव्य र अधिकार पढ्न ढुंगानालाई सुझाव दिए । अनुशासनको कारबाहीको भागीदार भएको व्यक्तिलाई आफूखुसी सफाइ दिएको विषयप्रति उनले आपत्ति जनाए ।
मधेशका सभापति यादवको चिन्ता बजेट विनियोजनप्रतिको बेवास्तामा पनि थियो । पार्टी मधेसप्रति उदासिन रहेको उनले आरोप लगाए । कर्णालीमा भन्दा मधेशमा कम बजेट विनियोजन गरिएको भन्दै यादवले आपत्ति जनाए ।
कर्णाली र मधेशको जनसंख्याको तुलना गर्न यादवले सुझाव दिए । ६५ लाख जनता बसोबास गर्ने मधेसशा १३ अर्ब छुट्याइएको भन्दै बजेटको विरोध गरे ।
यादवको चिन्ता अनलाइन सदस्यता वितरण प्रणालीमा समेत थियो । अनलाइन प्रणालीले मधेशमा कांग्रेस अरु कमजोर हुने बताए । मधेशमा सदस्यता वितरण शैली बदलिँदा कतिपय मानिसहरु कांग्रेसमा आउन सहज नठान्ने अवस्था आउन सक्ने उनको भनाइ थियो । ‘मधेश कांग्रेसको जननी हो । मधेशमा ठूलो झट्का लागेको छ, यादवले भने, ‘अनलाइन सदस्यतामा मलाई डर लाग्छ ।’
बागमती प्रदेश सभापति बानियाँले संघीयता ओज दिनुपर्नेमा बोझ दिएको गुनासो आएकाले त्यसतर्फ ध्यान दिन नेतृत्वलाई सुझाव दिए । ‘अवस्था फेरिएन भनेर निराशा छाएको छ । संघीयतामा ओज हुनुपर्ने बोझ भयो कि ? संसारको उत्कृष्ट भन्दा भन्दै किन प्रश्न उठ्यो ?’ उनले भने ।
सुदूरपश्चिमका सभापति बलायरले महामन्त्रीद्वयतर्फ संकेत गर्दै माथिल्लो तहमा बस्नेहरुलाई अनुशासन नलाग्ने हो ? भन्दै प्रश्न गरे । लगाम विना पार्टी चलिरहेको उनले बताए । ‘अनुशासन केन्द्रीय समितिमा रहेकालाई लाग्छ कि लाग्दैन ? एउटा जिम्मेवारीमा बसेको व्यक्तिले अर्को जिम्मेवारीमा बसेको व्यक्तिका विरुद्धमा राखेको धारणाले राम्रो गरेको छ ? विपक्षीसँग लड्ने सामथ्र्य राख्दछौं ?’ प्रश्न थियो ।
मनमा जे लाग्यो, त्यही बोल्ने प्रवृत्ति रहेको उनले सुनाए । ‘आफू बन्ने र आफ्नो मान्छे तयार गर्ने प्रवृत्ति कांग्रेसभित्र हाबी भएको छ । जिल्ला भ्रमण गर्दा आफ्ना अनुयायी खोजिएको छ’, बलायरले बैठकमा भने ।
तिनै तहका सरकार र पार्टी बीच समन्वय हुन नसकेको प्रदेश सभापतिहरुको चिन्ता थियो ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4