+
+

पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टको शुल्कवृद्धि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ४ गते १५:३३

४ असार, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषय अध्ययनका लागि गरेको शुल्कवृद्धि स्थगित गरेको छ ।

परिषद्ले बिहिबार एक सूचना जारी गर्दै सरोकारवालाहरुसंगको छलफलपछि मात्र शुल्क समायोजन गर्ने गरी हाललाई शुल्क समायोजन सम्बन्धी यसअघिको निर्णय स्थगित गरेको बताएको छ ।

परिषद्को स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले गत २९ असारमा तीनवटा विषयको शुल्क समायोजन भएको भन्दै सूचना प्रकाशित गरेको थियो ।

सूचना अनुसार सीटीईभीटीले नर्सिङको एक लाख ४९ हजार २३० रुपैयाँ, एचएको १ लाख १९ हजार रुपैयाँ र फार्मेसीको ८६ हजार ५०० रुपैयाँ बढाएको थियो ।

जस अनुसार तीन वर्षे प्रमाणपत्र तह नर्सिङका लागि ६ लाख २४ हजार २३०, एचए तर्फ  ५ लाख २३ हजार ८२० र फार्मेसी असिस्टेन्टका लागि ४ लाख २३ हजार ६६० शुल्क पुगेको थियो । तर बढेको शुल्क कार्यान्वयन नहुने भएको छ ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विज्ञप्ति निकालेर चिकित्सा शिक्षा आयोगको परामर्शविना सीटीईभीटीले यस्तो निर्णय गर्नु गलत र बदनियतपूर्ण  भन्दै खारेजीको माग गरेका थिए ।

सीटीईभीटी अन्तर्गत स्वास्थ्यतर्फ ११ वटा विषयमा विभिन्न कलेजमा पढाई हुन्छ । नर्सिङ, सामान्य चिकित्सा, फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी, डाइग्नोष्टिक रेडियोग्राफी, अफ्थाल्मिक साइन्स, डेन्टल साइन्स, आयुर्वेद, अकुपञ्चर, फिजियोथेरापी र योग एन्ड नेचुरोपेथी विषय अध्यापन गराउने शिक्षण संस्था छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?