+
+

संगीतकार संघको निर्णय :  रोयल्टी नतिर्ने रेडियो, टिभीले गीत बजाउन पाउँदैनन्

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १६:११

काठमाडौं । रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनले गीत बजाउन नपाउने भएका छन् । शुक्रबार बसेको संगीतकार संघ नेपालको बैठकले स्रष्टालाई गीतको रोयल्टी नतिर्ने रेडियो-टिभीलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ ।

बैठकपछि निर्णयबारे जानकारी दिंदै संस्थाका अध्यक्ष तथा संगीतकार चेतन सापकोटाले अनलाइनखबरसँग भने, ‘बैठकले रोयल्टी नतिर्ने रेडियो, टिभीलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ । बजाइयो भने कानुनले प्रदान गरेको अधिकार प्रयोग गरी कारवाही गरिनेछ ।’

उनले भने, ‘रोयल्टी तिरे मात्र गीतलाई सार्वजनिक प्रसारण गर्ने जोकसैले बजाउन पाइयो । कानुन उल्लंघन हुन्छ भने अदालत जाने तयारीमा छौं ।’ यसैबीच, बैठकले संगीतकार सुरेश अधिकारीका सांगीतिक कृति प्रसारण नगर्ने भन्ने रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक संघको निर्णयप्रति पनि आपत्ति जनाएको छ ।

रोयल्टी नपाएसम्म रेडियो, टिभीमा नबजाउने सहमति सांगीतिक संघसंस्थाबीच भएको पनि अध्यक्ष सापकोटाले जनाए ।

संगीतकार संघले संगीतका सबै विधाहरु लोकदोहोरी, पप, हिपहप लगायतका स्रष्टालाई समेत बोलाएर रोयल्टी नतिर्ने रेडियो र टिभीमा गीत बजाउन नदिनेबारे घोषणा गर्ने समेत तयारी गरेको छ । ‘रोयल्टीमा आवद्ध सबै १८ सय जना स्रष्टामार्फत रोयल्टी नवीकरण गरेर मात्र गीत बजाउन आह्वान गरिनेछ । होइन भने कानुनी उपचारको ढोका खुला छँदैछ,’ अध्यक्ष सापकोटाले भने ।

ती तीन रेडियो सम्बद्ध निकायले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै संगीतकार अधिकारीले फेसबुकमार्फत गालीगलौज गरेको भन्दै उनका सम्पूर्ण सांगीतिक कृति रेडियोबाट प्रसारण गर्न नसकिने निर्णय गरेका थिए । रोयल्टी संकलन समाजका अध्यक्ष समेत रहेका संगीतकार अधिकारीले स्रष्टासँग अनुमति लिएर मात्रै गीत बजाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?